युद्ध विज्ञानको दस्तावेज

युद्ध विज्ञानको दस्तावेज

युद्ध विज्ञानको दस्तावेज । धनुर्वेद प्राचीन विज्ञानको एक सुदृढ र सुत्रसिद्ध शाखा हो । युद्धसम्बन्धी विषयको वर्णन, शस्त्र-अस्त्रहरूको निर्माण विधि र तिनलाई चलाउने उपाय लगायत सैन्य विज्ञानका विविध विषयको चर्चा धनुर्वेदमा गरिएको हुन्छ । प्राचीनकालमा हातहतियारहरूमा धनुष नै मुख्य थियो । त्यसैले युद्धमा समर्पित शास्त्रको नाम धनुर्वेद रहन गयो । वैदिककालदेखि नै धनुर्वेद स्वतन्त्र विद्याको रूपमा प्रतिष्ठित हुँदै आएको देखिन्छ ।

ऋग्वेदमा सेनालाई पृतना भनिएको छ । नेपालमा सेनाको एक साङ्गठनिक ढाँचालाई अहिले पनि पृतना नै भनिन्छ । भगवान् शिव धनुर्वेदका प्रवर्तक हुन् । नेपालमा महाशिवरात्रिका दिन सेना-दिवस मनाउने परम्परा छ । परशुराम, बृहस्पति, भरद्वाज, द्रोणाचार्य, अर्जुन, सुधन्दा र राम धनुर्वेद शास्त्रमा योगदान दिने सुप्रसिद्ध नाउँहरू हुन् । पुराणमा उल्लेख गरिएका अठारवटा मुख्य विधाअन्तर्गत धनुर्वेद पनि पर्दछ । नीतिशास्त्रमा बताइएका चौसठ कलामध्येका सातवटा कला धनुर्वेद भित्रका छन् । धनुर्वेद विषयका थुप्रै हस्तलिखित ग्रन्थहरू अहिले उपलव्ध छन् ।

यस विषयका कतिपय ग्रन्थ लोप भए पनि केहीलाई भने पुस्तकका रूपमा प्रकाशित गरिएको छ । राष्ट्रिय अभिलेखालयमा संस्कृत भाषा बाहेक नेवारीमा समेत धनुर्वेदका हस्तलिखित ग्रन्थ रहेका छन् । वेद, पुराण र शास्त्रहरूमा धनुर्वेदका विवरणहरू पाईन्छन् । यजुर्वेदमा अश्वमेध प्रकरणको सन्दर्भमा धनुर्वेदको महत्त्व वणिर्त छ । अथर्ववेदको चौथो काण्डमा धनुषको महत्त्व बताइएको छ। पुराणमा विशेष गरी अग्निपुराणमा धनुर्वेदको वर्णन गरिएको छ । रामायण र महाभारतमा धनुर्युद्धको मनोहर ढङ्गले वर्णन गरिएको छ ।

धनुर्वेद सूत्रहरूको उल्लेख महाभारतको सभापर्वतमा गरिएको छ । उक्त ग्रन्थको भीष्मपर्वमा फौज व्यवस्थित पार्ने ‘व्यूहशास्त्र’ सम्बन्धी जानकारी दिइएको छ । भीष्मद्वारा रचित योगकेतु र चन्द्रकेतु नामक पुराना किताबमा धनुर्वेदमा पारङ्गत हुने ज्ञान समेटिएको छ । कौटिल्यको अर्थशास्त्रमा युद्ध-व्यवस्थापन विषयका विवरणहरू दिइएका छन् । भनिन्छ शुक्राचार्यको पनि धनुर्वेदसम्बन्धी कुनै कृति थियो, यसको अनेक उद्धरण ‘वीरमित्रोदय’ मा पाइन्छ । सुश्रुत संहिताको चिकित्सास्थान बाह्रौँ अध्यायमा टिकाकार डल्हणले जमदग्निकृत धनुवेदको बारेमा उल्लेख गरेका छन् ।

धनुर्वेदका ग्रन्थहरूमा सैन्यविद्यालाई चार भागमा विभाजित गरिएको छ ः पहिलो सैन्यशिक्षा, दोस्रो-सैन्य अभ्यास, तेस्रो-शस्त्रअस्त्र निर्माण र चौथो हातहतियारको प्रयोग । मुख्य चार प्रकारका सेना मानिएको छ -पैदल सेना, घोडचढी सेना, गज -हात्ती) सेना र रथ सेना । मित्रबल, आटवीबल, मौलबल, भृत्यवल र द्विषद्बल- यी सेनाका पाँच श्रेणी हुन् । पार्वत, वन्य, कृत्रिम र नदिय-यी चार प्रकारका दुर्ग -हतियार भण्डार) हुन् । धनुषयुद्ध, चक्रयुद्ध, भालायुद्ध, खड्गयुद्ध, छुरिका युद्ध, गदायुद्ध र बाहुयुद्ध -कुस्ती) जस्ता विभिन्न थरिका युद्धको वर्णन धनुर्वेदका ग्रन्थमा पाईन्छन् । ती ग्रन्थमा आग्नेय, पर्जन्य, वायव्य, पन्नग, गरुड, ब्रहृमास्त्र, पाशुपत र नारायण अस्त्र लगायतका अस्त्रहरूको विवरण रहेका छन् । त्यसबाहेक अन्य शस्त्रहरूको पनि नाम दिइएको छ, जस्तै-शक्ति, तोमर, पाश, ऋृष्टि, गदा, मुद्गर, चक्र, वज्र, त्रिशूल, असि, खड्ग, चन्द्रहास, फरसा, मुशल, धनुष, वाण, परिध, भिन्दिपाल, नाराच, परश, कुण्टा, शङ्कु, वर्छी, पट्टशि आदि ।

प्राचीनकालमा सैन्य सङ्गठनमा व्यापक जनशक्तिको उपयोग हुन्थ्यो । रामायणमा रामसँग भेट गर्न जाँदा भरतले असङ्खय स्थल सेना, एकलाख घोडचढी सेना, नौ हजार गजसेना, छहजार रथसेना र पचासहजार बायुसेवा लगेको उल्लेख पाइन्छ । लिच्छवि राजा नरेन्द्रदेवका पालामा घोडचढी सेना मात्रै सातहजार भएको जानकारी चिनियाँ ताङ वृत्तान्तमा पाइन्छ । वायुमण्डलमा गड्बडी उत्पन्न गराई विरोधी सेनालाई ध्वस्त पार्ने ‘अस्तुरविद्या’ ले धनुर्वेदलाई नयाँ उचाइमा पुर्‍याउने काम गर्‍यो । यस विद्याको जानकारी रामायण र कार्तिक महात्म्यमा दिइएको छ । हावामा युद्ध गर्ने वैमानिक युद्धकलाको उल्लेख रामायणको अयोध्याकाण्ड, मनुस्मृतिको सातौँ अध्याय र महाभारतको आदिपर्वमा गरिएको छ ।

युद्धमा घनघोर ध्वनिद्वारा शत्रुको साहस र मनोबल कमजोर पार्न दुन्दुर्भि, क्रन्द र धौंसा जस्ता वाद्ययन्त्रको पनि उहिले प्रयोग हुने गर्दथ्यो । थरिथरिका विष र प्राणघातक वनस्पतिद्वारा विरोधीको इहलीला समाप्त पार्ने सम्मका प्रयास हुन्थे । शखवंश जस्ता खतरनाक जडीबुटीको जरालाई पिसेर बनाइएको लेप लगाएको शस्त्र र अस्त्रको प्रहारबाट घाइते भएकाहरूको घाउ निको हुन ज्यादै गाह्रो पर्ने भएकाले यस प्रकारको जडीबुटीजन्य युद्धकला उहिले निक्कै लोकपि्रय थियो । त्यस्तै विरोधी सैनिकको संवेदनशील अङ्ग विशेष -मर्म मा प्रहार गरेर इच्छित सफलता प्राप्त गर्ने मर्मयुद्धकला पनि पहिले प्रचलनमा रहेको थियो ।

सैन्य सङ्गठतको शक्ति सैनिकहरूको स्वास्थ्यमा निर्भर रहने भएकाले धनुर्वेदमा सैन्य चिकित्सालाई अति नै महत्त्व दिइएको पाइन्छ । चरकसंहिता र सुश्रुतसंहिता जस्ता आयुर्वेदका ग्रन्थमा आधारित सैन्यस्वास्थ्य विज्ञान धनुर्वेदको अभिन्न अङ्ग बनिसकेको थियो। ईशापूर्व १५०० वर्षअघि रचना गरिएको सुश्रुतसंहिताको युक्तसेनीय अध्यायमा सैन्य उपचारको ज्ञान दिइएको छ । वि.सं. ७०० तिर रचना गरिएको अष्टाङ्गसङ्ग्रह नामक ग्रन्थमा वैद्यलाई छाउनीमा राख्ने र त्यस इलाकामा विशेष चिन्ह भएको झण्डा राख्ने नियमको वर्णन छ । वैद्यको झण्डा देखेर विरोधीले त्यहाँ हमला गर्दैनथे । ‘गोर्खा राजवंशको पुरानो वंशावली’ नामक हस्तलिखित किताबमा सैनिकहरूका लागि उपयोगी हुने आयुर्वेदिक औषधिको विवरण समावेश गरिएको छ ।

युद्ध अपि्रय भएपनि यो अवश्यम्भावी छ । त्यसैले युद्धविज्ञानलाई उपेक्षा होइन, यसलायई मर्यादायुक्त र प्रकृतिमैत्री बनाइनु पर्दछ । यही उद्देश्यका साथ धनुर्वेदको प्रादुर्भाव भएको हो । युद्धमा समेत प्राकृतिक सामग्रीको उपयोग गरिनुपर्छ भन्ने मान्यता राख्ने धनुर्वेदका सिद्धान्तहरू अहिले पनि मननयोग्य छन् । पृथ्वीलाई नै ध्वस्त पार्ने अदूरदर्शी सैन्यविज्ञानलाई पछ्याउँदै आएको वर्तमान विश्वले युद्धपछि पनि यो पृथ्वी भावि पिडीलाई हस्तान्तरण गरिनुपर्छ भन्ने धनुर्वेदको चिन्तन आत्मसात गर्नु आवश्यक छ ।

साभार : डा. सुशील दाहाल, गोरखापत्र/मझेरी डट कम

About Author

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Write a Comment

Only registered users can comment.