कौडीमै पनि मिल्कन्छ भिल्लका देशमा मणि 

कौडीमै पनि मिल्कन्छ भिल्लका देशमा मणि भने जस्तै नेपालको युरेनियम भएको छ ।  नेपाल जलस्रोतमा दोस्रो धनी देश होस् नहोस तर लोडसेडिङमा पहिलो धनी देश भने पक्का हो । जलस्रोतको धनी देश नेपालमा १८ घण्टा लोडसेडिंग हुन्थ्र्याे बिगतमा । तर खोलामा पानी बगी राखेको छ । नेपाल जलस्रोतको समुचित उपयोगले मात्र पनि मुलुक धनी बन्नसक्छ । प्राकृतिक स्रोतमा नेपाल निकै‘धनी देश भनेर भनिन्छ । महाभारतको चुरे पर्वतमा युरेनियमको खानी, काठमाडौँमा ग्याँसको भण्डार, रोल्पामा सुन पत्ता लाग्यो जस्ता खबर पटक–पटक आइरहन्छन् । तर, नेपालमा के–कति खनिज छ–छैन भनेर वा संभावित खानी, खनिज, इन्धनबारे अनुसन्धान गर्नका लागि नेपाल सरकारले खानी विभागलाई तलब बाहेक वर्षको थोरै बजेट दिन्छ । त्यो रकमले निश्चित क्षेत्रमा ७–८ सय किलोमिटरको नक्शाङ्कन गर्न पनि पर्याप्त हुँदैन ।

प्राकृतिक स्रोतको उत्खनन, विकास र उपयोग गरेर नेपाली नागरिकको जीवनस्तर उकास्न सकिन्छ कि सकिँदैन भन्ने अहिलेसम्म अज्ञात् छ । वास्तवमा अहिलेसम्म नेपालभरिमा खनिज पदार्थहरु के–के छन् र कति परिमाणमा छन् भन्ने विषयमा पूर्ण रुपले अध्ययन–अनुसन्धानै भएको छैन । नेपालमा के छैन ? उत्तर आउँछ सबथोक छ तर उपयोग हुन सकेको छैन । तेल, ग्यासको खानी, बहूमूल्य पत्थरको भण्डार, जलस्रोत, वनजंगल, जडिबुटी, कृषियोग्य भूमि सब छ तर नेपाल गरीब छ ।
नेपालको पूर्व रामेछापको ठोसेमा फलाम खानी छ । करिब २ सय वर्ष अगाडिदेखि त्यहाँको फलाम प्रयोग गरिँदै आयो ।खासगरी राणा शासनकालमा घरेलु हतियार बनाउन ठोसेको फलाम प्रयोग गरियो । जब नेपालको बजार आधुनिक भयो, यहीँको ठोसेमा उत्पादन गरिएकोभन्दा बाहिर (विदेश) को फलाम सस्तो पर्ने भन्दै त्यहाँको फलाम खानी पूर्णतः बन्द गरियो ।

नेपालका खानीहरुबाट माइनिङ गरेर खनिज पदार्थ निकाल्दा र उद्योग खोल्दा जति पैसा लगानी हुन्छ, त्योभन्दा बाहिरबाट ल्याउँदा सस्तो पर्छ भन्दै हाम्रा उद्योगमन्त्रीहरुले त्यसलाई बन्द गरिदिए । नेपालको फलाम भण्डार सानो छ, त्यसकारण उत्पादन लागत बढी हुन्छ भन्दै विदेशी फलाम नेपालमा ल्याएर हाम्रा नेताहरुले बेचे । तर, यथार्थ के हो भने अहिलेको परिस्थितिमा विदेशबाट ल्याएको फलामभन्दा यहीँ कम लागतमा उत्पादन गरी सस्तोमा प्राप्त गर्न सकिन्छ । नेपाल सरकारले त्यसमा लगानी गर्न किन सकिरहेको छैन।हाम्रा नेताहरु किन राणाहरुभन्दा पनि बढी स्वार्थी भए ।

नेपालको खानी विभागले हालसालै ठोसेमा एउटा कम्पनीले काम गरिरहेको र एक वर्षभित्र उत्पादन गर्ने प्रक्रियामा रहेको बताएको छ तर, त्यसको प्रगतिबारे आम नेपाली नागरिक अनभिज्ञ छन् । ठोसेकै फलामलाई प्रशोधन गर्न सक्ने हो र नेपालमा खुलिरहेका आइरन र स्टिल कारखानाहरुसँग समन्वय गरी उनीहरुलाई आपूर्ति गर्ने हो भने नेपालको फलाम अहिले बजारमा पाइने भारतीय फलामभन्दा सस्तो हुन्छ । विदेशीले अनुदानमा दिएको चामल खाएर नेपालीले पेट भरिरहेका छन् । भएका सम्पदाको सदुपयोग हुन नसक्दा नेपाल गरीबको गरीब नै रहनुपरेको छ । नेपालसंगै प्रजातान्त्रिक अभियानमा लागेका नेपालले विगतमा सहयोग गर्ने गरेका मुलुकहरू आज विश्वका सम्पन्न राष्ट्र बन्न सफल भए तर नेपालले भएको सम्पदाको समेत उपयोग गर्न नसकी खुम्चिनुपरेको छ ।

जलस्रोतको धनी मुलुक नेपालमा बर्तमानमा इन्धनका लागि जलविद्युत नै पर्याप्त हुने भए पनि युरोनियम उत्खनन् गर्न सके यसबाट खर्बौं डलर आर्जन गर्न सकिन्छ ।हुन त नेपाल आफैँमा युरेनियम प्रशोधन गरी आणविक ऊर्जा केन्द्र स्थापना गर्ने हैसियत छैन। त्यसका लागि ठूलो परमिाणमा बजेट आवश्यक पर्छ, जुन राज्यले धान्न सक्दैन,त्यसमाथि अहिलेसम्म पनि नेपाल अन्वेषणको तहमै सीमित छभनी निराश भई चुप लागेरबस्ने हो भने अझ सयौ बर्ष पर्खनुपर्छ । पहिलो त हामीसँग यत्ति नै मात्रामा युरेनियम छ भन्ने जानकारी छैन, त्यो भए पनि आफ्नै पहलमा खानी उत्खनन गर्न हामी सक्दैनौँ।

नदी र खोलानालाको पानी त्यत्तिकै खेर गइरहेको अवस्थामा हाम्रो प्राथमिकता न्युक्लियर प्लान्टतिर पनि लगाउन आवश्यक छ । नेपाल आफैँले युरेनियमको उत्खनन गर्न पनि नसक्ने र यहाँको गोप्य जानकारी बिदेसिने क्रम पनि नरोक्ने हो भने मुलुक कुनै पनि बेला अन्तर्राष्ट्रिय शक्तिहरूको खेल मैदान बन्न सक्छ । युरेनियमबारे सरकारले ठोस नीति नलिएमा मुलुकको सार्वभौमसत्तामाथि खतरा हुने सम्भावना पनि उत्तिकै रहन्छ।नेपालले जलबिद्युत उत्पादन थालेको एक शताब्दी पूरा गरेको छ । नेपालले सन् १९११ मा पाँच सय किलोवाट फर्पिङ आयोजनाबाट जलबिद्युत उत्पादन शुरु गरेको थियो भने छिमेकी मुलुक चीनले सन् १९१२ मा पाँच सय किलोवाट क्षमताको शिलोङ्ग युनान आयोजनाबाट जलबिद्युत उत्पादन थालेको थियो । चीन अहिले संसारकै सबै भन्दा ठूलो १८ हजार दुई सय मेगावाट क्षमताको थ्रि गर्जेज जलबिद्युत परियोजना आफ्नै लगानीमा निर्माण गर्नसक्ने भै सकेको छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

%d bloggers like this: