प्राकृतिक प्रकोप समस्या र न्यूनीकरण

Rajeshman KC
राजेशमान के.सी

प्राकृतिक प्रकोप समस्या र न्यूनीकरण । सामान्य अर्थमा भन्ने हो भने पृथ्वीमा अवस्थित घाम, पानी, माटो, वायु, आकाशजस्ता पञ्च तत्त्वहरूको अन्योन्याश्रति अर्न्तर्सम्बन्धबाट सृजित जीवानुकूल परिस्थिति नै प्रकृति हो । प्रकृति शान्त हुन्छ र यो आफनो नियमित गतिमा चलिरहेको हुन्छ । प्रकृतिको यस नियमित प्रक्रियाका कारण नै हाम्रो पृथ्वी जीव अनुकूलको ग्रह बन्न पुगेको छ र हामी जीवित प्राणीको रूपमा रहन सकेका छौं । तर कहिलेकाहीं प्रकृतिमा विचलन आइदिनाले र कतिपय अवस्थामा मानवीय लापरवाहीका कारण प्रकृतिले आफनो उग्र रूप देखाउन पुग्छ । प्रकृतिले देखाउने आफनो यही उग्र रूपलाई नै प्राकृतिक प्रकोप भन्ने गरिन्छ । प्रकृतिको यस्तो उग्र रूपको प्रत्यक्ष उदाहरण बाढी, पहिरो, भूक्षय, हुरी, भूकम्प, समुद्री आंधी, अतिवृष्टि, अनावृष्टि, अल्पवृष्टि आदिलाई लिन सकिन्छ ।

अहिले विश्वमा जनसङ्ख्याको तीव्र वृद्धिका कारण प्राकृतिक स्रोत साधनले थेग्नै नसक्ने गरी तिनको शोषण भइरहेको छ । जनसङ्ख्याको तीव्र वृद्धिकै कारण अव्यवस्थित र द्रुत गतिमा भइरहेको शहरीकरण अनि उद्योगहरूद्वारा प्राकृतिक स्रोतहरूको अन्धाधुन्ध प्रयोगले गर्दा मानव स्वास्थ्य, वन, बालीनाली र पानीको स्रोतमा समेत क्रमिक र्‍हास आउन थालेको छ । यसरी मानवीय अज्ञानता वा भनौं लापरवाहीपूर्ण गतिविधिहरूले गर्दा विश्वमैं अहिले प्राकृतिक प्रकोपको जोखिम दिन-प्रतिदिन बढ्दै गइरहेको छ । मानिसहरूले रूख-बिरुवा जथाभावी काट्ने, प्राकृतिक सम्पदालाई आफनो स्वार्थ अनुकूल प्रयोग गर्ने र समग्र पर्यावरणीय सन्तुलनप्रति हेलचेक्रयाइं गर्ने प्रवृत्तिले गर्दा विश्वमा अहिले विभिन्न प्राकृतिक प्रकोपहरूको समस्या उब्जिन पुगेको ठहर वातावरणविद्हरूको रहेको छ ।

यसरी विश्वमा अहिले बढ्दो वातावरणीय विनाश र जलवायु परिवर्तनसंगसंगै प्राकृतिक प्रकोप पनि प्रमुख र जल्दोबल्दो समस्याको रूपमा देखा परिरहेको छ । प्राकृतिक प्रकोपकै कुरा गर्दा केही महिना अघिमात्र पाकिस्तान र इन्डोनेशियामा गएको भूकम्पले ठूलो अनुपातमा जनधनको क्षति पुर्‍याएको घटना हाम्रो सम्झनाबाट अझै पनि हराइसकेको छैन । त्यसो त हाम्रा दर्ुइ छिमेकी मुलुकहरू भारत र चीनमा पनि बाढी, पहिरो र भूक्षयजस्ता प्राकृतिक प्रकोपका समस्याहरूले बेलाबखत ठूलो जनधनको क्षति पुर्‍याउने गरेको उदाहरण छ । स्मरण रहोस् चीन सरकारले आफनो मुलुकमा यसरी बेलाबखत बाढी-पहिरो आउनुको कारण के होला, अर्थात् यसको वैज्ञानिक कारण के हुन सक्ला भनी यथार्थ पत्ता लगाउन विभिन्न विज्ञहरू सम्मिलित एक अनुसन्धान टोली गठन गरेको थियो । विज्ञहरूको उक्त टोलीले गरेको अनुसन्धानबाट के कुरा पत्ता लागेको थियो भने प्राकृतिक स्रोत साधनहरूको अनियन्त्रित दोहनले गर्दा नै चीनमा यसरी बाढी पहिरोको समस्या उत्पन्न हुन पुगेको रहेछ । त्यसपछि चीन सरकारले यस्ता अनियन्त्रितरूपमा हुने गरेका प्राकृतिक साधनहरूको दोहनलाई नियन्त्रण गर्न नयां नीति र कानुन निर्माण गरी प्राकृतिक सम्पदाको संरक्षण गर्न थाल्यो ।

अहिले त्यहां यस्ता प्राकृतिक प्रकोपहरू न्यूनीकरण हुंदै गएको जानकारीमा आएको छ । त्यस्तै भारतको गढवालस्थित दून उपत्यकाको उत्तरी भागमा चुनढु·ा खानी खोतल्ने कार्यमा वृद्धि, प्रदूषणयुक्त उद्योग कलकारखानाहरूको वृद्धि एवं अव्यवस्थित बाटोघाटो निर्माणले गर्दा त्यहां भूक्षय, बाढी, पहिरोजस्ता प्राकृतिक प्रकोपका जटिल समस्याहरू देखा परेका थिए । तर पछि त्यहींका स्थानीय बासिन्दाहरूको उत्साह र समझदारीपूर्ण कार्यबाट आन्दोलन सुरु भएपछि त्यहां अहिले वनज·ल सुरक्षाको साथसाथै प्राकृतिक प्रकोपमा समेत न्यूनीकरण आउन थालेको बताइएको छ । यसरी स्थानीय बासिन्दाको आपसी समझदारी र उत्साहबाट वनविनाश एवं वातावरणीय प्रदूषणलाई नियन्त्रण गरेर पनि प्राकृतिक प्रकोपको समस्यालाई न्यूनीकरण गर्न सकिन्छ भन्ने उदाहरण छिमेकी भारतको दून उपत्यकावासीले प्रस्तुत गरेका छन् । यसबाट के पनि स्पष्ट हुन्छ भने मानवीय अज्ञानता अथवा मानवीय लापरवाहीका कारण उत्पन्न वातावरणीय समस्याहरूले गर्दा पनि विभिन्न प्राकृतिक प्रकोपको समस्या उत्पन्न हुने गर्दो रहेछ ।

नेपाल पनि प्राकृतिक प्रकोपबाट प्रभावित मुलुक हो । मानिसहरूले जथाभावी वनविनाश गरिदिनाले वातावरणीय प्रदूषण बढ्न गई यहां बाढी, पहिरो, भू-क्षय आदि जस्ता प्राकृतिक प्रकोपको समस्या देखा पर्ने गरेका छन् । त्यस माथि अव्यवस्थित बस्ती विकासका कारण भएका वन क्षेत्रहरू पनि क्रमिक रूपमा अतिक्रमित बन्दै गइरहेका छन् । आफनो आवश्यकता पूर्ति गर्ने नाममा केही व्यक्तिहरूले जथाभावी किसिमबाट वन फडानी गरिदिनाले वनको माटो खुकुलो हुनुका साथ बेस्सरी पानी परेको बेला पानीले माटो बगाएर लैजांदा बाढी-पहिरो आउने ठूलो सम्भावना रहन्छ । नेपालमा बरसेनि वर्षायाममा बाढी-पहिरो जाने एउटा प्रमुख कारण यसलाई पनि मानिएको छ । त्यस्तै काठमाडौं उपत्यकाका विभिन्न नदीनालाहरूबाट जथाभावी बालुवा निकाल्ने र सुक्खायाममा खानेपानी आपूर्तिको लागि अनियन्त्रित तवरमा भूमिगत पानी निकाल्ने प्रवृत्तिले गर्दा काठमाडौं उपत्यका नै भासिने खतरा रहेको भूगर्वविद्हरूले बताइरहेका छन् ।

प्राकृतिक प्रकोपकै कुरा गर्दा केही महिनाअघि मात्र नेपालको मध्य तथा सुदूरपश्चिम क्षेत्र अर्न्तर्गत विभिन्न जिल्लाहरूमा भएको बेमौसमी वर्षाका कारण उत्पन्न बाढी-पहिरो र डुबानबाट ठूलो जनधनको क्षति हुन पुगेको घटना हामीमध्ये धेरैको सम्झानामा अझै पनि ताजै छ । त्यस क्षेत्रमा केही दिनसम्म लगातार परेको बेमौसमी वर्षाबाट ठूलो अनुपातमा भौतिक सम्पत्ति नष्ट हुनुको साथै झन्डै ३ दर्जन मानिसको ज्यान गएको थियो । उसै पनि विश्वव्यापी उष्णीकरण र जलवायु परिवर्तनको असरबाट कृषि उत्पादन प्रत्यक्ष प्रभावित हुन पुगेको मुलुकमा यस किसिमबाट बेलाबखत उत्पन्न हुने प्राकृतिक प्रकोपका कारण हाम्रो कृषि तथा खाद्यान्न बाली थप चौपट हुन पुगेको छ । प्राकृतिक प्रकोपकै कुरा गर्दा भूकम्पको प्रस· पनि जोडिएर आउने गर्दछ । त्यसो त भूकम्पलाई विभिन्न प्राकृतिक प्रकोपहरूमध्येकैे सबैभन्दा भीषण प्रकोप पनि मानिएको छ । भीषण कुन अर्थमा भने यसले ठूल्ठूला भवन र भौतिक संरचनाहरू मात्र नभएर समस्त मानव बस्तीलाई नै क्षण भरमा ध्वस्त पारिदिन सक्छ । नेपाल भूकम्पीय जोखिम क्षेत्रभित्र पर्ने मुलुक हो ।

लेखक नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) मा प्रवर्द्धन अधिकृतमा रुपमा काम गरेका थिए ।

साभार : राजेशमान के.सी., प्रतीक दैनिक पत्रिका  

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

%d bloggers like this: