सनातन वैदिक हिन्दू संस्कारमा विवाह

सनातन वैदिक हिन्दू संस्कारमा विवाह
मधुसूदन सुवेदी

मधुसूदन सुवेदी

सनातन वैदिक हिन्दू संस्कारमा विवाह ! हिन्दूसंस्कार भन्ने वित्तिकै हिन्दूधर्म अर्थात् वैदिक सनातन धर्मसँग सम्बन्धित संस्कारहरू भन्ने कुरा स्वतः स्पष्ट हुनजान्छ । अतः यहाँ हिन्दूसंस्कार भन्नाले हिन्दूधर्मका अङ्कभूत विविध धार्मिक कृत्यहरू हुन् तीमध्ये विवाह पनि एक मुख्य संस्कारमा पर्दछ । हिन्दूको जीवनलाई सफलीभूत पार्न विवाह संस्कारको ठूलो महत्व रहेको छ । यदि व्यक्तिमा वैदिक सनातन हिन्दूधर्म प्रति श्रद्धा, भक्ति र विश्वास भरिएको छैन, वेदले बताएको कर्म र धर्म प्रति आस्था छैन भने ऊ पुरुषार्थ निम्ति पात्र बन्न सक्दैन । अनादिकालदेखि संस्कारहरूको प्रचलन भएको व्यापक रूपमा देखिन्छ र द्वापरयुगदेखि संस्कारले धार्मिकरूप लिएको बुझिन्छ । सनातनी हिन्दूका जीवनमा धार्मिक एवम् सामाजिक दृष्टिबाट संस्कारहरूले महत्वपूर्ण भूमिका खेलेको देखिन्छ । यसरी हेर्दा संस्कारहरू धार्मिक विश्वासको पूर्णताका निमित्त र सामाजिक परिस्थितिको समन्वय वा पूर्णताका लागि आवश्यक देखिन्छन् ।

सम्पूर्ण हिन्दूसंस्कारहरूमा धर्मशास्त्र अनुसार विवाहसंस्कारलाई सर्वाधिक महत्वपूर्ण स्थान दिइएको छ । धेरैजसो गृहस्थाश्रम आरम्भ विवाहसंस्कारबाटै भएको छ । किनभने समाजको प्रत्येक व्यक्तिले विवाह गरेर गार्हस्थ्यजीवन चलाउन प्रारम्भ गर्दछन् । अतएव विवाहसंस्कार नै अन्य सम्पूर्ण संस्कारहरूको मुख्यकारण हो । विवाह भनेको स्त्री पुरुषको सम्बन्धलाई मर्यादामा राख्ने कल्याणकारी लौकिक प्रथा हो । विवाह पारिवारिक स्थिरता, सांसारिक सुख र पारलौकिक कामना हो । विवाह एउटा मन्जुरनामा र सामाजिक अनुबन्ध हो । यसो हेर्दा विवाह स्त्री र पुरुषको समागमनको वैधता मानिएता पनि यसबाट मानिसको संवेगात्मक, बौद्धिक, शारीरिक, सामाजिक, राजनैतिक, आर्थिक लगाएत सबै क्षेत्रमा दाम्पत्य जीवनमा प्रवेश गरेकाहरूले नै प्रगति गर्न सक्दछन् । तसर्थ विवाहको उद्देश्य समष्टिरूपमा बृहत् तथा सर्वव्यापी भौतिक एवं आध्यात्मिक शक्ति र सुखको लागि हो र विधिविधानद्वारा गरिएको विवाहले उत्तरदायी बनाउँछ । गडबडीमा गरिएको विवाहले असफलता अशान्ति र झगडा नै पार्दछ । आज सम्मको मानव सभ्यताको क्रम वैवाहिक जीवनको शुरुवातबाटै बढदै गएको कुरामा दुईमत हुन सक्दैन । विशेष गरी स्त्री जातिका लागि विवाह नै व्रतबन्ध भएकोले उनीहरूको नयाँ जन्म संस्कार हो ।

विवाह शब्दको आशय विशिष्ठ रूपले एकले अर्कालाई पति–पत्नीको रूपमा वहन गर्नु नै हो । अर्को अर्थमा वधूलाई पितृघर तर्फबाट घरतर्फ लगिनु नै विवाह भनिएको छ । विवाह गर्नाले घरमा सुमधुर तथा स्नेहपूर्ण वातावरण हुन्छ । विवाहितजीवन पत्नीका साथमा प्रेम र आनन्दपूर्वक चल्दछ । प्रेमरूपी जलद्वारा सिञ्चित विवाहितजीवनरूपी वृक्षबाट सन्तानरूपी फल प्राप्त हुन्छ । अतएव अतिप्राचीनकालदेखि नै विवाहको स्थान अत्यन्त महत्वपूर्ण रहिआएको छ । पूर्णाङ्कजीवन प्राप्तिका लागि स्त्रीपुरुष दुवैले एक आपसमा विवाहसम्बन्ध कायम राख्नुपर्ने भयो । धार्मिक विधिविधानमा पनि पत्नीसहित हुनुपर्ने व्यवस्था भएकोले ऋणत्रयबाट मुक्ति पाउन सन्तान जन्माउनुपर्ने आवश्यकता नै विवाहको महत्वअधिकाधिक बढ्दै आएको छ । यसरी विवाहरूप पवित्र संस्कार सूत्रमा वरवधूलाई आबद्ध गरी धर्मानुकूल काम र अर्थको सेवन तथा धर्माजनमा प्रवृत्त गराइन्छ । वस्तुतः पतिपत्नीमा पवित्र प्रेम तथा एकात्मकताको भाव जागृत भएमा गृहस्थजीवन सुखमय हुन्छ र दुवैको आध्यात्मिक उन्नति हुन्छ । पतिपत्नी भनेका गृहस्थरूपी रथका दुइ पाग्रा हुन् र दुवै सन्तुलित रूपमा धर्मानुकूल साथ चलेमा मोक्ष पदमा सहजै पुग्न सक्ने हुन्छन् ।

विवाहमा हुने क्रियाकलाप
वरको स्वगत– (गोडा धुने इत्यादि) घरको नजीक आइपुगेका वरलाई कन्यापिता अथवा कन्यादाताहरूले अघ्र्य आदि उपचार सामग्रीले पूजा गर्नु स्वागत हो । विवाहमा वरलाई विष्णुको रूप र वधूलाई लक्ष्मीको रूप मानिएको छ । पाउका अधिष्ठाता (आधार) देवता विष्णु मानिन्छन् । अतः विष्णुरूपी वरको र लक्ष्मीरूपी वधूका पाउ धुनुको आशय विष्णु र लक्ष्मीको सम्मान हो । वर विष्णुको रूप हो भन्ने कुरा कन्यादानपछि प्रार्थना गर्दा पढिने मन्त्रबाट थाहा हुन्छ ।

मधुसूदन सुवेदी केन्द्रिय कानून पुस्तकालय जमलका प्रमुख तथा वरिष्ठ लेखक हुनुहुन्छ । उहाँका ७० भन्दा बढी धार्मिक तथा पुस्तकालय बिज्ञान सम्वन्धी पुस्तकहरु प्रकाशित छ ।

About Author

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Write a Comment

Only registered users can comment.