कुनै पनि देशको विकासका लागि विज्ञान र प्रविधिको विकास अपरिहार्य – सचीव सर्वजीत प्रसाद महतो

 अन्तर्वार्ता

कुनै पनि देशको विकासका लागि विज्ञान र प्रविधिको विकास अपरिहार्य – सचीव सर्वजीत प्रसाद महतो

बैशाख ०९, २०७४   कुनै पनि देशको विकासका लागि विज्ञान र प्रविधिको विकास अपरिहार्य छ । धेरै नाराहरु लिएर बिज्ञान तथा प्रबिधि मन्त्रालय अघि बढेतापनि नेपालमा बिज्ञान तथा प्रबिधि क्षेत्रको विकास नारामा सिमित छ । तर विज्ञान तथा प्रविधि क्षेत्रकै अनुभवी विज्ञ  सर्वजीत प्रसाद महतो सचीव भएकोमा सरोकारवालाहरु सबै विज्ञान तथा प्रविधिको क्षेत्रमा केही हुने आशावादी भएका छन् । महतोले सन् १९८४ मा इन्डियन स्कुल अफ माइनबाट बिटेक इन माइनिङमा स्नातकोतर गर्नु भएको हो । त्यस्तै उहाँले नर्वेबाट पेट्रोलियम अन्वेषणमा स्नातक तथा आइटिसी नेदरल्यान्डबाट इन्जिनियरिङ जियोलोजीको समेत अध्ययन पूरा गर्नु भएको छ । खानी तथा भूगर्भ विभागमा ६ वर्ष महानिर्देशक भएर काम गरेपछि सचिव पदमा बढुवा भई शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा सचीव भएर केही महिना काम गरेपछि विज्ञान तथा प्रविधि मन्त्रालयको सचीवको रुपमा कार्यरत हुनुहुन्छ ।  उहाँ विज्ञान र प्रविधिको क्षेत्रमा भएको लगानीको प्रतिफललाई दीर्घकालीन रुपमा हेर्नुपर्ने बताउनुन्छ । बिगतमा राम्रो काम गरेर धेरैको प्रसंशा बटुलेका अनुभवी सचीव महतोसंग बिज्ञान तथा प्रबिधिको विकासको लागि भावी योजनाहरुको बारेमा केन्द्रित रहँदै  साईन्स इन्फोटेक अनलाईन पत्रिकाका प्रधान-सम्पादक गोपाल भण्डारीले  गरेको कुराकानी ।

१.  सचिवज्यू त विज्ञान तथा प्रविधि क्षेत्रको अनुभव विज्ञ पनि हुनुहुन्छ । यस क्षेत्रका सरोकारवालाहरुका सबै विज्ञान तथा प्रविधिको क्षेत्रमा केही हुने आशावादी भएका छन् । विज्ञान तथा प्रविधिको विकास गर्न कसरी अगाडि बढ्दै हुनुहुन्छ ?

विज्ञान र प्रविधिको विकासको लागि मन्त्रालय लगायत यससँग सम्बन्धित संस्थाहरुको क्षमता बढाउन जरुरी छ । यसका लागि मैले विभिन्न सरोकारवालाहरुसँग परामर्श गरिरहेको छु । त्यस्तै हामीले केही नीतिगत सुधारका कार्यहरु अगाडि बढाएका छौं । राज्यको पुनसंरचनासँगै तल्लो तहसम्म अध्ययन, अनुसन्धानलाई प्रभावकारी बनाउने संरचनागत तयारीमा समेत मन्त्रालयले काम गरिरहेको छ ।

२. विज्ञान तथा प्रविधि मन्त्रालयमा सचिवको रुपमा काम गर्दा के-कस्ता अवसरहरु र चुनौतीहरु छन् ?

विज्ञान र प्रविधिको क्षेत्रमा नेपालमा हालसम्म उल्लेखनीय काम हुन सकेको छैन । यस क्षेत्रमा काम गर्ने थुप्रै अवसरहरु छन्, मैले तिनै अवसरहरुको खोजी गरिरहेको छु । मन्त्रालयको पटक-पटकको गठन र पुनर्गठनले खडा गरेको अन्योलता, यस क्षेत्रमा राज्यको अत्यन्त न्यून लगानी जस्ता चुनौती विद्यमान रहेका छन् ।

३. २१ औँ शताब्दीलाई विज्ञान तथा प्रविधिको युग भनिन्छ । तर यो मन्त्रालयले धेरै नाराहरु अघि सारेतापनि नेपालमा विज्ञान तथा प्रविधिको विकास नारामा मात्र सिमित भन्छन् नि ?

मन्त्रालय कै समेत अस्थिरताले गर्दा नीतिगत रुपमा अगाडि सारिएका धेरै कामहरु विगतमा हुन सकेनन् । विज्ञान र प्रविधिको क्षेत्रमा भएको लगानीको प्रतिफललाई दीर्घकालीन रुपमा हेर्नुपर्दछ । तुरुन्तै प्रतिफल प्राप्त नहुन पनि सक्दछ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान लगायतका संस्थाबाट कतिपय राम्रा कामहरु भएका छन् । मन्त्रालयले नीतिगत रुपमा समन्वय गरिरहेको छ ।

४. आगामी वर्षको बजेटमा विज्ञान तथा प्रविधिको विकास गर्न के-कस्ता नयाँ योजनाहरु समावेश गर्दै हुनुहुन्छ ?

आगामी वर्षको लागि हामीले यो वर्ष सुरु गरेका नीतिगत सुधारलाई पूर्णता दिने कार्यलाई मुख्य रुपमा जोड दिनेछौं । विद्यालय स्तरदेखि नै विज्ञान शिक्षाको पठन-पाठनलाई प्रभावकारी बनाउन विज्ञान अध्ययन केन्द्र स्थापना गर्ने नास्ट लगायतका संस्थाको क्षमता विकासका कार्यक्रमहरुलाई अगाडि बढाइनेछ ।

५. विज्ञान तथा प्रविधि क्षेत्रमा अनुसन्धानकर्ता र ग्रामीण भेगका युवा प्रतिभाहरुका लागि के-कस्ता योजनाहरु ल्याउँदै हुनुहुन्छ ?

नेपालमा ग्रामीण  स्तरसम्म अध्ययन अनुसन्धानको लागि आवश्यक पूर्वाधारहरु पुगेको छैन । हामीले विद्यालय स्तरदेखि नै विज्ञान शिक्षालाई प्रभावकारी बनाउने र विद्यालयमा सुविधा सम्पन्न प्रयोगशाला बनाएर समुदायलाई समेत जोड्न चाहिरहेका छौं । सबै प्रदेशहरुमा कम्तीमा एउटा सुविधा सम्पन्न प्रयोगशाला बनाउने कार्यक्रमलाई अगाडि बढाउन लागिरहेका छौं ।

६. विज्ञान तथा प्रविधि क्षेत्रमा धेरै विज्ञहरुले पनि नास्टलाई दिईने बजेट पर्याप्त मात्रामा छुट्टाउन  सकिएको छैन भन्ने गुनासो पनि छ । आगामी वर्षमा के नास्टको बजेट बढ्छ त ?

नास्ट धेरै वैज्ञानिकहरुले काम गर्ने थलो हो । नास्टको क्षमता विकास गर्न मन्त्रालय तत्पर छ । विगतमा नेपाल सरकारको दोश्रो प्राथमिकतामा रहेको यस कार्यक्रमलाई यस वर्षदेखि हामीले पहिलो प्राथमिकतामा राखेका छौं । सम्भव भएसम्म बजेट समेत वृद्धि गर्ने प्रयासमा मन्त्रालय रहेको छ ।

७. स्थानीय तहको गठन भई सकेको अवस्थामा ७ वटै प्रदेशका वैज्ञानिक अनुसन्धानका लागि भौतिक पूर्वाधार कसरी सम्भव हुन्छ ?

नेपालको संविधानले ३ तहका सरकारको कर्यक्षेत्र स्पस्ट गरेको छ । संविधानका अनुसूचीमा उल्लेखित अधिकारको सूचीलाई नेपाल सरकारले गरेको विस्तृतीकरणको आधारमा नै प्रादेशिक तहमा विज्ञान र प्रविधिका पूर्वाधार विकास गर्दै जाने हो भने स्थानीय तहमा समेत पूर्वाधार विकास अपरिहार्य रहेको छ ।

८. विज्ञहरु विगतदेखि नै नास्ट र विज्ञान तथा प्रविधि मन्त्रालय बीच आपसी शीतयुद्ध रहेको छ भन्छन् नि ?

नीतिगत समन्वय मन्त्रालयले गरिरहेको छ भने कार्यगत रुपमा नास्टले स्वायत्त रुपमा काम गरिरहेको छ । मन्त्रालय र नास्टबीच समन्वयमा नै काम भईरहेको छ ।

९. देशको माटोलाई सुहाउँदो कुन चाहिँ वैज्ञानिक अनुसन्धान अगाडि बढाउन मन्त्रालय अग्रसर हुँदैछ ?

मन्त्रालयले यस अगाडि नै विज्ञान र प्रविधिका ५ वटा क्षेत्र, अन्तरिक्ष प्रविधि, सुक्ष्म प्रविधि, परमाणु प्रविधि, सूचना प्रविधि र जैविक प्रविधिमा छुट्टा छुट्टै सल्लाहकार समिति गठन समेत गरेको छ । यी नै विधामा थप नीतिगत र कार्यक्रमहरु विस्तार अहिलेको प्राथमिकता हो ।

१०. ग्रामीण दुर्गम क्षेत्रमा विज्ञान तथा प्रविधिको विकासका लागि प्रत्येक आर्थिक वर्षमा रकम छुट्याइन्छ । तर यस वर्षको बजेट पनि खर्च हुने नसकी फिर्ता भयो भन्ने सुनिन्छ नि ?

तपाईको भनाईमा आंशिक सत्यता रहेको छ । गत वर्षको पौषमा मात्र मन्त्रालयको पुनर्गठन भएको कारण समेत त्यस्तो अवस्था आएको हो ।

११. नेपालमा विज्ञान विषय पढ्ने विद्यार्थीहरुको संख्या जम्मा ८ % मात्र छ । तर केहि समय अघि मन्त्रालयले १५% पुर्याउने लक्ष्य अघि सरेको छ । यो लक्ष्य हासिल गर्न कसरी मन्त्रालय अघि बढी रहेको छ ?

कुनै पनि देशको विकासका लागि वैज्ञानिक र प्राविधिक जनशक्तिको विकास पहिलो शर्त हो । संसारका धेरै विकसित देशमा जनसाधनको ठूलो हिस्सा प्राविधिक ज्ञान र सीपयुक्त रहेको हुन्छ । नेपालमा विज्ञान शिक्षाका पूर्वाधार केहि सिमित शहरी क्षेत्रमा केन्द्रित रहेको छ । तसर्थ ग्रामीण  स्तरसम्म पूर्वाधार विकास गर्ने र विज्ञानका विद्यार्थीहरुलाई सहुलियत र प्रोत्साहनका कार्यक्रम सँग-सँगै अगाडि बढाउन जरुरी रहेको छ ।

१२. विज्ञान प्रयोगशाला बनाउने बारेमा मन्त्रालयमा केहि फाइलहरु देखेको थिएँ, यसको बारेमा प्रक्रिया के हुँदैछ ?

हामीले कम्तीमा प्रत्येक स्थानीय तहमा १/१ वटा सुविधा सम्पन्न प्रयोगशाला तयार पार्ने सोच लिएका छौं । जसबाट आसपासका अन्य विद्यालय र समुदाय समेत लाभान्वित हुनसक्छ भन्ने हाम्रो ध्येय हो । यस वर्ष हामीले केहि विद्यालयमा प्रयोगशाला बनाउने निर्णय गरेका छौं । केहि प्राविधिक विषयले ढिला हुन गएको हो । अब केहि दिनमा यो कार्यक्रम अगाडि बढ्ने छ ।

१३. भर्खरै मन्त्रालय र नास्टले विदेशमा कार्यरत वा विदेशबाट स्वदेश फर्केको १ वर्ष अवधि ननाघेका वैज्ञानिकहरुका लागि “फर्क है फर्क वैज्ञानिक, तिमीलाई डाक्छ नेपाल” कार्यक्रम संचालनमा ल्याएको छ । अब यी वैज्ञानिकहरुलाई घर फर्काएर के साँच्चै वैज्ञानिक अनुसन्धानमा मन्त्रालयले लगाउन सक्छ त ?

नेपालभर अध्ययन अनुसन्धानको राम्रो अवसर नहुँदा नेपालका धेरै प्रतिभा विदेशी रहेका छन् । नेपालमै भईरहेका वैज्ञानिक प्रतिभालाई उपयुक्त अवसर प्रदान गर्ने र बाहिर गएका प्रतिभालाई नेपाल फर्केमा यो यो अवसर दिन्छौं भनेर कार्यक्रम अगाडि बढाउन जरुरी छ ।

१४. नेपालमा विज्ञान र प्रविधि मन्त्रालय किन रोजाईको मन्त्रालय हुन नसकी हेलाको मन्त्रालय बहेको होला ?

कुनै पनि देशको विकासका लागि विज्ञान प्रविधिको विकास अपरिहार्य छ । सरकारले यो क्षेत्रलाई उच्च प्राथमिकता दिन जरुरी छ । आशा छ भोलीका दिनमा यो मन्त्रालय पहिलो रोजाईको मन्त्रालय बन्ने कुरामा म विश्वस्त छु ।

१५. शहरी लगायत दूरदराज र ग्रामीण क्षेत्रमा लुकेर रहेका विज्ञान क्षेत्रका सिर्जनसिल प्रतिभाहरुले हेलिकप्टर, गाडी, ड्रोण र मिसाईल बनाएका छन् । तर विगतमा मन्त्रालय, नास्ट र अन्य सरोकारवाला निकायले केहि सहयोग नगरेकोले विदेश पलायन हुने धारणा राखेका थिए । उनीहरुले गरेका वैज्ञानिक अध्ययन अनुसन्धान र आविष्कारलाई सहयोग गरी प्रोत्साहन गर्न के गर्नुहुन्छ ?

मन्त्रालयले त्यस्ता प्रतिभाहरुलाई सम्बोधन गर्न विशेष कार्यक्रम संचालन गर्ने गरी सोचका साथ कार्यक्रमहरु अगाडि बढाईरहेको छ ।

१६. यो क्षेत्रको विकासका लागि बजेटको अभाव नहुने कुरा मन्त्रीज्यूले पनि बताई सक्नु भएको छ । आगामी वर्षको बजेटमा विज्ञान र प्रविधिको क्षेत्रको बजेट कति प्रतिशत बढ्छ होला ?

मन्त्रालयले अनुभवी र परिपक्क नेतृत्व पाएको छ । माननीय मन्त्रीज्यूले हामीलाई स्पष्ट मार्गदर्शन गर्नुभएको छ । भोलीका दिनमा माननीय मन्त्रीज्यूको नेतृत्वमा मन्त्रालयको बजेट कार्यक्रम विस्तार हुने अपेक्षा गरेको छु ।

१७. भारत र चीन जस्ता ठूला उदयमान शक्तिले दुरता गतिमा हासिल गरेको अन्तरिक्षा विज्ञान र आणविक शक्तिको विकासको क्षेत्रमा ठूलो सफलता हासिल गरेतापनि हामी धेरै पछि छौं । अब मन्त्रालयले कस्तो रणनीति अपनाएर अघि बढ्छ ?

नेपालमा हालसम्म पनि पारमाणविक पदार्थको नियमन गर्ने कानून बनेको छैन । हामीले अहिले पारमाणविक पदार्थको नियमन गर्ने कानून बनाइरहेका छौं । यो कानूनको नियमनसँगै पारमाणविक पदार्थको उपयोग र विकासको लागि सम्भावनाको ढोका खुल्नेछ । अन्तरिक्ष विज्ञानको लागि वि. पी. कोइराला मेमोरियल प्लानेटोरियम अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिको क्षमता विकास गर्ने कार्यमा मन्त्रालय अगाडि बढिरहेको छ ।

१८. बिगतका सरकारका पालामा मुस्तांगमा युरेनियम भेटिएको भन्ने धेरै चर्चा चलेको थियो । हजुर त खानी तथा भूगर्भ विभाग डिजी पनि हुनु भयो त स्वयं यस क्षेत्रको विज्ञ पनि हुनुहुन्छ । यस विषयमा यहाँको के धारणा छ त ?

मुस्तांगमा युरेनियम खानीको सम्भावना देखिएको र यस विषयमा थप अध्ययन भईरहेको छ ।

१९. विज्ञान र प्रविधि सम्बन्धित जनचेतना जगाउने कार्यक्रमहरु एफएम, रेडियो र टेलिभिजनहरुमा हुन सकेका छैनन् । नेपालमा विज्ञान र प्रविधिको जनचेतना वृद्धि गर्न मन्त्रालयका के कस्ता योजनाहरु छन् त ?

नास्ट तथा वि. पी. कोइराला मेमोरियल प्लानेटोरियम अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिबाट टेलिभिजन तथा रेडियो कार्यक्रम संचालन भईरहेका छन् । मन्त्रालयले पनि विभिन्न अन्तरक्रिया, गोष्ठी, विज्ञान प्रदर्शनी जस्ता कार्यक्रम आयोजना गरिरहेको छ ।

२०. धेरै विज्ञान जिज्ञासाहरुको उचित वैज्ञानिक समाधान नहुँदा अझ पनि हाम्रो समाज रुढीवादी परम्परामा जकडिएको छ । यो क्षेत्रको प्रवर्द्धनको लागि के योजनाहरु छन् ?

शिक्षा र चेतनाको विकाससँगै क्रमशः समाजको रुढीवादी सोचमा परिवर्तन हुँदै आइरहेको छ । अझै पनि विज्ञान शिक्षाको विकास र चेतनामूलक प्रवर्द्धनात्मक कार्यक्रम संचालन गरी समाजमा वैज्ञानिक सोचको कदर र विश्वास जगाउन जरुरी छ ।

२१. अन्त्यमा, साइन्स इन्फोटेक मार्फत के भन्न चाहनुहुन्छ ?

विज्ञान र प्रविधिको विकासको लागि मन्त्रालयले अगाडि सरेको कार्यक्रममा हातेमालो गर्न र रचनात्मक सल्लाह सुझावको लागि अनुरोध गर्न चाहन्छु ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

%d bloggers like this: