विवाह उत्सवमा हुने क्रियाकलाप

मधुसूदन सुवेदी
मधुसूदन सुवेदी

विवाह उत्सवमा हुने क्रियाकलाप ! वरको स्वगत– (गोडा धुने इत्यादि) घरको नजीक आइपुगेका वरलाई कन्यापिता अथवा कन्यादाताहरूले अघ्र्य आदि उपचार सामग्रीले पूजा गर्नु स्वागत हो । विवाहमा वरलाई विष्णुको रूप र वधूलाई लक्ष्मीको रूप मानिएको छ । पाउका अधिष्ठाता (आधार) देवता विष्णु मानिन्छन् । अतः विष्णुरूपी वरको र लक्ष्मीरूपी वधूका पाउ धुनुको आशय विष्णु र लक्ष्मीको सम्मान हो । वर विष्णुको रूप हो भन्ने कुरा कन्यादानपछि प्रार्थना गर्दा पढिने मन्त्रबाट थाहा हुन्छ ।

पाणिग्रहण

वरले वधूको दाहिने हात ग्रहण गरी मन्त्रद्वारा यसरी भाव व्यक्त गर्दछन्— हे कन्ये  सौभाग्य कामनाले म तिम्रो यो दाहिने हात समात्छु, मेरा साथ तिमी दीर्घायु होउ । भग, अर्यमा, सविता देवताहरूले मलाई सर्वोत्कृष्ठ एवं सर्वाधिक सुन्दर सम्झेर गार्हस्थ्य जीवनको आनन्द लिन तिमीलाई सुम्पिदिएका हुन् । यो नयाँ सम्बन्ध धेरै पवित्र होे भन्ने कुरा यसबाट स्पष्ट हुन्छ – कन्या बाबुले मात्र दिएका होइनन् अपि तु ती संरक्षक देवता अर्यमा, सविता आदि जो यस दैवी उत्सव (विवाह) मा साक्षी छन् ती अधिष्ठातृ देवताहरूद्वारा पनि दिइएको मानिन्छ । देवताले दिएकी कन्या पतिले पाउँछ भन्ने कुरा पनि पुष्टि हुन्छ । यसरी विवाह एक सामाजिक सम्झौता नभएर धार्मिक एवं पवित्र संस्कार हो ।

शिलारोहण

वरले आफुप्रति भक्ति तथा पातिव्रत्यमा पत्नीलाई सुदृढ गराउन वधूको दाहिनेगोडा शिलामाथि राख्न लगाएर –तिमी यो पत्थर माथि चढ । यो पत्थरझै स्थिर भएर मेरो घरमा बस । तिमीप्रति नराम्रो चेष्टा गर्ने मानिस आएमा रोक्न सक्ने होऊ । हे हंसवाहिनी वाग्देवता सरस्वती हाम्रो यो पाणीग्रहणरूप विवाह सम्बन्धको तिमी रक्षा गर । जु तिमीलाई यो सारा विश्वब्रम्हाण्डकी जननी भन्दछन् र फेरि जसमा यो स्थूलभूत लगायत सारा विश्वको प्रपञ्च सम्भव भएको छ त्यस्ती तिम्रो म गाथा गाउँदछु । जसले गर्दा स्त्री जातिको निम्ति एउटा ठूलो कीर्ति हो । आफ्नो कर्तव्यमा सर्वदा स्थिर एवं दृढ बन भन्दा यहाँ शिला (पत्थर) स्थिरताको प्रतिक हो ।

सप्तपदी

सप्तपदीको अर्थ हो विष्णु प्राप्तिका निमित्त, बलप्राप्तिका निमित्त, धनबृद्धिका निमित्त, सुखःबृद्धिका निमित्त, पशुुबृद्धिका निमित्त अघिबढाउन, हे सखे मेरो मित्र भएकी यसरी सात कदमसम्म चली अघिबढेकी तिमी सप्तपदा होऊ । मेरो विचार अनुसार चल्ने होऊ । विवाहमा सप्तपदीको आशय स्त्रीलाई सात ठाउँकी अधिकारिणी बनाएर उच्च पदमा प्रतिष्ठित गर्नु हो । यी साथ ठाउँ गृहस्थका ती साधन हुन् जसको रक्षा एवं दायित्व स्त्रीले वहन गर्नु पर्छ । वरले गृहस्थ जीवनमा अत्यावश्यक अन्न, बल, धन, सुख, पशुरक्षा र ऋतुहरूको अनुकूलता विष्णुले तिमीलाई प्राप्त गराउन् भनेर छ कदममा छ ठाउँको अधिकारिणी बनाएपछि सातौं कदममा आफ्नी सहधर्मिणी मित्र (सखा) पदको स्थान दिएर पूर्ण रूपले अर्धाङ्किनी बनाउँछ ।

सप्तपदीपछि वधू पुरुषकी सहधर्मिणी एवं अभिन्न आत्मा बन्छिन् । सप्तपदीपछि कन्या पितृगोत्रबाट छुटेर पतिका गोत्रकी हुन्छिन् । वाग्दानद्वारा नै कन्याको पति स्थिर गरिसकिएको हुन्छ भने त्यस कुरालाई दृढ बनाउन सप्तपदीलाई विवाहको प्रमुख अङ्क मानिएको छ । हाम्रो परम्परामा विवाहद्वारा स्त्रीलाई कुन स्थान दिइएको छ भन्ने कुरा सप्तपदीका वैवाहिक मन्त्रहरूबाट स्पष्ट हुन्छ । स्त्री घरकी रानी या महारानी होइन अपितु साम्राज्ञी अर्थात् सार्वभौमिक चक्रवर्तिनी बन । यसमा स्त्रीलाई आफ्ना पतिको घरमा कुनै हीनपद मिल्दैन किन्तु सर्वोत्तम पद श्रीमती एवं साम्राज्ञी नै मिल्दछ ।

हृदयस्पर्श

वधूका भावनाहरू जागृत भएर आफ्ना ह्दयका भावनासँग मिली वरवधू दुवैलाई स्नेहका संसारमा संयुक्त गराउने आशयले वरले वधूको ह्दयस्पर्श गर्दछ । ह्दय भावहरूको केन्द्र हो ।

सिन्दूरदान

कन्याका शिरमा वरले सिन्दूरको रेखा राखेपछि कन्यालाई दुलाहाको बायाँ भागमा बसाल्ने क्रमले स्त्री अब पुरुषकी अर्धाङ्किनी भइन् भन्ने बुझिन्छ । यति नै बेला सिउँदोमा सौभाग्यसूचक सिन्दूरको रेखा राख्दै वरले त्यहाँ उपस्थित मान्यजन, सम्बन्धी एवं सौभाग्यवती स्त्रीहरूसँग वधूलाई सौभाग्यको आशीर्वाद प्रदान गर्न अनुरोध गर्दछ । सिन्दूर सौभाग्यको प्रधान कारण एवं सौन्दर्यवद्र्धक मानिन्छ । स्त्रीको जुन स्थानमा सिन्दूर राखिन्छ त्यो ठाउँ पुरुषको अपेक्षा विशेष कोमल हुन्छ । सिन्दूरमा पारद जस्तो दुर्लभ धातु धेरै मात्रामा हुने र त्यसले स्त्रीका शरीरको त्यस मर्मस्थललाई बाहिरी दुष्प्रभाबबाट बचाउने हुँदा सिउँदोमा सिन्दूर राख्ने आज्ञा शास्त्रकारहरूले दिएका हुन् ।

धु्रवदर्शन या सूर्यदर्शन

ध्रुव स्थिरताको प्रतिक हो । पतिपत्नी दुवै प्रेमपूर्वक गृहस्थाश्रममा स्थिर भएर रहन सकून् भन्ने आशयले उनीहरूलाई ध्रुव दर्शन गराइन्छ । यतिबेला वरवधू ध्रुवको दर्शन गर्दै गृहस्थमा दृढ रहने पवित्र सन्देश पाउँछन् । दिनमा विवाह हुँदा सूर्य दर्शन गराइन्छ । सूर्य सबैका अत्मा, प्रकाशक एवं ज्ञानस्वरूप हुन् । अतः उनको दर्शन गर्दै वरवधूले ज्ञानी तथा प्रखरतेज सम्पन्न हुने पावन सन्देश पाउँछन् ।

खाँडो जगाउने
खड्ग पूजन प्रथा विवाह विधिभित्रै पर्छ। यही प्रथा पछि ‘खाँडो जगाउने प्रथा’ का रूपमा विकसित बनेको हो। ‘खड्ग’ शब्दबाटै ‘खाँडो’ बनेको हो। खाँडोमा जङ्गबहादुरको प्रशस्ति गाइन्छ र कुहिरेलाई गाली गरिन्छ। जसबाट नेपाल-अङ्ग्रेज युद्ध र जङ्गबहादुर शासक भएपछि यो खड्ग पुजन प्रथाले खाँडीको रूपमा लिएको हो भनेर अनुमान गर्न सकिन्छ। विवाहमा बेहुली बनेकी केटीलाई अपहरण गर्न आउने सम्भावनाबाट सचेत भई हतियार तयार पारेर बस्ने कार्य हो।

मधुसूदन सुवेदी केन्द्रिय कानून पुस्तकालय जमलका प्रमुख तथा वरिष्ठ लेखक हुनुहुन्छ । उहाँका ७० भन्दा बढी धार्मिक तथा पुस्तकालय बिज्ञान सम्वन्धी पुस्तकहरु प्रकाशित छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

%d bloggers like this: