ॐ० उच्चारण र सृष्टिको अनुकम्पनको सम्वन्ध

ॐ वैदिक सनातन हिन्दु धर्मावलम्बीहरुले हरेक शुभ कार्यको प्रारम्भमा प्रयोग गर्ने मन्त्र हो । ॐ को उच्चारण विना कुनै पनि धार्मिक कार्य पूरा हुदैन । भनिन्छ, विना ॐ सृष्टिको पनि कल्पना गर्न सकिदैन । मान्यता के छ भने सम्पूर्ण ब्रह्माण्डबाट सदासर्वदा ॐ को ध्वनि निस्किरहेको हुन्छ ।

अ, उ, र म लाई पूर्ण शक्ति लगाएर अलग अलग उच्चारण गर्दा नाभि, छाति र सिरमा अलग अलग अनुकम्पन अनुभव गर्न सकिन्छ । तीनवटैको समवेत स्वरलाई नादब्रह्म भनिन्छ । यो मात्र एक यस्तो अनौठो शब्द हो जसलाई उच्चारण गर्दा जिब्रो चलाउनु पर्दैन । जिब्रोल कहीं नछोइ उच्चारण गर्न सकिन्छ ।

आचार्य रजनीशका अनुसार, सृष्टिको आदि अवस्थाका बारेमा अध्ययन गर्दा वैज्ञानिकहरु त्यसबेलाको कल्पना गर्दछन् जब पृथ्वी एकदम सुनसान थियो । ब्रह्माण्डका तारा र नक्षत्र बाहेक पृथ्वीलाई हेर्ने कोही थिएन । त्यस निरपेक्ष सुनसानमा पृथ्वीमा ध्वनि थियो । यस शब्दको आधार शंखभित्रको त्यस ध्वनिलाई मानिन्छ जसमा समुद्र लहराइरहेको सुनसान निस्तब्ध संसारको झलक पाइन्छ । त्यस भित्र पनि एक प्रकारको ध्वनि पाइन्छ जुन ओंकार नाद संग मिल्छ ।

प्राचीन शास्त्रहरुमा र वैदिक मन्त्रहरुमा ॐकार महत्वपूर्ण मानिएको छ । ओंकारलाई मन्त्रहरुको सेतु भनिएको छ । यो एकाक्षर मन्त्र हो तथा गम्भीर भाव र अर्थले भरिएको छ । परब्रह्मको प्रतीक हुनाले ब्रह्मको स्वरुप हो । प्रतीक भनेको कुनै वस्तु वा पदार्थको चित्र वा प्रतिमा हो । ब्रह्म सामान्य मनुष्यहरुको लक्ष्यमा आउन कठिन छ । त्यसलाई छोटकरीमा लक्ष्य गराउने एकाक्षर मन्त्र ॐ कार हो । यसैलाई बुझाउन स्वस्तिक आदि चिन्हहरुको आविष्कार गरिएका छन् । मन्तव्य वा विचारलाई मन्त्र भनिन्छ । ओंकार नै वास्तविक विचार गर्न योग्य वा बुझ्न योग्य छ । सब मन्त्रहरुमा ओंकारलाई पहिले लगाउनाले अर्थ भाव चमत्कारी हुन्छन् ।

खप्तडबाबाका अनुसार ओंमय ब्रह्माण्डको अधिष्ठान समेत ॐ हो । ब्रह्माण्डका व्यक्तिहरुको पृथक पृथक भाव भावको अन्तिम गति परब्रह्म हो । त्यसकारण त्यस परब्रह्मको ध्यान गर्दै अन्य मन्त्रहरुको भावार्थ सिद्ध गर्नु पर्छ । यस उच्च आशयद्वारा नै सब मन्त्रहरुको जप गर्नाले ॐकारको जुन आत्मा स्वरुप हो त्यसका संस्कारहरुलाई दृढ गर्दै लैजान्छ । ॐ एकाक्षर मन्त्र भए तापनि वर्णातीत र शब्दातीत भनिन्छ । एकाक्षर मन्त्रको सूक्ष्म अर्थ हो नाश नहुने यस्तो जो एक अद्वितीय ब्रह्म हो । त्यही नै एकाक्षर ब्रह्म हो ।

यो पनि पढ्नुहोस्  

के हो ॐ० शब्दको अर्थ ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

%d bloggers like this: