Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

शिक्षा आत्मा हो र राजनीति शरीर हो – सांसद लक्ष्मण राजबंशी

अन्तर्वार्ता

शिक्षा आत्मा हो र राजनीति शरीर हो – सांसद लक्ष्मण राजबंशी 

बैशाख २२, २०७४ ।  लक्ष्मण राजबंशी बौद्धिक जनतान्त्रिक परिषद पार्टीका अध्यक्ष तथा सांसद हुनुहुन्छ । उँहा सिद्धार्थ वनस्थली स्कुलका संस्थापक प्रिन्सिपल पनि हुनुहुन्छ । सभामुख र उपसभामुखले राजीनमा दिएपछि जेष्ठ सदस्यका हिसावले संसद बैठकको अध्यक्षता पनि गर्नुभयो । दोस्रो संबिधानसभामा उँहा नेपा: राष्ट्रिय पार्टीवाट सांसद हुनु भएको हो । तर पछि उक्त पार्टीको नेतृत्वसंग नेपालको राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाभिमानको सवालमा बैचारिक, सैद्धान्तिक  र राजनीतिक रुपमा फरक मत राखेकोले कुरा नमिलेर उहाँलाई पार्टीवाट निष्काशन गरिएको थियो ।

लक्ष्मण राजबंशी
संसदको शुरु हुनुभन्दा अघि बैठकको अध्यक्षता गर्दै लक्ष्मण राजबंशी

लक्ष्मण राजबंशीको जन्म बि.सं. १९९२ साल श्रावण १५ गते काठमाडौं जिल्लाको  का.म.पा.-१६ मा भएको हो । उँहाका बाबुको नाम  स्व. बुद्धिबहादुर राजवंशी र आमाको नाम स्व. पूर्णकुमारी राजवंशी हो । उँहाकी श्रीमतीको नाम शोभना राजवंशी हो । राजबंशीले शिक्षाशास्त्रमा स्नातक तह र राजनीतिशास्त्रमा स्नातकोत्तर तहसम्मको अध्ययन गर्नु भएको छ । वि.सं. २००५ राजनीतिमा प्रवेश गरी ६ महिना भूमिगत जीवन, ८ महिना निर्वासन जीवन र पटक पटक गरी २ बर्ष बन्दी जीवन बिताएका राजबंशी मानवधर्मलाई अवलम्वन गर्नुहुन्छ । अमेरिका, चीन, रसिया, यूयोपका १ दर्जन भन्दाबढी देशहरु, जापान, भियतनाम, अस्टेलिया, कम्बोडिया, तिब्बत लगायतका देशहरुको भ्रमण गर्नुभएको छ ।

 

राजबंशी नेपाल भाषाका प्रसिद्ध कथाकार तथा निबन्धकार, साहित्यकार, लेखक, विगतमा नेपाल भाषा एकेडेमी–उप–कुलपति,शिक्षाबिद, शिक्षाप्रेमीतथा समाजसेवी,२०४६ सालमा शिक्षामन्त्रीको सल्लाहकार, ५२ वर्षशिक्षण, २८ वटा पुस्तक प्रकाशित, २ वटा पुस्तक प्रकाशोन्मुख, एस.एल.सी. जेलबाट दिनुभयो, सिद्धार्थ वनस्थली इन्स्टिच्युटका संस्थापक प्रिन्सिपल (४२ वर्ष), आनन्दकुटी बिधापिठमा १० बर्ष प्रधानाध्यापक, बिभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय सम्मेलन र गोष्ठीहरुमा सहभागिता, बिभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय पुरस्कारबाट पुरस्कृत हुनुहुन्छ ।

संसदमा सत्ता र शक्तिको पछाडि नभई नेपालको राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाभिमानको सवालमा कसैसंग पनि शिर नझुकाई अडान लिएर सच्चा नेपाली आमाको सांसदको रुपमा बुलन्द आवाज निरन्तर उठाउदै आउनु भएको छ । उँहाले आजसम्म आफ्नो शिर कसैसँग पनि झुकाउनु भएन । देशको राजनीतिक अवस्था, ठुला राजनीतिक दल र तिनका नेता, देशमा शिक्षाको बर्तमान अवस्थाका बारेमा केन्द्रित रहँदै  साईन्स इन्फोटेक अनलाईन पत्रिकाका प्रधान-सम्पादक  गोपाल भण्डारीले  गरेको कुराकानी ।

सर्वप्रथम संसदमा सत्ता र शक्तिको पछाडि नभई नेपालको राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाभिमानको सवालमा कसैसंग पनि शिर नझुकाई अडान लिएर सच्चा नेपाली आमाको सांसद हुनु भएकोमा म यहाँलाई हृदयदेखि सलाम गर्छु । त्यस अर्थमा हजुरलाई म नमन गर्छु । यस्तो साहस गर्ने आँट चै कहाँवाट आयो ?

सर्वप्रथम वास्तवमा म मेरो वाल्यकालको बारेमा केहि बताउन चाहन्छु । म राणाको व्यवहारवाट कुर्द भएको मान्छे । मैले जिन्दगीमा जुद्ध शम्शेर, पद्म शम्शेर र मोहन शम्शेर तीनै जना राणा प्रधानमन्त्रीको ब्यबहार भोगेको छु । मेरो बाल्यकालमा हाम्रो १०।१२ जनाको ठुलो परिवार तर हाम्रो घर चाही सानो डेढ तले मात्र थियो । त्यस समयमा पद्म शम्सेरको सिन्दुर जात्रा चाही हाम्रै घर मुनिवाट लैजानुपर्थ्यो र त्यो बेला ३ महिनादेखि हामीलाई घरवाट निकाली दियो र पालले पुरै घर ड्याम्म छोपिदियो त्यो बेलाको पीडाले मलाई घोचो । त्यसपछि फेरि मोहन शम्शेरको पनि सिन्दुर जात्रा हुँदा पनि हामीलाई घरवाट निकाली दियो । ठुलो परिवार के खाने कहाँ बस्ने एकदमै गाह्रो भयो । त्यसपछि राजनीति नबुझेपनि त्यो ब्यबहारले राणाप्रति ममा घृणा पैदा भई म बिद्रोही भए । पछि नेपाली कांग्रेसको क्रान्ति भयो म पनि जानी नजानी झण्डा लिएर म पनि हिडे । तर पछि मोहन शम्शेर प्रधानमन्त्री भएपछि नेपाली काँग्रेसको क्रान्तिप्रति बिश्वास हटेर घृणा पैदा भयो । पछि २००८ सालमा नेपाल कम्युनिष्ट पार्टीको जन्म भई म त्यसको संस्थापक सदस्य भए । जसले गर्दा मेरो राष्ट्र र जनताप्रतिको सच्चा राष्ट्रिय भावना अझ धेरै सवालीकृत हुदै गयो । कुनै अन्याय र अत्याचारको बिरुद्ध आवाज उठाउन मलाई गाह्रो नभएकोले म ६।७ पटक जेल जीवन बिताए । त्यसपछि एक जना शिक्षक भएकोले मैले हासिल गरेको शिक्षा के भने सत्य बोल्ने वानी बिद्यार्थी र सवैमा मानिसमा निडर भएर राख्ने कर्तव्य भएकोले अझसम्म आईरह्यो । अनि संसदमा बोल्दा पनि सत्ता र शक्तिको प्रभावमा नपरी नेपालको राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाभिमानको सवालमा कसैसंग पनि शिर नझुकाई अडान लिएर बोल्ने साहस ममा आईरहन्छ ।

स्वाभिमानी भई शिर ठाडो गरेर बाँच्न कतिको गार्हो रहेछ हाम्रो जस्तो देश नेपालमा ?

संसदमा बोल्दै लक्ष्मण राजबंशी

स्वाभिमानी मात्र होइन सत्य कुरा बोल्नु नै गाह्रो छ । के छ भने यो त जालै-जालोको जन्जाल भएको नाग पासो जस्तो भएको देशमा सत्य बोल्नु र स्वाभिमान जोगाउनु एकदम गाह्रो छ । फेरि जोगाएन भने साच्चा मानिस भएर बाच्न पनि गाह्रो छ । अहिले स्वाभिमान नेतामा र  शहरका मानिसमा बाँकी नभई पहाडका गाउँका सोझासाझा तल्लो तहका जनतामा मात्र बाँकी छ । शहरका मानिसहरु र बुद्धिजिवीहरु, मानव अधिकारकर्मीहरु, नागरिक समाजका मानिसहरु भनेका त अवसरवादी, स्वार्थी र डलरमा बिक्ने मात्र हुन् । साच्चै महान् र स्वाभिमानी मानिस भएर बाँचेको भनेको गाउँको किसान नै हो । यो देश बचाएको भनेकै ती गाउँका सोझासाझा तल्लो तहका गरीव जनताले हो ।

 

काठमाडौँमा जन्मेको मान्छे राजनीतिमा लाग्दा भूमिगत जीवन, निर्वासन जीवन कुन-कुन ठाउँमा बिताउनु भयो  ?

मैले अझसम्म ५५।५६ जिल्ला डुली सके । २०१७ सालपछि भारतमा निर्वासन जीवन बिताउनु पर्यो । दिनको ४ वटा चापटी, चनाको दाल एक कचौरा र दुई वटा हरियो खोर्सानी टोकेर दिन बिताउनु पर्थ्यो । त्यसपछि पार्टीले अव तिमीले सामान्तवादको बारेमा भित्रदेखि बुझ भनेर पठाएकोले ३ बर्ष पार्टीको अखिल किसान संघमा बसेर काम गरे । २०४५ सालमा पहिलो पटक चुनाव हुँदा कम्युनिष्ट पार्टीले मलाई पाल्पामा खटाएको थियो । लगभग ३ महिना त्यहाँ काम गर्दा अधिकांश मगरहरुको घरमा दिन बिताए । त्यसपछि काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न गाउँहरुमा भूमिगत जीवन बिताए ।

नेपालका लागि पुर्व चिनिया राजदुत याङ होयुलानसँग भेटबर्ता

आजसम्म शिक्षण-राजनीति, साहित्य-कला, लेखन, समाजसेवा धेरै अरोह-अवरोहका भोगाईका अनुभववाट भन्दा वास्तवमा जीवन के रहेछ ?

वास्तवमा जीवन भनेको के हो भन्न अत्यन्तै गाह्रो छ । मा पनि पहिला पहिला भन्ने गर्थे जीवन भनेको संघर्ष हो तर मलाई त्यस्तो पनि लागी रहेको छैन किनभने जीवनमा सघर्ष सधै गरिदैन । भईपरी आएको परिवर्तनले सिर्जना गरेको परिस्थितिसँग साक्षात्कार गरी अघी बढीरहनु नै जीवन हो । मानिसलाई परिस्थितिले परिपक्क बनाउदै लैजान्छ । परिस्थितिसँग हातेमालो गरी भविष्यमा आफ्नो आँखा अघि भएको सुन्दर सपना सजाएर अघि बढी रहनुपर्छ ।

 

 

राजनीतिमा लाग्दा भूमिगत जीवन, निर्वासन जीवन र पटक-पटक बन्दी जीवन पनि बिताउनु भएको थियो । सुनेको थिए एस.एल.सी. पनि जेलवाटै दिनुभएको थियो । यसको बारेमा छोटकरीमा बताई दिनुहोस न ।

होइन भएको के थियो भने त्यो बेला २००९ सालमा न्यून तलव भएका कर्मचारीहरुको ठुलो आन्दोलन भयो । उनीहरुको तलव ८।१० रुपैया मात्र महिनाको र सिपाहीको त ६।७ रुपैया मात्र महिनाको थियो । बिचरा उनीहरुले १ रुपैया मात्र तलव बढाई दिनुपर्यो भनेर माग गर्दा सरकारले दमन गर्यो । त्यसबेला म दरवार स्कुलको एसएलसी दिने कक्षा १० को बिधार्थी थिए । यो अन्यायको बिरुद्ध हामी बिधार्थीले पनि केहि गर्नुपर्यो हाम्रो बाबु पनि जागिरे भएपनि हामीले राम्रो खान र लगाउन पनि पाएको छैन हामीले पनि बोल्नुपर्यो नि भनेर साथीहरुलाई उक्साएर पुरा कर्फ्यु लागेको अवस्थामा पनि भूगोल पार्कमा गएर नारा लगाउदा प्रहरीले पकडेर जेलमा हाल्यो ।  तर हाम्रो एसएलसी परिक्षा छ हामीलाई जाँच दिने मौका दिनुहोस भनेर त्यहाँको प्रहरीलाई अनुरोध गरी पद्मोदय स्कुलमा केन्द्रवाट परिक्षा दिए । मैले बिएसम्मको परिक्षा जहिले पनि जेलवाट वा जेलवाट बाहिर आएर दिए । म कहिले पनि आनन्दसँग बसेर जाँच दिन पाईन ।

तपाईंको विचारमा देशमा सही अर्थमा लोकतन्त्र आएको छ त ?

बिल्कुलै आएको छैन । लोकलाई बिष हालेको तन्त्र पनि कहाँ लोकतन्त्र हुनसक्छ ? संबिधानमा फुल-बुट्टा भरेर मानव अधिकारको प्रत्याभूति, फण्डामेन्टल राईटको ग्यारेन्टी भनेको छ । संबिधान भनेको त प्राय: मृत अवस्थामा हुन्छ तर त्यसलाई प्राण भर्ने काम त सरकारको हो । सरकारले त्यसमा प्राण भरेन भने त्यसको केहि अर्थ हुदैन । लोकतन्त्रमा  जनतामा सार्वभौमसत्ता सम्पन्न  भनेतापनि कहाँ नेपाली जनता सार्वभौमसत्ता सम्पन्न हुन सकेको छ र ? संबिधानमा दफाहरू लेख्दैमा मात्र केहि हुदैन लोकतन्त्रमा त साच्चो अर्थमा संविधानको प्रभावकारी कार्यन्वयन हुनैपर्छ । यहाँ सवै पदहरु जस्तै न्यायाधीशहरु, विश्वविधालयका उपकुलपतिहरू, रेक्टरहरु, रजिष्टारहरु, राजदुतहरुको नियुक्ती गर्दा पार्टीहरुको अंशबण्डा, भागबण्डा र सिन्डिकेट हुन्छ । सरकारदेखि न्यायपालिकासम्म सवै भागबण्डामा चलेको छ । हुँदाहुदै संसदहरुको पनि खरिदबिक्री हुन्छ । संसददेखि मन्त्रीसम्म सवै खरिदबिक्री हुन्छ । यहाँ सवै पदहरु लिलाममा छन् । सवैमा भ्रष्टहरु, झोलेहरु, बिचौलियाहरु, माफियाहरु र दलालहरूको हालीमुहाली, बिगबिगी छ र उनीहरुलाई संरक्षण हुने गर्छ । संबिधान त यी ठुला पार्टीका नेताहरुले खेलौना भएको छ । आफुखुशी जे मन लाग्यो जहाँ पनि संबिधान संसोधन गर्छन ।  यो त लोकतन्त्रको ठाडो उपहास हो ।

तपाईले नै भन्नुभयो देशमा विभिन्न पार्टीका र ती सम्बद्ध नेताहरूको सिन्डिकेट छ, भ्रष्ट, झोले, बिचौलिया र दलालहरूको बिगबिगी छ । यस्तो विकृतिलाई चिर्न के गर्नुपर्ला ?

हेर्नुहोस यो बिकृति आफै आउने होइन सत्तामा बसिरहन र सरकारमा पक्कड कायम गर्न यस्तो हुने गर्छ । देश र जनताको भलाई भन्दा पनि वास्तवमा ब्यक्तीवादी स्वार्थ हावी हुने गर्छ ।  सवै जनताहरुले यस्ता  भ्रष्टहरु, झोलेहरु, बिचौलियाहरु, माफियाहरु र दलालहरूलाई संरक्षण गर्ने नेतालाई चिनेर भौतिक कारवाही गर्नैपर्छ । अव त यो २१ औ शताव्दीका संचेत सवै राष्ट्रवादी जनताहरु  र युवाहरुले खवरदारी गर्नैपर्छ । यस्ता नेताहरुलाई अव यस्तो काम गर्ने छुट दिनुहुदैन । यस्तो विकृतिलाई चिर्न देश र जनतालाई केन्द्रमा राखेर यो देशको माटो मुठीमा राखेर नेताहरुले कसम खाई प्रण गर्नैपर्छ । जव-जव अन्याय र अत्याचार बढ्दै जान्छ जनता चुप लगेर बस्दैनन् । स्वत-स्फुर्त सवै जनताहरु सडकमा आएपछि अहिलेका यी नेता भनाउदाहरुलाई देश निकाला गरेर प्रवासमा शरण लिएर बस्नुपर्ने स्थिति सिर्जना हुन पनि सक्छ ।

राजनीति भनेको समाजसेवा हो तर नेपालमा राजनीतिलाई फोहरी खेलको रुपमा लिइन्छ ? यसमा तपाइको धारणा के छ ?

होइन मैले बुझेको र पढेको सत्य कुरा के भने राजनीति भनेको त संसारको सर्वश्रेष्ठ नीति हो । जुन अहिले हामीले राजनीति भनी राखेका छौ यो राजनीति होइन यो त अराजनीति हो । यो अराजनीतिलाई राजनीति भनेर नेपाली जनताले बुझेकोले गर्दा जनतामा राजनीतिप्रतिको बितिषणा पैदा भएको हो । अव हामीले जनतालाई बुझाईदिनुपर्छ कि जुनबेला २००७ सालमा राणा हटाउन काँग्रेसले गरेको सशस्त्र आन्दोलन राजनीति थियो; जुनबेला २०४६ सालमा भएको सशस्त्र जनआन्दोलन राजनीति थियो; जुनबेला माओवादीले जनआन्दोलन गरे त्यो बेला त्यो राजनीति थियो । तर जव आन्दोलन सकेपछि त्यो राजनीति हुन नसकी अराजनीतिमा परिवर्तन भयो ।

सभामुख र उपसभामुखले राजीनमा दिएपछि जेष्ठ सदस्यका हिसावले संसद बैठकको अध्यक्षता पनि गर्नुभयो । कस्तो अनुभव रहयो ?

संसद बैठकको अध्यक्षता गर्दै लक्ष्मण राजबंशी

म जेष्ठ जेष्ठ संसद भएकोले गर्दा मैले संसद बैठकको अध्यक्षता गर्ने मौका पाए । यो पदमा म बसेर मैले खेलेको निष्पक्षपुर्ण महत्वपुर्ण भूमिकाले अन्य संसदले मलाई हेर्ने दृष्टिकोणमा नै आमूल परिवर्तन आयो । कसै-कसैलाई लागेको पनि रहेछ यसले कसरी आफ्नो जिम्मेवारी निभाउला भनेर शंका-उपशंका गरेका रहेछ । कांग्रेसका संसदहरुले सोचेका रहेछन यो त पुरानो कम्युनिष्ट मान्छे हामीलाई कसरी न्याय देला र भन्ने पनि रहेछ । एकपटकको कुरा हो मैले कांग्रेसका नेता रामचन्द्र पौडेललाई १५ मिनेट बोल्ने समय दिदा उँहाले १५ मिनेटमा नसकी २।३ पटक बोल्न चाडै सिध्याँउनुहोस् भन्दा पनि आनाकानी गरेकोले गर्दा मैले उँहालाई अलि चेतावनीपुर्वक भाषा प्रयोग गरेको थिए । भोलिपल्ट म संसद्को चम्बेरमा बसिरहेको थिए, रामचन्द्र जि आएर अलि गुनासो गर्नुभयो तर मैले उँहालाई भने तपाई म भन्दा पहिला नै सभामुख भै सकेर काम गर्नु भएको मान्छे तपाईले धेरै नै समय लिएर संसद्को मर्यादा उलंगन गर्न मिल्छ भनेर सम्झाए । त्यस्तै त्यो अर्को दिन नेकपा एमालेवाट बिद्या भण्डारीको बोल्ने पालोमा ५ मिनेट समय दिदा समय सकिने बितिकै तपाईले चाडै सिध्याउनुहोस् भन्दा उँहाले थवक्क सिध्याएर जानुभयो । त्यसपछि संसद्को लहरमा अगाडी अध्यारो मुख लगाएर बसी रहेका रामचन्द्र पौडेलको मुख उज्यालो भएर आयो । त्यसपछि उँहालाई मलाई मात्र नभएर सवैलाई समान ब्यबहार भयो भन्ने महसुस भएछ ।

जीवनमा शिक्षा र राजनीतिमा के कस्तो अन्तरसम्वन्ध रहेको छ ?

वास्तवमा शिक्षा र राजनीति एक अर्कावाट छुटटाउनै नसकिने शरीर र आत्मा जस्तै हुन् । शिक्षा आत्मा हो र राजनीति शरीर हो ।  तपाईले यदि राम्रो शिक्षा पाउनु भएको छ भने तपाईको सबै क्रियाकलाप त्यही वाट संचालित हुन्छ । आत्मबिश्वासको आधार भनेको तपाइको शिक्षा नै हो । तपाईको जति बलियो शिक्षाप्रर्ति आस्था छ तपाईको आत्मबिश्वास त्यति नै बलियो भएर जान्छ । साच्चै भनेको हो मैले घमण्ड गरेर बढाई-चढाई गरी भनेको होइन; आजसम्म मैले कसैको अगाडि शिर झुकाएको छैन किनभने मैले बेईमानी गरेकै छैन । तपाईलाई थाहा होला केहि समय पहिला मलाई मधेशी पार्टीको एजेण्डालाई समर्थन गरी संबिधान संसोधनमा सहयोग गरिदिनु पर्यो भनेर त्यसबेलाको मेरो नेपा: पार्टीवाट नै मलाई दवाव आयो । मैले त्यो नमान्दा मलाई पार्टीवाट नै निस्काशन भएतापनि त्यसले मलाई केहि फरक नपरी मेरो बौद्धिक जनतान्त्रिक परिषद पार्टी निर्वाचन आयोगमा दर्ता भई नयाँ पार्टीको पो जन्म भयो । अहिले मेरो आफ्नै पार्टी भएकोले गर्दा म स्वतन्त्र रुपमा आफ्नो बिचार राख्न सक्ने भए । मैले मेरो आत्मालाई नबेचेको हुनाले मैले जिते ।

विश्वमा र नेपालमा कुन-कुन नेतालाई राजनेताको रुपमा मान्नुहुन्छ ?

राजनेता भनेको त्यो हो जसले आफ्नो व्यक्तिगत स्वार्थभन्दा पनि पहिला राष्ट्रलाई केन्द्रमा राक्छ ।  खास एउटा गुठ र पार्टीमात्र नभई उसले आफ्नो भन्ने सवै हो भन्ने भावानको अनुभुती दिन सक्छ ।   यसको आँखाले अरु केहि नदेखी राष्ट्र र जनता मात्र देख्छ र तिनीहरुको बारेमा मात्र सोच्छ । नेपालमा अझसम्म नेपालमा त्यस्तो कुनै राजनेता देखेको र पाएको छैन । म महात्मा गान्धी र नेल्सन मण्डेलालाई राजनेताको रुपमा मान्छु । तर जवाहरलाल नेहरुले आफ्नो छोरी इन्दिरा गान्धीलाई प्रधानमन्त्री बनाउनुपर्ने त्यसपछि उसको नातिलाई बनाउनुपर्ने जस्ता व्यक्तिगत र पारिवारिक स्वार्थबाट माथि उठ्न नसकेकोले गर्दा जवाहरलाल नेहरु राजनेता हुन सकेन ।

सर त शिक्षा क्षेत्रको धेरै अनुभवी विज्ञ पनि हुनुहुन्छ । हाल नेपालमा शिक्षाको अवस्था कस्तो छ ?

सिद्धार्थ वनस्थली स्कुलमा प्रिन्सिपलको रुपमा काम गर्दै

यो देश नेपाल बनाउने शिक्षा अझसम्म पनि आउन सकेको छैन । यो शिक्षाले देश बनाउदैन यसले त अमेरिका, बेलायत, क्यानाडा, अष्टेलिया, जर्मनी र जापान जान सक्ने मान्छे मात्र तयार परिराखेको छ । हामीले यस्तो शिक्षा चाहिन्छ जसले यो देशलाई र समाजलाई बुझ्ने र हाम्रो माटोलाई सुहाउने शिक्षा । डिग्री पास गरेको मान्छेलाई पनि यो देशलाई के  चाहिएको र जनताले के खोजेको छ भन्ने कुरा थाहा छैन । त्यसैले गर्दा ब्यबहारिक र गुणस्तरीय देशको माटोलाई सुहाउदो शिक्षामा जोड दिनैपर्छ । कृषि, जलस्रोत र बनजंगल क्षेत्रको विकास गर्ने शिक्षाका बिशेषज्ञता हासिल गरेका बिज्ञ तयार पार्ने शिक्षा चाहियो ।

नेपालमा निजी स्कुल र कलेजको प्रिन्सिपल भन्ने बितिकै शिक्षाविदको रुपमा तपाईको नाम अग्रपंक्तिमा आउछ । के नेपालका निजी शैक्षिक संस्थाहरुले गुणस्तरीय शिक्षा दिईरहेका छन् त ?

बिल्कुलै पनि छैनन । नेपालका निजी शैक्षिक संस्थाहरुले त अलि-अलि अंग्रेजी फरर बोल्न सक्ने  अमेरिका, बेलायत, क्यानाडा, अष्टेलिया, जर्मनी र जापान जान सक्ने जनशक्ती मात्र तयार परिरहेका छन् । ब्यबहारिक र देशको माटोलाई सुहाउने गुणस्तरीय शिक्षा दिईरहेका छैनन् ।

 

आम धेरै मानिसको जिज्ञासा तर हजुरको नितान्त व्यक्तिगत कुरा मैले सोध्नै पर्छ । हजुर त नेवार समुदायको मान्छे तर थर राजबंशी कसरी हुन गयो ?

म चाहि नेवार राजवंशी हु ।  तर यसको बारेमा खोज अनुसन्धान हुन सकेको छैन ।  तराईमा बस्नु हुने चौधरी, थारु र राजबंशी जसलाई पैसा हुँदा चौधरी र गरीव हुँदा थारु तथा वीचकालाई राजबंशी भन्ने चलन छ । मलाई लाग्छ हामी पनि त्यहि बंशवाट आएको हो की पछि हामी छुट्ययौ की जस्तो लाग्छ किनभने हाम्रो शरीर, अनुहार उनीहरुसंग ठयाक्कै मिल्छ । मेरो बुवाले भने अनुसार धेरै पहिला हाम्रो बंश चाहि मल्ल कालमा बनारसवाट आएको रे अनि त्यस समयमा दरवारमा सल्लाह दिनको लागि मान्छेको खोजी भई रहेको बेला हाम्रा सबभन्दा पहिला आउने पूर्वज चाहि धेरै विद्वान हुनाले  उहाँलाई बोलाई कुरा गर्दा राजाको चित्त बुझेकोले गर्दा उक्त राजाले छोरी दिई जुवाई बनाएर  पनौतीको नजिक पुर्कोटमा दरवार बनाएर राखेको भन्ने कुरा छ ।

एउटा सफल व्यक्तित्व भएको नाताले बताईदिनुहोस त सफलता कसरी प्राप्त गर्न सकिन्छ ?

सफलता प्राप्त गर्न पहिला कर्मनिष्ठ हुनुहोस् ।  पहिला आफ्नो रुचिको बिषय छान्नु होस् ।  D3  को सिद्धान्त अनुसार आफु लागेको क्षेत्रमा Determination, Dedication and Discipline हुनुपर्छ ।  जुन काममा तपाई लाग्नु भएको छ, त्यो काममा लगनशील भई निष्ठापुर्वक लागेर त्यसमा समर्पित हुनुहोस् ।  यसो गर्नाले सफलता कसरी प्राप्त गर्न सकिन्छ ।

लेखक, साहित्यकार, कथाकार तथा निबन्धकार पनि हुनुहुन्छ ? कतिवटा पुस्तकहरु प्रकाशित छ ?

२८ वटा पुस्तक प्रकाशित, २ वटा पुस्तक प्रकाशोन्मुख छन् ।

प्रिन्सिपल र सांसद हुँदा के कस्ता अवसरहरु र चुनौतीहरु छन् त ?

प्रिन्सिपल हुँदा आत्मगलानी हुदैन ।  प्रिन्सिपल ठुलो मान्छे नै होइन किनभने प्रिन्सिपल कसको अभिभावक भन्दा बिधार्थीको हो ।  ती बिधार्थीहरु भन्दा ठुलो मान्छे भनेर घमण्ड गर्नु भएन ।  तर सांसद हुँदा यो लोगोले आफै घमण्ड आउछ र केहि आत्मबिश्वास पनि आउछ ।  तर सांसद हुँदा अलि सम्मान पनि बढ्छ र समाज ले हेर्ने दृष्टिकोण अलिफरक हुन्छ ।   यी नेताहरु र सांसद हरुले देश र जनताको बारेमा उल्लेखनीय काम गर्न नसकेको हुनाले यो पदले गर्दा  आत्मगलानी पनि हुन्छ ।

जीवनमा भएका अविस्मरणीय र रमाईला क्षणहरुको बारेमा बताईदिनु होस् न ?

सवभन्दा ठुलो अविस्मरणीय क्षण भनेको स्वर्गीय राजा बिरेन्द्र र रानी  ऐश्वर्य आफै गाडी हाकेर सिद्धार्थ बनस्थली स्कुल आएको क्षण हो । सवभन्दा रमाईला क्षण चाहिँ स्कुलवाट एलसीमा बोर्ड फस्ट भएको क्षण हो ।

अरु भन्न छुटेका केहि कुराहरु छन ?

मलाई सवभन्दा चिन्ता लागेको बिषय के भने हाम्रो देशको राष्ट्रियता, स्वाभिमान तथा भौगोलिक अखण्डताको रक्षा गर्न हाम्रो राजनीतिक नेतृत्वको सवल भूमिका नदेखिएकोमा लाग्छ ।  हाम्रा राजनीतिक नेताहरु राजनेता हुन् सकेनन् ।

अन्त्यमा, साइन्स इन्फोटेक मार्फत के भन्न चाहनुहुन्छ ?

अव त अति नै भई सक्यो ठुला पार्टीका नेताहरु हो; जनता धेरै संचेत भईसके ।  जनतालाई ठग्ने काम अब बन्द गर ।  संबिधान कार्यन्वयन गरी देशलाई आर्थिक सम्वृद्धितिर लैजान धेरै ढिलो भई सक्यो  ।  सवभन्दा पहिला देशको आन्तरिक राजनीतिक दण्डलाई व्यवस्थापन गरी सवै राजनीतिक दलका नेताहरु आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देशको भलाई र उन्नतिको लागि एकजुट भएर अघि बढ्नुपर्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

%d bloggers like this: