विज्ञान तथा प्रविधिको विकास गर्न अनुसन्धान र विकासको बजेट बढाईने – मन्त्री सिंह

अन्तर्वार्ता 

विज्ञान तथा प्रविधिको विकास गर्न अनुसन्धान र विकासको बजेट बढाईने – मन्त्री सिंह 

चैत्र २०, २०७३। २१ औ शताब्दीलाई बिज्ञान तथा प्रविधिको युगको संज्ञा नै दिइएको छ । ‘राष्ट्र निर्माणको लागि बिज्ञान र प्रबिधि’, ‘बिज्ञान प्रबिधि र आविष्कार दिगो बिकाशको आधार’, ‘बिज्ञान प्रबिधि र आविष्कार सम्वृद्धिको आधार’, ‘विज्ञान र प्रविधि देशको समृद्घि’ यी धेरै नाराहरु लिएर बिज्ञान तथा प्रबिधि मन्त्रालय अघि बढेतापनि नेपालमा बिज्ञान तथा प्रबिधि क्षेत्रको विकास नारामा सिमित छ । बैज्ञानिक अध्ययन, अनुसन्धान र प्रयोगका लागि बजेटको अभाव नहुने तर स्पष्ठ नीति र योजनाहरु  बनाई अघि बढ्नुपर्ने कुरा नवनियुक्त  बिज्ञान तथा प्रबिधि मन्त्री प्रेमबहादुर सिंहले बताउनु भएको छ। उहाँले यसअघि तीन पटक कानुनमन्त्री र दुई पटक खानेपानी तथा सरसफाई मन्त्रीको जिम्मेवारी सम्हाली सक्नु भएको छ। अनुभवी मन्त्री पाएकोमा कर्मचारीहरु लगायत अन्य सरोकारवाला निकायका सवै आशावादी भएका छन्। पहिला कानुन तथा न्याय र खानेपानी तथा सरसफाई मन्त्री हुँदा धेरै राम्रो काम गरेर सबैको प्रसंशा बटुलेका अनुभवी मन्त्री सिंहसंग बिज्ञान तथा प्रबिधिको विकासको लागि भावी योजनाहरु के कस्ता छन् भन्ने बारेमा केन्द्रित रहँदै  साईन्स इन्फोटेक अनलाईन पत्रिकाका प्रधान-सम्पादक गोपाल भण्डारीले गरेको कुराकानी।

योसँग हजुर ६ पटक मन्त्री भई सक्नुभयो । लामो अनुभव भएको परिपक्क मन्त्री पाएकोमा मन्त्रालयका कर्मचारीहरु लगायत अन्य सरोकारवाला निकायहरुका सवै अब केहि होला बिज्ञान तथा प्रविधिको क्षेत्रमा भनेर धरै आशावादी भएका छन् । विज्ञान तथा प्रविधिको माध्यमबाट देशलाई सम्बृद्ध बनाउन कसरी अगाडि बढ्नुहुन्छ ?

पहिलो कुरा भनेको म फरक-फरक क्षेत्रसंग सम्वन्धित बिषयमा मन्त्री भए। पहिले म कानुन तथा न्यायको क्षेत्रमा मन्त्री भए, त्यसका छुटै चुनौतीहरु थिए, त्यसलाई त्यही ढंगले हल गरियो। पछि गएर म खानेपानी तथा सरसफाई क्षेत्रको मन्त्री भए, त्यसका थुप्रै चुनौतीहरुलाई पनि सकेसम्म राम्रोसंग सफलतापूर्ण सम्पादन गरियो भन्ने मलाई लाग्छ। अहिले पनि फेरि मेरो बिषय र चुतौतीहरु परिवर्तन भएका छन्। अव बिज्ञान तथा प्रविधि क्षेत्रको विकास गर्नु सिंगो मुलुक र मेरो लागि पनि ठुलो गम्भीर चुनौतिको बिषय हो। बिज्ञान र प्रविधिको उचित विकास नगरीकन अहिलेको विश्वमा हामीले अपेक्षित दिगो विकास हासिल कल्पना गर्न पनि सकिदैन। यो बिज्ञान तथा प्रबिधि मन्त्रालय २०५३ सालमा पहिलो पटक स्थापना भएको हो र त्यस बेला यसलाई सोचेर विश्वका अनुभवलाई ध्यानमा राखेर नै यो मन्त्रालयको आवश्यकता छ भनेरै यसको स्थापना भएको थियो। तर पनि स्थापनाको यतिका बर्ष भई सक्दा पनि यसले सम्पादन गरेका कामहरु जनअपेक्षित भएनन् र राष्ट्रले अपेक्षा गरे अनुरुप हुन सकेको छैन र अहिले मैले यही मन्त्रालयको कार्यभार भर्खरै सम्हालेको छु। अहिले मैले यस मन्त्रालयका कार्यक्षेत्रमा रहेका निकायहरुको बारेमा जानकारी लिने काम लगभग टुंग्याउने क्रममा छु र यसका भावी योजनाहरु के के हुन सक्छन ? बिज्ञान र प्रविधिलाई हाम्रो राष्ट्रको विकास गर्नको लागि के के कुराहरु आवश्यक छन् भन्ने बारेमा मैले विभिन्न विज्ञहरु र सरोकारवालाहरुसंग राम्रोसंग छलफल र बहस गरिरहेको छु र यसका धेरै चुनौतीहरु छन्।

आज विश्वमा अमेरिका, युरोप र जापान जस्ता मुलुकहरुका साथै पछिल्लो समयमा हाम्रा छिमेकी मुलुकहरु चिन र भारत जसरी बिकासको गतिमा अघि बढेका छन्। त्यसको पछाडिको कारण भनेको उनीहरुले राष्ट्रको ठुलो लगानी वास्तवमा अनुसन्धान र बिकास(Research & Development)मा लगाएका छन् र यसको उदाहरण लागि अमेरिका एउटा बिशाल अर्थतन्त्र भएको मुलुक हो त्यहाँ कुल बजेटको करीव २ % भन्दा बढी बजेट R & D मा छुट्टयाइएको पाइन्छ र अहिले त्यहि अनुपातमा भारत, चिन, जापान र युरोपका मुलुकले छुट्याउन थालेका छन्। अहिले विश्वमा सवभन्दा बढी इजरायलले कुल बजेटको ४ % भन्दा माथि R & D मा छुट्याउने गरेकोले गर्दा इजरायलको विकासको गति पनि उल्लेखनीय रुपमा हासिल गरेको छ। त्यस्तै दक्षिण कोरियाले पनि ठुलो लगानी R & D मा छुट्टयाएकोले गर्दा त्यहाँको विकास चरम गतिमा पुगेको   छ। यी सबै अनुभवलाई हेर्दा हाम्रो देशमा R & D को बजेट नगण्य छ। त्यसैले गर्दा हाम्रो देशले एउटा राष्ट्रिय नीति नै ल्याएर अनुसन्धान र बिकास (R & D) को बजेट तुरुन्त बढाई प्राथमिकताका क्षेत्रहरु निर्धारण गर्नेपर्छ किनभने हाम्रो अन्तिम उद्देश्य भनेको दिगो विकास, आर्थिक सम्वृद्धि, सामाजिक न्याय  र सुशाशन नै हो। यी उद्देश्यहरु प्राप्त गर्नको लागि हामीले बिज्ञान तथा प्रबिधिको तत्कालिन, अल्पकालीन र दिर्घकालीन रणनीतिहरु बनाएर अनुसन्धान र विकासमा तुरुन्तै लाग्नुपर्छ। हामीसँग प्राकृतिक स्रोत र साधनहरुको प्रचुरतामा धेरै सम्भावना रहेको छ।

२१ औ शताब्दीलाई बिज्ञान तथा प्रविधिको युगको भनिन्छ । तर यो मन्त्रालयले धेरै नाराहरु अघि सारे तापनि नेपालमा बिज्ञान तथा प्रबिधिको विकास नारामा मात्र सिमित छ । अब बिज्ञान तथा प्रबिधिको बिकासको योजनालाई कार्यन्वयन गरी ठोस उपलव्धी हासिल गर्न तुरुन्त के गर्ने सोचमा हुनुहुन्छ ?

‘राष्ट्र निर्माणको लागि बिज्ञान र प्रबिधि’, ‘बिज्ञान प्रबिधि र आविष्कार दिगो बिकाशको आधार’, ‘बिज्ञान प्रबिधि र आविष्कार सम्वृद्धिको आधार’, ‘विज्ञान र प्रविधि देशको समृद्घि’ यी धेरै नाराहरु लिएर बिज्ञान तथा प्रबिधि मन्त्रालय अघि बढेतापनि नेपालमा बिज्ञान तथा प्रबिधि क्षेत्रको विकास नारामा सिमित छ । पहिलो कुरा त जुन अहिले तत्कालमा नीतिगत रुपमै राष्ट्रले अवलम्बन गर्नुपर्ने कुरा के हो भने मुलुकको  समग्र बिकासको लागि हामीले अनुसन्धान र बिकासलाई जोडेर लैजाने नयाँ अवधारणालाई स्वीकार गरेर लागु गर्न अघि बढी हाल्नुपर्छ। अनुसन्धान र बिकासले ल्याएको परिवर्तन भनेको एक दिनमै हुने होइन यो त लामो प्रक्रिया हो। अन्य बिकसित देशका अनुभवलाई ध्यानमा राखेर बिज्ञान र प्रविधिका आधुनिकतम अनुसन्धान र बिकासका अवधारणाहरु हाम्रो देशको सन्दर्भमा प्राथमिकताका क्षेत्रहरु निर्धारण गरेर लागु गर्नु पर्छ। खासगरी हाम्रो देशका विश्वविधालयहरुमा गरिने अध्ययन अनुसन्धानलाई प्रोत्साहित गरेर तिनीहरुलाई अनुसन्धान र बिकासका मुख्य केन्द्र बनाएर गएमा मात्र देशको दिगो विकासलाई अघि बढाउन सक्छौ।

नेपालमा बिज्ञान बिषय पढ्ने बिद्यार्थीहरुको संख्या जम्मा ८% मात्र छ । तर केहि समय अघि मन्त्रालयले १५% पुर्याउने लक्ष्य अघि सारेको राखेको छ । यो लक्ष्य हासिल गर्न कसरी अघि बढाउनुहुन्छ ?

खासमा मख्य कुरा के हो भने बिज्ञान बिषय अरु बिषय भन्दा अलि महँगो बिषय भएकोले यसमा साधन स्रोत कम भएका बिद्यार्थीहरुको पहुँच न्यून भएकोले गर्दा आम जनमानसको संख्या बढाउन मन्त्रालयले नै  ठोस योजना अघि बढाउनुपर्छ। यसको लागि आर्थिक अवस्था कम्जोर भएका विद्यार्थीहरुलाई प्रोत्साहन गर्न छात्रवृतिको रकम बढाई बिज्ञान बिषयको पढाईलाई ग्रामीण क्षेत्रका बिधालयमा बिस्तार गरेर बिज्ञान प्रयोगशाला स्थापना गरेर जानुपर्छ। अहिले हालसालै गठन भएका ७४४ स्थानीय निकायहरुका प्रत्येकका  एउटा बिधालयमा एउटा राम्रो बिज्ञान प्रयोगशाला बनाई अन्य बिधालयहरुको पनि बिज्ञान प्रयोगशालाको केन्द्र बनाउने बारेमा सम्माननीय प्रधानमन्त्री, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोगसंग समन्वय गरी मन्त्रालयमा छलफल अघि बढाउछु।

यो बिषयमा प्रसंग चलिहाल्यो मैले पनि यो बिज्ञान प्रयोगशाला बनाउने बारेमा मन्त्रालयमा केहि फाईलहरु देखेको थिए, यसको बारेमा प्रक्रिया के हुदैछ ?

यसको बारेमा मन्त्रालयमा केहि फाईलहरु रहेछन तर अघिल्लो बर्षमा बिधालयको लागि छुट्टयाईएको रकम शिर्षक नै नमिलेर खर्च नभएर गएछ। तर अहिले मन्त्रालयले यो शिर्षक संसोधन गरेर रकम खर्च गर्ने अनुमति पाऊ भनी अर्थ मन्त्रालयलाई पत्र लेखेको रहेछ। एकातिर स्पष्ट नीति छैन भने अर्कोतिर बजेट र कार्यक्रम पनि छैन। भएको कार्यक्रम पनि शिर्षक नमिलेर खर्च नभएको स्थिति छ। यस्ता धेरै प्राबिधिक समस्याहरुलाई हाल गर्न सम्वन्धित निकायहरुसंग छलफल गरेर प्रक्रिया अघि बढाइन्छ।

हाम्रा धेरै युवा बैज्ञानिकहरु विदेश पलायान भई राखेका छन् । तर भर्खरै यो मन्त्रालय र नास्टले बिदेशमा कार्यरत वा विदेशवाट स्वदेश फर्केको १ बर्ष अवधि ननाघेका बैज्ञानिकहरुको लागि “फर्क है फर्क बैज्ञानिक, तिमीलाई डाक्छ नेपाल” कार्यक्रम संचालनमा ल्याएको छ । अव यी बैज्ञानिकहरुलाई घर फर्काएर के साच्चै बैज्ञानिक अनुसन्धानमा सरकारले लगाउन सक्छ त ? यस बारेमा के योजना छ ?

होइन यो नास्टले अघि सरेको नारा मैले पनि हेरे। यसो हेर्दा नारा मिठो र संगीतमय छ। तर नाराले मात्रै मान्छे फर्किने होइन, कार्यक्रम चाहियो नि। पहिले त यही देशमा भएका वैज्ञानिकहरु र अनुसन्धानकर्ताहरु जे जति छन् तिनीहरुलाई बाहिर नजाने बातावरण सिर्जना गर्न अध्ययन अनुसन्धानको अवसर सिर्जना गर्न सक्नुपर्यो। नाराले मात्रै बाहिरबाट कोहि आउने पनि होइनन र पलायन हुनेवाट रोकिने पनि होइनन। भोलि यहाँ आईसकेपछि उनीहरुलाई पनि केहि अवसर दिन सक्नुपर्यो र यहाँ भएकालाई पनि अवसर दिन सक्नुपर्छ। खाली नारा मात्र नदिएर मात्र हुदैन। यही पनि धेरै राम्रा-राम्रा बैज्ञानिकहरु र अनुसन्धानकर्ताहरुले अवसर नपाएको स्थितिले गर्दा पहिला देशभित्र नै भएकालाई सम्बोधन गर्न सक्नुपर्छ। यहाँ धेरै क्षमता भएका प्रोफेसरहरु, प्राज्ञहरु, बैज्ञानिकहरु र अनुसन्धानकर्ताहरुले उचित अवसर नपाएर खाली राजनीतिक दलका झोला बोकेर हिड्ने प्रतिनिधिहरुको भागबण्डाले मात्र बिश्वबिधालयहरु लगायत अन्य शैक्षिक तथा बैज्ञानिक संस्थाहरुमा बर्चस्व कायम भयो भन्ने आमरुपमा सिर्जना भएको ठुलो जनगुनासोलाई पहिला सम्बोधन गर्न सक्नुपर्छ। यो-यो बिषयमा हामी तपाईहरुलाई अध्ययन अनुसन्धानमा लगाउन सक्छौ भनेर बिश्वास दिन सक्नुपर्छ। समग्रमा मुख्य कुरा भनेको राज्यले नै स्पष्ट रुपमा ठोस नीति र कार्यक्रम ल्याएर उनीहरुलाई आकर्षित गर्न सक्ने वातावरण सिर्जना गर्न सक्नुपर्छ। यो बिषयमा सम्वन्धित निकायहरुमा व्यापक छलफल गरेपछि मात्रै ठोस निष्कर्षमा पुग्न सकिन्छ तर शुरुवात चै रामो भएको मान्नैपर्छ।

धेरै बिकसित देशहरुमा त्यहाँको सरकारले विज्ञान र प्रविधिको क्षेत्रका अनुसन्धानकर्ताहरु, विज्ञहरु, बैज्ञानिकहरु, प्रोफेसरहरुसँग सल्लाह र सुझावहरु लिएर अघि बढ्ने गर्छ । यो बिषयमा तपाईको कसरी अघि बढने योजना छ ?

शुरुमा यो मन्त्रालयमा आउनु भन्दा अघि मैले प्रधानमन्त्रीलाई भनेको थिए यो मन्त्रालय धेरै राम्रो हो र यो मन्त्रालयको महत्व पनि बढी छ तर अव यसमा जाँदा खेरी के मलाई नीति तथा कार्यक्रम अघि सार्दा प्रधानमन्त्री, अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगको पुरा सहयोग हुन्छ त भनेर मैले भन्दा उहाँले जवाफमा उहाँले मैले यो मन्त्रालयमा केहि गरुला भन्ने लागेतापनि मैले अहिले भ्याउन नसक्ने स्थिति भएकोले गर्दा तपाई धेरै अनुभवी भएकोले गर्दा तपाईलाई पुरा सहयोग हुनेछ भन्ने आश्वाशन भएकोले गर्दा म थप उत्साहित छु केहि गर्न सकिन्छ भनेर तर महत्वपुर्ण कुरा काम गर्ने समयको लागि देशमा राजनीतिक स्थिरता चै हुनुपर्छ। म विज्ञान र प्रविधिको क्षेत्रका अनुसन्धानकर्ताहरु, विज्ञहरु, बैज्ञानिकहरु, प्रोफेसरहरुसँग सल्लाह र सुझावहरु लिदै छु र लिएर पनि अघि बढने छु।

नेपालमा राजनीतिक दलहरु र हुने मन्त्रीको लागि पनि अझसम्म विज्ञान र प्रविधि मन्त्रालय किन रोजाईको मन्त्रालय हुन नसकी हेलाको मन्त्रालयको रुपमा हेरिन्छ ?

कुनै पनि संस्थाको नेतृत्व महत्वपुर्ण कुरा हुनाले सस्था राम्ररी अघि बढ्न त्यसको जनशक्तीहरु र नेतृत्वपंक्ति सवल र प्रतिबद्ध हुनैपर्छ। नेपालमा मैले २०५३ सालमा कानुन तथा न्याय मन्त्रालयको जिम्मेवारी समाल्दा पनि त्यो मन्त्रालय कुनै राजनीतिक दल र मन्त्रीको रोजाईको मन्त्रालय थिएन र म मन्त्री हुँदा त्यो कम प्राथमिकताको मन्त्रालय थियो। मैले त्यहाँ ३ पटक काम गर्दा धेरै सुधार गरे र अहिले त्यो मन्त्रालय सबैको रोजाईको मन्त्रालय भएको छ। अव त्यसपछि म खानेपानी तथा सफाई मन्त्री हुँदा एउटा महाशाखाको रुपमा मात्र रहेको थियो। मैले त्यसमा जम्मा ७ महिना मात्रै काम गरेर धेरै सुधार गरेपछि अहिले त्यो पनि रोजाईको मन्त्रालय भएको छ। मलाई गर्व लाग्छ अहिले राजनीतिक दलहरु र हुने मन्त्री हुनेले पनि खानेपानी मलाई चाहियो भनेर भन्न थालेका छन। अव यी सबै मन्त्रालयहरुमध्ये बिज्ञान र प्रबिधि मन्त्रालय बिषयगत हिसावले, आवश्यकताको हिसावले र विश्वब्यापी प्रयोगको हिसावले पनि यसको धेरै महत्व भएतापनि हाम्रो देशमा यसले ब्यबहारिक रुपमा गति हासिल गर्न सकेको छैन। मलाई के लाग्छ भने बिज्ञान र प्रबिधि मन्त्रालयलाई पनि सबैको रोजेको मन्त्रालय बनाउने मेरो सपना चाहिँ छ।

शहरी लगायत दुर्गम र ग्रामीण क्षेत्रमा लुकेर रहेका बिज्ञान क्षेत्रका सिर्जनसिल प्रतिभाहरुले हेलिकप्टर, गाडी, ड्रोन र मिसाईल बनाएका छन्। तर बिगतका सरकार, नास्ट र अन्य सरोकारवाला निकायले केहि सहयोग नगरेकोले विदेश पलायन हुने धारणा राखेका थिए। उनीहरुले गरेको बैज्ञानिक अध्ययन अनुसन्धान र आविष्कारलाई सहयोग गरी प्रोत्साहन गर्न के गर्नुहुन्छ ?

यसमा के छ थुप्रै कुराहरु गर्न बाँकी छ हेर्नुहोस मूल कुरा भनेको के हो भने जुनसुकै क्षेत्रका प्रतिभाहरुलाई उचित सम्मान र काम गर्ने वातावरण सिर्जना गर्ने कर्तव्य सरकार र सम्वन्धित निकायको हो। सवभन्दा धेरै बिज्ञान तथा प्रबिधि क्षेत्रमा गरेका नयाँ-नयाँ प्रविधिको अध्ययन-अनुसन्धान र आविष्कारहरु जस्ता राष्ट्रको सम्पतिलाई अघि बढाउन मन्त्रालय नयाँ कार्यक्रम तर्जुमा  गरेर अघि बढिनेछ। साच्चै प्रतिभा छन् भने तिनीहरुलाई राष्ट्रभरीवाट खोजिखोजी ल्याईनेछ र प्रोत्साहन स्वरूप सहयोग गरिनेछ। अव त्यस्ता प्रतिभाहरु सिधै मन्त्रालयमा आउँदा हुन्छ म यो कुरा तपाईको अनलाईन पत्रिका मार्फत उनीहरुलाई म अनुरोध गर्छु।

देश आर्थिक रुपले सम्पन्न भईसकेपछि मात्र विज्ञान र प्रविधिको विकास गरौंला भन्ने सोच राखियो भने हामी अझ धेरै समय पछिसम्म अरु देशसंग विज्ञान र प्रविधिको परनिर्भरतामा आश्रित हुनेछौ । अव तुरुन्त आगामी बर्षको बजेटमा यो मन्त्रालयसँग सम्वन्धित केहि राष्ट्रिय गौरवका आयोजनाहरु घोषणा गरेर अघि बढी हाल्नुपर्ने आवश्यकता देखिन्छ। यो बिषयमा कसरी अघि बढाउनुहुन्छ ?

देश आर्थिक रुपले सम्पन्न भईसकेपछि मात्र विज्ञान र प्रविधिको विकास गरौंला भन्ने सोच नै धेरै गल्ती हो। विज्ञान र प्रविधिको उचित विकास नगरेसम्म  देशको विकास भनेको कोरा कल्पना मात्र हो। हामीले चाहेको दिगो विकास लक्ष्य हासिल गर्न तुरुन्त सबै क्षेत्रको राष्ट्रिय कार्ययोजना हामीले तयार गरेर अघि बढनैपर्छ। यस मन्त्रालयको पनि राष्ट्रिय कार्ययोजना तयार गरिनेछ।

विश्वका धनी र गरीव देशहरूबीच रहेको आर्थिक खाडलको मूख्य कारण भनेको असमान् वैज्ञानिक योग्यता भएकोले विकासील देशले आर्थिक विकास गर्न वैज्ञानिक क्षमतालाई अनवरत रूपमा ज्यामितीय बृद्धि गर्दे लैजानु हाम्रो जस्तो देशको आवश्यकता हो । यो क्षेत्रको बिकासको लागि बजेटको अभाव नहुने कुरा पनि बताई सक्नु भएको छ । आगामी बर्षको बजेटमा विज्ञान र प्रविधिको क्षेत्रको बजेट तुरुन्त कसरी बढाउनु हुन्छ ?

यो क्षेत्रको बजेट अवश्य बढ्छ। मुख्य कुरा के हो भने अमेरिका, जापान, रुस, चिन र भारतले लामो समयपछि R & D वाट प्राप्त गरेको उपलव्धिले ल्याएको नयाँ अवधारणाहरुको ज्ञानलाई हामीले चाडै अवलम्वन गर्नेपर्छ। R & D वाट हुने योजनाबद्ध दिगो विकास बिना कुनै देशको विकास कल्पना गर्न नसकिने विश्वब्यापी तथ्यलाई स्वीकारेर अघि बढनैपर्छ। यो सब लक्ष्य हासिल गर्न प्रधानमन्त्री, अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगलाई बिश्वास दिलाई बजेट अवश्य बढाइनेछ।

भारत र चिनजस्ता ठुला उदियमान शक्तिले दुर्त गतिमा हासिल गरेको अन्तरिक्ष बिज्ञान र आणविक शक्तिको विकासको क्षेत्रमा ठुलो सफलता हासिल गरेतापनि हामी धेरै पछि छौ। अव नेपालले कस्तो रणनीति अपनाएर अघि बढ्छ?

आजको युग भनेको १८ औ. शताव्दीको जस्तो संसारमा हातहतियारमा प्रतिष्पर्धा गर्ने नभई हामी अहिले २१ औ. शताव्दीको बिज्ञान तथा प्रविधिको युगमा भएकोले यी दुवै छिमेकीसंग सहकार्य गरेर अघि बढनुको विकल्प छैन। नेपाल यी दुई महान छिमेकी राष्ट्रको वीचमा रहेको भाग्यमानी देश हो। यी दुवै मुलुकहरु  अपार सम्भावना अवसरका साथ अघि बढी रहेकोले यिनीहरुले गरेको बिज्ञान तथा प्रविधिको विकासको अवसरलाई उपयोग गरेर अघि बढ्नुपर्छ।

बिगतको सरकारको पालामा मुस्तांगमा युरेनियमको खोजीको लागि स्वयं उधोगमन्त्री पनि खानी तथा भुगर्भ विभागको टोलीसंग मुस्तांग गएर युरेनियम भेटिएको भन्ने धेरै चर्चा चलेको थियो। नेपालमा यस्ता धेरै खनिज पदार्थको खोज र अनुसन्धान गर्ने कर्तव्य त यो मन्त्रालयको पनि हो नि। यस बिषयमा यो मन्त्रालय कसरी अघि बढ्छ ?

अव सबभन्दा ठुलो कुरा खोज र अनुसन्धानको लागि राजनीतिक स्थिरता हुनु आवश्यकता  छ। यी सवै खनिज पदार्थको खोज र अनुसन्धानमा मन्त्रालयहरुले समन्वयकारी भूमिका अपनाएर कुन-कुन कुराहरु  कुन मन्त्रालयमा राखेर मुलुकको समग्र बिकासको लागि ब्यापक छलफल गरी दीर्घकालीन सोचका साथ अघि बढनुको बिकल्प छैन।

नेपालमा विज्ञान र प्रविधिको जनचेतना वृद्धि जुन रुपमा हुनेपर्ने थियो त्यो हुन सकेको छैन । बिज्ञान सम्वन्धित जनचेतनामुलक उल्लेखनीय कार्यक्रमहरु एफएम, रेडियो र टेलिभिजनहरुमा हुन सकेका छैनन् । धेरै बिज्ञान जिज्ञाषहरुको उचित बैज्ञानिक समाधान नहुँदा अझ पनि हाम्रो समाज रुढिवादी परम्परामा जडकिएको छ । यो क्षेत्रको प्रवर्द्धनको लागि के योजनाहरु छन ?

सबभन्दा पहिलो कुरा त देशमा राजनीतिक स्थिरता भएपछि राज्यले R & D मा बजेट बढाएर दिगो बिकासको अवधारणामा जानुपर्छ। निश्चित प्राथमिकताहरु निर्धारण गरी प्रतिबद्ध भएर अघि बढ्नुपर्छ । अवश्य पनि बिज्ञान तथा प्रविधिको प्रवर्द्धन गर्न जनचेतनामुलक उल्लेखनीय कार्यक्रमहरु एफएम, रेडियो र टेलिभिजनहरुमा हुन जरुरी छ । धेरै बिज्ञानका जिज्ञाषहरुको उचित बैज्ञानिक समाधान गर्न पुस्तक प्रकाशन गर्नुपर्छ र लेखहरु पत्र-पत्रिकामा पनि आउनुपर्छ । हाम्रो समाजमा रुढिवादी परम्परा भनिएका कुरामा त्यसपछि केहि बैज्ञानिक कारण जोडिएको छ कि भन्ने बारेमा र रुढिवादी कुराको बैज्ञानिक ब्याख्या गर्न खोज तथा अनुसन्धान हुनु जरुरी छ।

अहिलेका तपाई मन्त्री भएपछि विज्ञान तथा प्रबिधिको क्षेत्रमा अध्ययन-अनुसन्धान गर्नेहरु धरै आशावादी भएका छन् । साईन्स इन्फोटेक मार्फत के सन्देश दिन चाहनुहुन्छ उनीहरुलाई ?

म के भन्छु भने विज्ञान र प्रविधिको विकास गर्न मन्त्री, प्रोफेसरहरु, प्राज्ञहरु, बैज्ञानिकहरु र अनुसन्धानकर्ताहरु सबै मिलेर आ-आफ्नो ज्ञान, अनुभव र क्षमतालाई उपयोग गर्न देशमा विज्ञान र प्रविधि राष्ट्रिय नीति बनाउन हातेमालो गरेर अघि बढने समय आएको छ। आउनुहोस म  सबैलाई आव्हान गर्छु आशावादी भई देशको लागि साच्चै नै सहकार्य गरेर अघि बढौ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

%d bloggers like this: