के हो लोकविश्वास(जनविश्वास) ?

के हो लोकविश्वास(जनविश्वास) ?

के हो लोकविश्वास(जनविश्वास) ? यसको बारेमा चर्चा गरौ । लोकले मान्दै आएको परम्परागत विश्वास नै लोकविश्वास हो। हरेक मानव समुदायमा कुनै न कुनै प्रकारको विश्वास रहेको पाइन्छ। यस्तो विश्वास स्थान, जातजाति-भाषाभाषी र संस्कृति अनुसार भिन्नभिन्न प्रकारको हुने गरेको पाइन्छ। कुनै कुनै विषयमा भने धेरैतिर यस्तो विश्वासमा समानता रहेको पनि भेटिन्छ।

लोकजीवनमा घट्ने अनेक घटनाहरूले यस्तो विश्वासको जन्म हुने र प्रचलनमा आउने गर्दछन्। धेरै सन्दर्भमा लोकविश्वासको जन्ममा प्रकृतिको योगदान देखिन्छ। प्राकृतिक घटना  र आकस्मिकता लोकमा लोकविश्वास जन्माउने र ती विश्वासलाई स्थापित गराउने प्रमुख कारणहरू हुन्। लोकविश्वासलाई अन्धविश्वास र रुढीको रूपमा पनि लिइन्छ। तर सबै लोकविश्वासहरू अन्धविश्वास वा रुढी होइनन्। अन्धविश्वास वा रुढी भन्नका लागि ती विश्वासहरूको वैज्ञानिक परीक्षण गर्नु जरुरी छ। लामो अनुभव तथा भोगाइका परीक्षामा परीक्षण भएर मात्रै लोकविश्वासहरू स्थापित हुने भएकोले प्रायः लोकविश्वासहरू वैज्ञानिक र व्यावहारिक सिद्ध हुन्छन्। कुनैकुनै भने काल र परिस्थितिको पिसाइबाट असत्य बन्न पुग्दछन्। अतः लोकविश्वास, अन्धविश्वास वा रुढी मात्रै होइन, यो लोक जीवनको ज्ञान र अनुभवबाट जन्मेर स्थापित भएको लोकको विश्वास हो।

वर्गीकरण

लोकविश्वासलाई धेरै आधारहरूमा वर्गीकरण गर्न सकिन्छ। जातिको आधारमा, भाषाभाषीको आधारमा, स्थानको आधारमा, बस्तु र विषयको आधारमा। जातजातिअनुसार वा भाषाभाषीअनुसार पनि लोकविश्वासमा भिन्नता पाइन्छ। स्थान र कालअनुसार पनि लोकविश्वासमा भिन्नता हुन्छ। तर सबैलाई केलाउँदा विषय र बस्तु नै लोकविश्वास वर्गीकरणका मुख्य आधार हुन भन्ने देखिन्छ।

पूर्वाचार्यहरूको वर्गीकरण निम्नानुसार राखेको पाइन्छ-

१) शुभ तथा कल्याणको निमित्त गरिने कर्मकाण्डी विश्वासहरू

२) पशुपक्षी विषयक विश्वासहरू

३) आंगिक क्रिया विषयक विश्वासहरू

४) शारीरिक चिन्ह विषयक विश्वासहरू

५) साइत-बिसाइत विषयक विश्वासहरू

६) वस्तुको निर्माण र उपयोग विषयक विश्वासहरू

७) भविष्य सूचना विषयक विश्वासहरू

८) स्वप्न विषयक विश्वासहरू

९) निषेध विषयक विश्वासहरू

दिवसको यो वर्गीकरण नेपालका धिमाल जातिमा प्रचलित लोकविश्वासको सन्दर्भमा आएको हो। उपाध्यायले भारतमा बसोबास गर्ने जनताहरूमा प्रचलित लोकविश्वासहरूलाई निम्नानुसारका शीर्षकहरूमा राखेर हेरेका छन्-

१) आकाशीय पिण्डसम्बन्धी लोकविश्वास

२) पृथ्वीसम्बन्धी लोकविश्वास

३) प्राणी जगतसम्बन्धी लोकविश्वास

४) मानव शरीरसम्बन्धी लोकविश्वास

५) विविध लोकविश्वास

विविध अन्तर्गत महिना, दिन, बार तथा घरेलु बस्तुसम्बन्धी लोकविश्वासहरूलाई समावेश गरिएको छ। सुवेदीले नेपाली लोकजीवनमा प्रचलित लोकविश्वासहरूलाई निम्नानुसार शीर्षकहरूमा राखेर चर्चा गरेको पाइन्छ-

१) शकुन-अपशकुन

२) पापपूण्य-स्वर्गनर्क

३) श्राद्धकर्म-कुलायन पूजा

४) लागोभागो-जोखना

५) नजरलाग्नु-आँखा लाग्नु

६) टुनामन्तर वा मोहनी

७) धामी पतुर्नु तथा देवता चढ्नु

८) डाइनी बोक्सी र बोक्सेरो

९) किचकन्नी तथा भयांनी

१०) राक्षस पूजा

११) भूतप्रेत, मसान, मुर्कट्टा, ख्याक

१२) इन्द्रजाल र जादू

माथि प्रस्तुत वर्गीकरणहरूमध्ये उपाध्यायको वर्गीकरण बस्तुको आधारमा भएको छ भने अन्य दुवै वर्गीकरणमा विषय र बस्तु दुबै मिसिएर आएका छन्। कुनै एउटालाई आधार मानेर गरिएको वर्गीकरण बढी वैज्ञानिक हुन्छ।

यस आलेखमा बस्तुलाई मुख्य र विषयलाई सहायक आधार मानेर लोकविश्वासलाई निम्नानुसार वर्गीकरण गरी उपलब्ध लोकविश्वासहरूलाई तिनै शीर्षकमा राखी जानकारी दिइएको छ।

१) प्रकृति र प्राकृतिक घटनासम्बन्धी लोकविश्वास

२) ऋतु, महिना, दिन, बारसम्बन्धी लोकविश्वास

 ३) सङ्ख्यासम्बन्धी लोकविश्वास

४) पशु-पक्षीसम्बन्धी लोकविश्वास

५) मानव अङ्ग वा आंगिक क्रियासम्बन्धी लोकविश्वास

६) स्वर्ग-नर्क तथा पाप-पूण्यसम्बन्धी लोकविश्वास

७) टुना, मोहनी, मन्त्र, देवता, राक्षस, डाइनी, बोक्सी, भूतप्रेत, धामीझाँक्री, किचकन्नीसम्बन्धी लोकविश्वास

८) शकुन-अपशकुनसम्बन्धी लोकविश्वास

९) कल्याण-अकल्याणसम्बन्धी लोकविश्वास

१०) भविष्य सूचनासम्बन्धी लोकविश्वास

११) स्वप्नसम्बन्धी लोकविश्वास

१२) अन्य उपलब्ध केही लोकविश्वासहरू

साभार : नेपाली विकिपिडियाबाट

About Author

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Write a Comment

Only registered users can comment.