बुद्धि बढाउने खाद्यान्न तथा फलफूलहरू

बुद्धि बढाउने खाद्यान्न तथा फलफूलहरू

प्रकृतिले प्राणीहरूलाई प्रशस्त मात्रामा बुद्धि बढाउने अनमोल खाद्यान्न तथा फलफूलहरू उत्पादन गरिदिएको छ। तर, सबै अन्न तथा फलफूलका आआफ्ना विशेषता छन्। कुनै प्रोटिन प्रधान छन् त कुनै भिटामन, कार्बोहाइडे्रट वा बोसोप्रधान छन्। त्यस्तै कुनै सात्विक छन् त कुनै राजसिक वा तामसिक छन्। चामल, गहुँ, मुँग, मकै आदि अन्न; लौका, फर्सी, करेला, लसुन, टमाटर, काँक्रो, आलु, मूला आदि तरकारी; सिमी, बोडी, भटमास, केराउ आदि गेडागुडी तथा हरियो सागपात र फलफूल सात्विक भोजनका साथै सन्तुलित भोजन पनि हुन्। यिनमा प्रोटिन, कार्बोहाइडे्रट, फ्याट, भिटामिन तथा मिनरल्स उपलब्ध हुन्छन्।

10414475_733806279998291_3763767859540868862_n

बालबालिकादेखि वृद्धसम्मलाई चाहिने भोजन पनि यिनै हुन्। तर, यी भोजनमध्ये केही यस्ता अन्न तथा फलफूलहरू छन् जसले मानिसको शरीर तथा मस्तिष्कलाई ताकत दिन्छन्, स्मरणशक्ति बढाउँछन्। यस्ता मस्तिष्कमैत्री अन्न तथा फलफूल गाउँघरका बगैंचा, करेसाबारी तथा वरपरका जंगलमै उपलब्ध हुन्छन्। त्यसैले यहाँ यस्ता खाद्यपदार्थका बारेमा उल्लेख गरिएको छ।

जमुना

जमुना त सबैले देखेको तथा खाएको फल हो। तर, जमुना मस्तिष्कवर्द्धक फल हो भन्ने कुरा धेरै कम मानिसलाई थाहा छ। वास्तवमा वर्षा ऋतुमा नेपालमा पनि प्रशस्त पाइने जमुना मानिसका लागि ज्यादै उत्तम फल हो। जमुनाले रक्तशोधन गरी चेहरालाई चमकदार बनाउँछ, चिडचिडापन हटाउँछ। यसले पेटको विकार हटाउँछ, मेमोरी बढाउँछ, बुद्धिलाई तीव्र बनाउँछ। बिहान र साँझ खाजाका रूपमा जमुना खानु ज्यादै उत्तम हुन्छ।

पालुंगो

बुद्धि तीव्र पार्ने तथा दिमागलाई दुरुस्त राख्ने खाद्यान्नका रूपमा पालुंगो त प्रकृतिको वरदान नै हो। मस्तिष्कका लागि योभन्दा उपयुक्त अर्को हरियो सागतपात छैन। पालुंगोमा भिटामिन ए, बी, सी, क्लोरोफिल, बिटा कैटोरिन, राइवोफ्लेबिन तथा सोडियम आदि हुन्छन्। माछामासुमा झैं प्रोटिन हुन्छ। कतिपय बालबालिकालाई पालुंगो त्यत्ति स्वादिलो लाग्दैन तर यसको सेवनले मनलाई ताजा बनाउँछ, मस्तिष्कलाई ताकत दिन्छ। यो एउटा महत्त्वपूर्ण ब्रेन टनिक हो भन्ने कुरा पोषणविद्हरूले हालसालै प्रमाणित गरिदिएका छन्। त्यसैले हिजोआज विदेशमा पालुंगोको सेवन ह्वात्तै बढेको छ। पालुंगोलाई विभिन्न तरिकाले सेवन गर्न सकिन्छ। सलादका रूपमा, तरकारी र सुप बनाएर पनि यसलाई खान सकिन्छ। बेलाबेलामा पालुंगोको तरकारी वा सुप बनाएर खानु निकै उत्तम हुन्छ। तर, अक्जेलिक एसिड हुने भएकाले किड्नीका रोगी तथा किड्नीमा पत्थरी जम्ने समस्या भएकाहरूले पालुंगो खान हुँदैन।

अमला

फलहरूमा अमला एक सर्वोत्तम फल हो। यो भिटामिन सीको भण्डार हो। यसले हाड, दाँत र गिजा बलियो बनाउँछ। अनुहारको कान्ति बढाई कपाल फुल्न दिँदैन। नेत्रज्योति बढाउँछ, मस्तिष्कलाई ऊर्जा दिन्छ। मस्तिष्कशक्ति तथा स्मरणशक्ति बढाउँछ। बुद्धि तीव्र बनाई शरीरमा बल-वीर्य वृद्धि गराउँछ। यसले हाई ब्लड प्रेसर, हृदयरोग, क्यान्सर, नपुंसकता, मन्दाग्नि, स्नायु रोग, चर्म रोग, कलेजो तथा मिर्गौलाको रोग, रक्त रोग, जन्डिस, टीबी, पिसाब तथा हड्डीका रोगहरू ठीक पार्न सहयोग गर्छ। अमला त्रिदोषनाशक फल हो, अर्को बे्रन टनिक। अमलामा पाइने एन्टी अक्सिडेन्ट इन्जाइमले बूढोपन रोक्छ। अमलामा जति रोगप्रतिरोधक, रक्तशोधक तथा बल-वीर्यवद्र्धक तत्त्वहरू पाइन्छ, त्यति तत्त्व संसारका कुनै पदार्थ तथा औषधिमा पाइँदैन। प्रतिदिन कुनै न कुनै रूपमा दुईचारवटा अमला खानु निकै राम्रो हुन्छ। अमलालाई अनेकौं तरिकाले प्रयोग गर्न सकिन्छ। जस्तै: काटेर सलादका रूपमा, अचार तथा मुरब्बाको रूपमा वा त्यसै पनि खान सकिन्छ। तर, बिहानको खाजामा दुईचारवटा अमलाको मुरब्बा (जाम) सेवन गर्नु सर्वोत्तम हुन्छ।

स्ट्रबरी

अमलाजस्तै स्ट्रबरी अर्को महत्त्वपर्ण फल हो। रातो तथा मीठो यो फलले मस्तिष्कलाई चुस्तदुरुस्त राख्छ। सम्भव भएसम्म बेलाबेलामा स्ट्रबरी खानु राम्रो हुन्छ।

बदाम

बदाम (आलमन्ड) ब्रेन फुडको राजा हो। यसमा शरीरलाई आवश्यक सबै पोषक तत्त्व हुन्छन्। यो मस्तिष्कका लागि निकै लाभदायक छ। बदाम दुई प्रकारका हुन्छन्, मीठो र अलि तीतो। मीठो कागजी बदाम नै स्वास्थ्यवद्र्धक हुन्छ। बदाम बालक, जवान तथा वृद्ध सबैका लागि उत्तिकै उपयोगी हुन्छ। बदामलाई पानीमा भिजाएर, बोक्रा हटाई पिसेर लेप बनाई दूधसँग खानु उत्तम हुन्छ। बदामको दूध तथा बदामको तेलले स्मरणशक्ति तथा नेत्रज्योति बढाउँछ। बदाम आई टनिक पनि हो।

ओखर

बदामजस्तै ओखर पनि बे्रन टनिक हो। ओखरको त रूपरंग नै ब्रेनजस्तै हुन्छ। तर, बदाम र ओखर नेपालमा उत्पादन हुँदैन। सम्भव भएसम्म नास्ताका रूपमा बदाम तथा ओखर खाने गर्नुपर्छ।

अंकुरित गेडागुडी

अंकुरित गेडागुडी त अमृत भोजन नै हो। शरीरशास्त्री भन्छन्, जबसम्म शरीरका कोषहरूको निर्माण तथा पुनर्निर्माण ठीकठीक रूपमा भइरहन्छ तबसम्म बुढ्यौली आउँदैन, शरीर स्वस्थ र बलियो बनिरहन्छ। तर, जब कोषहरूको निर्माण तथा पुनर्निर्माणको प्रक्रियामा विघ्नबाधा पर्छ तब कोषहरूको निर्माण र पुनर्निर्माणको गति मन्द हुन्छ। यसो भएपछि शरीर बूढो तथा कमजोर हुन थाल्छ। तर, भिटामिन ई, भिटामिन सी र कोलिनको पर्याप्त मात्रा प्रत्येक दिनको भोजनमा समावेश गरियो भने शरीरमा कोषहरूको निर्माण तथा पुनर्निर्माण प्रक्रिया ठीक ढंगबाट हुन्छ। जबसम्म यो प्रक्रिया ठीकसँग चल्छ, तबसम्म बुढ्यौली आउँदैन। प्रकृतिको नियमअनुसार बुढ्यौली आउँछ तर यी भिटामिन सेवन गर्ने हो भने ढिलो आउँछ। जस्तो कि ६० वर्षको बूढो पनि ४० वर्षको जवानजस्तो देखिन्छ। यस्ता भिटामिन अंकुरित गेडागुडीमा पाइन्छ। त्यसैले बिहानको खाजामा अंकुरित गेडागडी खानु सुनमा सुगन्ध नै हुन्छ।

अन्य ब्रेन फुड्स

स्याउ, लसुन, कालो अंगुर, कुरिलो, किसमिस, गाजर तथा बन्दागोभी आदिले पनि मस्तिष्कलाई पोषण तथा ताकत प्रदान गर्छ। पीपलको फल पनि मस्तिष्कका लागि निकै उपयोगी हुन्छ। पीपलको मौसममा पीपलको फल खानु निकै राम्रो हुन्छ। यसका साथै काँक्रो, लौका, फर्सी तथा खरभुजाको बीउ पनि ‘ ब्रेन फुड मानिन्छ। आयुर्वेदका अनुसार लसुन तामसिक पदार्थ हो तर यसको औषधीय गुण धेरै छ। लसुन खाँदा ब्लड प्रेसर घटाउँछ। रगत सफा गरी कोलोस्ट्रोल घटाउँछ। कग्निटिभ क्रिया प्रभावकारी बनाउन सहयोग गर्छ।

About Author

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।