मर्यादा पुरुषोत्तम श्रीराम

मर्यादा पुरुषोत्तम श्रीराम
Madhusudhan Subedi

मधुसूदन सुवेदी

मर्यादा पुरुषोत्तम श्रीराम

रामाय रामभद्राय रामचन्द्राय वेधसे ।

रघुनाथाय नाथाय सीतायाः पतये नमः ।।

पुरुषोत्तम राम, सीता र लक्ष्मणले वनवासको बेला साढे एघार वर्ष व्यतीत गर्नुभएको चित्रकूट त्रेतायुगमा कस्तो थियो भनी शास्त्रले सामान्य परिचय दिएका छन् । जब श्रीराम रामघाटमा स्नान गर्न आउनुहुन्थ्यो ।

चित्रकूट के घाटपर भई सन्तन की भीर ।

तुलसीदास चन्दन घिसे तिलक देत रघुवीर ।।

त्यस समय तुलसीदासजी चन्दन घोटी भगवान्लाई टक्य्राउने कार्यमा व्यस्त हुनुभयो । तसर्थ श्रीरामले तुलसीदासजीलाई दर्शन दिनुभयो । त्यसै बेला तुलसीदासजीले तुलसीरामायण सन् १६३१ मा लेख्न सुरु गर्नुभयो र १६३३ मा समाप्ति पनि गर्नु यो । त्यसै बेलादेखि राम वनवास जानु हुँदाको ठाउँका सबै कुराहरू बिस्तारै जानकारी हुँदै गयो र विस्तारित भयो ।

मर्यादा पुरुषोत्तमका रूपमा चिनिएका भगवान् श्रीरामले जुन रूपमा पुरुष मात्रको मर्यादालाई नमूनाको रूपमा सन्देशहरू लोक कल्याणको निमित्त दिनुभएको थियो त्यसले भूत भविष्यत वर्तमान तीनै कालमा सबैले लोक कल्याणको निमित्त अनिवार्य रूपले पालन गर्नु पर्ने हुन्छ । मर्यादाहरूलाई जसले तोड्दछ, जो लोक हितका विरुद्ध स्वार्थपूर्ण पाप कृत्यमा लाग्दछ जसले सच्चरित्रताको अपमान गर्दछ, त्यस्तो व्यक्तिले सज्जनको बीचमा कहिले पनि सम्मान पाउँदैन । मानिस आफूलाई जतिसुकै वीर पुरुषार्थी मानोस् ऊ कुलीन हो वा अकुलीन हो र पवित्र हो वा अपवित्र हो भन्ने कुरा उसको चरित्रले नै स्पष्ट रूपले बताउँदछ । हामीहरूले सुनेका छौ कि आफ्नो  प्रतिज्ञा पूरा नगर्ने, चञ्चल र अस्थिर मनोवृत्ति हुने पुरुष प्रति न देवताहरू न त पितृहरूनै खुसी रहन सक्तछन् अर्थात् त्यसबाट कुनै पनि गर्व गर्न लायक उत्तम कार्यको आशा रहँदैन । मर्यादाको सन्देश दिने प्राणीमात्रमा रमण गर्ने र सबैलाई आनन्द गराउने प्रभुको नाम राम हो र राम दशरथ राजाको पुत्र र सीताजीका पति थिए यो एक उनको स्थूल अवतार रूप थियो । यस अवतारको चरित्र सबैले धेरै पटक पढेको वा सुनेको होला तर यस अमृत पिएर कसलाई तृप्ति होला । अतएव यस चरित्रको फेरि स्मरण गरौं ।

ततो यज्ञे समाप्ते तु ऋतूनां षट् समत्ययुः ।

ततश्च द्वादशे मासे चैत्रे नावमिके तिथौ ।।

नक्षत्रेदिति दैवत्ये स्वोच्चसंस्थेषु पञ्चषु ।

ग्रहेषु कर्कटे लग्ने वाक्पता बिन्दुना सह ।।

प्रोद्यमाने जगन्नाथं सर्वलोकनमस्कृतम् ।

कौसल्याजनयद् रामं दिव्यलक्षणसंयुतम् ।।

यज्ञ समाप्ति भएपछि जब छ ऋतु बितेर गयो तब वाî महिनामा चैत्र शुक्लपक्ष नवमी तिथिको पुनर्वसु नक्षत्र एवं कर्कट लग्नमा कौसल्यादेवीबाट दिव्य लक्षणले युक्त सबै लोकले मान्ने जगद्का ईश्वर श्रीरामले जन्म लिनु भयो । त्यस समय (सूर्य, मङ्कल, शनि, गुरु र शुक्र) यी पाँच ग्रह आफ्नो—आफ्नो उच्च स्थानमा विद्यमान थिए तथा लग्नमा चन्द्रमाको साथ बृहस्पति विराजमान हुनुहुन्थ्यो ।

आज रामनवमी हो यस दिनमा श्रीराम चन्द्रको जन्म भएकोले व्रत पूजा रामायण पाठ शास्त्र निर्णित परम्परा चलि आएको छ ।  रामावतारमा रहेर प्रभुले पिताको वचनको पालना गर्नुभयो । भरतलाई राजसिंहासन र रामचन्द्रले वनवास गर्ने यी दुई वर कैकेयीले मागेर शोकाकुल हुनुभएको पिताजीका समीपमा श्रीरामचन्द्रजी पुग्नुभए पछि महाराज दशरथबाट रामचन्द्रलाई तिमी वनवास जानुपर्दछ  भन्न सक्ने सामर्थ्य भएन । साथैमा बस्ने कैकेयीले मात्र उक्त कुरा सुनाउनुभयो । पिताजीले नभन्दा कैकेयी मातालाई छटपटी हुँदा रामचन्द्रले भन्नुभयो कि पिताजीबाट कुनै वचन नभए पनि हजुरकै आज्ञाबाट म वनवास जान तयार छु हजुरले सन्देह मान्नुपर्दैन । हजुरको र भरतको सुखका निमित्त म जस्तो दुःख पनि भोगन तयार छु भन्नुभयो ।

कौशल्या माताले वनवास जाने कुरा आफ्नो  छोरा रामचन्द्रकै मुखबाट सुनेपछि ज्यादै विêल हुनुभयो । विलाप गर्दै भन्नु भयो हे बाबु तिम्रो पिताजी तिम्रो निमित्त जति आदरणीय हुनु हुन्छ त्यति नै म पनि छु म तिमीलाई बन जाने अनुमति दिन्न यदि तिमी बन जान्छौ भने म उपवासद्वारा प्राण त्याग गर्दछु बाँच्न सक्तिन भन्दा रामचन्द्रले मातालाई सम्झाउन लाग्नुभयो । हे माता ! म तपाईंको चरणमा शिर झुकाएर तपाईंलाई प्रसन्न गराउन चाहन्छु । म पिताजीको आज्ञाका उल्लघन गर्न सक्तिन । अतः म वनमा जानुनै पर्दछ । किनभने वनवासी विद्वान् कण्डु मुनिले पिताजीको आज्ञाका पालन गर्नाको लागि अधर्म सम्झेर पनि गाईको वध गरे । त्यस्तै जमदग्निका छोरा परशुरामले पिताजीको आज्ञा पालना गर्नाको निमित्त वनमा बन्चरोले आफ्नो माता रेणुकाको गला काटिदिनुभयो । तसर्थ हे माता त्यस्तै अरु पनि धेरै देवतुल्य मानिसले उत्साहका साथ पिताजीका आदेशको पालना गर्नुभएको छ । यसकारण म पनि कात्तर नवनी पिताजीको हितको लागि साधन गर्दछु । मैले मात्र यस प्रकार पिताजीको आदेशको पालना गर्न लागेको हैन । जुनकि मैले अहिले चर्चा गरेको छु ती सबैले पनि पिताको आदेश पालना गरेका छन् । त्यसकारण हे माता मैले तपाईको प्रतिकूल कुनै नयाँ धर्मको प्रचार गरिराखेको होइन । पहिलेका धर्मात्मा पुरुषहरूले  पनि यो कामलाई योग्य मानेका थिए । मैले पनि त्यही बाटो अपनाएको हुँ । यो भूमण्डलमा जुन सबैको लागि गर्न योग्य छ  त्यही नै म पनि गर्न गइ रहेको छु । यसको विपरीत मैले गर्न लागेको होइन । पिताको आज्ञाको पालन गर्ने व्यक्ति जो सुकै भए पनि धर्मबाट भ्रष्ट हुँदैनन् भनी कौशल्या माताज्यूको पाउमा परेर चित्त बुझाउनु भयो ।

आफ्नो  प्राणभन्दा प्यारो दाज्यू रामचन्द्रलाई आफू मामा घरमा गएको बखतमा दुष्ट कुब्जाको कुचक्रमा परी कैकेयीले वनमा लखेटेपछि भरत मामा घरबाट आउनुभयो । पिताजीको दशक्रिया समाप्त गरी कैकेयी मातालाई धिक्कार गर्दै म मेरा पूज्य दाज्यूलाई वनबाट फर्काएर राज्य सिंहासनमा राख्ने छु । यसरी स्वेच्छाले बनमा गएर धेरै अनुनय विनय गर्नुभयो । तर रामचन्द्रले पिताजीको वचन पालना गर्ने, अयोध्या नजाने निर्णय गर्नु भयो । साथै विहवल बनी भरतले पाउमा परी हजुर सवारी नभए म प्राण त्याग गरिदिन्छु । श्रीरामचन्द्रले सम्झाउन लाग्नु भयो बाबु भरत पहिले तिम्रो मुमाका साथ पूज्य पिताजीले वैवाहिक सम्बन्ध जोडन लाग्दा तिम्रो मातामहले मेरी छोरीको छोरालाई राज्य दिनुपर्दछ भन्नु भएको  थियो । पिताज्यूले पनि अरु रानीहरूबाट सन्तान नभएकोले अनुमोदन गर्नु भएको थियो । फेरि देव दैत्यको सङ्ग्राममा देवताको सहायता गर्न पिताजीका साथ तिम्री माताजी पनि जानुभएर ठूलो मद्दत सेवा गर्नु भएकोमा प्रसन्न हुनुभएका पिताजीले उहाँलाई दुई वर दिनुभएको थियो । तिम्रो मुमाले पछि चाहिएको बेलामा मागौला भनी थाती राख्नु भएको थियो । अहिले तिम्रो कल्याणका निमित्त ती दुई वर मागेर मेरो वनवास तिम्रो राज्य प्राप्ति भएको हो । पिताजीको वचन मानेर उहाँलाई सत्यमा अचल गराउन मैले वनवास गरें । त्यस्तै तिमीले पनि पितृ आज्ञा लाई पालन गर्नुपर्दछ । यो पुत्रको परम कर्तव्य हो । त्यसैले तिमी पिताजीलाई दोष नलगाऊ । सत्यवादी बनाऊ, हेर यो संसार सधै एक नासले रहदैन सधै परिवर्तन भइरहन्छ । सबैले सत्यलाई छोडनुहुँदैन । बाबु सारा संसार चक्र कालको अधीनमा छ जुन समयमा जस्तो गर्नुपर्ने परिस्थिति कालले गराउँछ । त्यही बमोजिम प्राणीले व्यवहार गर्नु नै उत्तम छ । अहिले तिमीले र मैले त्यही गर्नलाई कालले प्रेरणा दिएको छ, । मैले यहाँ बसेर तिमीले राज्य सञ्चालन गरेर पिताजीलाई सत्यबाट विचलित  नहुनुभएको गराउनै हाम्रो परम कर्तव्य भएको छ । त्यसैले तिमी राज्य समाल भनेर भरतको चित्त बुझाएर अयोध्या पठाउनुभयो । यसरी माथि बताएका सबै कुरालाई मनन गरी हामीहरूले मर्यादामा रही धर्मपूर्वक आफ्नो  जीवन निर्वाह गर्नुपर्ने कुरालाई नबिसौँ ।

अर्को कुरा त्रेतायुगमा दुष्ट रावण तथा अन्य राक्षसहरूको संहार गरी धर्मको रक्षा गर्न र ऋषि मुनिहरूको रक्षा गर्न भनी यस धर्तीमा भगवान्को अवतार भएको हो । यस विषयमा केही कुरा चर्चा गरिन्छ कि विश्वामित्र ऋषिले सारा प्राणीलाई यस ताडकाले दुःख दिईराखेकी छ । राजाको कर्तव्य  प्रजाको रक्षा गर्नु हो । त्यसकारण स्त्रीवधका दोष लाग्दैन, सङ्गोच नगरी ताडकाको बध गर भन्नुभएपछि मात्र इन्द्रादिले पनि जित्न नसकेकी ताडकालाई श्रीरामचन्द्रजीले वध गर्नुभयो । त्यसबाट प्रसन्न भएका इन्द्रादि देवाताको अनुरोध र आफ्नै इच्छाले पनि विश्वामित्रले रामचन्द्रलाई दिव्यास्त्र, ब्रम्हास्त्र अग्न्यास्त्र, जृम्पणास्त्र आदिको प्रहार र संहारको विधिपूर्वक मन्त्र सहित उपदेश दिनुभयो । यसपछि मूर्तिरूप धारण गरी ती दिव्यास्त्रहरू श्रीरामचन्द्र प्रभुका अगाडि हात जोडेर खडा भए । मलाई चाहिएको अवस्थामा बोलाउने छु । मेरो मनमा मात्र बस भनेर उनीहरूलाई बिदा दिनुभयो । यी दिव्यास्त्रका प्रभावबाट रामचन्द दोब्वर तेजस्विलो स्वरूपमा देखिनुभयो । विश्वामित्रजी कै आज्ञा अनुसार यज्ञ विध्वंसकारक राक्षसहरूको संहार पारी ऋषि मुनिहरूको संरक्षण पनि गर्नुभयो ।

रामको चरित्र कार्य जति पुस्तक काव्यहरूमा हेर्दछौ त्यसबाट हामी रामको पथप्रदर्शक पावन चरित्रको वर्णन पाउँदछौं । हाम्रो लागि यसभन्दा ठूलो सौभाग्य अरु के हुन सक्तछ । किनभने हामी यस्ता मर्यादा पुरुषोत्तम आदर्श चरित्रका सन्तान हौं । त्यही पवित्र नाम रामको जन्म दिनको शुभ तिथि चैत्रशुक्ल नवमी हो । हाम्रा पूर्वजहरूले हामी माथि कृपा गरी उपदेश गरे अनुसार परंपरागत रूपमा यस लोकाभ्युदयकारक राम जन्मको तिथि यस चैत्रशुक्ल नवमी अहिले सम्म अविछिन्न रूपले हाम्रो पालासम्म हर्षोल्लासका साथ मान्दै आउने सुवर्ण अवसर पाउँदै आएका छौं ।

भगवान् रामचन्द्रले विश्वकल्याणका निमित्त मनुष्यावतार लिनुभएको त्रेतायुगको अन्त्यमा वहाँले शक्तिमाता देवीको पूजा आराधना गरी रावण मार्नलाई प्रस्थान गर्नुभएको हो शक्तिको आराधनाबाट नै विजय प्राप्त भयो । रावणलाई मार्नु, विजय गर्नु लरतरो कुरा होइन, यो सानु विजय होइन । फेरि भूत, भविष्यत, वर्तमान यी तीनै कालमा यस्तो राम रावणको जस्तो युद्धको उपमा अरु दिन सकिदैन । तसर्थ सबैले शक्ति आर्जन गर्नका निमित्त यस नवरात्रमा पनि महाकाली महालक्ष्मी महासरस्वती को विशेष किसिमबाट उपासना प्रार्थना पूजा पाठ यसको महिमा सुनाउने प्राचीन कालदेखिनै परंपरा चल्दै आएको छ ।

साथै चैत्रशुक्त रामनवमीको अघिल्लो दिन याने चैत्रशुक्ल अष्टमीका पावन पर्वमा सबैले भगवतीको स्थानमा शस्त्रको समेत विशेष पूजाआजा, पाठ, आराधना तथा बलि दिई शक्ति सञ्चय गरी जसरी श्रीरामले यही चैत्रशुक्लको नवरात्र पर्यन्त शक्तिको आराधना गरी रावण जस्तो दुष्टको नाश गर्न र विजय हासिल गर्न सफल हुनुभयो । त्यस्ता महान् पुरुषरूपी भगवान् श्री रामचन्द्रको यस रामनवमीको दिन राम नाम स्मरण गर्दै हरे राम हरे राम राम राम हरे हरे, यी शक्ति सम्पन्न नाम भक्ति, पूर्वक पाठ गर्नुपर्दछ ।

भगवान्को भक्ति पारलौकिक सुखको साधन मात्र होइन किन्तु ऐहिक विविध विध्न वाधा निवृत्ति र सुख सम्पत्तिको पनि साधन हो । नाम जप्ने वा पाठ गर्नेले आफ्नो  जीवन चलाउनका निमित्त जुनसुकै पेशा अपनाए पनि त्यसको लक्ष्य भगवत्प्रीति हुनुपर्दछ र अन्याय गर्नु हुँदैन । देश, नरेश र स्वकीय परिजनहरूको सेवामा परिआउने काम काज गर्दा पनि भय सङ्गोचहरू त्यागेर यथासम्भव राम नाम जप चलाइरहने कोशिस गर्नुपर्दछ । त्यसैमा विश्वशान्ति देशको कल्याण, नरेशको अभ्युदय र नेपाल र नेपाली सदा—सर्वदा आदर, कदर तथा शक्ति सम्पन्न भई यस देश तथा संसारमा यस गौरव हासिल गर्न सफल हुनेछ भन्ने भगवान् श्री रामचन्द्रबाट आशीर्वाद प्राप्त गर्नेछौ यसैमा सबैको कल्याण छ । रामले जे गरेर देखाउनुभयो, धर्मको विश्वासका यस्तो अरु कुनै पनि उदाहरण संसारको इतिहासमा देखिदैन ।

अतः रामचन्द्रको पितृ आज्ञामा दृढ रहनुका साथ—साथै सामाजिक, धार्मिक मूल्य र मान्यतालाई उल्लङ्खन गर्ने रावणरूपी दुष्टहरू समाजमा विद्यमान रहेसम्म त्यस समाजले सुगति, मर्यादा पालन, सहिष्णुता, दया, धर्म आदि कुनै पक्षमा पनि प्रगति गर्न नसक्ने हुनुका साथै सामाजिक तथा धार्मिक अराजकता रहिरहने हुँदा त्यस्तो मर्यादा हीन कार्य गर्ने रावण रूपी दुष्टहरूको उन्मूलन हुनुपर्दछ भन्ने र यस्ता सद्गुणीको जीवनीको लक्षलाई अपनाई राष्ट्र हितको सेवामा तत्पर रहिरहने भावनाका निमित्त प्रेरणा आजको दिनले हामी सवैलाई स्पष्ट औल्याएको देखिन्छ ।

मधुसूदन सुवेदी केन्द्रिय कानून पुस्तकालय जमलका प्रमुख तथा वरिष्ठ लेखक हुनुहुन्छ । उहाँका ७० भन्दा बढी धार्मिक तथा पुस्तकालय बिज्ञान सम्वन्धी पुस्तकहरु प्रकाशित छ ।

About Author

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Write a Comment

Only registered users can comment.