महाशिवरात्रि र आराध्यदेव श्री पशुपतिनाथ

मधुसूदन सुवेदी
मधुसूदन सुवेदी

महाशिवरात्रि र आराध्यदेव श्री पशुपतिनाथ

फाल्गुने कृष्णपक्षस्य या तिथिः स्याच्चतुर्दशी ।

तस्यां या तामसी रात्रिः सोच्यते शिवरात्रिका ।।

तत्रोपवासं कुर्वाणः प्रसादयति मां ध्रुवम् ।

नस्नानेन न वस्त्रेण न धूपेन न चार्चया ।।

तुष्यामि न तथा पुष्पैर्यथा तत्रोपवासतः ।।

यो विष्णुः सः शिवः प्रोक्तो यः शिवोविष्णुरेवचः ।।

                                                                                             — देवी भागवत

फाल्गुन कृष्ण चतुर्दशीका दिन महाशिवरात्री व्रत बसी शिवजीको पूजा गर्नुपर्दछ । यिनका सत्, चित्, आनन्द स्वरूप परब्रम्हको उत्पत्ति, स्थिति र संहार गर्ने तीन स्वरूप छन् जुन ब्रम्हा, विष्णु, महेश भनिन्छन् । उहाँहरू अनन्त अविनाशी, अमर, निराकार, तथा निर्गुण हुनुहुन्छ । तथा एक भएर पनि साकार सगुण अनेक हुनुका साथै बेग्ला बेग्लै नाम गणेश, कृष्ण, राम, ब्रम्हा, विष्णु, शिव शक्ति आदि अनादि कालदेखि नै अनेक रूप धारण भएको भए तापनि केवल एउटै हुनुहुन्छ । शिव पुराणमा आद्योपान्त यिनै ब्रम्हलाई शिवको रूपमा वर्णन गरिएको पाइन्छ । वेद, पुराण, उपनिषद आदिमा ब्रम्हको नै वर्णन छ किनकि शिव नै ब्रम्ह हुन् ।

सृष्टिको आरम्भमा केवल शिव नै विद्यमान हुनुहुन्छ । अरु कोही हुदैनन् । त्यसकारण यो सिद्ध हुन जान्छ कि परब्रम्हको जुन प्रलयकारी या संहारकारी स्वरूप छ त्यसैको नाम रुद्र । उहाँको एउटा शक्ति रुवाउनको लागिमा रुद्र र जगतको भलाइँ गर्नामा शिव यसरी परस्पर विरोधी नामले पुकारिन्छ । झट्ट हेर्दा रुद्र र शिव यसरी परस्पर विरोधी भान हुन्छ, किनकि जस्ले रुवाउँछ उ कल्याणकारी कसरी हुन सक्छ, तर राम्ररी विचार गर्ने हो भने भावना सर्वथा भ्रमपूर्ण हुन्छ । हामी प्रतिदिन देख्दछौं कि प्रकृतिको कार्यमा विनाश या प्रलय नै शिव अथवा शुभको कारण बन्दछ । विनाश नभइकन सृष्टि नै हुँदैन । जस्तो कुनै अन्नलाई जमिनमा मिलाएर रोपिन्न विनष्ट गराइन्न तवसम्म धेरै अन्न फलाउन सकिंदैन । यसबाट यो प्रतीत हुन्छ कि बिउलाई माटोमा मिलाएर बरबाद गराउनु ईश्वरको रुद्र रूपको कार्य हो । अतः हामी एउटा शक्तिको रुद्र र शिव यी दुवै नामबाट पुकार्दछौ यो वास्तविक स्थिति हो, कल्पित होइन । यिनै रुद्र अथवा शिवको महोत्सव दिवस हो शिवरात्रि ।

पुरानो पात झरेर नयाँ पालुवाको मनमोहक समय शिशिर ऋतु शिवको असली स्वरूप नयाँ पालुवाको अङ्कुरित हुन् फागुन महिना यस उत्सवको लागि राखिएको जस्तो देखिन्छ । अतः परब्रम्हको संहारक विभूति भगवान् रुद्रको कृष्ण पक्षको अन्तमानै उत्सव मनाउनु उचित मानिएको छ । ईश्वरले यो नियम राख्नु भएको छ कि पूर्णतया समाप्तिया मृत्युको अनन्त र प्रकृति कुनै पनि वस्तुको पुनर्जीवित गराउँदैन । जबसम्म अलिकति पनि जीवनकला अवशिष्ट रहन्छ तबसम्म मन्त्र, औषधि र भगवत्प्रार्थना आदि जीवनको साधनले काम गर्दछ । यही नियम संझाउनको लागि भगवान् शिवको महोत्सव चतुर्दशी राखिएको हो, त्यस बखतमा जीवन दाता चन्द्रमाको एक कला अवशिष्ट रहन्छ ।

श्वेताश्वर उपनिषद्ले स्पष्ट बताएको छ कि ”एकोहिरुद्रो न द्वितीयाय तस्थै“ अर्थात् केवल रुद्रमात्र एक हुनुहुन्छ दोस्रो अरु कोही    छैन । वृहद् धर्म पुराण पूर्वखण्ड अध्याय ९।१० मा यति मनमोहक आनन्ददायक कथा बताइएको छ –

कुनै समय भगवान् विष्णु वैकुण्ठमा सुकला भएको बेला यति राम्रो सपना देख्नुभएछ । करौडौ चन्द्रमाको ज्योतिले युक्त भै त्रिशूल डमरु बाहुमा धारण गर्नु भएको गहनामा सुन, सर्प, चन्द्रमा आदिले सुशोभित, तीन नेत्र हुनु भएका भगवान् शिव प्रेममा मस्त रही उहाँको अगाडि नाचिरहनु भएको देख्नुभयो । भगवान् विष्णु प्रसन्न हुनु भई ओछ्यानमा विराजमान हुनुभयो । सो देख्दा भगवती लक्ष्मीलाई अचम्म लागेर कारण सोध्नुभयो । तर भगवान् बाट कुनै उत्तर तुरुन्त आएन । केही बेरपछि भन्नु भयो– देवी, मैले भरखरै सपनामा वडा आनन्ददायक महेश्वरको दर्शन पाएँ । मलाई यस्तो भान हुन्छ कि वहाँले मलाई सम्झना गरिरहनुभएको   छ । तसर्थ हामी वहाँको दर्शनकोलागि जाऔँ ।

तुरुन्तै दुवैजना कैलास तर्फ प्रस्थान गर्नु भयो अलिपर नपुग्दै उमा महेश्वर त्यसतर्फ आउँदै गरेको देख्नुभयो । जव दुवैको भेट भयो बडा आनन्दले प्रेमालाप गर्नु भयो । यसबाट स्पष्ट हुन्छ कि भगवान् शिवलाई पनि रातमा सपना भएछ जसरी विष्णुले जुन रूपले जस्तो देख्नुभएको छ त्यस्तै भयो होला र विष्णुलाई भेट गर्न आउनुभयो ।

दुवैको प्रेमालाप पछि एक अर्काले आफ्नो धाममा जानको लागि आग्रह गर्नु हुँदा कहाँ जाने दुवैमा अन्योल पयो र आखिर उमा भगवतीले जे भन्नु हुन्छ सोही अनुसार गर्ने निधो भयो र उमा भन्नु हुन्छ–हे विष्णु हजुरहरूको अटल प्रेमलाई देखेर यस्तो लाग्दछ कि कैलाश भनेको नै वैकुण्ठ हो र वैकुण्ठ भनेको नै कैलास हो । केवल नाममा मात्र द्विविधा हो । मलाई यस्तो लाग्दछ कि यहाँहरूको आत्मा एकै हो केवल शरीरले मात्र दुई देखिएको हो । जो म हुँ त्यही नै यी लक्ष्मी हुन् र जो लक्ष्मी हुन् उनै म हुँ ।

तसर्थ यसबाट स्पष्ट हुन्छ कि ब्रम्ह  नै शिव हो शिव नै ब्रम्ह हो केवल शिव सिवाय दोस्रो अरु कुनै छैनन् ।

शिवरात्रि मनाउन पशुपतिलाई ३१ तोपको सलामी दिइन्छ मान सम्मान गरिन्छ । पशुपतिलाई महाभारत कालमा किरातीहरूको शासन कालदेखि पशुपतिलाई किरातेश्वर महादेव र अर्जुनलाई किरातेश्वरको अवतार भन्ने चलन अहिलेसम्म छ । पशुपतिको कृपाले नै अर्जुनले पाशुपातास्त्र प्राप्त गरेका हुन् भनिन्छ । श्री आराध्यदेव पशुपति नाथको शरीरको दर्शन गर्न जाँदा उहाँको लिङ्कमा पूर्व पश्चिम दक्षिण र उत्तर दिशामा ४ मुखको दर्शन हुन्छ । शिवशास्त्र अनुसार वहाँको मुख मस्तक भागमा र तल्लो भाग पातालतर्फ छ, यो भौतिक दृष्टिद्वारा देख्न सकिंदैन । पूर्वमा– तत्पुरुष, उत्तरमा– वामदेव, दक्षिणमा– अघोर, पश्चिममा–सद्योजात, उध्र्वमा– ईशान, अधःपातालमा– कालाग्नि रुद्र मानिन्छ । वहाँले बन्धनमा परेका जीवलाई मुक्त, अज्ञानीलाई ज्ञानी गराइदिनुहुन्छ । अज्ञान भनेको पशुत्व हो पशुलाई ज्ञान प्रदान गरेर उनीहरूलाई अज्ञानबाट मुक्त गर्न हुने शिवको नाम पशुपति हो । पशुहरूको मालिक पशुत्वबाट मुक्त गर्ने ईश्वर नै पशुपति हुनुहुन्छ ।

दुःखहरूको अन्त्य स्वयं पशुपतिको प्रसादबाट मात्र छिट्टै प्राप्त हुन सक्दछ । तसर्थ भक्तजनहरूले यस ब्रम्हाण्डमा ३३ करोड देवतामा महादेव शिव पशुपतिनाथलाई नै सर्वोपरि मानेका छन्

यस दिनलाई महाशिवरात्रि भनेर मानेको छ । यस रात्रिको प्रहर प्रहरमा शिवजीको पूजा गर्ने विधि छ । यस विषयको पौराणिक कथामा— मृग आदि पशुहरू मारेर सधैँ जीविका चलाउने कुनै व्याधाले दिनभरि कुनै सिकार नपाउँदा रातमा पानी खान आएका मृगलाई मारेर घर लैजान्छु भनी पानी पोखरीको नगिच बेलको रुखमा लुकेर बसेको र त्यस रुखको तल भूमिमा शिव लिङ्क भएको लुकेर वसेको ठाउँबाट बेलको हाँगा र पातले वाण हान्न अप्ठ्यारो भई छेकिदाँ  बेलको पात टिपेर तल फाल्दा शिवको रातको प्रहर प्रहरको पूजा भएकोले त्यसले उत्तम गति प्राप्त भएको उल्लेख छ । शिवजी आशुतोष अर्थात् चाँडै प्रसन्न भएर इच्छा अनुसार वर  दिनुहुने हुनुहुन्छ भनी सर्वत्र प्रसिद्ध छ ।

हामी नेपालीको राष्ट्र देव आराध्यदेव श्री पशपुति नाथ नै हुनुहुन्छ, उहाँकै छत्र छाँयामा हामीहरू रहेका छौं । यस्ता परमाराध्य पशुपतिनाथ प्रभुको दर्शन गर्न भारत आदि देशहरूबाट यस महापर्वमा भक्तहरू र साधु सन्तको ठूलो जमघट हुन्छ । हामी पनि यस दिन व्रत बसी शिवको आराधनामा संलग्न होऔं यसैमा परम कल्याण छ । ॐ नमः शिवाय !

मधुसूदन सुवेदी केन्द्रिय कानून पुस्तकालय जमलका प्रमुख तथा वरिष्ठ लेखक हुनुहुन्छ । उहाँका ७० भन्दा बढी धार्मिक तथा पुस्तकालय बिज्ञान सम्वन्धी पुस्तकहरु प्रकाशित छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

%d bloggers like this: