विज्ञानका कुरा – अनन्त ज्ञान कोच्ने मस्तिस्क चाहियो ?

Dibakar Sigdel
दिवाकर सिग्देल

ब्लग लेख्नुमा मजा बेग्लै छ हेर्नुहोस । कुरैकुरामा फ्याट्ट भिडियो राख्न पनि पाइने । तपाइलाई फेसबुक तिर आउने समाचारका ब्लग र वेबसाइटले हैरान बनायो होला हैन ? चिन्त्ता नगर्नुहॊस । अहिले मिडियामा असार-साउन छाएको छ । सबैलाई केही न केही  गरौ जस्तो भएको छ । सबैका हातमा मोबाइल छन  । कसैलाई कविता फुर्छ , कसैलाई गाली  फ़ुर्छ । फेसबुक खोल्यो स्टाटस लेख्यो । यही हुलमुलमा यो ब्लग पनि आइपुग्यो ।

तपाइलाई  माथिको शिर्षक देखेर यो कुनचाही  बहुलायो भन्ने लाग्यो होला हैन ?  एकछिन धैर्य धारण गर्नुहोस । कुनै समय थियो, भानुभक्त्तले रामायण नेपाली भाषामा उल्था गर्नाले घर-घरमा रामायण पुगे । यो ब्लगर तेती मेहनती चाही अवस्य छैन , तर के कुरामा विश्वास राख्छ भने यस प्रकृतीलाई बुज्ने भाषा अत्यन्त सरल हुनुपर्छ । आज-भोलि बिज्ञानमा प्रयोग भएका गणित किन एती जटिल छन् ? यसको उत्तर हो मानब मस्तिस्क वास्तावमै अपाङ्ग छ । डार्बिनको क्रमबिकासको सिद्दान्त त सुन्नु भएकै होला । प्रकृतीले उत्तम मस्तिस्कको निर्माण सुरुगरेको करोडौ वर्ष भैसक्यो । यो अझै पनि विकासकै क्रममा छ । हामी भन्दा अलि कम बिकसित रेप्टेलियनका मस्तिस्कका सतह अलि चिप्ला हुन्छन ।

मानब मस्तिस्क भने  एउटा ठूलो टाबेललाई कचौरामा कोची-कोची खादेजस्तो फोल्ड नै फोल्ड परेको  छ । किन तेस्तो भो भन्नुहोला भने खप्परको आकार बढेन तर दिमागले पुस्तैपिच्छे  ज्ञान-गुन  सिकेको सिकै छ । जति सिप, कला र ज्ञानगुन सिक्छ तेती फोल्ड पर्दै जान्छ । बिचित्र छैन त ?  तैपनि गणितको मामलामा अपाङ्ग चाही नभनिहालेको भए हुन्थ्यो भन्ने लाग्यो होला होइन ? होइन यो समयको मानब मस्तिस्क अपाङ्ग नै हो हेर्नुस । मानब ले एक-एक लजिकल लेबल पार गर्दै ठेली का ठेली गणित बनाउदै बसिराको छ । कतै बिर्सिहाल्छ कि भनेर दोहोर्याको दोहोर्याई पनि छ बिचरा ।  अहिले ठूल्ठूला थ्योरी बनाउन अनेक प्रकारका गणित र कम्प्युटर अल्गोरिदमका सहायता लिनुपरेको छ । एस्तो पारा पूर्ण रुपमा बिकसित भैनसकेको अर्ध-बिकसित मस्तिस्कको त हो नि !  कस्तो हुन्छ होला त्यो पूर्ण बिकसित  मस्तिस्क ? कति फोल्डका फोल्ड अटाउने होला यो सानो खप्परमा ! कुरै त हो ! तपाई हाम्लाई कुरा गर्न कले छेक्या छ र हैन ?  आउनुहोस ख्याल ख्यालमै हामी अनौठा बैज्ञानिक चिन्तन तिर लागौ ।

 

यो उन्यूको जस्तो देखिने पातलाई  हेर्नुहोस । यसका ससाना पातलाई ध्यान दिएर हेर्नुहोस । यो पातमा पनि गणित छ भन्ने कुनै भेउ पाउनु भो कि ?  ती ससाना पात पनि ठूलो पात जस्तै देखिन्छ  । फेरी ती  ससाना पात भित्रका अझ मसिना पातलाई  हेर्नुहोस । ती पनि ठूलो पात जस्तै देखिन्छन  । यसरी जति सूक्ष्म दुरीमा जादा पनि आकृती  दोहोरिदै जाने गणितीय गुणलाई  “नाप-अनिर्भर्ता” ( Scale  Invariance ) भनिन्छ । यो पातको चित्र कम्प्युटर प्रोग्रामिङ्ग बाट तेही नाप-अनिर्भर अल्गोरिदम प्रयोग गरेर निर्माण गर्न सकिन्छ ।  आजको छलफलमा म यही नाप-अनिर्भर्ताको  अनन्त ज्ञान अटने मस्तिस्क संग के सम्बन्ध छ भनेर गुणगान गाउने छु ।
आधुनिक बिज्ञान यस प्रकृतीलाई बुझ्ने क्रममा विभिन्न सूक्ष्म तह पार गर्दै निराकार शून्य सम्म पुगेको छ । अर्को तर्फ त्यही निराकार शून्य बाट उठेको पत्रै पत्र भएको पुष्पदल जस्तो (सब-एटोमिक,एटोमिक,मोलिकुलार इ.)  देखिने प्रकृतीले कुन उचाइमा आइपुगेर ‘पुरुष’ अथवा ‘चैतन्य’ लाई प्रतिस्थापन गर्दछ भन्ने कुरा अर्को  रुचिको बिषय हो । कुरो म तेही अनन्त ज्ञान  अटनेवाला  मस्तिस्कबाट सुरु गर्छु । कस्तो हुनुपर्छ होला त्यो मस्तिस्क ? तपाइलाई लाग्दै होला त्यो मस्तिस्क एउटा घर जत्रो हुनुपर्छ र  त्यसमा अनगिन्ति फोल्ड नै फोल्ड पर्नु पर्छ । कुरो सही हो ! तर त्यो मस्तिस्क पनि एउटा लिमिट पार गरेपछि कम्जोर ठहरिन सक्छ । उसोभए पृथिबी जत्रो मस्तिस्क, लौ जा ! होइन होइन ग्यालेक्शि जत्रो मस्तिस्क ! र अन्त्यमा भन्नुहोला ब्रम्हाण्ड जत्रै मस्तिस्क ! हो कुरो यही हो ! अनन्त ज्ञान अटने मस्तिस्क ब्रम्हाण्ड स्वयम् हो ! तेसैलाई त परब्रह्मा भनिएको हो ! तपाइँलाई अलि बढीनै गफ दे जस्तो लाग्यो ? यो तलको भिडियो हेर्नुहोस ! ब्रम्हाण्डका ग्यालेक्शिहरु एक आपसमा मिलेर मानब मस्तिस्कमा पाइने न्युरोनका  त्यान्द्रा जस्तै बनोटमा बसेका छन् ।

 

उसोभए हाम्रा अपाङ्ग भनिएका मस्तिस्क चाही के हुन् ? पिपलको बिशाल रुखलाई  हेर्नुहोस । पिपलको सानो दानो देख्नुभएको छ ? त्यो दानो भित्र माटोलाई  बिशाल रुखमा बदल्ने क्षमता  छ । हो तेस्तै हाम्रा मस्तिस्कमा पनि असिमित सम्भाबना चाही छ है  । “अहम ब्रम्हास्मी !” भनेको पनि सुन्नुभएकै छ होला । यो भनेको के भन्नुहोला भने हामीले हाम्रो पिलन्धरे मस्तिस्कलाई ग्रो गर्नु पर्यो । एउटा पिपलको दानो ले माटोलाई रुखमा बदले जस्तै यो  सानो मस्तिस्कलाई  ब्रम्हाडिय मस्तिस्कमा बदल्नु पर्यो । कसरी  होला ? म आफैलाई थाहा छैन हेर्नुस । बुद्ध जस्ता महान मानब पनि यै प्रकृतीले जन्माएकी  हुन्  । असम्भब चाही छैन होला ! फेरी तपाई घरबार छोडेर नहिड्नुस  है । तेस्को लागि म जिमेवार छैन ।

मसंग अर्को उपाय पनि छ । मैले अघि उन्यू को पात देखाएर “नाप-अनिर्भर्ता” ( Scale  Invariance ) को कुरा गर्दै थिए । यो सानो खप्पर भित्रै सारा ब्रम्हज्ञान अटाउने प्रयास गर्दा के उपाय चाहिएला ? तेस्को लागि हाम्रा मस्तिस्क बनेको पदार्थले भ्याउदैन ! फेरी ब्रम्हाण्ड जत्रै मस्तिस्क चाहिन्छ । एउटा भर्चुअल मस्तिस्कको परिकल्पना गर्न सकिन्छ । जसमा जति सानो दुरीमा जादापनी उस्तै आकृती दोहोरिदै जान्छ । उदाहरण को लागि तलको भिडियो हेर्नुस है ।

 

 

तेस्तो भर्चुअल मस्तिस्कमा अनन्त इन्फोर्मेशन राक्न सकिन्छ । तेस्तो भर्चुअल मस्तिस्क बनाउने कसरी ? आर्टिफिसीयल इनटिलिजेंस (AI) त सुन्नु भएको होला । यसमा लाखौ कम्प्युटरलाई  तारताम्य मिलाएर केही गहिराई सम्म जाने भर्चुअल मस्तिस्क चाही बनाउने प्रयास होला आउदा दिनमा ।   ब्रम्हाडिय पदार्थ को निर्माणकै बेला नाप-अनिर्भर्ताको गुण ब्रेक भैसकेको हुनाले यही पदार्थको प्रयोग बाट बनेका कम्प्युटरले पनि पूर्णतया अनन्त ज्ञान अट्ने मस्तिस्क भने बनाउन सक्दैनन् । कम्प्युटरका काम गराइमा  एक-आपसमा तारताम्य (Coherence) सम्भब हुने भएकाले यो जादु केहि हदसम्म सम्भब छ र गणितका मामलामा हाम्रा मस्तिस्क भन्दा कयौगुणा क्षमतावान हुन सक्छन । हवस् त फेरी भेटौला ! “विज्ञानका कुरा”(https://www.facebook.com/bigyaankakura/) फेसबुक पेजलाई  लाइक ठोक्न नबिर्सिनुस है ।

Source : https://bigyaankaakura.blogspot.com/2016/12/

लेखक दिवाकर सिग्देल फ्लोरिडा ईन्टरनेशनल युनिभरसिटीमा भौतिकशास्त्रमा पीएचडी गर्दै गरेका स्कलर हुन ।
  ©  दिवाकर सिग्देल

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

%d bloggers like this: