जीवन दर्शन “समस्या आफै भित्र छ”

युनानका दार्शनिक सुकरातलाई त्यहाँका शासकहरूले मृत्युदण्डको घोषणा गरेका थिए तर उनी भने मर्ने बेलासम्म पनि आफ्ना इष्टमित्रहरूसित यति मजाले कुरा गरिरहेका थिए मानौं केही हुनेवाला नै छैन । अझ अचम्मको कुरो त के छ भने सुरक्षागार्डले धेरै कुरा नगर्नुहोस्, ज्यादा बोल्दा विषले ढिलो असर गर्छ र तपाईंलाई मर्न गाह्रो हुन्छ भन्दा समेत उनी हाँसेर भन्थे- ‘त्यसो भए दुई प्याला विष लिएर आउनु ।’ ‘तपाईंलाई मर्न डर लाग्दैन ?’ सुरक्षागार्डको प्रश्नमा उनको प्रत्युत्तर हुन्थ्यो ‘मैले बाटो बिराएकै छैन भने किन डराउनु ।’ स्वाभाविक हो डर बाटो बिराउँदा मै लाग्ने गर्दछ । बाटो नै बिराएको छैन भने के को डर । जीवन दर्शन “समस्या आफै भित्र छ”।

जुन औँलामा पिष लागेको हुन्छ त्यही औँलो झर्ने र जसले कालो खाएको छ उसैको मुख अँध्यारो हुने यथार्थ नै हो । बाटो नबिराउनेहरू मृत्युसित पनि डराउँदैनन् । मृत्युदेवता नै डराएर यत्रतत्र लागिरहेका हुन्छन् । अनन्य ईश्वर भक्त धु्रवको महाप्रस्थान गर्ने बेला भइसकेको थियो । उनले जीवनमा कहिल्यै बाटो बिराएका थिएनन् । त्यसैले कालदेवताले डराएर अगाडि आउने हिम्मत गर्नै सकेनन् । जब उनले अगाडि आउन सङ्केत गरे त्यसपछि मात्र कालले शिर निहुर्‍याएकाले त्यसैमा टेकेर धु्रवले आफ्नो लोकको बाटो समाएका थिए । बाटो नबिराउनेहरू मरेर पनि बाँचिरहेका हुन्छन् । बिराउनेहरूलाई भने कसैले केही गर्नै पर्दैन । आफ्नै कारणले उनीहरू पदपदमा मरिरहेका हुन्छन् । ‘हिंस स्वपापेन विहिंसित खलु’ सायद वेदव्यासले ठीकै भनेका छन् बाटो नबिराउने सज्जनहरू जस्तोसुकै विपत्तिको सागरबाट पनि सहजै पार लाक्छन् । बाटो बिराएर हिंस्रक प्रवृत्तिमा लागेकालाई भने आफ्नै पापले खाइरहेको हुन्छ ।

भक्त प्रहृलादलाई मार्न काखमा लिएर फुपु होलिका अग्निकुण्डमा प्रवेश गर्दै थिइन् । प्रहृलाद भने त्यतिबेला पनि हाँसिरहेका थिए । मृत्युको डर छैन भन्ने प्रश्नमा उनले पनि उत्तर दिएका थिए -“मैलै बाटो बिराएकै छैन किन डराउनु” नभन्दै बाटो बिराएकीले मार्न लाने होलिका आफैँ जलेर मरिन् । बाटो नबिराएकाले मार्न लगिएका प्रहृलादलाई केही पनि भएन । बाटो जति नै दुर्गम भए पनि घर जति नै टाढा भए पनि बाटो नछोडी हिँडिरहे एकदिन घर पुग्न सकिन्छ तर बाटो बिराइयो भने नजिकै भए पनि घर पुग्न बेर लाग्ने मात्र होइन ठूलै विपत्ति निम्तिन पनि बेर लाग्दैन । बाटो नबिराएकाले उद्धवले ६ महिनामै स्वगन्तव्य पत्ता लगाएका थिए । बाटो बिराएकाले राजा भरतलाई आफ्नो स्वगन्तव्य पत्ता लगाउन तीन जन्मको यात्रा तय गर्न परेको थियो ।

रावणले बाटो बिराउँदा वंशनाश भयो । कौरवहरूले बाटो बिराउँदा सर्वनाशै हुनपुग्यो । त्यति हुँदाहुँदै दुःखसाथ भन्नैपर्छ आज बाटो बिराउनेहरूकै सङ्ख्या बढी छ । केही वैचारिक मतभेदलाई पचाउन नसकेर बाटो बिराउन पुगेका देखिन्छन् । कोही अस्वस्थ प्रतिस्पर्धाले अरूलाई उछिन्न खोज्दा आफैँ उछिटि्टएर बाटो बिराउन पुगेका पाइन्छन् । त्यस्तै कोही परिवारको सदस्यबाट उचित रेखदेख र माया पाउन नसकेर बाटो बिराउन पुगेका देखिन्छन् । घमण्ड र अहङ्कारले उन्मत्त भाई बाटो बिराउनेहरू पनि कम छैनन् । जसले जसरी बिराए पनि सबैको नतीजा विनाश र सर्वनाश नै हो ।

बाटो बिराउने मूलतः दुईथरीका देखिन्छन् । एकथरी नजानेर वा बहकाउमा लागेर बाटो बिराइरहेका छन् भने अर्काथरी जानीजानी बिराइरहेका छन् । नजानेर बाटो बिराउनेलाई त सम्झाइबुझाई सही बाटोमा ल्याउन पनि सकिन्छ तर बुझ पचाएर बाटो बिराएकाहरूलाई सही बाटोमा ल्याउन कठिन छन् । तत्कालका लागि केही सन्तुष्टि अनुभूत गरे पनि तुच्छ स्वार्थले सदाको लागि सन्तुष्टि दिन सक्दैन । अर्को मुखको मेख मार्न विषको डल्लो खाइदिने दुईमुखे चरा भारुण्डीको कथाबाट प्रेरणा लिनुपर्छ । जीवनमा प्रकृतिले कसैलाई पनि एकैक्षण पनि अकर्ता राखेको छैन जीवन सही बाटोमा लागेर सुखी बनाउने र अरूलाई पनि सुखी रहन मद्दत गर्नकै लागि हो । त्यति हुँदाहुँदै अहिलेको जस्तो बाटो बिराउनेको होडलाई जारी नै राख्ने हो भने प्रस्ट छ हाम्रा नियति दोहोरिरहने छ ।

साभार :  नेट आवर साईबर क्याफे

About Author

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Write a Comment

Only registered users can comment.