सोह्र श्राद्ध

प्रभा आचार्य
प्रभा आचार्य

संस्कृति भनेको तत्काल सिर्जेर तयार हुने कुरा होइन। संस्कृति जान्न त्यसबेलाको सामाजिक, आर्थिक, राजनैतिक र धार्मिक व्यवस्थाको अध्ययन गर्नुपर्छ । त्यो गर्न प्राचीन-ग्रन्थ र परम्परा, गौरव र गरिमालाई बुझ्नु आवश्यक हुन्छ । त्यहीं सांस्कृतिक परम्पराको रुपमा श्राद्धलाई लिन सकिन्छ। श्राद्ध श्रद्धाको प्रतीक हो। पितृहरुको आत्मा शान्तिको लागि गरिने कर्मलाई श्राद्ध भनिन्छ ।

सधै सन्तानप्रति ध्यान दिने असल बाटोमा डोर्याउने मातापिताको अभावमा छोराछोरीले पानीबिनाको माछा झैं महसुस गरेका हुन्छन् । उनीहरूले सन्तानलाई नम्रतापूर्वक व्यवहार गर्न र भविष्यप्रति  कर्तव्यबोध गराउन अहोरात्र खटेका हुन्छन् । आफ्नो भोक कतिर्खालाई बिर्सेर सन्ततिहरुको परिपालनलाई सर्वोपरि ठान्ने मातापितालाई मृत्यु पश्चात् पनि छोराछोरीले प्रजापति(परंम्ब्रह्म) जस्तै मान्य सम्झन्छन । उनीहरूले पनि जीवनभर मातापिता, देवता, पितृ र अतिथिको सेवा गर्नु,  धर्मशास्त्रले बताए अनुसार पूजा गर्नु प्रमुख कर्तव्य हुन्छ । यस्ता कर्तव्यहरुमध्ये श्राद्ध पनि एक हो। शास्त्रमा बताइएको विधिअनुसार दर्श पौर्णमास(औशी पूर्णिमा) आदि श्राद्ध गर्नु सन्ततिको धर्म ठहर्छ । यसै सन्दर्भमा कात्यायनस्मृतिमा’श्राद्धं वा पितृयज्ञ:स्यात्’ भनी श्राद्धलाई पितृयज्ञ भनेको छ ।

भविष्य पुराणमा श्रद्धाले विधिपूर्वक पितृले पाउन् भनेर ब्राह्मणहरुलाई दिनु श्राद्ध भनेको छ । श्राद्धकल्पका अनुसार प्रेत र पितृलाई श्रद्धाले मनपर्ने वस्तु दिनुलाई श्राद्ध भनेको छ । जन्मदाता माता-पिता मृत्यु पश्चात् स्मृतिपटलमा राखेर उनीहरूप्रति सम्मान र श्रद्धा निरन्तर रहोस् भन्ने भावना राखेर श्राद्ध गरिन्छ । यम स्मृतिले पाँच प्रकारका श्राद्धहरुको वर्णन गरेका छन् । जसलाई नित्य, नैमित्तिक, काम्य, वृद्धि र पार्वण भनिन्छ । मृत्यु भएको महिना, पक्ष र तिथिमा गरिने तिथिलाई एकोद्दिष्ट तिथि भनिन्छ । यो वर्षमा एकपटक गरिन्छ।

भाद्रशुक्ल पूर्णिमादेखि घटस्थापनाको जमरे औशीका बिचका तिथिहरुमा गरिने श्राद्धलाई सोह्र श्राद्ध भनिन्छ। यो श्राद्ध पर्व  विषेशमा गरिने भएकाले यसलाई पार्वण वा महालय श्राद्ध पनि भनिन्छ । पार्वण श्राद्धमा पौर्णमास नछुट्याइ केवल मृतकको तिथिलाई आधार मानेर गरिन्छ। हिन्दू धर्ममा मातापिता र गुरुलाई ईश्वरको रुपमा आदर पूजा गरिन्छ । मातापिताको सेवा गर्नु सबैभन्दा ठूलो धर्म मानिन्छ । श्रद्धा र भक्तिकासाथ देवकार्य र पितृकार्य गर्नाले पितृको आशिर्वाद लाग्दछ ।

आश्विन पौर्णमासदेखि  ब्रह्माणको उर्जा तथा त्यस उर्जाको साथमा पितृप्राण पृथ्वीमा व्याप्त रहने विश्वास गरिन्छ । धार्मिक ग्रंथहरुमा मृत्यु पश्चात् आत्माको स्थितिलाई धेरै नै सुन्दर र वैज्ञानिक विवेचना गरेको पाइन्छ । मृत व्यक्तिको दाह संस्कार गरिसकेपछि मृतात्माले धारण गरेको वायु स्वरूपलाई प्रेत भनिन्छ। आत्माको त्यो अवस्था जो मृत्युपछि गरिने दशगात्र र षोडषी-सपिण्डीकरण गरुञ्ज्यालसम्मको अवस्थालाई प्रेतको संज्ञा दिएको छ। पुराणको अनुसार त्यो सुक्ष्म शरीर जुन आत्मा भौतिक शरीर छोडने बेलामा धारण गर्दछ। मृत आत्माभित्र पनि मोह, माया, भोक र प्यास जोडिएकै हुन्छ । सपिण्डन कर्म सकिएपछि मात्र पितृहरु थान्को लाग्दछन् भन्ने भनाई छ।

पितृपक्षको अवधीभर जुन तर्पण गरिन्छ जसले  पितृप्राणलाई तृप्ति मिल्छ । श्राद्धादि कर्ममा पिण्ड अर्पण गरिन्छ । पिण्ड दूधमा चामल पकाई त्यसमा सरोवर तील मिसाई बटारेर डल्लो पारेर बनाइन्छ । शुक्ल पक्षको प्रतिपदासम्म पितृ त्यो ब्रह्माण्डीय उर्जाको साथमा फर्किएर जाने लोकविश्वास रहेको छ । यसैले यस अवधीलाई पितृपक्ष भन्ने पनि गरिन्छ । यस पक्षमा गरिएको श्राद्ध पितृले पाउँनेछन् भन्ने मान्यता रहेको छ । जसले पवित्र आस्था र संयमपूर्वक पितृ श्राद्ध, पिण्डदान, तर्पण गर्दछ, उसलाई सुफल प्राप्त हुनुका साथै सन्ततिको पनि सुख, शान्ति र समृद्धि हुन्छ भन्ने मान्यता राखेको पाइन्छ।

मातापिता जीवनका आधार हुन् । प्रत्येक सन्तानलाई पितृको भार लागको हुन्छ र त्यो ऋण पुरा गर्नु सन्तानको कर्तव्य हो । पितृहरुले आफ्नालागि दिएको योगदानको कदरस्वरुप उँहाहरुको संस्मरण गर्ने प्रचलन छ । यसैले सोह्रश्राद्धको असिम महिमा छ। सन्तानले  पितृहरुको आत्माले शान्ति पावोस् भन्ने कामना गर्दछन्।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

%d bloggers like this: