यस्तो छ शनिबार व्रतकथा

यस्तो छ शनिबार व्रतकथा

यस्तो छ शनिबार व्रतकथा ! एक पटक सूर्य, चंद्रमा, मंगल,बुध, गुरु, शुक्र, शनि, राहू र केतु यी समस्त ग्रहहरूका माझमा एकाआपसमा हामीमध्ये सबैभन्दा को ठूलो भन्ने विषयमा झगडा भयो । सबै आआफूलाई ठूलो मान्दथे । आपसमा विवाद नसुल्झिएपछि ती ग्रहहरू आआफ्ना तर्क र अडान लिएर देवराज इंद्र भए ठाउँमा गए । त्यसपछि इन्द्रलाई सबैले एक स्वरमा भन्दा भए – हजुर सम्पूर्ण देवताहरूका राजा हुनुहुन्छ, अतः हजुरले हामीबीचमा भएको विवादलाई राम्ररी अनुसन्धान गरी न्यायसम्मत ढङ्गले हामी नवै जनामध्ये को ठूलो हो निर्णय गर्नुहवस् । देवराज इंद्र ग्रहदेवताहरूका कुरा सुनेर सुरुमा त अत्तालिए र तुरुन्त ममा यस्तो निर्णय गर्ने सामर्थ्य कहाँ छ र भन्दै पन्सिन खोजे । बास्तवमा सबै ग्रहहरू एकसेएक पराक्रमी छन्, अब कसलाई सानोठूलो भनेर छुट्याउनु देवराज इन्द्रका निम्ति यो एउटा कठिन घडि नै थियो । केही बेरपछि इन्द्रले भने- म आफ्नो औकातले त यो निर्णय गर्न सक्दिन, तर एउटा उपाय सुझाँउछु । त्यो उपाय हो यस समय पृथ्वीमा राजा विक्रमादित्य राज गर्दछन्, उनी अर्काको दुःख निवारण गर्ने सामर्थ्य पनि राख्दछन् । त्यसैले हजुरहरू नवै जना उनैकहाँ जानुहोस्, त्यहीं यस विवादको समाधान हुनेछ ।

समस्त ग्रहदेवता देवराजका त्यस्ता कुरा सुनेपछि देवलोकबाट भूलोकमा आए र राजा विक्रमादित्यको सभाकक्षमा उपस्थित भए, अनि आफ्नो प्रश्न राजासमक्ष तेर्स्याए । राजा विक्रमादित्य ग्रहहरूका कुरा सुनेर गहन चिन्ताग्रस्त भए र सोच्न थाले म के उपायका आधारमा को ठूलो को सानो भनेर भन्नु? फेरि जो सानो बनिएला, त्यसलाई रिस पनि उठ्ला । त्यसपछि विक्रमादित्य ग्रहहरूको विवादबाट पन्सिने उपाय सोच्न थाले र सुन, चाँदी, कांसो, पीतल, सीसा, लाहा, जस्ता, अभ्रक र फलाम गरी नौ किसिमका धातुका नौवटा आसन निर्माण गरी ती नवनिर्मित आसनलाई क्रमैसित अर्थात् सबैभन्दा पहिले सुनको र पुछारमा फलामको आसन ओछ्याउन लगाए । त्यसपछि राजाले सबै ग्रहहरूसँग प्रार्थना गरे – यहाँहरूले आआफ्नो आसन ग्रहण गर्नुहवस्, यहाँहरूमध्ये जसको आसन सबैभन्दा अगाडि छ, ऊ ठूलो हुने र जसको आसन सबैभन्दा पछि छ त्यो सानो हुने भन्ने यहाँहरूले आफैं बुझ्नुहोला । ती आसनमध्ये फलामलाई सबैभन्दा पछि ओछ्याइएको थियो, अनि फलाम शनिदेवको धातु हो, त्यसैले शनिदेवले राजाले मलाई सबैभन्दा सनो बनाए भन्ने कुरा बुझे ।

यस निर्णयप्रति शनिदेवलाई असाध्यै रिस उठ्यो । तुरुन्त राजा विक्रमादित्यलाई झम्टँदै क्रोधित शनिदेवले राजा तपाईंले मलाई चिन्नुभएको रहेनछ, हेर्नुहोस् सूर्य एउटा राशीमा एक महिना, चन्द्रमा सवा दुई दिन, मङ्गल डेढ़ महिना, बृहस्पति तेह्र महिना, बुध र शुक्र एक-एक महिना विचरण गर्दछन् तर म एउटा राशीमा साढे दुई वर्ष विचरण गर्दछु । त्यतिमात्र कहाँ हो र म जुन राशीमा भ्रमणशील हुने गर्दछु त्यस रशीसँगै छेउछाउका राशीमा समेत मेरो प्रत्यक्ष असर हुने गर्दछ, जसलाई साढेसाती भनिन्छ । ठूलठूला देवताहरूलाई पनि मैले भीषण दुःख दिएको छु । हे राजन! सुन्नुहोस्, श्रीरामचन्द्रले साढ़ेसाती भएका बेला वनवास जानुपर्यो । रावणलाई साढेसाती प्राप्त हुँदा भगवान् रामचन्द्रले बाँदरको सेना साथमा लिई लङ्कामा आक्रमण गर्नुभयो र रावणको वंशविनाश हुनपुग्यो । हे राजन ! अब हजुर पनि मेरो प्रकोप सहन तैयार रहनुहोला । राजा विक्रमादित्यले शनिदेवको रोषलाई सामान्य रूपमा लिए र भने – जे भाग्यमा लेखिएको छ, त्यस्तै त होला नि । यसपछि अन्य ग्रहहरू त प्रसन्नतापूर्वक नै त्यहाँबाट आआफ्ना स्थानतर्फ गए तर शनिदेव रिसाउँदै फर्किए । केही समय व्यतीत भएपछि राजा विक्रमादित्यको राशीअनुसार उनलाई पनि साढ़े सातीको दशा आयो ।

शनिदेव घोड़ाका ब्यापारी बनेर अनेकानेक घोडा लिई राजाको राजधानीमा प्रवेश गरे । अनि राजालाई सिपाहीले घोड़ाको ठूलो ब्यापारी आएको कुरा सुनाए । सिपाहीका कुरा सुनेर राजाले दरबारको आवश्यकता हेरी राम्राराम्रा घोड़ा किन्ने आज्ञा प्रदान गरे । अश्वपालले राजाज्ञा स्वीकार गरी उत्तम नश्लका केही घोडा खरिद गर्यो । केही दिनपछि किनिएका घोडाको जाँचपरख गर्न राजा स्वयं तबेलामा गए र सवार गर्न एउटा असल घोडा छानेर चढ़े । राजा चढ्नासाथ घोडा तेजीका साथ बेस्सरी कुद्न थाल्यो । त्यो घोडा त विक्रमादित्यको राज्यभन्दा धेरै टाढा एउटा घना जङ्गलमा गएर उनलाई त्यहीँ छाडेर अन्तर्ध्यान भयो । त्यसपछि राजा त्यस निर्जन वनमा धेरै दिन भौंतारिए । भोकप्यासबाट पीडित भएका दुखी राजाले भौतारिदा भौतारिंदै एउटा गोठालोलाई भेटे जसले उनलाई पानी खान दियो । राजाको औंलामा औंठी थियो, उनले त्यो औंठी त्यसै ग्वालालाई उपहारस्वरूप प्रदान गरे र त्यसै गोठालासित देशकालको जानकारी लिई बाटो पहिल्याएर उनी नजिकैको सहरतर्फ लागे ।

राजा नगर पुगेर एउटा सेठको दोकानमा पसे । आफू उज्जैन नगरको विका नामको नागरिक भएको भनी त्यस साहुलाई परिचय दिए । सेठले पनि उनलाई एक जना कुलीन मनुष्य भन्ने ठानी स्वागत सत्कार गर्यो । भाग्यवश त्यस दिन सेठको दोकानमा अलि बढी बिक्री भयो । अनि सेठले राजालाई एउटा भाग्यमानी पुरुष ठानेर आफ्ना घरमा लिएर गयो । भोजनादि प्रदान गरी राजाको सेठले ऱाम्रै आवाभगत गर्यो । तर भोजन गर्दा राजाले बडो आश्चर्यजनक घटना देखे, त्यो के भने जुन ठाउँमा एउटा हार सिउरिएको देखिन्थ्यो, त्यो काँटीले नै त्यस हारलाई निल्दै थियो । भोजनोपरान्त जब सेठ त्यस कक्षमा आए ठिक्क त्यतिबेला राखेको स्थानमा हार देखिएन ।

उनले विकाबाहेक त्यस कक्षमा कसैले प्रवेश गरेको छैन, अतः उसैले यो हार चोरेको हुनुपर्छ भन्ने निश्चय गरे । तर विकारूपी राजाले हार चोरेकै थिएनन्, तर परिबन्दले चोरीको दोषी हुनपुगे । चोरीको अभियोगमा उनलाई समातियो र त्यहाँका राजाले उनको मुद्दाको सुनुवाइ गर्दै हातखुट्टा काट्ने आदेश दिए । राजाको फैसला कार्यान्वयन भयो अनि विका बनेका राजा विक्रमादित्य हातखुट्टाबिनाको शरीरका साथमा यत्रतत्र भौतारिंन थाले । केही समय व्यतीत भएपछि एक जना तेलीले त्यस अपाङ्ग राजालाई आफ्नो घरमा लिएर गयो र कोलमा राखेर बसीबसी गोरु धपाउने काममा लगायो । राजा कोलमा बसेर बोलीका भरमा गोरु धपाएर दिन गुजार्न थाले । यी समस्त घटना भएपछि मात्र बल्ल शनिको साढेसातीको दशा समाप्त भयो । वर्षा ऋतुको श्रावणभाद्रको हरियालीको मौसममा शारीरिक रूपले अशक्त राजा मल्हार नामको राग अलाप्न थाले । उनको रागमा साङ्गीतिक मिठास अनुभव गरी त्यस सहरकी मनभावनी नामकी राजाकुमारी मोहित हुन पुगी । राजकन्याले त्यो राग गाउने व्यक्ति को होला भनी खोजीनीति गरी र त्यसको यथार्थ विवरण लिइआउन एउटी दासीलाई अह्राई । दासी त्यस रागको स्वर सुन्दै त्यसको स्रोत कता हो भन्दै सारा सहर घुमी, अन्त्यमा ऊ तेलीको घरमा पुगी । त्यहाँ उसले हातखुट्टाविहीन अपाङ्ग व्यक्ति तेलको कोलमा बसी राग अलाप्दै गोरु धपाउँदै गरेको दृश्य देखी ।

दासीले फर्किएर राजकुमारीलाई सम्पूर्ण वृतान्त सुनाई । दासीका कुरा सुन्नासाथ उसलाई त्यस राजाप्रति दया र अनुराग जागेर आयो, तुरुन्त उसले प्रण गरिहाली – जे जस्तो अवस्था आए पनि त्यसै अपाङ्गसँग विवाह गर्नेछु । अब सितिमिति राजाले छोरीका कुरा स्वीकार गर्दैनन् भन्ने ठानेर राजकुमारीले अनशन गर्ने विचार गरी । दासीले रानीलाई राजकुमारीका यावत् समाचार भनी । रानीले राजकुमारीलाई अनशन गर्नुपर्ने कारण सोधिन् । राजकुमारीले आमालाई मलाई उसको स्वर असाध्यै मन परेको हुनाले तेलीका घरमा बस्ने हातखुट्टाबिनाको अपाङ्गसँग म विवाह गर्छु भनेर बताई । छोरीका कुरा सुनेर विचरी रानी छक्क परिन् अनि छोरीलाई सम्झाउन थालिन्, नानी तेरो बिहे त त्यस्ता कुँजालङ्गडासँग होइन कुनै देशको राजा वा राजकुमारसँग हुनुपर्दछ । कन्याले आफूले गरेको प्रण नत्याग्ने बताईन् । रानीले चिन्ताग्रस्त भई यो प्रसङ्ग राजालाई सुनाइन् । महाराजले पनि छोरीलाई सम्झाउने बुझाउने प्रयत्न गरे र भने म देश-देशांतरमा दूत पठाएर सुयोग्य,रूपवान् एवं अतिगुणी राजकुमार खोजी गर्छु र त्यसैसँग तिम्रो विवाह गरिदिन्छु ।

तिमीले त्यस्ता अपाङ्गसँग विवाह गर्ने कल्पनासमेत गर्नुहुँदैन । तथापि राजकुमारीले मानिन र पितालाई म प्राण नै त्यगिदिन्छु तर अन्य व्यक्तिसित विवाहबन्धनमा बाँधिन्न, मैले त्यसै अशक्तलाई मन अर्पण गरी पतिका रूपम वरण गरिसकें भनी । छोरीका यस्ता कुरा सुनेर राजाले क्रोधपूर्वक भने – ल ठिकै छ, यदि तेरा भाग्यमा यही लेखेको भए तँलाई जसोजसो मन लाग्छ त्यसै गर् । राजाले तेलीलाई बोलाएर तेरा घरमा जुन अपाङ्ग गोठालो छ, त्यसलाई म कन्यादान गर्न चाहन्छु भने । तेलीले पनि यस्तो त हुनै सक्दैन भन्यो । राजाले भाग्यमा जे लेखिएको हुन्छ त्यो मेटिदैन भन्दै आफ्ना घर गएर विवाहको तैयारी गर्ने आदेश दिए । राजाले पनि सम्पूर्ण तैयारी गरी पूर्ण साजसज्जाका साथ चौकाचँदुवा गरी राजकुमारीको विवाह विधिविधानपूर्वक त्यसै अपाङ्गसँग गरिदिए । विवाहको रात विक्रमादित्य र राजकुमारी महलमा सुतेका बेला मध्यरात्रीमा शनिदेवले राजाको स्वप्नमा आई दर्शन दिई हे राजन्! मलाई सानो तुल्याएर हजुरले कति दुःख र कष्ट ब्यहोर्नु पर्यो भनेर सोधे ।

राजाले भूल स्वीकार गरी शनिदेवसित क्षमायाचना गरे । शनिदेवले पनि राजालाई क्षमा गरिदिए र प्रसन्न भएर विक्रमादित्यका हातखुट्टा जस्ताको त्यस्तै बनाइदिए । त्यसपछि राजा विक्रमादित्यले शनिदेवसित हजुरले मेरो प्रार्थना स्वीकार गरी मलाई दिए जत्ति दुःख अन्य कसैलाई पनि प्रदान नगर्नुहोला भनेर प्रार्थना गरे । शनिदेवले राजाको अनुरोधलाई स्वीकार गरे । अनि राजालाई भने जुन मनुष्यले यो तिम्रो र मेरो कथा भन्नेछ वा श्रवण गर्नेछ, त्यसले मेरो विशेष दशा अर्थात् त्रिभागी, विंशोत्तरी, योगिनी, अढैया वा साढेसाती दशामा समेत म त्यसलाई कहिल्यै पनि दुःख दिन्न । जसले नित्य मेरो ध्यान गर्दछ वा कमिलालाई पिठोको चारा प्रदान गर्दछ, त्यसका समस्त मनोरथ पूर्ण हुनेछन् । यत्ति भनेर शनिदेव आफ्ना लोकमा गए ।

यता राजकुमारी मनभावनीको निद्रा खुल्दा आफ्नो अशक्त र कुँजो पतिलाई सबलाङ्ग अवस्थामा देख्दा ऊ छक्क परी । ऊ छक्क परेको देखेर राजा विक्रमादित्यले आफ्नो सम्पूर्ण जीवनवृत्तान्त सुनाए साथै राति सपनामा शनिदेवले दर्शन दिई सबै कष्टहरण गरेको प्रसङ्गसमेत बताए । यी घटना सुनेर राजकुमारी अतीव प्रसन्न भई । प्रातःकालमा सखीहरूले राजकुमारीसित बितेको रातको हालचाल सोद्धा उसले आफ्ना पतिका बारेमा भर्खरै थाहा पएका समस्त वृत्तान्त भनी । सबै प्रसन्न भए र ईश्वरलाई साधुवाद प्रकट गरे । एककान दुईकान हुँदै उता चोरीको आरोप लगाउने सेठले पनि यो घटना सुन्यो र ऊ राजा विक्रमादित्य नजिकै आई उसको खुट्टा समाती क्षमायाचना गर्न थाल्यो ।

राजाले ममाथि शनिदेवको प्रकोप थियो, त्यसैले मैले यत्तिका कष्ट र दुःख खेप्नु परेको हो, यसमा तपाईंको कुनै दोष छैन भन्दै साहुलाई क्षमा गरे । त्यसपछि सेठले महाराज! सरकारले मेरा घरमा गई प्रीतिपूर्वक भोजन गर्नुभए मात्र म सन्तुष्ट हुनेछु भनी पुनः राजालाई बिन्ती गर्यो । राजाले साहुको अनुरोधलाई स्वीकार गरे । सेठले राजालाई घर लगेर अनेक प्रकारका सुन्दर व्यञ्जनका साथमा राजा विक्रमादित्यको प्रीतिभोजको आयोजन गर्यो । राजाले भोजन गरेका बेला पुनः त्यो पहिलेकै आश्चर्यजनक घटना दोहोरियो । हार झुण्ड्याएको त्यो पहिलेको काँटीले आफूले निलेको हार ओकल्दै गरेको दृश्य त्यहाँ उपस्थित सबैले देखे । भोजनादिको कर्म समाप्त भएपछि सेठले हात जोड्दै राजालाई शाकम्बरी नामक आफ्नी छोरी कन्यादान गर्यो । केही समयसम्म त्यसै सहरमा निवास गरेर राजकुमारी मनोभावनी र सेठकन्या शाकम्बरीका साथै दाइजोमा प्राप्त धनधान्यादि तथा दास, दासी, रथ, घोडा, हत्ती, पालकी, तामदान आदिका साथमा राजा विक्रमादित्य आफ्ना ससुराहरू राजा र ब्यापारी दुबैसँग विदावारी भई उज्जैनतर्फ लागे ।

आफ्ना सहर उज्जैनका छेउमा पुग्दा राजालाई पुरवासीहरूले भव्य स्वागतसत्कार गरे । प्रसन्नतापूर्वक राजा आफ्ना महलमा प्रवेश गरे । सम्पूर्ण देशमा भव्य उत्सव मनाइयो र ग्रहदेवता शनिको प्रसन्नताका निम्ति दीपमाला गरियो । भोलिपल्ट राजाले आफ्नो सम्पूर्ण राज्यमा शनिदेव समस्त ग्रहहरूमध्ये सर्वोपरि हुनुहुन्छ, मैले शनिश्चरलाई सानो भनेकाले यत्तिका धेरै दुःख र कष्ट भोग्नु पर्यो र पुनः उनैका कृपा र आशीर्वादले मेरा सुदिन प्राप्त भए भनी उर्दी जारी गरे । यसरी त्यस राज्यमा शनिदेवको पूजा, आराधना, व्रतोपवास र कथाश्रवण हुन थाल्यो । राजा र प्रजा दुबै थरिले अनेक प्रकारका सुखभोग गर्नथाले । जो कसैले शनिदेवको यो कथालाई पढ्छ वा सुन्छ, शनिदेवको कृपाले त्यसका समस्त दुःख नष्ट हुन्छन् । शनिबारको व्रत लिनेले व्रतका दिन शनिदेवको यो कथाप्रसङ्ग अवश्य पाठ अथवा श्रवण गर्नुपर्दछ ।

यो पनि पढ्नुहोस् 

यस्तो छ शुक्रबार व्रतकथा

Tags: व्रत

About Author

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Comments

Only registered users can comment.