कौडीको भाउमा क्यान्सरको औषधि

केमोथेरापी विभिन्न माध्यमबाट गरिन्छ । जसरी गरिए पनि त्यसमा प्रयोग गरिने मुख्य रसायन ‘ट्याक्सोल’ हो । ‘ट्याक्सोल’ रसायन पहिलोपटक अमेरिकास्थित नेसनल क्यान्सर इन्स्टिच्युटका शोधकर्ताले सन् १९६५ ताका अमेरिकामै पाइने ‘ट्याक्सस् बे्रभिफोलिया’ भनिने एक प्रजातिको सल्लोमा पाएका थिए । ‘ट्याक्सस्’ जिनस्मा पाइएकै कारण उक्त रसायनको नाम ‘ट्याक्सोल’ राखिएको हो ।

पछि उक्त रसायन ‘ट्याक्सस् बे्रभिफोलिया’को अन्य सहगोत्री सल्लोमा पनि पाइयो । ‘ट्याक्सोल’बाट बनाइएका औषधि समयमै प्रयोग गरे पाठेघर, स्तन, फोक्सो आदिका क्यान्सर नियन्त्रण हुन सक्ने बताइन्छ ।’ट्याक्सोल’को प्रयोगले कोष विभाजन प्रक्रियाप्रक्रिया अवरुद्ध गर्छ । नेपालमा ‘ट्याक्सोल’ पाइने सल्लोलाई लौठसल्लो भन्ने गरिएको छ । नेपालमा लौठसल्लोबारे धेरै भ्रम छन् । बारम्बार नेपालमा पाइने लौठसल्लो फलानो प्रजाति हो, तिलानो होइन भनेर विवरण आइरहनु निश्चय नै राम्रो होइन ।

त्रिभुवन विश्वविद्यालयमा वनस्पति पहिचान गर्ने प्राध्यापक डाक्टरहरूको लर्को लामै छ । तिनले लौठसल्लो जस्तो बहुमूल्य वनस्पति सही रूपमा पहिचान गरेको हुनुपर्ने हो । तर अन्योल सिर्जना गर्ने काममात्र भएको छ । अर्कोतिर, नेपाल सरकारको वनस्पति विभागले वनस्पति पहिचानसम्बन्धी अध्ययन अनुसन्धान विगत पाँच दशकभन्दा अघिदेखि गर्दै आएको छ । क्यान्सरजस्तो भयाभव रोग निदान गर्ने सल्लोबारे यथार्थ जानकारी वनस्पति विभागले जानकारी गराउनुपर्ने हो । तर अझै नेपालको वन जंगलमा क-कहाँ लौठसल्लो पाइन्छ, तिनलाई विश्वले चिन्ने असली नाम के हो भन्ने अन्योल छ ।

व्यापारी वर्गलाई नेपालमा प्रचुर मात्रामा लौठसल्लो पाइन्छ भन्ने जानकारी छ । ‘डाबर एन्ड डाबर कम्पनी’ले दशकौं अघिदेखि लौठसल्लोको पात तथा मुन्टा स्थानीय बासिन्दाबाट खरिद गर्ने गरेको छ । ‘माछापुच्छ्रे हर्बल प्राइभेट लिमिटेड’ पनि त्यसकार्यमा संलग्न छ । यता नेपाल सरकारले लौठसल्लोबारे यथार्थ जानकारी नै नलिई केमोथेरापीमा प्रयोग गरिने कच्चा पदार्थ सस्तो मूल्यमा व्यापारी वर्गलाई निर्यात गर्न दिएको बुझिन्छ ।

आम नेपाली भने त्यसैबाट बनाइएको औषधि अत्यन्तै महँगो मूल्यकै कारण क्यान्सर उपचारबाट वञ्चित छन् । यत्तिको महत्त्व बोकेको लौठसल्लो कौडीको भाउमा बिक्री भइरहेको छ । केमोथेरापीको निम्ति औषधि बनाइने लौठसल्लो नेपालमा तीन वा त्यसभन्दा बढी प्रजाति पाइए पनि आम नेपालीका निम्ति ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात’ जस्तै भएको छ ।

 साभार : अन्नपूर्ण पोस्ट, शनिवार, भदौ ४, २०७३ प्रकाशित

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

%d bloggers like this: