पञ्चीकृत पञ्चमहाभूत भनेको के हो ?

पञ्चीकृत पञ्चमहाभूत भनेको के हो ?
मधुसूदन सुवेदी

मधुसूदन सुवेदी

पञ्चीकृत पञ्चमहाभूत भनेको के हो ?आकाश, वायु, तेज, जल र पृथ्वीहरु पञ्चमहाभूत हुन्। हिन्दु शास्त्रहरुका अनुसार यस ब्रह्माण्ड तथा यहा भएका सम्पूर्ण वस्तुहरु पञ्चमहाभूतले निर्मित हुन्छन्। यिनलाई पञ्चीकरण गर्ने तरिका यस्तो छ । पृथ्वीलाई दुई भाग लगाउँ त्यसबाट एक भाग अलग राखौं, अर्को एक भागलाई चार भाग गरौं – जल, तेज, वायु, आकाशलाई पनि  त्यसै गरौं । पृथ्वीको आधा भाग र त्यस्तै – जल, तेज, वायु, आकाशको चार भाग मध्ये एक–एक भाग समायोजन गरेमा पार्थिव शरीर बन्दछ । त्यस्तै जलको आधा भागमा अरुको चार भागको एक भाग समायोजन गरेमा जल शरीर बन्दछ । त्यस्तै वायुको आधा भागमा अरुको चार भागको एक–एक भाग समायोजन गरेमा वायु शरीर बन्दछ । त्यस्तै तेजको आधा भागमा अरुको एक–एक भाग समायोजन गरेमा, तेज शरीर बन्दछ । त्यस्तै आकाशको आधा भागमा अरु भूतको एक–एक भाग समायोजन गरेमा आकाश शरीर बन्दछ । पृथ्वी आदि भूत आ–आफ्नो भाग आ–आफ्ना कारण भएकालाई पञ्चमहाभूत भनिन्छ  । पञ्चमहाभूतहरु पञ्च तनमात्रा मार्फत उत्पति हुन्छन्। पञ्च तनमात्राहरुमा शब्द, स्पर्श, रुप, रस र गन्ध पर्छन।

आयुर्वेद शास्त्रका अनुसार प्रत्यक मानव शरीर यिनै पञ्चमहाभूतहरु मार्फत निर्मित छन। यी महाभूतहरु इन्द्रीयहरूसंग सम्बन्धित हुन्छन्। प्रत्यक महाभूतहरुको भिन्दा भिन्दै विशेषता छन।

१. आकाश: आकाश संग कान सम्बन्धित छ। यो शब्द तनमात्राबाट निर्मित छ।

२. वायु: वायु छालासंग सम्बन्धित छ। यो स्पर्श तनमात्राबाट निर्मित छ।

३. तेज: तेज पाचन प्रकियासंग सम्बन्धित छ। यो रुप तनमात्राबाट निर्मित छ।

४. जल: जल जिब्रोसंग सम्बन्धित छ। यो रस तनमात्राबाट निर्मित छ।

५. पृथ्वी: यो नाकसंग सम्बन्धित छ। यो गन्ध तनमात्राबाट निर्मित छ।

अब पञ्चतत्वको बारेमा विचार गरौं पञ्च तत्वमा आकाशको सत्वगुणको अंशबाट कानको इन्द्रिय उत्पन्न हुन्छ । वायुको सतत्व गुणको अंशबाट छालामा भएको स्पर्श इन्द्रिय उत्पन्न हुन्छ । तेजको सतत्व गुणको अंशबाट आँखाको इन्द्रिय उत्पन्न हुन्छ । जलको सतत्व गुणको अंशबाट जिव्रोको इन्द्रिय उत्पन्न हुन्छ । पृथ्वीको सतत्व गुणको अंशबाट घ्राणेन्द्रिय उत्पन्न हुन्छ । पाँच तत्वको सतत्व गुणको अंशबाट अन्तःकरण र त्यसमा रहने चार वृत्ति मन, बुद्धि, चित्त, अहङ्गार उत्पन्न हुन्छन् । मनले शङ्गल्प विकल्प गर्दछ यसका देवता चन्द्रमा हुन् । बुद्धिले निर्णय गर्ने काम गर्दछ यसका देवता व्यष्टिमा ब्रम्हाजी र समष्टिमा बृहष्पति हुन् । अहङ्गार — यसले यो काम मैले गरेको हो भन्ने घमण्ड गर्दछ । यसका देवता रुद्र हुन् । चित्त– सबै पदार्थ चिन्तन गरी विचार गर्नेलाई चित्त मानिन्छ । यसका देवता वासुदेव हन् ।

यी पाँच तत्वमध्ये आकाशको रजो गुणको अंशबाट वाक् इन्द्रिय (बचनको इन्द्रिय) उत्पन्न भयो । वायुको रजोगुणको अंशबाट हात चलाउने इन्द्रिय उत्पन्न भएको हो । तेजका रजो गुणको अंशबाट पाउमा रहने इन्द्रिय पैदा भयो । जलको रजोगुणको अंशबाट पायु अर्थात् गुदद्वारमा रहने इन्द्रिय पैदा भयो । पृथ्वीको रजोगुणको अंशबाट उपस्थ अर्थात् विषयानन्द इन्द्रिय पैदा भयो । यी पाँच इन्द्रिय मिलेमा रजोगुणबाट पञ्चप्राण उत्पन्न हुन्छ ।

पञ्चप्राण

यो प्राण वृत्तिभेदले गर्दा अलग देखिए जस्तो मात्र हो तर एउटै प्राण नै पाँच मुख्य नाम र पाँच उप प्राण छन् ।

मुख्य प्राण

(क) प्राण

मुख र नाकबाट शरीर भित्र पसेर बाहिर निस्कने वायुलाई प्राण भनिन्छ । यसको स्थान छाति र देवता सद्योजात हो ।

(ख) अपान

यसले मल मूत्रलाई तल तिर लगेर त्याग गर्ने काम गर्दछ । यो रहने स्थान पेट भन्दा मुनि र देवता वामदेव हुन् ।

(ग) व्यान

यसले खाएको अन्न रसलाई विभिन्न  नाडीहरूद्वारा शरीरका सम्पूर्ण भागमा पुयाउँछ । यसको देवता ईशान हुन् ।

(घ) उदान

यो वायुको गति माथितिर हुन्छ । अन्त्य अवस्थामा सबे वायुलाई समेटेर लैजान्छ । यो रहने स्थान घाँटी हो । यसको देवता तत्पुरुष हुन् ।

(ङ) समान

यस वायुले खाएको अन्न आदिलाई पचाउन मद्दत गर्छ । यसको स्थान पेट र देवता अघोर हुन् ।

उप प्राण

क) नाग– यसले डकार आउनु, बाडुली लाग्ने काम गर्दछ ।

ख)  कुर्म – यसले आँखा खोल्नु झिम्क्याउनु काम गर्दछ ।

ग)  कृकल– खोक्ने, हाछ्युँ गर्ने काम गर्दछ ।

घ)  देवदत्त– हाइ गर्नु, निद्रा आउने काम गर्दछ ।

ङ)  धनञ्जय–मृत्यु शरीरलाई फुलाउने काम गर्दछ ।

केन्द्रिय कानून पुस्तकालय जमलका प्रमुख तथा वरिष्ठ लेखक हुनुहुन्छ । उहाँका ७० भन्दा बढी धार्मिक तथा पुस्तकालय बिज्ञान सम्वन्धी पुस्तकहरु प्रकाशित छ ।

About Author

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Write a Comment

Only registered users can comment.