ह्याकिङ (Hacking) भनेको के हो ?

ह्याकिङ (Hacking) भनेको के हो ?

कम्प्युटर र सूचना-प्रविधिको क्षेत्रमा विभिन्न सुत्र तथा उपाय अवलम्बन गर्दै कसैको कम्प्युटर वा इन्टरनेटमा अनधिकृत ढंगले प्रवेश गरेर सूचना तथा तथ्यांकहरू चोरी गर्नुलाई ह्याकिङ भन्ने बुझिन्छ । धेरै नेपालीहरुले ह्याकिङ शब्द सुन्ने बित्तिकै अझै अपराध र नराम्रो भनेर नै बुझ्ने गरेका छन् । अरु प्रकृतिका अपराधी भन्दा ह्याकर अझै खतरनाक हुन् भन्ने सोच विद्यमान छ ।  सामान्य भाषामा ह्याकिङ भनेको भईरहेको सामान र प्रविधिलाई जोडजाड गरेर थप दक्ष बनाउनु हो । सीमित स्रोत र साधनको प्रयोग गर्दै समस्या समाधान गर्ने वा नयाँ आविष्कार गर्नेलाई पनि ह्याकिङ भनिन्छ । नेपाल जस्तो देशमा वेब सेक्युरिटी निकै कमजोर भएकाले बारम्बार वेबसाइट ह्याकिङ भईरहेका घटना देख्न र सुन्न पाइन्छ ।

ह्याक गर्ने टेक्नो गिकहरु नै ह्याकर हुन् । ह्याकिङलाई रोक्ने प्राविधिकहरुलाई एन्टी-ह्याकर भनिन्छ । कुनै पनि ब्यक्ति वा कम्पनीले अपनाइएको प्रविधि विश्वशनीयताको जाँचका लागि कसैलाई जानकारी गराई ह्याक गर्नेहरु ‘एथिकल ह्याकर’का रुपमा चिनिन्छन् । ह्याकिङका कारण सूचना-प्रविधिको प्रणालीमा रहेको छिद्र पहिचान हुने भएकाले विकसित मुलुकहरूमा त ह्याकिङलाई समस्या पहिचान गर्ने सूत्रकै रूपमा लिने गरिएको छ । त्यसैले पनि नाम चलेका आईटी कम्पनीहरूले दक्ष ह्याकरहरूलाई आकर्षक जागिर दिने गरेका छन् । प्रणालीमा रहेको कमजोरी पहिचान हुनुभन्दा पनि त्यसलाई कति चाँडो सम्बोधन गर्ने भन्नेमा कम्पनीहरूको ध्यान केन्द्रित हुने गरेको छ ।

कसैको कम्प्युटर, एकाउन्ट ह्याक गर्नु सामान्य कुरा भने पक्कै होइन । यसका लागि विषयगत अध्ययन र विभिन्न प्रविधिको ज्ञान हुनु जरुरी भएपनि ह्याक गर्न भने निश्चित समय सिमा भने हुदैंन । ह्याकरहरु भनेका कम्प्युटर र  प्रविधि बिज्ञ समेत हुन्छन् । उनीहरु हरेक प्रकारका प्रविधिको गहिरो ज्ञानले भरिपूर्ण हुन्छन् । ह्याक गरिएका बैंकको एकाउन्टवाट पैसा रित्याउने सामान्य समस्या हो । तर ह्याक भएका डाटाबाट अझ बढी नोक्सानी हुने गरेका प्रशस्तै उदाहरणहरु रहेका छन् । ह्याक गरिएका डाटाहरु प्रतिस्पर्धीहरुमा उच्च मुल्यमा बिक्रि गर्ने गरिन्छ भने कतिपय लुकाईएका सुचनाहरु सार्वजनिक समेत हुने गर्छ । पहिलो प्रयासमै ह्याकर ह्याकिङ गर्न सफल हुन्छ भन्ने हुदैन । कुनै पनि सुचना ह्याक गर्न प्राविधिक ज्ञान बाहेक उसमा धैर्यताको पनि आवश्यकता पर्दछ । भाइरसको प्रयोग गरेर र फिसिङ टेक्निक अपनाएर बढी जसो ह्याक हुने गरेको छ ।

नेपालमा सरकारी कार्यालयका वेबसाइटहरू लगातार ह्याक भइरहेका छन् । यसको कारण विश्लेषण गर्ने हो भने लापरबाही र बेवास्ताको लामै सूची तयार हुन्छ । २०७२ वैशाख ७ गते प्रधानमन्त्री कार्यालयको वेबसाइट ह्याक भयो । नोफ्याक्स अल ह्याकले त्यसको जिम्मेवारी लियो । २०७२  असार २७ गते राष्ट्रपति कार्यालयको वेबसाइट ह्याक भयो । एनोनिमस ह्यास ओपनेप नामक ह्याकर समूहले त्यसको जिम्मेवारी लियो । २०७२ चैत ८ गते क्षयरोग केन्द्र, घरेलु तथा साना उद्योग कार्यालय, महालेखा परीक्षकको कार्यालय लगायतका सरकारी कार्यालय र संस्थाको वेबसाइट ह्याक भयो ।  त्यस्तै २०७३ असार १८ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वेबसाइट ह्याक भयो । यसको जिम्मेवारी ट्युनिसियाको ह्याकर समूहले लिएको थियो ।

बर्सेनी वेबसाइट डिजाइन र होस्टिङ शीर्षकमा राज्यको ढुकुटीबाट मोटै रकम खर्च हुँदै आएको छ । मन्त्रालय र केन्द्रीय निकायहरूमध्ये धेरैले वेबसाइट डिजाइन र प्लेटफर्म निर्माण लगायतका कामको जिम्मा व्यक्ति तथा निजी कम्पनीहरूलाई दिने गरेका छन् । यसरी बनाइएका वेबसाइट र प्लेटफर्महरूको सुरक्षा प्रणाली चुस्त छ वा छैन भन्नेतर्फ चाहिँ सरोकारवालाहरुले खासै वास्ता गर्दैनन्न् । तर त्यसमा छुट्टाईएको बजेट कसरी परिचालन गर्ने भन्ने मै उनीहरुको ध्यान केन्द्रित हुँदै आएको छ । विशेषत: त्यसमा प्रयोग भएका सफ्टवेयरको गुणस्तरले सुरक्षा प्रणालीलाई प्रभाव पार्छ । वेबसाइटलाई सुरक्षित बनाउन त्यसको डिजाइन र होस्टिङकै चरणदेखि नै सजग हुनुपर्ने हुन्छ ।

About Author

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Write a Comment

Only registered users can comment.