माछाहरूको संसार कति बिचित्र

Trichandra "Pratiksha"
त्रिचन्द्र ‘प्रतीक्षा’

माछाहरूको संसार कति बिचित्र ! नदी नाला, ताल तलैया र महासागरमा पाइने माछा विभिन्न आकार र प्रकारका साथै रङमा पाइन्छ भने मानिस माछालाई सौखका रूपमा एक्युरियममा समेत पाल्ने गरिन्छ । माछा ज्यादै नुनिलो पानीमा बस्न सक्दैनन्, त्यसैले मृतसागरमा माछा पाइँदैन । केही प्रजातिका माछा न्यानो ठाउँमा बस्न रुचाउँछन् भने केही प्रजातिका माछा चिसो उत्तरीय ध्रुवका समुद्रमा बस्न रुचाउँछन् । माछा २६ हजार फिटभन्दा पनि गहिरो ठाउँमा समेत सजिलै बाँच्न सक्छन् ।

माछाले आफ्नो शरीरको तापक्रम वातावरणसँग सुहाउँदो बनाउन सक्छन्, माछाले फुल्का (Gils) द्वारा सास फेर्छन् । माछा र पृथ्वीबीचको सम्बन्ध ४ अर्ब ५० लाख वर्षभन्दा पुरानो मानिन्छ । वैज्ञानिकहरूले हालसम्म २२ हजार भन्दा बढी प्रजातिका माछा पत्ता लगाइसकेका छन् र हरेक वर्ष नयाँनयाँ प्रजातिका माछा पत्ता लाग्ने क्रम जारी छ । यस्तै संसारमा भएका अनौठो माछाको बारेमा केही जानकारी लिने हैन त ?

१. प्रकाशपुञ्ज बोकेर हिँड्ने माछा

हिन्द महासागरमा पाइने एकप्रकारको एनोमालेप्स क्याटोप्ट्रन नामक माछाको आँखाको तलपट्टि एक प्रकारका प्रकाश लिएर डिँड्छ । समुद्रको अँध्यारो गहिराइमा सो प्रकाशबाट आफ्नो मार्गलाई सजिलै पत्ता लगाउन सक्दछ तर त्यो प्रकाश दिने प्रकाशपुञ्ज पनि कुनै निर्जीव साधन नभई विभिन्न प्राकृतिक कारणवश यसको ठीक आँखामुनि झुण्ड बनाएर बस्ने र माछासँगै टाँसिएर यात्रा गर्ने प्रकाशमान जीवणुको ठूलो समूहमध्ये एक सानो झुण्ड हो ।

२. भूकम्पको पूर्वसूचना दिने माछा

कम बहाववाला नदीका पिँधमा अल्छीरूपमा बसिरहने एक प्रकारका युरोपीय माछा हो- द मिस गर्नस् (the mis garnas) । जब भूकम्प आउनेवाला हुन्छ । यो माछा एकदम तर्सेर सतहतिर भाग्छ । जापानलगायत कतिपय देशमा भूकम्पमापी केन्द्रमा यस जातका माछालाई निरीक्षण सहायकका रूपमा राखिएको हुन्छ ।

३. टर्चलाइट बालेर डिँड्ने माछा

जाइजेन्टेक्टिस (Gigantactis) नामक माछालाई टर्चवाला माछा भनिन्छ । समुद्रको करिव ६ हजार फिटको गहिराइमा विचरण गर्ने उक्त माछाको टाउकोमा लागेको एउटा पातलो छडजस्तो अङ्गको टुप्पोमा तेज प्रकाशन हुन्छ । यसैको मद्दतबाट समुद्रमा पर्ने आफ्नो यात्रालाई प्रकाशमय पार्छ ।

४. आफ्नो अण्डा आफैँ खाने माछा

प्रकृतिमा रहेका सबैजसो प्राणीमा मातृस्नेहको गुण हुन्छ तर यही प्रकृतिमा विचित्रको अनौठो प्राणीको पनि कमी छैन । बौफिन ९द्ययध ँष्ल० नामक माछा अपवादका रूपमा यसको आफ्नो भावी सन्तति आफैं खान्छ भन्दा अचम्म लाग्न सक्छ । पोथीले आफ्नो भावी सन्तति खान्छ र भालेले विभिन्न तरिकाले जोगाउने कार्य गर्छ । यस प्रजातिका पोथी माछाले अण्डा पारेपछि आफैँ खान थाल्छ । त्यसैले पोथीले अण्डा पार्नासाथ वंशनाश हुन नदिन भाले बौफिन तिनको रक्षामा दिनरात खट्छ ।

५. लालटिन माछा

एङ्गलर (Golathiyathauma) नामक माछा लालटिन माछाका नामले चिनिन्छ । महासागरको गहिराइमा बस्ने उक्त माछा जब खानाको खोजी हिँड्छन् तब आफ्नो मुख खोलेर डिँड्दछ । मुख खोलेको अवस्थामा मुखभित्रबाट एक प्रकारको अनौठो प्रकाश निस्कन्छ । यसको प्रकाशको आकर्षणले झुक्किएर बत्तीमा पुतली परेझैं यस माछाको मुखभित्र पस्छन् र नअघाउञ्जेल मुख खुल्ला हुन्छ, अघाएपछि मुख बन्द गर्छन् ।

६. करेन्ट दिएर आहारा खाने माछा

अनौठो माछामध्येको इलेक्टि्रक क्याट फिस नाम गरेको माछाको भोजन र त्यसलाई प्राप्त गर्ने तरिका अद्भूत हुन्छ । भोजन प्राप्त गर्नका लागि यसले आफ्नै शरीरमा उत्पन्न हुने विद्युत् करेन्टको झट्का दिएर साना माछालाई मार्दछ र मरेपछि खाने गर्दछ ।

७. तीनओटा हात भएको र मान्छेजस्तै घुर्ने माछा

समुद्रमा पाइने गरनर्ड नामक माछालाई समात्दा मान्छे जस्तै घुर्र गरी घुर्छ । यस माछाको छातीमा तीनओटा औंलाजस्तै अङ्ग हुन्छन् । यिनै औँलाजस्ता अङ्गका सहायताले यसले समुद्री पीँधबाट आहारा खनेर निकाल्छ र मानिसका हातले जस्तै उक्त तीनओटा हातले मुखसम्म आहारालाई पुर्‍याउँछ ।

८. उत्तानो परेर पौड्ने माछा

दक्षिण अमेरिकामा पाइने बिरालो माछा (Cat fish) सानो छँदा अरु माछासरह सामान्य रूपले पौडेर विचरण गर्दछ भने सोही माछा ठूलो भएपछि उत्तानो परेर पीठको बलले तैरन्छ र आजीवन उल्टो नै भएर जीवन बिताउँछ ।

९. रुखमा चढ्ने माछा

हिन्द महासागर र प्रशान्त महासागरको तटीय क्षेत्रमा पाइने इन्डो-मलायन मडस्किपर नामक माछा आफ्नो वासस्थान रहेको पोखरी, खोलानाला वा नदीको छेउछाउका ढुङ्गामा तथा रुखका हाँगाविँगाहरूमा समेत चढ्ने गर्छ । सानो शरीर (करीब ६ इन्चसम्म लामो) तर लामो पखेटा भएको यो माछा आफ्नो पखेटालाई खुट्टाजस्तै उपयोग गरेर तीब्र गतिमा जमीनमा समेत दौड्न सक्छ भने दुईटै आँखाले भिन्न भिन्न दिशामा एकैचोटी हेर्न पनि सक्छ ।

१०. विद्युतीय साङ्केतिक सम्पर्क गर्ने माछा

मानव समाजमा हामीले विद्युतीय सन्देशको रूपमा ईमेल पठाएर सम्पर्क कायम गर्छौं भने अफ्रिकामा पाइने एलिफेन्ट स्नाउट नामक माछा एकआपसमा एकप्रकारको विद्युत् सन्देश प्रसारण गरेर सम्पर्क गर्दछन् । यो मोर्स सङ्केत पद्धतिको एउटा मत्स्य रूपान्तरणजस्तो लाग्दछ ।

११. जवानीमा अन्धो हुने माछा

मानव जीवनमा उमेर ढल्कदैं जाँदा बूढौलीकालमा कालको ज्योति गुम्दै जान्छ । यस्तै मेस्किकोको सामुदि्रक गुफामा मात्र पाइने केभ चेरासिन नामक माछा जन्मँदा आँखा लिएर जन्मन्छ । बच्चा अवस्थासम्म पनि यसका आँखाले काम गर्दछन् तर यो वयस्क अवस्थामा आइपुग्दा पूर्णरूपमा अन्धो बन्दछ ।

१२. ज्यानै लिने करेन्ट हान्ने माछा

आहारा खोज्न विद्युत् प्रवाह गर्ने माछाको बारेमा त थाहा नै पायौ तर ४०० भोल्टसम्मको करेन्ट फाल्ने माछा पनि यस संसारमा छ भन्दा कसलाई अनौठो लाग्दैन । तारपेडो नामक समुद्री माछाको तौल ३० कि. ग्रा. भन्दा बढी हुन्छ । यसको शरीरमा चार सय भोल्टको करेन्ट फाल्ने क्षमता हुन्छ । अझ केही ठूलो जातका तारपेडो जातको माछाले त ६५० भोल्टसम्मको करेन्ट छाड्न सक्दछ, जुन करेन्टले समुद्रमा हुने अन्य जीवजन्तु मात्र हैन, मानिसलाई समेत एकै झट्कामा मार्न सक्छ । त्यसैले यसलाई इलेक्टि्रक रे (Electric Ray) पनि भनिन्छ ।

१३. बुद्धिमानी माछा

संसारमा बुद्धिमानी मानिने मानव जातिपछिको दोस्रो बुद्धिमानी जीव डल्फिन माछालाई मानिन्छ । डल्फिनलाई पानीभित्र सिकाएका हरेक गतिविधि एकैपल्ट सिक्न सक्छ । डल्फिनलाई ‘सङ्गीत प्रेमी माछा’ भनेर पनि भनिन्छ ।

१४. एक घण्टामा १० पाउन्ड बढ्ने माछा

नीलो हृवेल (Blue whale) नामक हृवेल माछाको शिशुअवस्थामा १० पाउन्ड प्रतिघण्टाका दरले तौल बढ्दछ । यसरी सुरू अवस्थामा यसको तौल प्रतिदिन २४० पाउन्ड जति बढ्दछ ।

१५. आमाको भूमिकामा भाले माछा

न्यु गायनामा पाइने कुर्टस गुलिमरी नामक जातको भाले माछाको गर्दनमा एउटा खल्तीजस्तै बनेको हुन्छ । यस जताको पोथी माछाले आफूले पारेका अन्डा यही भाले माछाको खल्तीमा अड्काइदिन्छ । भालेको ती अण्डालाई बच्चा ननिस्केसम्म बोकेर हिँड्छन् ।

१६. रङ बदल्ने माछा

यस किसिमको माछा क्यालिफोर्निया, क्यानाडा तथा दक्षिण अमेरिकाका विभिन्न नदीमा पाइन्छन् । पर्च नामक माछा विशेषगरि टाटे-पाटेे हुन्छ भने शरीरभरि काँडैकाँडाले ढाकिएका यी माछाले आफ्नै शरीरको सहायताले शत्रुलाई घाइते पार्न र मार्न पनि सक्छन् । रङ बदलेर सबैलाई आश्चर्य पार्नसक्ने यी पर्च माछालाई ‘छेपारो माछा’ पनि भनिन्छ ।

१७. सबैभन्दा विषालु माछा

संसारकै सबैभन्दा विषालु माछा जापानीज पफर फिस (Japaness puffer fish) हो । यसका भित्री अङ्ग, छाला, मासु, हड्डी र रगत सबै भागमा घातक विष हुन्छ । यसको विष दक्षिण अमेरिका आदिवासीले आफ्नो शिकार खेल्दा हान्ने तीरको टुप्पोमा दल्ने विरूवाका विषभन्दा दुई लाख गुणा बेसी शक्तिशाली हुन्छ । यसको विषले मानिस केही घण्टामा नै मर्ने गर्छ ।

१८. उड्ने माछा

यस संसारमा उड्ने माछा पनि छ भन्दा अचम्म लाग्न सक्छ । एट्लान्टिक, हिन्द र प्रशान्त महासागरमा पाइने उड्ने माछा फ्याइङ फिस को लम्बाई ५ देखि ४८ से.मी. सम्म हुन्छ । यो माछा उड्नुको मूल कारण चाहिँ आफ्ना दुश्मन माछाबाट बच्नु नै हो । हावामा १० देखि १२ सेकेन्डसम्म उड्छ । कहिलेकाहीँ त यो माछा २० सेकेण्डसम्म पनि उड्न सक्छ, यस अवधिमा दुई सय मिटरसम्मको दूरी हावामै पार गर्न सक्छ । यसरी उड्दा माछालाई समुद्रको सतहमा हुने हल्का हावाले मद्दत पुर्‍याइरहेको हुन्छ ।

१९. चार वटा आँखा भएको माछा

मिभिपारोस नामक मेक्सिको र दक्षिण अमेरिकाका समुद्र र नदीहरूमा पाइन्छ । पानीको सतहमाथिको प्रकाश र पानीभित्रको प्रकाश दुवै प्रकाशमा एकैपल्ट हेर्न सक्छ, दुई वटा आँखा भए पनि त्यसले चारवटा आँखाको काम गर्छ । दुबै आँखाका माथिल्लो आधा भागहरूको बनोट पानीको सतहभन्दा बाहिर हावामा हेर्ने किसिमको हुन्छ भने तल्लो आधा भाग चाहिँ पानीभित्र हेर्नका लागि हुन्छ । त्यसरी हेर्नको लागि भने यसले एउटै लेन्सको माथिल्लोपट्टि फैलिएको र तलपट्टि साँघुरिँदै गएको हुन्छ ।

२०. हावामा सास फेर्ने माछा

हावामा पनि श्वास फेर्न सक्ने माछामा क्याइम्बिङ पर्च नाम गरेको माछा विशेष उल्लेखनीय छ । विशेषगरी दक्षिणपूर्वी एसिया क्षेत्रमा पाइने यो माछाको फुल्का (gil) मुनि यस्तो अंग पनि विकसित भएको हुन्छ, जुन अङ्गको मद्दतले यो माछाले पृथ्वीको वातावतरणबाट समेत श्वास लिन सक्छ ।

२१. छिटो पौडिने माछा

समुद्री जीवमध्ये सबैभन्दा छिटो पौड्ने जीव- ‘एट्लान्टिक सेलफिश’ नामक माछालाई मानिन्छ । यस माछा प्रतिघण्टा ११० कि.मि. को गतिका पौड्न सक्छ । त्यसपछि छिटो पौड्नेमा ‘स्वर्ड फिस’ नामक माछा पर्दछ । यो माछा प्रतिघण्टा ९५ कि.मि. को गतिमा पौड्न सक्छ ।

२२. सबैभन्दा सानो र ठूलो माछा

सबैभन्दा सानो आकारको माछा अट्लान्टिक महासागरको भित्री तहमा पाइने गोबी नामको माछालाई मानिन्छ । यो माछाको लम्बाइ केवल १० मि. मि. सम्म हुन्छ । यस्तै सबैभन्दा ठूलो माछा हृवेल सार्कलाई मानिन्छ । यो १२ देखि १५ मिटर सम्मको हुन्छ भने कुनै कुनै १८ मिटरसम्मको पनि हुन्छ । -स्रोत : (नेचर सम्बन्धी विभिन्न वेभसाइट)

साभार : त्रिचन्द्र ‘प्रतीक्षा’, मझेरी डट कम/ युवामञ्च, २०६७ माघ

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

%d bloggers like this: