Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

के हो विज्ञान ? 

Gopal Bhandari
गोपाल भण्डारी

आजको युग भनेको विज्ञान तथा प्रविधिको युग हो । कुनै पनि देशको विकासका लागि विज्ञान र प्रविधिको विकास अपरिहार्य छ । मानिसले परापूर्वकालदेखि विज्ञान तथा प्रविधिको प्रयोग गरेको पाइन्छ । विज्ञान तथा प्रविधिलाई देशको विकास र समृद्धिको मेरूदण्ड मानिन्छ । यसको विकास बिना कुनै पनि राष्ट्रको प्रगतिलाई तीव्र पार्न सकिँदैन । विज्ञानले प्रविधिको विकासमा मद्दत गर्दछ भने स्तरीय प्रविधिले विज्ञान शिक्षालाई स्तरीय बनाउँछ । भनिन्छ, विज्ञान रूख हो भने प्रविधि त्यसमा फल्ने फल त्यसैले देशमा विज्ञानको विकास भयो भने मात्र देशभित्रै माटो सुहाउँदो आवश्यक प्रविधिको विकास गर्न सकिन्छ । हाम्रो देश नेपाललाई स्वावलम्वी बनाउँने आफ्नो माटोलाई सुहाउँदो प्रविधिको विकास गर्नु जरुरी छ । संयुक्त राज्य अमेरिका विज्ञान तथा प्रविधिको विकासले नै संसारको सबैभन्दा शक्तिशाली राष्ट्र बन्न पुगेको हो ।

कुनै विषय वा वस्तुको प्रयोग र अवलोकनमा आधारित क्रमिक अध्ययन ज्ञानलाई विज्ञान भनिन्छ । विज्ञान एक व्यवस्थित ज्ञान हो जसले ब्रह्माण्डका बारेमा परीक्षणयोग्य ब्याख्या र भविष्यवाणीहरूको ज्ञानलाई स्थापित र व्यवस्थित बनाउँछ । मानव जीवन विज्ञानसँग अलग हुन सक्दैन । अहिले हाम्रो चिन्तन पनि वैज्ञानिक हुन थालेको छ । विज्ञान प्रमाणमा आधारित हुन्छ । विज्ञान पारदर्शी पनि हुन्छ, यो विश्वव्यापी हुन्छ । विज्ञानले झुठो बोल्दैन, यो सत्यको खोजी हो । विज्ञान हाम्रो जीवनको लगभग हरेक पक्ष भाग हो । विज्ञान मनुष्य जातिको साझा सम्पदा हो । विज्ञान मानव सम्पदाको एक उल्लेखनीय उपलब्धि हो । सत्यको खोजी नै विज्ञानको प्रमुख लक्ष्य हो । विज्ञानले असाधारण कुरालाई सम्भव बनाउँछ । वास्तवमा भन्नुपर्दा विज्ञान शब्दको उपयोग प्रायः सधैं प्राकृतिक विज्ञानहरूको निम्ति गरिन्छ । यसमा भौतिकशास्त्र, रसायनशास्त्र र जीव विज्ञान पर्दछन । प्रकृति र बिज्ञान वीच गहिरो सम्वन्ध रहेको हुन्छ । विज्ञानमा बैज्ञानिकहरुले पहिला अवलोकन गर्छन । अनि त्यो किन कसरी भयो भनी प्रश्न गर्छन् । त्यसपछि परिकल्पना गर्न शुरु गर्छन् । त्यो परिकल्पना अनुसार धेरै पटक प्रयोग वा परीक्षण गरेपछि अन्त्यमा गएर बैज्ञानिक सिध्दान्त बन्छ ।

राहुल सांकृत्यायनको उक्ति ‘मानिसको इतिहासमा दर्शन जागेको बेला विज्ञान सुतेको हुन्छ र विज्ञान जागेको बेला दर्शन सुतेको हुन्छ’का विपरीत अब विज्ञान, दर्शन, धर्म, संस्कृति र अन्य ज्ञानका विधाहरू सँगसँगै जाग्ने बेला आएको छ । हाम्रो पूर्वीय दर्शनले कल्पना धेरै गर्‍यो, तर त्यसको परीक्षण गर्ने उपकरणको विकास गर्न सकेन । विज्ञानको अभावमा अन्य शास्त्रीय ज्ञानहरू टुहुरा हुन्छन् । यद्यपी हामीसँग बेदहरु भएतापनि विज्ञानको उचित विकास हुन सकेन । महान् वैज्ञानिक अल्वर्ट आइन्सटाइनले भनेका थिए, ‘धर्मबिना विज्ञान लंगडो र विज्ञानबिना धर्म अन्धो हुन्छ ।’ जहाँ बिज्ञान हुन्छ, त्यही प्रकृति हुन्छ र जहाँ प्रकृति हुन्छ, त्यही प्रकृतिको नियम नै विज्ञानको रुपमा परिभाषित हुनपुग्छ । प्रकृति वा सृष्टिको नियम भनेको बिज्ञान वा मानिसले स्थापित गरेको अध्ययनको एक शास्त्र हो । विज्ञानले आफै नियम बनाउन सक्दैन तर यसले प्रकृतिको नियमलाई उजागर गर्दछ जुन नियमलाई विज्ञानले आफ्नै उपमा दिएको हुन्छ र यसलाई नै विज्ञानको नियमले चिनिन्छ । विज्ञानको सैद्धान्तिक र प्रयोगात्मक ज्ञानलाई व्यवहारमा लागू गर्न सकिएमा मात्र गरिबी न्युनीकरणमा सहयोग पुग्ने कुरा बैज्ञानिकहरु बताउछन् ।

*गोपाल भण्डारी साईन्स इन्फोटेकका प्रधान-सम्पादक तथा अनुसन्धान तथा विकास प्रतिष्ठान नामक संस्थाका अध्यक्ष हुनहुन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

%d bloggers like this: