पिसाब चुहिने समस्याको उपचार

पिसाब चुहिने समस्याको उपचार

उपचार विधि

कहिलेकाहीँ मात्र पिसाब चुहिने, मूत्र संक्रमण नहुने, दैनिकी तथा यौन सम्बन्धमा त्यसले खासै फरक नपरेको र मूत्र प्रदूषणले गन्ध नआउने, चिलाउने तथा घाउखटिरा नहुने र आफू वा यौन सहभागीलाई नकारात्मक असर नपर्ने भए त्यसको उपचार साधारण सरसफाइ, शारीरिक व्यायाम तथा योग अभ्यास तथा तौललाई शरीरको उचाइअनुरूप राखेर गर्नुपर्छ ।

मधुमेह हुनेहरूले चिकित्सकको सल्लाहबमोजिम उपचार गर्ने, पेट खलास पार्न पानी, सागसब्जी, चोकर भएको खानाको अभ्यास र फलफूललाई उपयुक्त मात्रामा भोजनमा समावेश गर्नुपर्छ । त्यतिले फाइदा नभएमा चिकित्सकको रायबमोजिम औषधिउपचार गर्नुपर्छ । उल्लिखित उपायबाट फाइदा नभएमा शल्य उपचार अँगाल्नुपर्छ ।

शल्य उपचारको सिद्धान्त

बीसौं शताब्दीको सुरुमै स्त्रीमा पिसाब चुहिनबाट रोक्न मूत्र नलीको सुरुको भाग र मूत्र थैलीको घाँटीलाई झुन्ड्याएर त्यो भागलाई सर्न नदिने उपाय प्रयोगमा ल्याइयो । सन् १९०७ पछि सुरुमा मांसपेशी तथा उतकको पट्टी थैलीको घाँटी र मूत्र नलीको सुरुको भागमुनि बेरेर त्यसलाई प्युविसपुट्ठाको हाडको पछाडि लगेर झुन्ड्याउने गरियो ।

सन् १९४५ तिर बिनामांसपेशी र उतकको पट्टी थैलीको घाँटीलाई प्युबिसको पछाडि हाड र मांसपेशीलाई जोड्ने बलियो तन्तुसँग धागोले बान्ने गरियो । ‘मूत्र नली र थैलीको घाँटीलाई सर्न नदिए पिसाब चुहिन रोकिन्छ’ भन्ने सिद्धान्तमै रहेर विभिन्न तरिकाले ती भाग (शारीरिक संरचना)लाई अड्याउने गरियो । सुरुका वर्षमा शल्यक्रियापछि राम्रो सफलता भयो तर लामो समयसम्म त्यो उपलब्धि कायम रहेन । वैज्ञानिकहरूले सिद्धान्तको संशोधन गरे ।

नयाँ सिद्धान्तअनुसार मूत्र थैलीको घाँटी र मूत्र नलीको सुरुको भाग गतिशील भएर भन्दा पनि मूत्र नलीको बीचको भागलाई झोलुंगे संरचनाले राम्ररी टेको नदिएको हुनाले पिसाब चुहिने गर्छ भन्ने पुष्टि भयो । नयाँ सिद्धान्तमा टेकेर नयाँ शल्यक्रियाको आविष्कार भयो । नयाँ विधिमा जालीलाई मूत्रनलीको तलबाट लगेर प्युविसको पछाडितिर अड्याउने गरियो । यो ‘टीभीटी’ नाम पाएको शल्यक्रिया पहिले युरोप, पछि अमेरिका त्यसपछि संसारका अरू मुलुकमा पनि निकै लोकप्रिय हुँदै गयो ।

लाखौंको संख्यामा स्त्रीहरूको यो विधिबाट शल्यक्रिया भयो । तर, त्यसमध्ये दसौं बिरामीको ज्यान पनि गयो । कैयौंले रक्तस्रावबाट धेरै कष्ट भोग्नु पर्‌यो । त्यसैले यो शल्य विधिको कमजोर पक्ष ज्यानसम्म लिने खतराबाट मुक्त हुन ‘टीओटी’ भन्ने मान दिइएको शल्य विधि २००१ मा आविष्कार भयो ।

यो विधि पछिल्लो १५ वर्ष विद्यमान छ । यो शल्य विधिको कमजोरी- नराम्रो पक्ष नगन्य हुन्छ । टीओटीमा पनि टीभीटीमा जस्तै टेप प्रयोग हुन्छ र त्यसले स्त्रीको मूत्र नलीको बीचको भाग तल झोलुंगे आकारमा रहेर मूत्रनलीले विभिन्न कारणवश गुमाउन पुगेको समर्थनलाई पूर्ण रूपमा प्रतिस्थापन गरेर उपयुक्त विकल्पका रूपमा क्रियाशिल हुन्छ ।

यो पट्टी टीभीटीमा जस्तो प्युविक हड्डीको पछाडि नजाने हुँदा आन्द्रा, ठूला रगतका नशा र मूत्र थैलीलाई क्षति पुर्‌याउने सम्भावना हुँदैन । यो टेपको कोण ९० डिग्रीभन्दा बढी हुने भएकाले मूत्र नलीलाई साँघुरो पार्ने डर पनि हुन्न । टीओटी शल्यक्रियामा टेप अब्टुरेटर झिल्ली हुँदै तिघ्रा-जाङतिर निकालिन्छ ।

यो शल्यक्रिया प्रायः सबैजसो स्त्री सजिलैसँग वहन गर्छन् र दुई दिनपछि अस्पतालबाट आफ्नै बासस्थान गएर दुईतीन दिनमै सामान्य गृहकार्य गर्न सक्छन् । तर बोझ उठाउने काम र यौनसम्बन्ध भने ६ देखि आठ हप्तापछि मात्र स्वीकार्य हुन्छ ।

साभार- अन्नपूर्ण पोस्ट, प्रा.डा. अर्जुनदेव भट्ट,  शुक्रवार, साउन २८, २०७३ प्रकाशित

About Author

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।