नोबेल पुरस्कार कस-कसले र किन गरे अस्वीकार ?

नोबेल पुरस्कार कस-कसले र किन गरे अस्वीकार ? नोवेल पुरस्कार विश्वकै सबभन्दा ठूलो र प्रतिष्ठित प्रतियोगिता हो । यो पुरस्कार पाउनु कुनै व्यक्तिको लागि ठूलो सम्मानको कुरा हुन्छ । तर्सथ नोबेल पुरस्कार भन्ने बित्तिकै सबैको ध्यान तानिन्छ । प्रत्येक वर्षो अक्टोबरमा घोषणा हुने गरेको नोबेल पुरस्कारको स्थापना अल्फ्रेड नोबेल वसियत अनुरुप गरिएको हो । नोबेल बारुद र अन्य शक्तिशाली विस्फोटनहरूका आविष्कारकका साथै ठूलो औद्योगिक साम्राज्यको स्वामी हुनुहुन्थ्यो । रसायनशास्त्रमा रुची राख्ने अल्फ्रेडले नाईट्रोग्लीसरिन नामको विस्फोटक पदार्थको उत्पादन गर्नुभयो । करिव २० राष्ट्रहरूमा एक सयको हाराहारीमा विस्फोटक पदार्थ बनाउने उद्योग खोलेर अपार सम्पत्ति कमाउनु भयो । उहाँका ती आविष्कारले मानवकहितभन्दा विनाश बढी गर्‍यो ।

अल्फ्रेड नोबेलको जन्म सन् १८३३ अक्टुवर २१ तारिखका दिन स्वीडेनको राजधानी स्टकहोममा भएको थियो । जीवनभर अविवाहित नै बसेर १० डिसेम्बर १८९६मा ६३ वर्षो उमेरमा मृत्यु भएपछि अल्फ्रेडकै इच्छा बमोजिम उहाँको अपार सम्पत्ति कोषमा जम्मा गरी मानवहितमा कार्य गर्ने व्यक्ति/संस्थालाई पुरस्कार दिने उद्देश्यले नोबेल पुरस्कारको स्थापना गरियो र सन् १९०१, १० डिसेम्बरका दिन प्रतिवर्ष पुरस्कार प्रदान गर्न थलिएको हो । शुरुमा पाँच विधा- भौतिक, रसायन, चिकित्सा, साहित्य र शान्तिमा मात्र पुरस्कार दिने गरेकोमा सन् १९६९मा मात्र अर्थशास्त्रमा पुरस्कारलाई थप गरी छ विषयमा नोबेल पुरस्कारलाई निरन्तरता दिन थालियो ।

स्विडेनको स्टकहोमबाट गरिने यो घोषणा सबैको चासोको विषय बन्छ । घोषणा पश्चात् पुरस्कार विजेताका बारेमा संसारभरि नै चर्चाको विषय हुन थाल्छ भने बहस पनि तीब्र रुपमा बढ्दै जान्छ । नोबेल पुरस्कार जति चर्चामा रहेको हुन्छ, विवादमा पनि उत्तिकै रहेको पाइन्छ । नोबेलको पुरस्कारको चयन गर्दा राष्ट्र राष्ट्रियता, भाषा, समुदाय, वर्ण, औपचारिकता आदिमा ध्यान नदिई आदर्श र उच्चतम कृतिलाई दिइनुपर्ने धारणका हुनुहुन्थ्यो । उहाँको वसियतपत्रमा लेखिएको थियो- ‘मेरो इच्छा के हो भने यो पुरस्कार दिइँदा उम्मेदवारको राष्ट्रियतामा ध्यान नदिइयोस् । पुरस्कार त्यसलाई दिइनु पर्दछ जो यस पुरस्कारको सच्चा अधिकारी हो । त्यो व्यक्ति स्क्याडिनेविया नोबेलको जन्मथलो निवासी नै हुनुपर्दछ भन्ने छैन ।’

अविवादित रहने पुरस्कार

विडम्बना, पुरस्कारलाई लिएर प्रारम्भदेखि नै केही न केही विवाद पाइन्छ पाइन्छ । सन् १९०१मा फ्रान्सका कवि सुली प्रुधोम्म (Sully Prudhomme)लाई दिइँदा महान साहित्यकार लियो टाल्सटायलाई दिनुपर्नेमा अर्कैलाई पर्‍यो भनेर विवाद उत्पन्न भयो । टाल्सटायका रचनाले समाजमा अराजकता ल्याउने भएकोले नदिइएको भनेर विवाद र आरोपलाई खण्डन गरे चयनकर्ताहरूले । सन् १९०२मा पनि यही कुरा दोहोरियो । जर्मनीका इतिहासकार थियोडोर मोमसन (Theodor Mommson)लाई साहित्यतर्फको नोबेल पुरस्कार दिएर विवादलाई अँझ मजवुत पारियो । नोबेल पुरस्कारको इतिहासमा यस्ता विवाद क्रमशः सन् १९०८मा रुडोल्फ इयोकेनलाई, सन् १९२७मा हेनरी बर्गसन, सन् १९५०मा बर्टेन्ड रसेल र सन् १९५३मा विन्स्टन चर्चिललाई साहित्यतर्फको नोबेल पुरस्कार दिइएको थियो, जो अर्कै क्षेत्रका व्यक्तिहरू थिए ।

पुरस्कार नै लिएनन्

नोबेल पुरस्कारको इतिहासमा दुई व्यक्ति यस्ता छन्, जसले पुरस्कारलाई ठाडै अस्वीकार गरे । नोबेल पुरस्कार अस्वीकार गर्ने प्रथम व्यक्ति हुनुहुन्छ फ्रान्सका ज्या पाल सार्त्र । सन् १९६४ अक्टोबर २२मा सार्त्रलाई साहित्यतर्फो नोबेल पुरस्कार दिने घोषणा गरिएको थियो । पुरस्कारको घोषणाअघि १४ अक्टोबरमा नै र्सार्त्रले नोबेल फाउन्डेसनलाई पत्र लेख्दै पुरस्कार प्रदान गरिएमा त्यसलाई स्वीकार नगर्ने उल्लेख गर्दै नामाङ्कितहरूको सूचीबाट आफ्नो नाउँ हटाउन आग्रह गरेका थिए तर उहाँको पत्रको सुनुवाइ भएन । पुरस्कार ग्रहण नगर्नाको कारणबारे उहाँले एउटा पत्रमा उल्लेख गर्नुभएको थियो- मैले आजसम्म कुनै पनि सरकारी सम्मानलाई स्वीकार गरेको छैन । सोभियत सरकारले मलाई लेनिन पुरस्कार दिए भने पनि स्वीकार गर्दिन । मेरो भनाई छ, कुनै पनि लेखकले कुनै पनि सम्मान, पुरस्कार ग्रहण गर्छ भने उसले आफ्नो व्यक्तिगत स्वतन्त्रता, मान्यतालाई उक्त संस्थासँग सम्बद्ध गर्नुपर्ने हुन्छ । मेरो मान्यता लेखकलाई कुनै संस्थासँग सम्बर्द्ध हुनु हुँदैन ।’

नोबेल पुरस्कार अस्वीकार गर्ने अर्का व्यक्तिमा नोवेल पुरस्कार अस्विकार गर्ने अर्का व्यक्तिमा भियतमानका लि डूक थो हुनुहुन्छ । सन् १९७२ को नोबेल शान्ति पुरस्कार संयुक्त रुपमा अमेरिकाका हेनरी किसिन्जर र भियतनामका लि डूक थोलाई प्रदान गरिएको थियो । सन् १९६० र १९७० को दशकमा भियतनाममा अमेरिका-भियतनाम युद्ध चलिरहेको थियो । सन् १९५४मा फ्रान्सबाट स्वतन्त्र हुँदा उत्तरी भाग साम्यवादी प्रभाव र दक्षिणी भाग प्रजातन्त्रवादी प्रभावमा रहे । ती दुई बीचको संर्घषमा अमेरिकाले दक्षिण भियतनामलाई सहयोग मात्र गरेन, सेना पठाएर आक्रमण समेत गर्‍यो । अमेरिका-भियतनाम युद्ध ‘प्रजातान्त्रिक विश्व’ र ‘साम्यवादी विश्व’ बीचको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको रुपमा व्याख्या गरिन्छ । सन् १९५९ नोभेम्बर १ मा शुरु भएको भियतनाम युद्ध सन् १९७५ अप्रिल ३०मा दक्षिण भियतनामको राजधानीमाथि कम्युनिष्टहरूको कब्जा भएपछि अन्त्य भएको थियो । नोबेल पुरस्कार प्रदान गरिँदा युद्ध जारी थियो । लिले भियतनाममा शान्ति स्थापना भई नसकेको र अमेरिका तथा दक्षिण भियतनामी सरकारले पेरिस शान्ति सम्झौता उल्लंघन गरेको भन्दै पुरस्कार अस्वीकार गर्नुभयो । विश्लेषकहरूका अनुसार, भियतनाम युद्धका लागि जिम्मेवार व्यक्तिसँगै पुरस्कार प्रदान गरिनु नै उहाँले पुरस्कार अस्वीकार गर्नुको मूल कारण थियो ।

बाध्य पारिएका

स्वेच्छाले नोबेल पुरस्कार अस्वीकार गर्नेको सङ्ख्या दुइरहे पनि आ-आफ्नो मुलुकका अधिकारीद्वारा पुरस्कार ग्रहण नगर्न बाध्य पारिएकाको सङ्ख्या चार रहेको छ । यसरी बाध्य पारिएकामा हुनुहुन्छ जर्मनीका रिचार्ड कुन, एडोल्फ फ्रेडरिक, जोहान बुटेनान्द्त र गर्हार्ड डोमाग्क । उहाँहरूलेपछि नोबेल पुरस्कारको डिप्लोमा र पदक त पाउनुभयो तर पुरस्कार राशि भने पाउनु भएन ।

अस्ट्रियन-जर्मन कुनलाई सन् १९३८मा रसायनशास्त्र विषयमा नोबेल पुरस्कार प्रदान गरिएको थियो । उहाँले सन् १९३९मा सो पुरस्कार थाप्नुभयो । यस्तै, अर्का जर्मन नागरिक बुटेनान्द्तलाई सन् १९३९मा ‘सेक्स हर्मन’ को क्षेत्रमा उहाँले गर्नुभएको योगदानका लागि रसायनशास्त्रमा पुरस्कार प्रदान गरिएको थियो तर त्यसबेलाको सरकारी नीतिका कारण उहाँले पनि पुरस्कार अस्वीकार गर्नुभयो । दोस्रो विश्वयुद्धको अन्त्य भएपछि सन् १९४९मा उहाँले पुरस्कार थाप्नुभयो । यस्तै, सन् १९३९ जर्मनीका अर्का नागरिक डोमाग्कलाई पनि चिकित्साशास्त्र क्षेत्रको नोबेल पुरस्कार प्रदान गरिएको थियो तर तत्कालीन नाजी शासकले पुरस्कार अस्वीकार गर्न उहाँलाई बाध्य मात्र पारिएन, नाजी सरकारको गुप्तचरद्वारा एक हप्ता थुनामा पनि राखियो । त्यसबेला जर्मन नागरिकलाई कानूनले नै नोबेल पुरस्कार स्वीकार गर्नमा प्रतिबन्ध लगाएको थियो ।

यस्तै, रुसी भाषाका कवि, उपन्यासकार तथा साहित्यिक अनुवादक बोरिस लियोनिडोभिच पास्तरनाक पनि सरकारी नीतिका कारण पुरस्कार अस्वीकार गर्ने व्यक्तिको सूचीमा पर्नुहुन्छ । पास्तरनाकले पहिले पुरस्कार स्वीकार गर्न सहमति जनाउनुभएको थियो तर पछि उहाँको देश सोभियत संघले पुरस्कार अस्वीकार गर्न उहाँलाई बाध्य पारेको थियो । सन् १९५८ अक्टोबर २३मा पास्तरनाकलाई साहित्यतर्फको पुरस्कारको घोषणा गरिएको थियो । उहाँले ‘डाक्टर जिभागो’ नामक जुन पुस्तकबाट पुरस्कार पाउनुभएको थियो, त्यो रुसबाट नभएर इटालीबाट प्रकाशित भएको थियो ।

उक्त पुस्तकमा रुसी क्रान्तिप्रति निराशा व्यक्त गरिएको थियो । पुरस्कार घोषणाको पर्सिपल्ट स्विडिस एकेडेमीलाई पठाउनुभएको टेलिग्राममा आभार व्यक्त गरिएको थियो । सोही दिन मास्कोस्थित साहित्यिक संस्थाले विद्यार्थीलाई पास्तरनाकको निन्दा गरिएको एउटा याचिकामा हस्ताक्षर गर्न आग्रह गर्‍यो । पास्तरनाकको निष्काशनको मागसमेत गरियो । पुरस्कार थाप्न स्टकहोम गएको खण्डमा फर्कंदा सोभियत संघमा प्रवेश नै गर्न नदिइने सूचनासमेत दिइयो । अन्त्यमा उहाँले नोबेल कमिटीलाई एउटा पत्र लेख्दै पुरस्कार अस्वीकार गर्नुभयो ।

साभार : त्रिचन्द्र ‘प्रतीक्षा’, मझेरी डट कम/युवामन्च मासिक २०७० मंसीरमा प्रकाशित

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

%d bloggers like this: