नेपालमा बिज्ञान तथा प्रबिधि विश्वविधालय स्थापना गर्नैपर्छ – सचीव डा. सञ्जय शर्मा

नेपालमा बिज्ञान तथा प्रबिधि विश्वविधालय स्थापना गर्नैपर्छ – सचीव डा. सञ्जय शर्मा

अन्तर्वार्ता

नेपालमा बिज्ञान तथा प्रबिधि विश्वविधालय स्थापना गर्नैपर्छ – सचीव डा. सञ्जय शर्मा

बैशाख २८, २०७४   विज्ञान र प्रविधिको विकास विना देशको विकास अधुरो हुन्छ । भर्खरै  डा . सञ्जय शर्मा बिज्ञान तथा प्रबिधि मन्त्रालयको  सचीव हुनु भएको छ । बिधालय स्तरमा बिज्ञान र प्रविधि शिक्षाको गुणस्तर बढाउनुपर्ने, बैज्ञानिकहरुलाई अध्ययन अनुसन्धान गर्ने वातावरण सिर्जना गर्नुपर्ने तथा  नेपालमा बिज्ञान तथा प्रबिधि विश्वबिधालय स्थापना गर्नैपर्ने बिषयमा डा. शर्मा जोड दिनुहुन्छ ।  

पेशाले सिभिल ईञ्जिनियर डा. शर्मा सन् १९९१ मा नेपाल सरकारको सेवामा प्रवेश गरी विभिन्न सरकारी निकायहरू जस्तै मन्त्रालयहरु, विभाग, बोर्ड तथा प्राधिकरणमा काम गरी सक्नु भएको छ । उहाँ सन् १९९८ मा रुडकी विश्वविद्यालय रुडकीबाट सिभिल ईञ्जिनियरींगमा स्नातकोतर तहमा गोल्ड मेडलिस्ट हुनुहुन्छ । त्यस्तै उहाँले सन् २००३ मा अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालय डेविसबाट सिभिल तथा इन्भायरोमेन्ट ईञ्जिनियरींगमा  पीएचडी गर्नु भएको हो ।

यस अघि  उहाँले खानेपानी तथा सरसफाई मन्त्रालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा सचीव भएर पनि काम गरी सक्नु भएको छ ।  विज्ञान तथा प्रविधि क्षेत्रकै विज्ञ अनुभवी सचीव डा. सञ्जय शर्मासंग बिज्ञान तथा प्रबिधिको विकासको लागि मन्त्रालयका भावी योजनाहरुको बारेमा केन्द्रित रहँदै  साईन्स इन्फोटेक अनलाईन पत्रिकाका प्रधान-सम्पादक  गोपाल भण्डारीले  गरेको कुराकानी ।

१.  सचीवज्यू त विज्ञान तथा प्रविधि क्षेत्रको विज्ञ पनि हुनुहुन्छ । विज्ञान तथा प्रविधिको विकास गर्न अव कसरी अगाडि बढ्ने सोचमा हुनुहुन्छ ?

वास्तवमा बिज्ञान तथा प्रबिधि क्षेत्र हाम्रो नेपाल जस्तो मुलकमा अहिलेसम्म हेर्दा धेरै नै पछी परेकोले यसमा गर्नुपर्ने धेरै कुराहरुमध्ये सुरुवात भनेको बिज्ञान तथा प्रविधिको गुणस्तरीय शिक्षा नै प्रमुख आवश्यकता हो । बिज्ञान तथा प्रविधिको शिक्षालाई सवल दक्ष जनशक्ति देशभित्रै विकास गर्ने हिसावले हामी अघि बढ्नुपर्छ । साथै बिज्ञान तथा प्रविधिको क्षेत्रमा उच्च शिक्षामा भएका अनुसन्धानकर्ताहरु, बैज्ञानिकहरुलाई थप अध्ययन अनुसन्धान गर्नलाई प्रोत्साहन र सुविधा उपलव्ध गराउनैपर्छ। राजधानी काठमाडौँ जस्तो ठाउँमा पनि बिधालय तहमा  बिज्ञान र प्रविधिको शिक्षा गुणस्तरीय हुन नसकेकोले गर्दा यसलाई गुणस्तरीय बनाउन शिक्षा मन्त्रालयसँग समन्वय गरेर अघि बढनेछौ । यसका साथै नेपालमा शुरुमा एउटा बिज्ञान तथा प्रबिधि विश्वबिधालय स्थापना गर्ने बारेमा पहल गर्नेछौ ।  हुन त पटक-पटक अनुसन्धान केन्द्र विकास गर्ने बारेमा चर्चा चलेपनि त्यसमा जनशक्ति र प्रमुखहरु नियुक्ति गर्ने बारेमा चरम राजनीतिकरण भएर अघि बढन गाह्रो पर्ने हुनाले बिज्ञान तथा प्रबिधि विश्वबिधालय स्थापना गर्नु नै उत्तम हुन्छ। भारतमा पनि हरेक प्रदेशमा एउटा-एउटा आईआईटी स्थापना भएको छ । हामीले पनि शुरुमा कम्तीमा एउटा केन्द्रीय बिज्ञान तथा प्रबिधि विश्वबिधालय स्थापना गर्न सक्यौ भने पछिल्ला दिनमा ५-१० वर्षको अन्तरालमा प्रत्येक प्रदेशमा क्रमश: एउटा-एउटा बिज्ञान तथा प्रबिधि विश्वबिधालय स्थापना गर्दै जानुपर्छ। समग्रमा भन्नुपर्दा बिधालय स्तरमा बिज्ञान र प्रविधि शिक्षाको गुणस्तर बढाउन, बैज्ञानिकहरुलाई अध्ययन अनुसन्धान गर्ने वातावरण सिर्जना गर्न र बिज्ञान तथा प्रबिधि विश्वबिधालय स्थापना गर्नेमा शुरुमा मेरो ध्यान केन्द्रित हुनेछ ।

२. २१ औँ शताब्दीलाई विज्ञान तथा प्रविधिको युग भनिन्छ । तर यो मन्त्रालयले धेरै नाराहरु अघि सारेतापनि नेपालमा विज्ञान तथा प्रविधिको विकास नारामा मात्र सिमित भन्छन् नि ?

नेपालमा बिज्ञान तथा प्रबिधि क्षेत्र अलि पछि परेको छ । बिज्ञान तथा प्रबिधि क्षेत्रका विभिन्न निकायहरु जस्तै नेपाल बिज्ञान तथा प्रबिधि प्रतिष्ठान र पुल्चोक इन्जीनियरींग क्याम्पसमा केहि खोज, अध्ययन र अध्ययन भई नै रहेको छ । नेपालमा बिज्ञान तथा प्रविधिको बिकास भई नै रहेतापनि प्रचारप्रसार चाही अलि कम नै भएको हो ।  त्यसकारण अव नेपालमा बिज्ञान तथा प्रविधिको क्षेत्रमा भएका उपलब्धीहरुलाई व्यापक रुपमा प्रचार-प्रसार तथा प्रवर्धन गर्नैपर्छ । त्यसैले नारामा मात्र सिमित भन्दा पनि केहि न केहि भई नै रहेतापनि गर्नुपर्ने चाही धेरै नै छ ।

३. यो क्षेत्रको विकासका लागि बजेटको अभाव नहुने कुरा मन्त्रीज्यूले पनि बताई सक्नु भएको छ । आगामी वर्षको बजेटमा विज्ञान र प्रविधिको क्षेत्रको बजेट कति प्रतिशत बढ्छ होला ?

अव यसमा यति नै प्रतिशत बढ्छ भनेर भन्न गार्हो छ तर सिलिंग दिएको छ।  मलाई जहाँ सम्म जानकारी भए अनुसार बिगत बर्षको तुलनामा १५-२० प्रतिशत बढाउने प्रचलन छ ।  अहिले म यति मात्रै भन्न सक्छु खुशीको कुरा के छ भने माननीय मन्त्रीज्यू र राष्ट्रिय योजना आयोगको बिज्ञान तथा प्रबिधि हेर्ने सदस्य दुवै जना सकरात्मक हुनु हुन्छ । हामीले के सोची रहेका छौ भने आगामी बजेटमा बिज्ञान तथा प्रविधिको क्षेत्रमा विभिन्न शिर्षकमा नै समावेश गर्ने प्रयासको लागि सम्माननीय प्रधानमन्त्रीज्यू र माननीय अर्थमन्त्रीसंग बसेर चाडै छलफल गर्नछौ । कमसेकम बजेट बक्तब्यमा नै बिज्ञान तथा प्रविधिको बिकासको लागि यो-यो क्षेत्रमा यति बजेट थपिदैछ भन्ने घोषणा गर्नव सक्छौ भन्नेमा पहल गरि रहेका छौ । निश्चित रुपमा केहि प्रतिशत चै बढ्छ ।

४. विज्ञान तथा प्रविधि क्षेत्रमा धेरै विज्ञहरुले पनि मन्त्रालय र नास्टलाई दिईने बजेट पर्याप्त मात्रामा छुट्टाउन सकिएको छैन भन्ने गुनासो पनि छ । आगामी वर्षमा मन्त्रालय र नास्टको बजेट बढाउनेतर्फ कसरी पहल गर्नुहुन्छ ?

मैले अघि भनी सके बजेट केहि प्रतिशत बढ्छ । तर पनि बजेट बढाउने भन्दा पनि हामीले बजेटवाट के उपलब्धीहरु हासिल गर्यौ भन्ने कुरा महत्वपूर्ण हो । नास्टको पनि बिगतका बर्षमा बजेटको चालु खर्चतर्फ बढी र बिकासमा अलि कम खर्च हुने गरेको देखिन्छ । अव हामीले गर्नुपर्ने मुख्य कुरा के हो भने उपलब्धीहरु देखिने गरी अनुसन्धान तथा विकास तर्फको बजेट चाही बढाउनैपर्छ । तर अहिले बजेटको प्रक्रिया अघि बढी सकेतापानि अन्तिममा अर्थ मन्त्रालयमा बसेर फाइनल गर्ने बेलामा अनुसन्धान तथा विकासतर्फ उपलब्धीहरु देखिने क्षेत्रमा बजेट बढाउनेमा केन्द्रित हुनेछौ ।

५. विज्ञान तथा प्रविधि क्षेत्रमा अनुसन्धानकर्ता र ग्रामीण भेगका युवा प्रतिभाहरुका लागि के-कस्ता योजनाहरु ल्याउने सोचमा हुनुहुन्छ ?

अव अहिले नै हामीले बजेटमा यस्ता नयाँ योजनाहरु ल्याई सकेका छैनौ । अहिले हामी स्थानीय निर्वाचनको संघारमा छौ । आगामी दिनमा स्थानीय तह र प्रदेश सरकार गठन भईसकेपछि ग्रामीण भेगका युवा बैज्ञानिकहरुको लागि यस्ता योजनाहरु निश्चित रुपमा विकेन्द्रीकरण गरेर उनीहरुलाई प्रोत्साहन गर्नैपर्छ । शहरी क्षेत्रमा त भविष्यमा महानगरपालिकाहरुले नै उनीहरुलाई सहयोग गर्न सक्छ । राम्रा खोज, अध्ययन र अनुसन्धानलाई त केन्द्रमा नै ल्याएर उनीहरुको प्रतिभालाई उचित मूल्यांकन गर्नुपर्छ ।

६. शहरी लगायत दूरदराज र ग्रामीण क्षेत्रमा लुकेर रहेका विज्ञान क्षेत्रका सिर्जनसिल प्रतिभाहरुले हेलिकप्टर, गाडी, ड्रोण बनाएका छन् । तर विगतमा मन्त्रालय, नास्ट र अन्य सरोकारवाला निकायले केहि सहयोग नगरेकोले विदेश पलायन हुने धारणा राखेका थिए । उनीहरुले गरेका वैज्ञानिक अध्ययन अनुसन्धान र आविष्कारलाई सहयोग गरी प्रोत्साहन गर्न अव के गर्नुहुन्छ ?

अव यसमा यस्तो छ कुनै पनि अनुसन्धानलाई सबभन्दा पहिला संस्थागत गर्नुपर्ने हुन्छ । कुनै व्यक्तिले गर्यो भने संस्था मार्फत उसलाई माथि आउने आधारशिला सिर्जना गर्नैपर्छ । यसको लागि हाम्रो निकाय नास्टलाई नै बलियो बनाई नास्ट मार्फत यस्तो कुरालाई सम्बोधन गर्नुपर्छ । हाम्रा यस्ता सिर्जनसिल प्रतिभाशाली बैज्ञानिकहरुलाई यहाँ नेपालमा नै बस्ने वातावरण सिर्जना गर्नुपर्छ । विज्ञानको कुनै सीमा नहने भएकोले यस क्षेत्रमा भएका उपलब्धीहरु बिश्वब्यपीकरण हुने हुनाले यस्ता बैज्ञानिकहरुले गरेको खोज, अध्ययन र अनुसन्धानलाई अन्तर्राष्ट्रिय स्तर निधारण गर्न अनुगमन गर्ने निकाय गठन गर्न नास्टसँग समन्वय गरी अघि बढनेछौ ।

७. ग्रामीण दुर्गम क्षेत्रमा विज्ञान तथा प्रविधिको विकासका लागि प्रत्येक आर्थिक वर्षमा रकम छुट्याइन्छ । तर यस वर्षको बजेट पनि खर्च हुने नसकी फिर्ता भयो भन्ने सुनिन्छ नि ?

निश्चित रुपमा यस्तो समस्या हाम्रो नेपालमा अरु मन्त्रालयहरुमा पनि भएको देखिन्छ । यो किन भयो भन्दा मुख्य कुरा हाम्रो राजनीतिक अस्थिरताले गर्दा कुनै मन्त्रीले केहि गर्न नपाउदै सरकार परिवर्तन हुन्छ ।  कुनै पनि आर्थिक बर्षमा बजेट बनाउदा पनि प्रयाप्त गृहकार्य हुन नपाई हतारहतारमा बजेट बनाउने गरिन्छ । कसैले कुनै सोचका साथ अघि बढ्दा बढ्दै मन्त्रालयको नेतृत्व स्थिर नहुने हुनाले सोचेको योजनाहरु पुरा हुन पाउदैनन । यस्ता बिबिध समस्याहरुले ग्रामीण दुर्गम क्षेत्रमा विज्ञान तथा प्रविधिको विकासका लागि प्रत्येक आर्थिक वर्षमा छुट्याइएको रकम खर्च हुने नसकी फिर्ता हुने तीतो सत्य रहेको छ । दीर्घकालीन रुपमा चरणवद्ध रुपमा पन्चवर्षीय योजनाहरु ल्याएर जुनसुकै नेतृत्व आएपनि असर नहुने संयन्त्र बनाई सकेपछि विज्ञान तथा प्रविधिको विकासका लागि प्रत्येक आर्थिक वर्षमा छुट्याइएको रकम खर्च हुने वातावरण सिर्जना हुन्छ ।

८. विज्ञान र प्रविधि सम्बन्धित जनचेतना जगाउने कार्यक्रमहरु एफएम, रेडियो र टेलिभिजनहरुमा प्रभावकारी हुन सकेका छैनन् । नेपालमा विज्ञान र प्रविधिको जनचेतना वृद्धि गर्न मन्त्रालयका अव नयाँ के कस्ता योजनाहरु ल्याउने सोचमा हुनुहुन्छ ?

हामीले बिज्ञान तथा प्रबिधिलाई दुई पाटोहरु पहिलो परम्परागत बिज्ञान र दोस्रो सूचना प्रबिधिलाई हेर्नुपर्ने हुन्छ । हामीले विज्ञान र प्रविधिको  प्रचारप्रसार गर्न एफएम, रेडियो र टेलिभिजनहरुमा जनचेतनामुलक कार्यक्रमहरु गर्नैपर्छ । बिज्ञान तथा प्रबिधि सम्वन्धी बिभिन्न पत्रपत्रिकाहरु, बुलेटिनहरु पनि प्रकाशन गर्नुपर्छ । तर अहिले स्मार्ट फोनको जवाना भएकोले गर्दा विज्ञान र प्रविधि सम्बन्धित जनचेतना जगाउन र सूचना प्रबिधिको ज्ञानलाई अनलाईन मार्फत पनि प्रचारप्रसार र प्रवर्धन गर्न सकिन्छ ।

९. धेरै विज्ञान जिज्ञासाहरुको उचित वैज्ञानिक समाधान नहुँदा अझ पनि हाम्रो समाज रुढीवादी परम्परामा जकडिएको छ । यो क्षेत्रको प्रवर्द्धनको लागि के योजनाहरु छन् ?

रुढिवादी धारणाहरुलाई हटाउन तिनीहरुको उचित वैज्ञानिक समाधान खोज तथा अनुसन्धानात्मक पुस्तक प्रकाशन गर्नुपर्छ । विभिन्न जनचेतनामुलक कार्यक्रमहरु एफएम, रेडियो र टेलिभिजनमा गर्न सकेमा अझ राम्रो हुन्छ । समाज रुपान्तरणमा यस्ता रुढिवादी धारणाहरुको उचित वैज्ञानिक समाधान बिज्ञान शिक्षा मार्फत बिधालय स्तरको पाठयक्रममा नै समावेश गर्नु टड्कारो आवश्यकता देखिन्छ ।

१०. अन्त्यमा, साइन्स इन्फोटेक मार्फत के भन्न चाहनुहुन्छ ?

अव यसमा मैले भन्नपर्ने मुख्य एउटा कुरा के भने हाम्रो देशको ठुलो समस्या भनेको देशवाट धेरै प्रतिभाहरु पलयान हुने गरेका छन् । सवैका आफ्ना-आफ्ना सोच, ईच्छा र आकांक्षाहरु हुन्छन । बाहिर गएपनि आफ्नो देशलाई केन्द्रमा राखेर माया गरौ । साइन्स इन्फोटेक मार्फत के भन्न चाहन्छु भने म पनि अमेरिका गएर नेपाल नै फर्केको हुनाले सम्पूर्ण बैज्ञानिकहरुलाई बिदेशमा गएर सिकेको ज्ञानलाई आफ्नो देशको लागि योगदान गरौ ।

About Author

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Related Articles

Write a Comment

Only registered users can comment.