यम पञ्चक र यसको महत्व

यम पञ्चक र यसको महत्व
Madhusudan Subedi

मधुसूदन सुवेदी

यम पञ्चक र यसको महत्वको बारेमा चर्चा गरौ ।

मृत्युना पाशहस्तेन कालेन भार्यया सह ।

त्रयोदस्यां दीपदानात् सूर्यजः प्रीयतामिति ।।

दत्तो दीपश्चतुर्दश्यां नरकप्रीतये मया ।

चतुर्वत्र्तिसमायुक्तः सर्वपापापनुत्तये ।।

यो पाँच दिनको पर्वलाई पञ्चक भनिन्छ । पहिलो कार्तिक कृष्ण त्रयोदशीका दिन काक तिहार, यमदूत काकको पूजा गरेर शुरु गरिन्छ । यस दिनदेखि नै दीपावलीको महोत्सव आरम्भ हुन्छ । यस दिन मानिसहरू नयाँ भाडाकुडा खरिद गर्नु शुभ मान्दछन् । तसर्थ बजारमा यस दिनलाई भाडाँकुडाँ खरिद गर्ने पर्व पनि मानिन्छ । यस दिन फलामको भाँडाकुँडा खरिद गर्नु अशुभ मानिन्छ । यस दिन यमराजको पूजा गरिन्छ र सन्ध्याकालमा उसैको नामले “यमदीपदान ” भनी बत्ती बालिन्छ । काकलाई यमदूत मानी पूजा गर्ने चलन चलेको हो । यसै दिन धन्वन्तरीको उत्सव पनि कविराजहरू मनाउँदछन् ।

विजया दशमीको पर्वलाई उत्साह पूर्वक समाप्त गरी आरामसाथ दीपावलीको पर्व मनाउन धनको देवी लक्ष्मीको पूजा गर्न सबै व्यक्तिहरू उत्साहित हुन्छन् । साथै यो पर्व कार्तिक महिनाको औंसीको दिन दीपावली गर्ने हुँदा बडो धुमधामका साथ मनाउँदछन् । यो हाम्रो राष्ट्रिय पर्व हो । हरेक जाति र हरेक वर्ग, व्यक्तिहरू यस पर्वमा आफ्नो–आफ्नो शक्ति अनुसार मनाउँदछन् । हुनत यो पर्व लक्ष्मी पूजाको पर्व भएको हुँदा एक हप्ता अगाडिदेखि नै तयार गर्ने माल सामानदेखि लिएर सरसफाइसम्म गर्न शुरु गरिन्छ । आखिर जे होस्, पञ्चकमध्ये तीन दिन यस पर्व विशेषरूपले मनाइन्छ । जस्तो लक्ष्मी पूजा, गाई, गोरु, गोवर्धन, बलि पूजा, म्ह पूजा र भाइ टीका यी विशेष हुन् ।

दीपावली यो हिन्दूहरूको महान् चाड हो । यो पर्व वर्षमा एक पटक आउँदछ । यसलाई बडा हर्षका साथ सबै हिन्दूहरूले त्रेतायुगदेखि आजसम्म मनाउँदै आइरहेका छन् । औंसीको दिन खास लक्ष्मीपूजा दीपावली हुन्छ । जसबाट यो प्रतीत हुन्छ कि कार्तिक कृष्ण अमावश्यको रातमा सबभन्दा बढी अँध्यारो हुन्छ । तर यो रात ज्यादै अन्धकार भए तापनि घर—घरमा बत्ती बाली दीपावली गर्दा अन्धकार रहँदैन उज्यालो नै उज्यालो देखिन्छ । तसर्थ सबैले आफ्नो घर तेलको बत्ती, मैनबत्ती या बिजुलीको बत्तीले सजाएको हुन्छ । जसको प्रकाशले रातको अध्यारो हराउँन जान्छ ।

वास्तवमा सबै उत्सवमध्ये दीपावली को उत्सव घर—घर, गाउँ—गाउँ र सहर—सहरमा बालकदेखि लिएर वृद्धासम्म, मूर्खदेखि लिएर पण्डितसम्म र रङ्गदेखि लिएर राजासम्म सबैले आमोद—प्रमोद र आनन्द—विनोदका  साथ उल्लासमय तरिकाले मनाइने मुख्य उत्सव हो । किन भने त्यो दिन घर सबै उज्यालो गरी लक्ष्मीको पूजा गर्नाले लक्ष्मी प्रसन्न भई धनधान्यादिले परिपूर्ण गरिदिने हुनाले प्रत्येक गृहस्थीले यस महोत्सवलाई विशेष रूपले लिने गर्दै आएका छन् । यसको अलावा यस उत्सवको वैज्ञानिक महत्व  पनि छ —वर्षाऋतुभर वर्षाले गर्दा पानी जम्ने हिलो आदिको कारणले गर्दा जीव—जन्तु र रोगका कीटाणुहरू ज्यादै फैलिन्छन । यसलाई निवृत्त गर्नको लागि मानिसले घरलाई आवश्यकता अनुसार गोबर माटो वा चुनले वर्षमा एक चोटी पोत्ने प्रचलन छ । जस्ले गर्र्दा वर्षाको धेरै कीटाणुहरू नष्ट हुन्छन् ।

गोबर चुन आदि किटाणु नाशक हुन् भन्ने कुरा धर्मशास्त्रले तथा वैज्ञानिकहरूले पनि प्रमाणित गरिसकेका छन् । यसरी लिपपोत गर्दा पनि केही कीटाणु बँचेको छ भने त्यसलाई निवृत्त गर्नको लागि सारा घरमा तेलको बत्ती बाल्दा तीव्रगन्ध आउँछ सो अती उपयोगी हुन्छ । यसले जुन बचेका कीटाणुहरू छन् ती सबैै नष्ट हुन्छन् । जस्ले गर्दा रोगको भयहुँदैन । यसले गर्दा दीपावलीको ठूलो महत्व  मानिएको हो । यिनै दृष्टिले विचार गर्दा आजकालको बिजुलीको उज्यालो शोभाजनक छ भनी भन्न सकिन्छ, तर कीटाणु नाश गर्ने पक्षमा भने उत्तम मानिदैन जति तेलको बत्तीको उज्यालोलाई  मानिन्छ । अतः हाम्रा पुर्खाले यही कीटाणु नाशक दीप भएको हुँदा नै हरेक साँझ दियोमा तेलको बत्ती बाल्ने याने साँझको बत्ती बाल्ने प्रचलन ल्याएको वैज्ञानिक तरिका नै हो रहेछ भ; सकिन्छ ।

यम दीपदान— त्रयोदशीको दिन चौबाटोमा, घरको ढोकामा बत्ती बाल्ने चलन छ । निर्णयसिन्धुमा यम दीपदानको वर्णन गर्दै स्कन्दपुराणको यो वचनलाई उद्धृत गरिएको छ—कार्तिकस्यासिते पक्षे त्रयोदश्यां निशामुखे । यमदीपं बहिर्दद्यादपमृत्युर्विनश्यति ।। अर्थात् कार्तिकको त्रयोदशीको साँझको समयमा घर बाहिर दीपदान गर्नुपर्दछ । यसले अपमृत्युलाई नष्ट गरिदिन्छ । यस दीपदान दीपावलीको आरम्भिक रूप हो । यसरी त्रयोदशीको दिन बाहिरको कीटाणुहरूको शुद्धि गरेपछि चतुर्दशीको दिन अभ्यङ्कस्नान (तिलको तेल लगाई नुहाउनु) द्वारा शरीरगत कीटाणुहरूलाई निवृत्त गरिन्छ र तब दीपावलीको मुख्यउत्सव आरम्भ हुन्छ ।

दोस्रो दिन नरक चतुर्दशी अथवा रूपचतुर्दशी साथै कुकुरतिहार पनि हो । कुकुरको पूजा गरी मिठो मिठो खाने कुरा खान दिइन्छ । यस दिन घरको सफाइ आदि गर्ने प्रचलन छ । वर्षा ऋतुमा घरमा चिसोले गर्दा कायी, लेउ आदि लाग्दछ । धेरै किसिमका किराहरूले जन्म लिन सक्दछन् किनकि बाहिर हिलो आदि पानी जमेको हुन्छ । अतः यस दिन सबै व्यक्ति मिलेर आफ्नो घर, टोल आदिमा सरसफाइ गर्दछन् । यस दिन घरमा विभिन्न किसिमका पक्वान्नहरू बनाउँदछन् । यस दिन कसैले स्नान गरेन भने नराम्रो मानिन्छ । तसर्थ बिहानै स्नान गरी सफासुग्घर रहनुपर्दछ । यसैले कुकुरलाई घरको संरक्षक र यमप्रीति कारक मानी पूजा गर्ने गरेका हुन् ।

मधुसूदन सुवेदी केन्द्रिय कानून पुस्तकालय जमलका प्रमुख तथा वरिष्ठ लेखक हुनुहुन्छ । उहाँका ७० भन्दा बढी धार्मिक तथा पुस्तकालय बिज्ञान सम्वन्धी पुस्तकहरु प्रकाशित छ ।

About Author

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Write a Comment

Only registered users can comment.