रामनवमी र यसको महत्व

रामनवमी र यसको महत्व
Madhusudhan Subedi

मधुसूदन सुवेदी

रामनवमी र यसको महत्व

नवम्यामङ्क भूतेन एक भक्तेन राघव ।

इक्ष्वाकुवंश तिलकः प्रीतो भव भवप्रिय ।।

चैत्र शुक्ल नवमी रामनवमी हो । रामनवमी यो शब्दले आफ्नो साँच्चिकै पुरानो इतिहासलाई व्यक्त गरिरहेको छ । आजभन्दा करिब ९ लाख वर्ष पहिले आजकै पवित्र दिन त्रेतायुगमा मर्यादा पुरूषोत्तम भगवान् रामले पृथिवीमा अवतरण गरेको कुरा स्पष्ट छ । आदर्श र मर्यादाक्रम पन्छाउँदै धर्मबाट विमुख हुँदै गएको भारत बर्षमा आफू स्वयं सच्चरित्र र आदर्शवान् वनी आदर्श र मर्यादा स्थापना गर्नु श्रीरामको विशेषता हो । यही वैशिष्ट्यले गर्दा श्रीरामलाई मर्यादापुरुषोत्तम भनिएको पाइन्छ । विश्वमा प्रसिद्ध रामराज्यको संस्थापक श्री प्रभुले आजको दिनमा अवतरित भएर यस तिथिलाई आफ्नो दिव्य आलोकद्वारा पूर्णता दिइयो । भगवान् राम र उहाँको आदर्श चरित्र चिरकालदेखि कति लोकप्रिय र स्मरणीय रहेको छ भन्ने कुरा सबैले बुझ्नु मनन गर्नु अत्यावश्यक छ । वास्तविक कुरा भगवान् रामको चरित्र उहाँको जीवन कहानी हो, जुन स्वभावतः संसारको सम्पूर्ण व्यक्तिले अनुभव गरिरहेका छन् ।

राम केवल विरक्त साधु—सन्यासीहरूको लागि मात्र नभई गृहस्थाश्रमिहरूको लागि पनि सञ्जीवनी बुटिरूपी अमृत हो । गृहस्थी मानिसको लागि गर्न कृत्य जुन यथार्थता रामायणमा अङ्गित छ । दशरथ पिता हुन् र  कौशल्या जननी हुन् । राम लक्ष्मण आदि भाई, तथा सीता उर्मिला आदि भाउजूहरू हुन् । यस्तै प्रकारले गुरु, माता–पिता, भाई, पति—पत्नी, शत्रु–मित्र, स्वामी–सेवक इत्यादि सम्पूर्ण र।मायणको लागि हाम्रो प्रत्येक घरमा मौजुद छन् । रामायणमा उल्लेख घटनाहरू आदर्श भए तापनि यो सांसारिक सत्य घटना भएको छ । यसरी रामचरित्र प्रत्येक गृहस्थको सच्चा आदर्श कहानी हो । यो देशका प्रत्येक बालबालिकाको ह्रृदयमा रहेको छ । देशका धनीदेखि गरीव व्यक्ति सम्म यो अमृतरूपी आकर्षक वस्तु बनी पौडिरहेको छ कुनै आश्चर्य छैन । साँचो कुरा त यो हो कि संसार सागरमा बहदै गइरहेको जीवनरूपी डुङ्काको लागि भगवान्को यो पुण्यचरित्रले  दिव्य प्रकाशको काम गरेको छ र भविष्यमा पनि गरिनै रहने छ ।

रामनवमी हाम्रो राष्ट्रिय र सांस्कृतिक पर्व हो । यस पर्वले सनातन आर्यसंस्कृतिको उदात्त आदर्शको सम्झना दिलाउँदै आज पनि धर्मविमुख मानव समाजको लागि सुख एवं शान्तिको सन्मार्ग प्रदर्शित गर्न समर्थ भएको छ । आज संसारमा सबैतिर स्वार्थ र लोलुपताको विशाल तृष्णा छाएको छ । सबै मानिस कहिले नभरिने नहुने लालची पात्रपूर्तिमा अडिग छन्, यसरी  सबै मानिस आफ्नो कर्तब्य भुलेर केवल आफ्नै स्वार्थको लागि पाइन्छन् । मान—सम्मान, जाति, समाज, धर्म र संस्कृतिको लागि एकले अर्कालाई समाप्त गर्न पनि हिचकिचाउँदैनन्, भाइ–भाइ, बाबु–छोरा, सासू–बुहारी, मित्र–मित्र, जनता—जनतामा रात दिनको झगडाले हाम्रा परिवारलाई नरककुण्डभन्दा पनि घृणित वबाइ दिएको छ । त्यसकारण रामनवमी जस्तो पर्वको महत्वलाई अझ बढावा दिनुपर्दछ ।

हामीले यो पर्वलाई मन्दिरमा गएर दर्शन गरी अथवा घरमा बसेरमात्र नमनाई यसलाई सामूहिक रूपदिनु महत्वबोध गराउनु राम्रो हुनेछ  । ठूलो धार्मिक जुलूस निकाली झाँकी प्रदर्शन गराई ठूलो जमघट गराई जनतामा रामको आदर्श स्मरण गराउनु राम्रो कुरा हो । मानव कर्तव्यमा भावनाको बलिदान गराउन सिकाउनाले पनि वास्तविक मानसिक विकास हुन सक्तछ ।

भगवान् श्रीरामले लोककल्याणको निमित्त जुन सन्देशहरू दिनु भएको थियो, त्यसले भूत, भविष्यत् र वर्तमान तीनै कालमा सबैले लोक कल्याणको निमित्त अनिवार्य रूपले पालन गर्नु पर्ने हुन्छ । जसले मर्यादा तोडदछ, जो लोकहितका विरुद्ध स्वार्थपूर्ण पापकृत्यमा लाग्दछ, जसले सच्चरित्रताको अपमान गर्दछ, त्यस्तो व्यक्तिले सज्जनको बिचमा कहिले पनि सम्मान पाउँदैन । मानिस आफूलाई जतिसुकै वीर पुरूषार्थी मानोस् ऊ कुलीन हो वा अकुलीन हो, पवित्र हो वा अपवित्र हो यो उसको चरित्रले नै स्पष्ट बताउँदछ । हामीहरूले सुनेका छौं आÇनो प्रतिज्ञा पूरा नगर्ने, चञ्चल र अस्थिर मनोवृत्तिको कर्तव्यच्युत पुरूषप्रति न देवताहरू न पितृहरू आशावान् हुन सक्तछन् अर्थात् त्यस्ता मानिसबाट कुनै पनि गर्व गर्नलायक उत्तम कार्यको आशा रहँदैन । यसैले मानिस मर्यादाशील हुनुपर्छ, पुरुषार्थी बन्नुपर्छ मर्यादाको सन्देश दिने प्राणीमात्रमा रमण गर्ने र सबैलाई आनन्द गराउने महान् प्रतिभाको नाम नै  राम हो ।

राम दशरथ राजाको पुत्र र सीताजीका पति थिए, यो उनको स्थूल अवतार रूप थियो । यस अवतारको चरित्र सवैले धेरै पटक पढेका, सुनेका वा हेरेका होलान्, तर कथारूपी यो अमृत पिएर कसलाई तृप्ति होला । अत एव यस चरित्रको फेरि स्मरण गरौं ।

ततो यज्ञसमाप्ते तु ऋतूनां षट् समत्ययुः ।

ततश्च द्वादशे मासे चैत्रे नावमिके तिथौ ।।

नक्षत्रे दिति दैवत्ये स्वोच्चसंस्थेषु पञ्चषु ।

ग्रहेषु कर्कटे लग्ने वाक्पताबिन्दुना सह ।।

प्रोद्यमाने जगन्नाथ सर्वलोकनमस्कृतम् ।

कौशल्याजनयद् रामं दिव्य लक्षण संयुत्तम् ।।

यज्ञ समाप्ति भएपछि जब ६ ऋतु बितेर गयो तब बाह्र महिनामा चैत्र शुक्लपक्ष नवमी तिथिको पुनर्वसु नक्षत्र एवं कर्कट लग्नमा कौशल्यादेवीबाट दिव्य लक्षणले युक्त सबै लोकले मान्ने जगद्का ईश्वर श्रीरामले धर्तीमा जन्म लिनुभयो । त्यस समय (सूर्य,मङ्कल,शनि,गुरु र शुक्र) यी पाँच ग्रह आफ्नो आफ्नो उच्च स्थानमा विद्यमान थिए तथा लग्नमा चन्द्रमाको साथ बृहस्पति विराजमान हुनुहुन्थ्यो ।

मार्यादा पुरूषोत्तमका रूपमा चिनिएका भगवान् रामले जुन रूपमा मानव समाजको मर्यादालाई नमुनाको रूपमा प्रस्तुत गर्नुभयो त्यस्को सबैले अनुसरण गर्नु अति आवश्यक छ । उहाँ प्रजातान्त्रिक राजा हुनुहुन्थ्यो, रामराज्य भए पनि, हामी लिन र मनन गर्न सक्दछौं । किनभने उहाँले आफ्नो देश, समाज र परिवारप्रतिको कर्तव्य र मर्यादाको पालन गर्नुका साथै लोक कल्याण कसरी गर्न सकिन्छ भनी आफूलाई उत्सर्ग गर्नु परे पनि कम्मरै कसेर अमर कीर्ति प्राप्त गर्नुभयो । यिनै महान् कुराको अवलोकन गरेर नै प्रत्येक वर्षको चैत्र शुक्ल नवमीका दिनलाई उहाँका जन्मको सार्थक दिन मानी राममहोत्सवको रूपमा मनाइँदै आएको हो ।

सगुण तथा निर्गुण दुवै  लीलासँगै सँगै गर्दै आउनु भएका श्रीराममा मानवीय स्वभाव ओतप्रोत भएको पनि पाइन्छ । पिताको आज्ञा पालन भाइहरू प्रतिको अटल प्रेम, प्रजावत्सलताको अटल आदर्श, पत्नीप्रतिको अमर प्रेम, जीवात्मा र परमात्मा तर्फ एकै किसिमको भाव राख्ने राममा मानवभित्र समाहित हुनको लागि चिन्ता, आशा, निराशा, कुण्ठा आदि पनि अन्तर्निहित भएको पाउँन सक्दछौं ।

रामायण रामचरित्र विस्तारको महान् ग्रन्थ हो । जो पूर्वीय आदर्श मार्यादा र जीवनमूल्यको सर्वोच्च शिखरको रूपमा संरक्षित छ । यो सभ्यता र संस्कृतिको सिरानी हो, कलात्मक र काव्यात्मकताको गौरीशङ्गर हो ।अनि  भावव्यञ्जना र कल्पनशीलताको गङ्कोत्तरी हो । तसर्थ भगवान् श्रीरामचन्द्रको जन्मजयन्ती रामनवमीका दिन राम नाम स्मरण (हरेराम हरे राम राम राम हरे हरे) गर्नु कर्तव्य संझिन्छ । शक्ति सम्पन्न यो नाम भक्तिपूर्वक पाठ गर्नुपर्दछ । यसैमा विश्व शान्ति, देशको कल्याण, नरेशको अभ्युदय र नेपाल र नेपालीको सदा सर्वदा आदर कदर तथा शक्ति सम्पन्नता छ । यो नाम सङ्गीर्तनबाट नै हामी देश तथा संसारमा यश, गौरब हासिल गर्न सफल हुनेछौँ र भगवान् श्रीराम चन्द्रबाट आशीर्वाद प्राप्त गर्नेछौं यसैमा सबैको कल्याण छ । रामले जो गरेर देखाउनु भयो धार्मिक विश्वासमा यस्तो अरू कुनै पनि उदाहरण सांसारिक इतिहासमा देखिंदैन । तसर्थ यस्ता सदगुणीको जीवलक्ष्यलाई अपनाइ देश र जनताको सेवामा सँधै तत्पर रहन सक्ने बनौं यही सद्गुणग्रहण गर्न सक्नु नै रामनवमी पर्व मनाउनुको विशेषता हो ।

पितृ—आज्ञामा दृढ रहनुका समानरूपले सुखदःुखमा अटल रही श्रीराम चन्द्रको धार्मिक मूल्य र मान्यतालाई उल्लङ्घन गर्ने रावणरूपी दुष्टहरू समाजमा रहेसम्म त्यस समाजले धार्मिक गति लिन सक्तैन । यस स्थितिमा मर्यादा पालन, सहिष्णुता, दया—धर्म आदि कुनै पक्षमा पनि प्रगति गर्न नसक्ने हुनुका साथै सामाजिक तथा धार्मिक अराजकता हुने कुरा स्पष्ट थियो । यस्तो मर्यादाहीन कार्य गर्ने रावण रूपी दुष्टहरूको उन्मूलन हुनुपर्दछ र सद्गुणीको प्रोत्साहन र स्थापन हुनुपर्छ भन्ने लक्ष्य अपनाई देश नरेशको सेवामा तत्पर रही रहने भावना श्रीराम प्रभुबाट जगाइबक्स्यो । यही प्रेरणा आजको दिनले हामी सबैलाई स्पष्ट औंल्याएको देखिन्छ ।

यसरी रामनवमी पर्वले हामीलाई रामको आदर्शमा हिंड्न प्रेरित गर्नेछ । हामी श्रीरामको जीवनबाट शिक्षा ग्रहण गरेर उनीकै समान आदर्श पुत्र, दाजु—पति या जनसेवक बनौं र मानव सद्भावनाको सेवा गरौं । यस्तो गरेर नै संसारमा फेरि रामराज्य कल्पना साकार हुन सक्छ ।

मधुसूदन सुवेदी केन्द्रिय कानून पुस्तकालय जमलका प्रमुख तथा वरिष्ठ लेखक हुनुहुन्छ । उहाँका ७० भन्दा बढी धार्मिक तथा पुस्तकालय बिज्ञान सम्वन्धी पुस्तकहरु प्रकाशित छ ।

About Author

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Write a Comment

Only registered users can comment.