श्री स्वस्थानी व्रतकथा

श्री स्वस्थानी व्रतकथा
मधुसूदन सुवेदी

मधुसूदन सुवेदी

श्री स्वस्थानी व्रतकथा ! पौषशुक्ल पूर्णिमादेखि आरम्भ भई माघशुक्ल पूर्णिमासम्म शालिनदी लगायत विभिन्न क्षेत्रमा विशेष घुइँचो लाग्ने यो एक महिने स्वस्थानी व्रत ज्यादै कठिनको व्रत हो । उक्त एक महिना भरि घरघरमा व्रत पूजा एवं स्वस्थानी कथा पढिने हामी सनातन वैदिक हिन्दू धर्मावलम्बी नेपाली समाज छ । धर्म र दर्शनको प्रामाणिक स्रोतभूमि नेपालमा पशुपतिनाथ लगायत असंख्य देवदेवीका पीठहरू छन् । हिमालयपुत्री पार्वतीले आफ्नो पति रोज्ने क्रममा श्री स्वस्थानी परमेश्वरीको एकमहिने व्रत बसेको स्थान विशेष काठमाडौंको गौरीघाट क्षेत्र हो ।

गोकर्ण, गौरीघाट श्लेष्मान्तक वन पशुपति, किरातेश्वर  लगायत माघमासको लागि जल्दोबल्दो तीर्थक्षेत्र हो । श्री शालिनदी, हरिहरक्षेत्र र चन्द्रावती देखि नवराज र गोमा ब्रम्हाणीको कथा स्थल साँखु हाम्रो ऐतिहासिक धरोहर तीर्थ क्षेत्र पनि हो । मणिचूड, वज्रयोगिनी शालिनदीदेखि शिवपुरी र समग्रमा हिमालय क्षेत्र हाम्रा आराध्यदेव श्री शिवको वासस्थान नै हो । यस कथामा नेपालको गरिबी, कुटीरउद्योग, घरेलु उद्यमशीलताका सम्भावना समेत आर्थिक रूपान्तरण हुने गरी उल्लेख र विश्लेषण गरिएको छ । श्रीस्कन्दपुराण केदारखण्ड माघमाहात्म्य कुमार र अगस्त्यऋषिको संवादस्वरूप  श्रीस्वस्थानी  व्र्रत कथा पद्म पुराणबाट साभार गरिएको हो ।

वैदिक सनातनधर्ममा आधारित धरोहरको रूपमा रहेको नेपाली जनजीवनमा हिउँदे कठ्यांग्रिदो जाडोमा स्वस्थानीको व्रत बसी आफ्ना  इच्छा अभिलाषाहरू पूरा गराउने कामको थालनी आदिकालीन उषा समयदेखि नै आरम्भ गरिएको हो । स्वस्थानी व्रतकथा बोधगम्य र परिपूर्ण भावप्रद एवं फलदायक छ । यस व्रतको निमित्त स्वस्थानी व्रतकथा पुस्तक परम्परादेखि नै प्रचलनमा आएको पाइन्छ । उक्त पुस्तकमा सृष्टिक्रमदेखि सम्पूर्ण खगोल, भूगोलका सरल विवेचना हुँदै ३१ अध्यायमा भरिपूर्ण कुराहरू उल्लेख भएको हुँदा प्रत्येकको घर घरमा एक महिना सम्म पाठ गरिन्छ ।

परब्रम्हा परमात्मा जसलाई सधै ब्रम्हा, वरुण, इन्द्र, रुद्र, वायुदेवताहरूले स्तुति गर्दछन् । दिव्यस्तुतिवेद शिक्षा व्याकरण छन्द जोतिष निरुक्त कल्पादि अङ्क पदक्रम यथा धन जटापाठ सहित उपनिषद्हरूले पनि प्रार्थना गर्दछन् ।  वेदपारङ्क सामगान जान्नेहरूले सङ्कीतका ध्वनिहरू मार्फत  सामवेदका गानद्वारा प्रार्थना गर्दछन्, जसलाई योगीहरूमध्य पनि कसै कसैले मात्र सम्पूर्ण ध्यानका माध्यमहरूद्वारा मनले देख्दछन्, देख्न सक्छन्, जसको आदि अनादि तत्वलाई बुझ्न कठिन छ,  जसलाई देव असुर कसैले पनि जान्दैनन्  र बुझ्न सक्दैनन् त्यस्ता  परब्रम्हा परमात्मालाई नमस्कार छ ।

स्वस्थानी परमेश्वरीको कथा भन्नु पहिले पुस्तकलाई पूजा गरिसकेपछि प्रार्थन गरिन्छ जुन यस प्रकार छ–जसलाई शुक्ल वर्ण, धरती, अम्बरव्याप्त प्रभु, विभु जल, स्थलका र वायुका कणहरूसम्म वेष्टित, सम्पूर्ण जीव र उत्पन्न जगत् सृष्टि–स्थिति सञ्चालन–लय प्रलयसम्मका हर्ताकर्ता विशेष हर्षित र आनन्ददायी स्वरूपलाई उत्तमोत्तम सुगन्धित चन्दनद्वारा पूजा गरिएकोले उज्ज्वल शरीर भएकी, सफा धोती पहिरेकी, मल्लिका मालती आदि सुन्दर फुलका माला एवं सुनका गहनाहरूले सजिएकी, सुन्दर मोतीका मालाले सुशोभित भएकी, सम्पूर्ण ज्ञानको मुख्य कारण भएकी वीणा पुस्तक एक हातमा लिएकी र अर्को हातमा रुद्राक्षमाला लिएकी, त्रिलोक जननी वाग्देवी सरस्वती लामो समयसम्म हाम्रो मुखमा बास गर्नुहोस् । सबैमा मनमोहक, ज्ञान, बुद्धि र विवेक प्रदायक, सर्वेश्वर सर्वव्यापी प्रभुलाई  म वन्दना गर्दछु ।

जसको कृपाले लाटोलाई वाचाल बनाउँछ, लँगडालाई पर्वतमाथि चढ्न सक्ने बनाउँछ, त्यस्ता परमानन्दस्वरूप भएका लक्ष्मीपति भगवान् माधवलाई नमस्कार गर्दछु । अतुलनीय तेज भएका भगवान् नारायणका अवतार वेदव्यासलाई नमस्कार छ । जसको कृपाले गर्दा यो भगवान्को गुणगान गर्ने कथा भन्दैछु । भगवान् नारायण स्वरूप कृष्णलाई र नरोत्तम, अर्थात् अर्जुनलाई नमस्कार गरेर अनि सरस्वतीदेवीलाई नमस्कार गरेर त्यसपछि व्यास भगवान्लाई पनि नमस्कार गरेर जय अर्थात् महाभारतकथा एवं पुराण कथा भन्नुपर्दछ । स्वस्थानी परमेश्वरीलाई साष्टाङ्क दण्डवत् गरेर उनको अमृततुल्य कथा सुनेपछि मनुष्यले इच्छामाफिकको फल पाउँछ । यस्ती स्वस्थानी माताको सबैले आराधना गर्रौ ।

प्रथम अध्यायमा यथार्थपरक सृष्टिक्रम तथा भरिपूर्ण ब्रम्हा ण्डवर्णन गरिएको छ । जसमा प्रधान पुरुषदेखि पहिले महत्व उत्पन्न भयो, महत्तत्वको क्षोभले सात्विक, राजसिक र तामसिक तीन प्रकारको अहङ्गार उत्पन्न भयो । तामस अहङ्गारबाट पञ्चमहाभूत (आकाश, वायु, तेज, जल र पृथ्वी), राजस अहङ्गारबाट एकादश इन्द्रिय (पाँच ज्ञानेन्द्रिय र पाँच कर्मेन्द्रिय, एघारमा मन) उत्पत्ति भयो । तामस अहङ्गारबाट उत्पन्न शब्द, तन्मात्रादेखि आकाश भयो, आकाशदेखि स्पर्श,  स्पर्शदेखि वायु, वायुदेखि रूप, रूपदेखि तेज उत्पन्न भयो । तेजदेखि रस, रसदेखि जल, जलदेखि गन्ध, गन्धदेखि पृथ्वी उत्पन्न भइन् । यी पाँच महाभूतदेखि चराचर चल्ने नचल्ने दुई किसिमको जगत्को उत्पत्ति भयो । जब ब्रम्हा का कार्य र कारण सिद्ध हुन्छ, तब यस अण्डमा ब्रम्हा  संज्ञा भएको क्षेत्रज्ञ बुद्धि प्राप्त भयो । यही नै प्रथम शरीरधारी भयो । त्यसैलाई नै पुरुष भनिन्छ । यसरी नै सृष्टिक्रम सुरु भएको हो । त्यस्तै द्वितीय अध्यायमा–भूर्लोक, भुवर्लोक, स्वर्लोक, महर्लोक, जनलोक, तपोलोक, सत्यलोक यी सात र अतल, वितल, सुतल, तलातल, महातल, रसातल, पाताल यी सात तलका लोक गरी चौधै भुवन उत्पत्ति भयो साथै सात द्वीप, सात समुद्र, यिनको पनि सृष्टि भएको वर्णन छ  ।

दक्षप्रजापति र विरणीको गर्भबाट सूर्यको जस्तो तेज, बत्तीस लक्षणले युक्त पद्मपत्र जस्तो नेत्र, रक्तवर्ण भएकी सतीदेवी उत्पत्ति भएको वर्णन गरिएको छ । तृतीय अध्यायमा– कैलासका अधिपति श्रीमहादेवसँग सतीदेवीको विवाह बारे वर्णन गरिएको छ । त्यस्तै चतुर्थ अध्यायमा– श्रीमहादेवसँग विवाह भएपछि कैलासमा प्रवेश हुँदा के के कष्ट र आनन्द भयो भन्ने वर्णन छ । पञ्चम अध्यायमा– भगवान्ले वराह अवतार लिई हिरण्याक्षको वध गरेको वर्णन तथा मय दानवले रचना गरेको त्रिपुरदाह गरेको वर्णन आदि छ । छैटौ अध्यायमा दक्षप्रजापतिले अश्वमेधयज्ञ गर्दा र त्यस यज्ञमा महादेव र सतीदेवी वाहेक सम्पूर्ण छोरीज्वाइँ, ब्रम्हा , विष्णु प्रभृति देवता, ऋषि, यक्ष, गन्धर्व, किन्नर, नाग, अप्सराहरू, दशदिक्पाल आदिलाई निमन्त्रणा गरी यज्ञ आरम्भ हुँदा सतीदेवीले थाहा पाई आफ्ना  पति श्रीमहादेवको आाज्ञा विना आफ्नो  माइतीमा गरिएको यज्ञ स्थलमा गई आफ्ना  पितालाई भनिन् सबैलाई निमन्त्रणा गर्ने हामीलाई किन निमन्त्रणा नगरेको भनी सोधिन् । दक्षप्रजापतिले महादेवको निन्दा गरेर यज्ञस्थानमा श्रीमहादेवलाई तिरस्कार समेत गर्दा निमन्त्रित व्यक्तिहरूको अगाडि अपमानजनक शब्द पनि प्रयोग गरेको सहन नसकि सतीदेवीले यज्ञाग्निमा प्रवेश गरेको वर्णन प्रस्तुत गरिएको छ ।

सातौ अध्यायमा– सतीदेवी यज्ञाग्निमा प्रवेश गरी प्राण छोडेको देखेपछि नारदजी तुरुन्त कैलासमा गई खबर गरेपछि श्रीमहादेवले उक्त स्थान यज्ञस्थलमा वीरभद्र र महाकालीलाई पठाएर पछि आफु पनि जानुभएको र वीरभद्र र महाकालीले दक्षसेना वध गरेको समेत वर्णन गरिएको छ । आठौं अध्यायमा–सतीदेवीलाई आगोले दग्ध गर्न सकेन  वीरभद्र र महाकालीले दक्षप्रजापतिको शीर काटी यज्ञकुण्डमा हाली दिएको, श्रीमहादेव सतीदेवीको त्यस्तो अवस्था देखी बहुलाहा जस्तो भएका थिए । विरणीले ज्यादै विलाप गरी आफ्ना पतिको प्राण बचाइदिन ज्वाईं श्रीमहादेवसँग स्तुति गर्दा बोकाको टाउको ल्याई जोडिदिई बचाय दिनुभयो ।  श्रीमहादेव वियोगको पीडा सहन नसकी सतीदेवीको शरीरलाई काँधमा राखी पृथ्वी भ्रमण गरिएको वर्णन आदि छ । यस्तै नवौं अध्यायमा– सतीदेवीको शरीर गलेको नदेख्दा विष्णुले झिङ्गा (माखा) उत्पन्न गराई पठाउँदा सतीदेवीको शरीर खण्ड खण्ड गरी पतन भई छब्बीस स्थानमा पीठ उत्पत्ति भएको पीठहरूको वर्णन पाइन्छ ।

दशौ अध्यायमा– सत्ताइसदेखि पचास जति विभिन्न ठाउँमा पीठ उत्पत्ति भएका पीठहरूको वर्णने पाइन्छ । एघारौ अध्यायमा–ज्योतिर्लिङ्क उत्पत्तिको वर्णन समेत पाइन्छ । बाहौ  अध्यायमा–पार्वतीको जन्म र श्री स्वास्थानी परमेश्वरी देवीको व्रतोपदेशको वर्णन छ । तेहौ  अध्यायमा–श्री पार्वतीको कन्यादान र विवाह भएपछि साँढेमा राखी दुलहीलाई लिएर जानुभएको र जन्ती जति सबै कैलासबाट बिदा भई फर्कनुभयो भन्ने वर्णन पाइन्छ । चौधौं अध्यायमा–गौरी र शङ्गर कैलासमा प्रवेश गर्नु भएको वर्णन छ । त्यस्तै महादेव श्लेषमान्तक वनमा गई किरात रूप लिनुभएको र पार्वती पनि किरातिनी रूप लिई त्यही बस्नु भएको वर्णन छ ।

पन्ध्रौ अध्यायमा–श्रीगणेश र श्रीषट्मुख भएका कुमारको उत्पत्ति र उहाँहरूको चरित्रको वर्णन र तारकासुरको वध समेत आदि वर्णन पाइन्छ । सोहौ अध्यायमा–श्रीमहादेवको वनविहारमा गई मृगरूप भएको र श्रीविष्णु मानसरोवर गमनको वर्णनसमेत भएको पाइन्छ । सत्रौं अध्यायमा–श्रीविष्णुले वृन्दाको पतिव्रता धर्म हरण गरेको वर्णन पाइन्छ । अठाहौ  अध्यायमा–श्रीस्वस्थानी व्रतको अनुस्ठान गर्ने विधिसमेत वर्णन र नागिनीहरूले व्रत गरेको वर्णन छ । उन्नाइसौं अध्यायमा–शिवभट्ट ब्रम्हाण  र सती ब्रम्हाणीले गणेशको सेवा गरी गोबरको थुप्रोबाट गोमा कन्याको जन्म र भिक्षुरूप श्रीमहादेवबाट गोमालाई श्राप दिएको वर्णन छ । विसौं अध्यायमा गोमा सातवर्ष पुगेपछि विवाहको लागि ब्रम्हाण खोजी गर्दा–गर्दा बल्ल सत्तरी वर्षका शिवशर्मा ब्रम्हाण  फेला परे र गोमालाई कन्यादान दिएको वर्णन छ । एक्काइसौं अध्यायमा–  गोमा आफ्ना  पतिको घर गएको वर्णन छ ।

बाइसौं अध्यायमा–शिवशर्मा ब्रम्हाण भिक्षा माग्न परदेश जादा पूजाको निमित्त रुखमा चढी पूmल टिप्दा रुखबाट खसेर, परमधाम भएको वर्णन छ । नवराजको जन्म, चूडाकर्म व्रतबन्ध, वरुणपुरका अग्निस्वामीकी पुत्री चन्द्रावतीसँग विवाहको वर्णन छ । नवराजले बाबुको खोजी गर्दा हाडखोर फेला पारी दाहसंस्कार र दशक्रिया गरेको समेत वर्णन छ । गोमा ब्रम्हाणीलाई सप्तऋषिले श्रीस्वस्थानीको व्रत गर्ने विधि बताई सो अनुसार पूजा गरेर श्रीस्वस्थानी परमेश्वरीलाई मनले ध्यान गरी कथाको वर्णन स्तोत्र पाठ गर्न बताउनु भयो–नमस्तेद्रस्तु जगन्मातः  स्वस्थानी सर्वमङ्कले । तप प्रसादाद्देवेशि व्रतपूर्णं तवाज्ञया ।।  स्तोत्र पाठ गरी प्रसाद खाने आदि वर्णन छ । चौवीसौं अध्यायमा–सप्तऋषिले बताएअनुसार व्रत बसी पूजा गरेको वर्णन र राती स्वस्थानी पढ्दै गर्दा नवराज टुप्लुक्क आइपुगेको वर्णन छ । नवराजले गङ्का स्नान गरेको बेला हरिहरले दर्शन दिई वरदान दिएको वर्णन र स्वस्थानी व्रतको प्रसाद खाई लावण्य देशतर्फ जादा हात्तीले फुलमाला लगार्ई सुवर्णको कलशले अभिषेक गरेको, नवराजको राज्याभिषेकको समेत वर्णन छ । त्यस्तै छब्बीसौं अध्यायमा–राजा नवराजले आफ्नी मातासँग आफ्नो राज्यमा रहेका सबै ब्रम्हाणलाई बोलाई भोजन गराइने सल्लाह गरिएको वर्णन र चन्द्रावती बसिआएको डोलेहरू थाकी खानाखान जाँदा स्वस्थानीको व्रत गरेको स्थानमा पुगे र उनीहरूकै संसर्गमा बसी स्वस्थानीको व्रत गरी आई स्वस्थानीको व्रतको महिमा चन्द्रावतीलाई बताएको वर्णन छ ।

सत्ताइसौं अध्यायमा–डोलेहरूले स्वस्थानीको प्रसाद ल्याएको बताएर चन्द्रावती रिसाई प्रसादलाई अबहेलना गरेको कारण शालीनदीमा डोलेसहित चन्द्रावती डोलीबाट खसी शरीर एकडल्लो भई कुष्ठ उब्जी मूढो जस्ती भई रहिन् । स्वस्थानीको महिमा र प्रसादलाई अवहेलना गरेको कारण शालीनदी पनि वहन छाडिन् । अचम्म भयो भनी प्रजासहित सबैले राजालाई गुहार्दा  नवराज आई गाईको दूध दही आदिले अर्घ दिएपछि शालीनदी वहन लागिन् भन्ने अचम्मको वर्णन छ  । त्यस्तै लावण्य देशका राजाले ब्रम्हाणहरूलाई भोजनको निमन्त्रणामा गरिएको हँुद्या ब्रम्हाणहरू जान लागेको देखी भोकले तडपि रहेकी चन्द्रावतीले ब्रम्हाणहरूसँग अनुरोध गरेको र भोजन सकी सबै ब्रम्हाण फर्केका र नवपुरका कपिल गोत्रीय ब्रम्हाण दुइभाइ केही मागौ भनी यता उता गरिरहँदा राजमाताले के भएको भनी सोद्धा ती ब्रम्हाणले सबै कुरा बताएपछि भण्डारमा भएको पठाउन खोज्दा भण्डार सुकेको वर्णन छ । अठ्ठाइसौं अध्यायमा–अलिकति भात लिएर गई चन्द्रावतीलाई भने हेर तिमी पापिनी रहिछौ राजाको भण्डार समेत सुक्यो, ल यो भात ल्याइदिएका छौ खाऊ भन्दा मुख नै नधोई खान खोज्दा भाग वालुवा भएको कुरा र श्रीस्वस्थानीको व्रतको उपदेश दिएको वर्णन छ ।

चन्द्रावती ज्यादै कष्ट भोगिरहेकी थिइन् त्यही शालीनदीमा अप्सराहरू आई पौषशुक्ल पूर्णिमाको दिन श्रीस्वस्थानी परमेश्वरीको व्रत गरी कथासमेत बताउँदा चन्द्रावतीलाई ज्ञान भयो मेरो अहङ्गारले गर्दा यो हबिगत भयो भनी पश्चात्तापको वर्णन छ । ती अप्सराले स्वस्थानीको व्रत गर्ने व्रतविधि बताएपछि चन्द्रावतीले श्रीस्वस्थानी परमेश्वरीलाई सझी व्रत बस्दा क्ुष्टरोग सबै हराई पहिलेकै जस्तो भएपछि निन्दा गरेको अपराध क्षमा मागी एक महिना व्रत बसी पूजा गरेको वर्णन समेत छ । उनन्तीसौं अध्यायमा–चन्द्रावतीको व्रतको प्रभावले गर्दा नवराज राजा आई मङ्कलयात्राका साथ दरबार लिएर गएको वर्णन  छ । तीसौं अध्यायमा–नवराज राजा, गोमा माता, चन्द्रवती रानी र अर्की रानी लावण्यवती बसी वार्तालाप गरी मिलन भएको र के कारणले शालीनदीमा आई बस्यौ भनी भलाकुसारी गर्दा पहिले घटेका सबै कुराहरू बताएको वृत्तान्त छ । एकतीसौं अध्यायमा–श्रीस्वस्थानीको व्रतको वर्णन र गोमाले बुहारी चन्द्रावतीलाई ढुकुटीको साँचो दिएर अर्की बुहारी राजा नवराज साथमा रहेको सम्पूर्ण व्रतवृत्तान्त कथा समाप्त भएको छ ।

श्रीस्वस्थानीको दैनिक कथा पढेपछि पुष्पाञ्जली लिएको अर्थ यस प्रकार छ– सम्पूर्ण जगत् मङ्कलमय बनोस् । सबैको सामीप्य, मित्रता, समन्वय रहोस् । यस्ता सम्पूर्ण कुराका खानी भएका, लक्ष्मीका मालिक भएका, सूर्यका किरणले देखाइएका अथवा बताइएका सुन्दर कमलका पातजस्तै आँखा भएका भगवान् श्रीकृष्णले तपाइँ श्रोताहरूको मङ्कल ल्याइदिनुहोस् । मेघहरू ठीक समयमा बर्सियून्, जसले गर्दा पृथ्वी धान्यवती होस् । यो देश अकाल अनिकालरहित होओस् ब्रम्हाणवर्ग निर्भयतापूर्वक रहन पाऊन् । जसका सन्तान छैनन्, तिनीहरूलाई नाति नातिना होऊन् । जो निर्धन छन्, तिनीहरू धनवान् होउन् सबै जनता शतायु होऊन् । जहाँ भगवान् श्रीकृष्णका उदार कथा प्रसङ्क सुन्ने–सुनाउने गरिन्छ, त्यहाँ गङ्का, यमुना, गोदावरी, सरस्वती, सिन्धु आदि गरिएका तीर्थहरूको वास हुन्छ । जो वाग्देवी सरस्वती सेतो कुन्दपुष्प जस्तै उज्यालो वर्णकी छिन्, जो सेतो वस्त्र पहिरेकी छिन्, जो वीणा र उत्तम दण्ड हातमा लिएकी छिन् जो श्वेत कमलमा बसेकी छिन् र जो ब्रम्हा , विष्णु, शङ्गर आदि देवताहरूले पनि नमस्कार गरिएकी छिन्, त्यस्ती सम्पूर्ण जडता (मूर्खता)लाई नाश गर्ने भगवती सरस्वतीले हामीलाई रक्षा गरून् । म/हामीद्वारा शरीर, वचन, मन, इन्द्रिय एवं बुद्धि आत्मा अथवा स्वभावअनुसार जे–जस्ता कामहरू गरिएका छन् ती सबै नारायण अर्थात् श्रीकृष्णार्पणमस्तु भनी उहाँलाई नै चढाउनुपर्दछ । चढाउछु, चढाऔं । एक मन लगाएर मैले अथवा हामीले अथवा मैले जे–जस्ता कथाहरू सुने सुन्यौँ, ती सबै भगवती माता श्रीस्वस्थानी परमेश्वरीलाई चढाउँछु । चढाऔं । समर्पणमस्तु ।

मधुसूदन सुवेदी केन्द्रिय कानून पुस्तकालय जमलका प्रमुख तथा वरिष्ठ लेखक हुनुहुन्छ । उहाँका ७० भन्दा बढी धार्मिक तथा पुस्तकालय बिज्ञान सम्वन्धी पुस्तकहरु प्रकाशित छ ।

About Author

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Write a Comment

Only registered users can comment.