होली पर्व र यसको महत्व

होली पर्व र यसको महत्व
मधुसूदन सुवेदी

मधुसूदन सुवेदी

होली पर्व र यसको महत्व । हिन्दू संस्कृतिमा रङ्गहरूको चाड होली नेपालीहरूको प्रमुख चाड हो । यो नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् । होली पर्व मनाउनुको पौराणिक कारण र इतिहास छ ।

सर्व दुष्टापहो होम सर्वे रोगो पशान्तये

क्रियते स्यां द्विजैपार्थ तेन सा होलिका स्मृता ।

निशागमे प्रपूज्येत होलिका  सर्वदा जनैः

नदिवा पूजयेद् ढुण्ढां पूजिता दुःखदा भवेत् ।।

होली हामी सनातनी आर्यहरूको अतिप्राचीन धार्मिक तथा सांस्कृतिक पर्व हो ।  यो फाल्गुन शुक्ल पूर्णिमामा मनाइन्छ । यस दिन साना ठूला, उँच–नीचको विचारलाई छाडेर सबैले यस फागु पर्व मनाउँदछन् । होलीले सबैको मनमा भएको मैलोलाई धोएर नयाँ प्रेमको रङ्क दिने हो । यस दिन पुरानो शत्रुतालाई त्याग गरेर एकजुट भई होली पर्व मनाउँदछन् । नेपालको सम्बन्धमा होली पर्व फाल्गुन शुक्लअष्टमीका दिन हनुमान ढोकाअगाडि चीर गाडेर सुरुवात गरिन्छ र पुर्णिमाको दिन चीर दाह गरेर समाप्त गरिन्छ । यस समय विशेष गरेर जाडो समाप्त हुन्छ । किनकि शिशिर ऋतु समाप्त भई वसन्त ऋतुको आगमन भइसकेको   हुन्छ । यसद्वारा सबै जनजीवनमा एक नयाँ आनन्द भरिएको हुन्छ । यस समय किसानहरूले आफ्नो बाली नाली भरखर भित्रयाएका र राम्रो बालीनाली भएको कारण बडा प्रशन्न रहन्छन् । ईश्वरसँग प्रार्थना गर्दछन् कि हजुर धन्य हुनुहुन्छ भनी यो होली पर्व खुसीका साथ तराई पहाड सबैतिर मनाउँदछन् ।

यस पर्वको सुरुवात श्रीमद्भागवत् दशमस्कन्दको उत्तराद्र्धको अन्तिम अध्यायमा बताइए अनुसार  भगवान् श्री कृष्णले आफ्नो महिषीहरूलाई रङ्क विरङ्कका पचकारी आदिबाट रङ्काइ दिनुभएबाट ती महिषीहरू आनन्दले विêल भएर शरीर आदिको भाव रहित भएर श्रीकृष्णमय भएका थिए । त्यसै बेलादेखि यो पर्व प्रचलित भई मनाउँदै आएको भन्ने कुरा स्पष्ट देखिन्छ ।

यस होली पर्वबारे दुईवटा लोककथा प्रसिद्ध छन्– एक ढौण्डा राक्षसी र दोस्रो होलिका र प्रल्हाद ।

ढौण्डा राक्षसीको बारेमा यस प्रकार कथन छ–सत्य युगमा पृथु नाम गरेका एक महान् र प्रतापी राजा थिए । उनको राज्यमा प्रजा हरतरहले सम्पन्न र सुखी थिए । अचानक राजा पृथुलाई यो समाचार प्राप्त भयो कि उनको राज्यमा ढौंण्डा नाम गरेकी राक्षसी आई बालकहरूलाई उठाएर लान थाली । जसले गर्दा राज्यमा ठूलो डर र आतङ्ग पैदा भयो । उसलाई मार्नका लागि विभिन्न किसिमको प्रयास गरियो तर मार्न सकिएन । तसर्थ राजा पृथु बडो चिन्तित हुनुभयो र तुरुन्त आफ्नो कुलगुरु वशिष्ठ मुनि कहाँ जानुभयो । राजाले आफ्नो गुरुसँग विनम्र भावले भन्नुभयो कि ढुण्ढा राक्षसी केही गरे पनि मर्दिन यसको कारण के हुन सक्दछ हजुरले मलाई सबै कुरा कृपापूर्वक बताइदिनुहोस् । उसबाट कसरी मुक्ति पाउँन सकिन्छ ताकि प्रजाहरू भय र आतङ्गबाट सदाको लागि आनन्दित रहुन् ।

वशिष्ठ मुनि महान् योगी हुनुहुन्थ्यो । उहाँले तत्काल ध्यान लगाएर हेर्नुभयो र भन्नुभयो, हे राजा यस राक्षसीलाई भगवान् शङ्गरले वरदान दिनुभएको छ । ऊ कुनै पनि प्रकारले मर्दिन तापनि एउटा उपाय छ सो गर्नुपर्दछ । फागुन शुक्लपूर्णिमाको दिन एक उत्सव गर्नु उक्त उत्सव शहरको बीच भागमा होवोस तथा वहाँ एक अग्नि कुण्ड बनाउनु जसमा दाउरा गुईंठा राखेर आगो बाल्नू । आगो बालेपछि सवै जनता आगोको वरिपरि रहेर गाउनु, हाँस्नु र नाँच्नु । यसो गर्नाले ढौण्ढा राक्षसी भाग्दछे र फेरि कहिले पनि यस ठाउँमा आउँदिन । राज पृथुले वशिष्टजीले बताएमुताबिक पुरा आयोजना गर्नुभयो । यसको प्रभावले गर्दा राक्षसी भागेर गई साथै फेरि कहिले पनि फर्केर आइन । त्यसवेलादेखि यो पर्व मनाउँदै आएको हो ।

अर्को कथा यस प्रकार छ–

एक समय हिरण्यकश्यप नाम गरेको बडो बलवान  राजा राज्य गर्दथिए उनी भगवान्लाई मान्दैन थिए । यसकारण उनको राज्यमा भगवान्को पूजा भजन, जप–तप कसैले गर्दछ कि भनी पूरा निगरानी थियो । तसर्थ डरले गर्दा कोही पनि भगवान्को कार्य गर्दैन थिए । यिनैको एक छोरा थियो जसको नाम प्रल्हाद हो । पिताको ठिक विपरीत इनी ईश्वरको निकै भक्त थिए । साथै सदैव भगवान्को तप र भजन गर्दै   रहन्थे । हिरण्यकश्यपलाई यो राम्रो लाग्दैन थियो । उनले धेरै प्रयत्न गरेकि छोराले भगवान्को भजन, तप गर्न छोडिदेओस् । तर उनले सोचे जस्तो भएन । प्रल्हादलाई धेरै किसिमबाट डराउने काम गर्नु, धमकाउनु, आदि अनेक कष्ट दिंदा पनि भगवान्को भक्तिमा अडिक रहे ।

केही उपाय नलागि निराश भएर हिरण्यकश्यपले आफ्नी बहिनी होलिकालाई बोलाए । उनको एउटा ठूलो शक्ति थियो कि उनी आगोमा जल्दैन थिइन् । तसर्थ राजाले उनैको काखमा प्रल्हादलाई बसालेर आगोमा जलाई दिने षड्यन्त्र गरे । तर राजाको यो प्रयास पनि असफल  भयो । उल्टो उनको बहिनी होलिका नै आगोमा जलेर भष्म भइन् । प्रल्हादलाई एक छेउ पनि केही भएन र त्यसबेलादेखि भगवान्का भक्त यो पर्व मनाउँदै आइरहेका छन् । रातमा प्रत्येक घरमा होलिका जलाइन्छ र भगवान्को कृपाको याद गरिन्छ । त्यही आगोमा नयाँ अन्न भूटदछन् र सबै एक अर्कासँग मिलेर खान्छन् । तसर्थ सबैले होलिकालाई जलाइनु भन्नु आफ्नो घमण्डलाई जलाई घर घरमा एकता ल्याउनु हो यसैमा सबैको कल्याण छ धर्म छ । यस पर्व फाल्गुन शुक्ल अष्टमीका दिन हनुमान ढोकामा चीर गाडेपछि बाटामा हिड्ने बटुवा आदिलाई अवीर रङ्क हाली केटा केटीले हैरान गर्न थाल्दछन् द्वादशीदेखि त निकै नैं सर्तक भइ हिड्नुपर्दछ । हुनत सरकारले वटुवालाई फागु हाल्न मनाही गरेको हुन्छ तर केटाकेटी लुकिछिपी दुःख दिन्छन् । विशेष गरेर भारतमा यो पर्व मनाउने चलन छ ।  गोबर पनि रेल बस आदिमा फालिदिन्छन्, पूर्णिमाको दिन त परस्परमा अवीर रङ्क पिचकारी हाली सारा शरीर नै रङ्कले रङ्किएका हुन्छन् मध्यानपछि स्नान गरी भोजनखाइ सेता नयाँ लुगा लगाइ देवताका स्थानमा जाने परम्परा छ । त्यहाँ परस्परमा बन्धुवर्गहरू मेलमिलाप गरी सानो टीका मात्र देवताको प्रसाद स्वरूप अवीर लगाउँदछन् । चीर दाह गर्ने दिन प्रायःजसो भद्रा पर्ने हुँदा भद्राको घडी बिताएर मात्र आधारात भए पनि ढिलो चीरदाह गर्दछन् । भद्रामा चीर दाह गरेमा गाउँ गाउँमा दैवीप्रकोप आग लागि आदि हुन्छ भन्ने धर्मशास्त्रको निर्णय छ ।

मधुसूदन सुवेदी केन्द्रिय कानून पुस्तकालय जमलका प्रमुख तथा वरिष्ठ लेखक हुनुहुन्छ । उहाँका ७० भन्दा बढी धार्मिक तथा पुस्तकालय बिज्ञान सम्वन्धी पुस्तकहरु प्रकाशित छ ।

About Author

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Write a Comment

Only registered users can comment.