श्रीकृष्ण र गीता धर्म

श्रीकृष्ण र गीता धर्म
Prof. Dr. Bina Paudel

प्रा.डा. वीणा पौड्याल

श्रीकृष्ण र गीता धर्म । सनातन धर्मावलम्बीहरू (हिन्दू) मानिस वा वस्तुमा सधैं रहने प्रमुख गुण वा स्वभावलाई धर्म मान्छन्। राम्रो आचरण र शास्त्रअनुसारको नामलाई पनि धर्म नै भनिन्छ। विस्तृत अर्थ समेटेको धर्मका रक्षक एवं धर्म पालन गर्नेलाई धर्मपालक, आस्तिक भनेजस्तै धर्ममा आस्था नराख्‍ने , धर्मको द्रोह गर्नेलाई नास्तिक वा धर्मद्रोही भनिन्छ। धर्म शब्दले पूजा, पाठ, जप, ध्यान आदिलाई मात्र समेट्छ भन्ने धारणा पनि हाम्रो समाजमा व्यापक छ। समाजशास्त्री र मानवशास्त्रीहरूले मानिसले अवलम्बन गर्ने सबै कार्यको सबैभन्दा महत्वपूर्ण पक्ष धर्मलाई मानेका छन्। धर्मको व्यावहारिक पक्षका रूपमा संस्कृति र संस्कार विकसित भएको देखिन्छ।

सनातन धर्मावलम्बीहरूका शास्त्रहरू वेद, उपनिषद्, पुराण, रामायण र महाभारतमा पाइने सूक्ष्म चिन्तनको चर्चा पश्चिममा पनि गरिन्छ। माथिल्लो स्तरको जीवन दर्शनको भण्डार नै मानिन्छ उपनिषद्, गीता र बह्मसूत्र (वेदान्तसूत्र) जसमध्ये उपनिषद्हरूको निचोड हो गीता।मानिसलाई बाटो देखाउने पथप्रदर्शक ग्रन्थ हो, गीता। कर्तव्यशास्त्र, नीतिशास्त्र, योगशास्त्र, कर्म, उपासना, ज्ञानशास्त्र सबै थोक हो गीता। त्यसैले गीतालाई महात्मा गान्धीले ‘गीता माता’ भनेर सम्मान गर्दै शब्द पुष्पाञ्जलि अर्पण गरे। ६ वटा दर्शन न्याय, वैशेषिक, साख्य, योग, मीमांसा र वेदान्तले जसरी तर्कद्वारा आफ्ना विषयवस्तुलाई प्रमाणित गरेका छन्; गीताले त्यसरी नै ती सबैलाई निष्काम कर्ममा ल्याएर टुंग्याएको छ।

षटदर्शनका प्रवर्तकहरू गौतम, कणाद, कपिल, पतञ्जलि, जौमिनि र बादरायणले विभिन्न उदाहरण दिएर गरेका तर्कहरूको एउटा सरल सिंगो स्वरूप हो गीता।  चारपाँच हजार वर्षअघिको समाजलाई निर्देशन गर्न भनिएका गीता आजको युवापुस्ताका लागि पनि उपयोगी छ? भन्ने प्रश्न बारम्बार उठेका छन्। श्रीकृष्णले युद्धमा अर्जुनलाई जसरी कर्तव्यको बोध गराउनुभयो, त्यसरी नै गीताका प्रत्येक श्लोकले आजका नयाँ पुस्तालाई पनि बाटो नबिराईकन आआफ्नो कर्म गर्न निर्देशन गर्छ। विश्वका सम्पूर्ण मानव जातिको उन्नतिको मूल हो कर्म। सबै सत् कर्मबाटै मानिसले आफ्नो, परिवारको, समाजको, देशको र विश्वकै दुःख हराउन सक्छ।

गीताको उद्देश्य अर्जुनको मोह हटाएर उनलाई युद्धमा प्रवृत्त गराउनु हो, त्यसैले यही उद्देश्यले गीताको प्रारम्भ भएको छ। गीताका १८ अध्यायमध्ये पहिलो अध्याय अर्जुन विषाद योगमा अर्जुनकै मोह हटाउने प्रयत्न गरिएको छ। मोह हटाउन कर्मको आवश्यकता भएकाले त्यसकै बारेमा गीतामा गहन छलफल गरिएको छ। कर्म गर्दा फलको आश नगर्ने तर फल प्राप्त भएमा सहर्ष स्वीकार गर्नेबारेमा गीतामा बारम्बार व्याख्या गरिएको छ। कर्मयोगको व्याख्या गीताको दोस्रो अध्यायमा छ । दोस्रो अध्यायको ४७औं श्लोकमा प्रस्टसँग भनिएको छ। ‘कर्मैमा हक तिम्रो छ, फलमा हैन अर्जुन् न राख फलको आशा, न इच्छा कर्म छोड्न’ प्रत्येक मानिसले कर्म त गर्नैपर्छ। उसको अधिकार भनेकै कर्म गर्नु हो। कर्मफलमा भने उसको अधिकार छैन।

आकाशे पानीको भरमा खेती गर्नुपर्ने कृषकले आफ्ना खेत, बारीमा खनजोत गरेर यामअनुसार बीउ छर्ने, बेर्ना सार्ने गर्छ तर अतिवृष्टि, अनावृष्टि वा बाढीपहिरो, भूकम्प र आगो लाग्दा उसले केही गर्न सक्दैन।  प्राकृतिक विपद् कम गर्ने केही उपाय हामीले जाने पनि सबैको ज्ञान हामीसँग छैन। त्यसैले भोलि पानी नपर्ला वा बढी पर्ला भनेर आज बीउ नछर्ने होइन। आफ्नो काम सकारात्मक सोच राखेर गर्दै जाने र जस्तो नतिजा पनि स्वीकार गर्ने अभ्यास गीताले सिकाएको छ। युद्धमा विजय, व्यापारमा धन, अध्ययनमा ज्ञान र डिग्रीको प्राप्ति अधिकांशको कर्मको उद्देश्य हुन्छ। तर गीताले बारम्बार निष्कामकर्म गर्न सम्झाएको छ। सुख, दुःख, लाभ, हानि, जय, पराजय सबैलाई समान ठानेर भगवान (प्रकृति) सँगै योग युक्त भएर कर्म गर्नु नै गीतामा बताइएको कर्मयोग हो।

गीताको दोस्रो अध्यायको ३८औं श्लोकमा भनिएको छ, ‘जितहार, नाफाहानि, सुखदुःख बराबरी सम्झेर गर संग्राम, पापी हुन्नौं यस्तो गरी’ गीताको तेह्रौं अध्यायको सातौंदेखि एघारौं श्लोकमा ज्ञान ठोस हुनुपर्छ जसले हामीलाई मार्गदर्शन गरोस् भन्दै बीसवटा साधन बताइएको छ; जसमा आफ्नो श्रेष्ठतामा घमण्ड नगर्ने, आफ्नो कुभलो चिताएर खराब गर्नेको अपराध पनि क्षमा गर्ने, मन, वाणी र शरीरबाट सरलता झल्किने, शरीर र मन शुद्ध गर्ने, बुद्धि, मन र इन्द्रियलाई वंशमा राख्ने, आचार्य (गुरु)को श्रद्धाभक्तिपूर्वक सेवा गर्ने, श्रीमती, छोरा, धन, घर आदिबाट मन फुकाउनसक्ने, प्रिय र अप्रिय वस्तुको प्राप्तिमा चित्त सधैं समान राख्ने र परमात्मा (प्रकृति) बाहेक कुनै पनि वस्तुमा आफ्नो चित्त नलगाउनेले मात्रै ज्ञान प्राप्त हुन्छ भनिएको छ। यसरी नै गीताको बाह्रौं अध्यायमा भक्ति योगको बारेमा प्रकाश पारिएको छ।

श्रीकृष्णले गीतामा प्रस्ट बताउनुभएको छ। मान-अपमान, जाडो गर्मी, सुख- दुःख, निन्दा-स्तुति सबै स्थितिलाई समान रूपले स्वीकार गर्ने भक्त नै भगवान्का प्रिय हुन्छन्। यस्तो महत्वपूर्ण ग्रन्थ गीताका जन्मदाता श्रीकृष्ण बहुआयामिक व्यक्तित्वका थिए। द्वापर युगको अन्त्यमा जेलभित्र जन्मिएका श्रीकृष्णका वली हजुरबुवा देवकका दाज्यू उग्रसेन त्यस बेलाका मथुराको गणसंघका प्रमुख थिए । उग्रसेनका छोरा कंश हुल्या, एकतन्त्रवादी स्वभावका थिए। कंशले आफ्ना बाबुलाई पदबाट हटाएर नजरबन्द गरेर आफूलाई आफैंले त्यसमा नियुक्त गरे । मगधका राजा जरासंधको छोरी विवाह गरेकाले कंश निकै शक्तिशाली थिए।

महाभारत र भागवत पुराणमा श्रीकृष्ण र कंशको सम्बन्ध, संघर्ष र कूटनीतिको बारेमा विस्तृत वर्णन छ । कृष्णलाई अपमान गर्न, भगाउन, मार्न, कंशले गरेका विभिन्न प्रयत्न र अलौलिक घटनाहरू शास्त्रहरूमा थुप्रै छन्।  कंशले चेदिराज शिशुपाल र यवन कालनेमिको सहयोगमा मथुरामा सत्रपल्टसम्म आक्रमण गरेका थिए। श्रीकृष्णले सुराष्ट्रमा नयाँ राज्यको स्थापना नै गरे । त्यसपछि श्री कृष्णको अधिकांश समय द्वारकामा बित्यो। श्रीकृष्ण गोपिनीहरू र राधाको सम्बन्धले हिन्दू दर्शनको महत्वपूर्ण पाटो समेटेको छ जुन निकै उत्कृष्ट र रोचक छ।

भदौ महिनाको कृष्णपक्षको रोहिणी नक्षत्र, अष्टमी, तिथि बुधबारको मध्य रातमा मथुराको जेलमा जन्मिएका श्री कृष्णले न्यायका लागि अन्यायी व्यक्तिहरूको विरुद्धमा लड्न सिकाए। धर्म कर्तव्यबाट कोही पनि विमुख नहोऊन भनेर कर्तव्यबोध गराउन श्रीकृष्णले बताएका उपाय ‘गीता’ आजको पुस्ताका लागि पनि उत्तिकै उपयोगी छ। भागवत वैष्णव धर्म नेपालमा लिच्छविकालदेखि नै प्रचलनमा थियो। लिच्छवी राजा मानदेवले विष्णुको पाँचौं अवतार वामनको अभिलेख (इ.सं.४६७) सहितको दुईवटा मूर्ति लाजिम्पाट र पशुपति तिलगंगामा स्थापना गरेका प्रमाण छन्।

कृष्णका बाललीला रोचक र प्रेरणादायी छ। मथुराको जेलबाट कृष्णलाई सुरक्षित राख्न बसुदेवले वृन्दावन गोकुलका नन्दकहाँ पुर्‍याउछन्। नन्द र यशोदाले कृष्णको बाललीलाको आनन्द र जिम्मेवारी दुवै लिन्छन्।  कृष्णले सानैदेखि अन्यायी, अत्याचारी राक्षसहरूलाई मारेको, दमन गरेको भगाएको वर्णन पुराणहरूमा छ। पूतना, तृणावर्त, बकासुर, अघासुर, धेनुका, हात्ती स्वरूपका कुवलयापिड सबैलाई बालकृष्णले दमन गरेका थिए। कृष्णको बाल्यकाल प्रकृतिको सुन्दर थलोमा बिते पनि सारै संघर्षमय थियो। आफूसँगै आफ्ना साथीभाइ र परिवारका सदस्यहरूको सुरक्षामा श्रीकृष्णले खुवै खट्नु पर्‍यो, कृषिको प्रवद्र्धन, गौपालन र शुद्ध जलाशयका लागि उनले गरेका विविध कार्य अद्भुत र प्रशंसनीय छन्। विष्णुका आठौं अवतारका रूपमा जन्मिएका श्रीकृष्णले पृथ्वीका धेरैजना आसुरी शक्तिको दमन गरे।

सनातन धर्मका विभिन्न शास्त्रमा अवतारवादको उल्लेख भए पनि गीतामा सारै सरल र सहज ढंगले व्याख्या गरिएको छ। गीताको चौथो अध्यायको सातौं र आठौं श्लोकमा भगवान्को अवतारवादको आवश्यकता प्रस्ट पारिएको छ। कृष्णको समयमा थुप्रै आसुरीशक्तिले सर्वसाधारणलाई विभिन्‍न ढंगले अन्याय, अत्याचार गरिरहेका थिए। त्यसमध्ये जरासन्ध, शिशुपाल, दन्तवक्त्र र कंशका कुकर्महरूको वर्णनले महाभारत र भागवतका पन्ना भरिएको छ।  कृष्णले ठीकठीक समयमा सबैलाई सार्वजनिक स्थलहरूमै दमन र प्राण हरण गरेर समाजलाई भयमुक्त बनाएका थिए। कामदेवलाई पनि मोहित गर्ने मदनमोहन श्रीकृष्णको वासुरीको धुन सुनेर मानव र पशुहरू पनि लालायित हुन्थे। श्रीकृष्णका ऐश्वर्यमध्ये सौन्दर्य ऐश्वर्यलाई विभिन्न लीलामा प्रस्तुत गरिएको छ। सम्पत्ति, बल, सम्पूर्ण प्रभाव, ज्ञान, त्याग, सौन्दर्य सबै कृष्णका ऐश्वर्यहरू हुन्।पूर्वजन्ममा वसुदेव र देवकी सुतपा र पृश्नि हुँदा विष्णु भगवान्लाई खुसी पारेर पुत्र रूपमा जन्मन अनुरोध गरेका थिए।

विष्णुको अवतारका रूपमा मथुराको जेलमा जन्मिएका मधुपति श्रीकृष्णले कर्मयोगको बाटोबाट सम्पूर्ण मानव जातिलाई बन्धनबाट मुक्त हुने शिक्षा प्रदान गरेर विश्वका प्राचीन महापुरुषहरूमध्ये बढी चर्चित र सम्मानित व्यक्तित्व भए। विष्णुका प्रमुख दस र चौबीसबाहेक उनन्चालीस र असंख्य अवतारका प्रसंग शास्त्रहरूमा आए पनि भागवतले श्रीकृष्णलाई सोह्रकलायुक्त पूर्णावतारका रूपमा वर्णन गरेको छ। महाभारतको अनुशासन पर्वअन्तर्गत दानधर्म पर्वको १४९ अध्यायमा भीष्मपितामहले श्रीकृष्णको स्तुति र युधिष्ठिरलाई उपदेश गर्दा विष्णुका हजार नामको पाठ गरेका छन्। पद्मपुराण र शाक्त प्रमोदमा पनि विष्णुको सहस्रनामको उल्लेख छ। मयूरको प्वाँख श्रीपेचमा लगाउने शिखण्डी, गाईहरूका इन्द्र गोविन्दलाई आज जन्माष्टमीको दिनमा स्मरण गर्दै यशस्वी कृष्णको कर्म गर्ने उपदेश मनन गरौं।

साभार : प्रा.डा. वीणा पौड्याल, अन्नपूर्ण पोस्ट, २०७२ भाद्र १९ शनिबार, प्रकाशित

About Author

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Write a Comment

Only registered users can comment.