जीवन दर्शन लोभको परिणाम

एकपटक एक सज्जनले रू. पाँच हजारको थैली हराएछन् । खोज्दा कतै पनि नपाएपछि कसैले बुझाइदिएमा रू. पाँच सय पुरस्कार दिनेछु भनी प्रहरीमा लेखाएछन् । थैली कुनै गरिब बूढी आफँैले पाएकी रहिछन् । खबर सुनेर उनी थैली बुझाउन प्रहरीमा आइन् तर त्यतिबेलासम्म थैली हराउने सज्जनमा लोभ पलाइसकेको रहेछ । चलाखीपूर्ण ढङ्गले जुक्ति निकाले र भने- ”मैले त हतारमा रू. पाँच हजार मात्र हरायो भनेको रहेछु तर थैलीमा त पाँच हजार पाँच सय थियो । यदि आफैले मासेकी रहिनछिन् भने रू. पाँच सय दिनेछु ।” त्यसपछि हराउने सज्जन र पाउने आफैबीच निकै भनाभन भएछ र मुद्दा राजाकहाँ पुगेछ । सबै हाल बुझेपछि राजाले निर्णय सुनाउँदै भने- ठीकै छ यो थैली उहाँको होइन रहेछ । त्यसैले बूढी आफैकै भयो । कुनै दिन यिनले रू. पाँच हजार पाँच सयको थैली भेट्टाइन् भने त्यसैबाट रू. पाँच सय कटाएर बाँकी पैसा उहाँलाई दिनु ।’ बढी लोभ गर्दा हातमा आएको दाना पनि गुमेकाले बिचरा सज्जनलाई पश्चाताप गर्दै घर फर्केछन् । जीवन दर्शन “लोभको परिणाम” !

धेरै पहिलेदेखि पढ्दै र सुन्दै आएको यस कथाभित्र के कति सत्यता छ त्यो त थाहा छैन तर अति लोभको परिणाम राम्रो हुँदैन भन्ने कुरो भने कसैबाट छिपेको छैन । यद्यपि लोभ मानवीय प्रवृत्ति नै हो । सानो बालकबाट पनि उसको हातमा पुगेको चीज फिर्ता पाउन गाह्रो पर्दछ । जति नै भने पनि केही लोभ गर्नै पर्छ । लोभ नगरी त व्यवहारै चल्दैन तर लोभ पनि त्यति मात्र गर्नुपर्छ जति न्यूनतम अवस्थाले मागेको हुन्छ । अन्यथा भुइँको टिप्न खोज्दा पोल्टाको पोखिन बेर लाग्दैन । भुइँको टिप्न खोज्नु नराम्रो होइन । आखिर थोपाथोपा मिलेर नै घैँटो भरिने हो । बिन्दुबिन्दु मिलेर नै सिन्धु बन्ने हो तर भुइँको टिप्न खोज्दा पोल्टाको पोखिन्छ भने त्यसलाई राम्रो मान्न सकिन्न । आखिर सुनकै भए पनि भारी पनि त्यति मात्र बोक्न खोज्नु पर्दछ जति आˆनो क्षमता छ । क्षमताभन्दा ठूलो भारी बोक्न खोजियो भने कुनै पनि बेला लडेर खुट्टा भाँचिन बेर लाग्दैन । डुङ्गा यसै पनि पहिल्यै गह्रुङ्गो छ । त्यसमाथि जे पायो त्यही कुडाकर्कट बटुल्न थालियो भने दुर्घनाबाहेक के नै आशा गर्न सकिएला र ।

जतिसुकै मीठो भए पनि त्यति मात्र खान खोज्नु राम्रो हुन्छ जति पचाउन सकिन्छ । मीठो लाग्यो रे भन्दैमा पेटले धान्न सक्नेभन्दा बढी खाइयो भने नतीजा के हुन्छ सबैलाई थाहा भएकै विषय हो । एक जना सज्जन दिनभर हिँडेको जमिन आˆनै हुन्छ रे भनेको सुनेर आˆनो शरीर र क्षमताको ख्यालै नगरी यति बढी कुदेछन् कि दिन बित्न नपाउँदै रगत छादेर मरेछन् । बिचरा सज्जनलाई जति नै हिँडेर आˆनो बनाए पनि अन्ततः साढे तीन हातभन्दा बढी जमिन कामै लागेन । अति लोभको परिणाम जहाँ पनि यस्तै हुन्छ । अति लोभ गर्नु भनेको आˆनै जीवन ऊर्जा क्षीण गराउनु हो । मानिसका छवटा शत्रु छन् जसले हमेशा पछ्याइरहेका हुन्छन् । यसमध्ये लोभ पनि एउटा हो । मानिस जन्मन्छ, हुर्कन्छ र मर्दछ । हामीलाई यो सामान्य प्रक्रिया जस्तो लाग्दछ तर जवान मानिसलाई जीवन ऊर्जा क्षीण गरी बूढो बनाएर मृत्यु शय्यामा पुर्‍याउने काममा लोभले नै गरिरहेको हु्न्छ ।

भनिन्छ काममा बढी ऊर्जा खर्च हुन्छ । तर साँच्चै भन्ने हो भने कामले भन्दा कति हो कति बढी जीवन ऊर्जा लोभले खाइरहेको हुन्छ । काम समाधिपछि त मानिस तत्कालै श्ाान्त हुन्छ तर लोभी मानिसले कहिल्यै शान्ति पाउन्न । निरन्तर एकपछि अर्को आवश्यकताको श्रृङ्खला खडा भइरहेको हुन्छ । बूढापाकाहरूले लोभको भाँडो कहिल्यै भरिन्न त्यसै भनेका कहाँ हुन् र । काम एकदेशीय हुन्छ । एउटा द्वारबाट मात्र ऊर्जा क्षय हुन्छ तर लोभका लागि त ऊर्जा क्षयका लागि हमेशा पाँच द्वार खुला रहन्छ । जसमा नाक, कान, घाँटी, आँखा र छाला पर्छन् । एउटा भ्रमरो सूर्यकमल फूलको रस चुस्न थालेछ । चुस्दाचुस्दै यति बढी भुलेछ कि साँझ परेको पत्तै पाएन । सूर्य अस्ताएपछि फूल पनि सुकेकाले ऊभित्रै थुनिएर मरेछ । सबैका लागि भोलि नयाँ बिहानी आयो, सूर्य पनि उदाए तर लोभी भ्रमराका लागि भने कहिल्यै उज्यालो भएन ।

लोभी मानिस आफू मात्र बरवाद हुँदैन । अरूलाई पनि बरवाद गर्छ । त्यसैले लोभीलाई कसैले पनि मन पराउँदैनन् । सबै घृणा र तिरस्कार गर्छन् । यद्यपि मानिस पशुपक्षीलाई पनि माया गर्छन् र जङ्गली जनावरलाई पनि घरमा पाल्छन् तर मानिसले मानिसलाई नै मन पराएको उदाहरण भने खासै पाइँदैन । अरू त अरू आपत्विपदमा पहिले काम दिने छिमेकमा समेत एकअर्कोमा गालीगलोज भइरहेको हुन्छ । अझ साँच्चै भन्ने भने छिमेकमा जति वैमनस्यता अन्यत्र पाइन्न । एकातर्फ त्यही मानिस कुकुरलाई बोकेर हिँडिरहेको हुन्छ भने अर्कोतिर छिमेकमा पाखुरा सुर्किरहेको हुन्छ । आखिर किन ? किनकि पशुपक्षीले लोभ गर्दैनन्, मानिसले लोभ गर्छन् । छिमेकमा बढी झगडा किन हुन्छ भने त्यहाँ एकले अर्कोको लोभीपनलाई नजिकबाट हेर्ने अवसर बढी पाइरहेको हुन्छ । इतिहासमा अति लोभ गर्दा कतिपय राजा महाराजाहरू सामान्य नागरिक हुन पुगेका छन् भने अलिकति त्यागको सङ्केत देखाउँदा सामान्य नागरिक राजामहाराजाको हैसियतमा पुगेका उदाहरण प्रशस्तै छन् । त्यसैले बढी लोभ गरेर सबैको घृणाको पात्र हुने कि जीवनचर्या सन्तुलित पारी सबैको हाइहाइको पात्र हुने मानिसको आˆनै हातमा देखिन्छ ।

साभार :  नेट आवर साईबर क्याफे

About Author

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Write a Comment

Only registered users can comment.