रगत रातो किन हुन्छ ?

रगत रातो किन हुन्छ ?

प्राणीलाई जीवित राख्न रगत नभई हुँदैन । शरीरमा रगतको अभाव भए रक्तअल्पता भन्ने रोग लाग्छ र प्राणीको मृत्यु हुन्छ ।  हामी सबैलाई थाहा भएकै कुरा हो, रगत रातो हुन्छ तर किन यो रातो हुन्छ ? रगतलाई तरल रूपमा राख्ने पदार्थलाई प्लाज्मा भनिन्छ । यसले रगतको आधा भाग ओगटेको हुन्छ । यो हल्का पहेँलो रङ्गको हुन्छ र पानीभन्दा बाक्लो हुन्छ । रगत तरल अंश प्लाज्मा तथा ठोस दुई किसिमका पदार्थबाट बनेको हुन्छ । ठोस पदार्थभित्र रक्तकणिका पर्छन् ।  रक्तकणिका दुई किसिमका हुन्छन्– राता रक्तकणिका र सेता रक्तकणिका । यी बाहेक रगतमा प्लेटलेट्स  भन्ने तत्व पनि हुन्छ ।  रगतमा ९६ प्रतिशत राता रक्तकणिका हुन्छन् । राता रक्तकणिका धेरै मात्रामा हुने भएकाले रगत रातो हुन्छ । त्यसबाहेक ३ प्रतिशत सेता रक्तकणिका र १ प्रतिशत प्लेटलेट्स हुन्छन् । प्लेटलेट्सले चोट आदिमा रगत जम्न मद्दत गर्छ ।

सुरूमा रातो रक्तकोष त्यति धेरै रातो हुँदैन तर हाम्रो हड्डीको भित्री भागमा हुने मासीले रक्तकोष बनाउने काम गर्छ । त्यहाँ यो परिपक्व हुँदै गएपछि यसले हेमोग्लोबिनको उत्पादन बढाउन थाल्छ । वास्तवमा रक्तकोषलाई रातो बनाउने पदार्थ पनि यही हेमोग्लोबिन नै हो । हेमोग्लोबिन आइरन र विभिन्न खालका प्रोटिनहरू मिलेर बनेको हुन्छ । रातो रक्तकोषको मुख्य पदार्थ भनेकै हेमोग्लोबिन र अक्सिजन हो । हेमोग्लोबिनले नै फोक्सोबाट अक्सिजन बोकेर शरीरका विभिन्न भागहरूमा पुर्‍याउने र त्यहाँका कोषहरूमा जम्मा भएका कार्बनडाइअक्साइडलाई चाहिँ बोकेर फोक्सोसम्म ल्याइपुर्‍याउने काम गर्छ । कार्बनडाइअक्साइड मिसिएको रगतको रङग चाहिँ गाढा रातो हुन्छ । फोक्सोले रगतमा रहेको कार्बनडाइअक्साइडलाई प्रशोधन गरेर फ्याक्ने काम गर्छ । रगतलाई रातो बनाउने रक्तकोष आफैंको आयु भने करिब ४ महिना मात्र हुन्छ ।

About Author

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Write a Comment

Only registered users can comment.