Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

के हो टाइफाईड ज्वरो ?

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

विषम ज्वरो आन्द्रासम्बन्धी ज्वरो हो । यो रोग मानिसमा मात्र पाइने सालमोनेला टायफी, सालमोनेला प्याराटाइफी ‘ए’ र सालमोनेला प्याराटाइफी ‘बी’ तीन प्रजातिद्वारा संक्रमित भई लाग्छ । नेपालमा भने सालमोनेला प्याराटाइफी ‘ए’ बढी मात्रामा पाइएको छ । जीवाणु ६० डिग्री सेल्सियस तापक्रममा नासिन्छन् । सालमोनेला कीटाणु पानीमा, फोहोरमा र मैलोमा बस्न मन पराउने हुँदा पानी मूलदेखि मुखसम्म पुग्दा दूषित हुन सक्छ । जथाभावी दिसापिसाब गरेमा, वातावरण दूषित गराएमा कीटाणु छिटो फैलिन सक्छ र कुनै तरिकाले पानीमा मिल्न गएमा पानी दूषित भई रोग फैलिने सम्भावना रहन्छ ।

सर्ने तरिका

रोगीको मलमूत्रको माध्यमबाट उत्सर्जित जीवाणुलाई झिँगाले, पानी, दूध र खानाजस्ता विभिन्न माध्यमबाट स्वस्थ व्यक्तिको शरीरमा प्रवेश गरी उसलाई रोगग्रस्त बनाउँछ । म्यादी ज्वरो पैmलाउने प्रमुख माध्यम पानी हो । जीवाणु दिसा तथा मुत्रको माध्यमबाट पानीमा मिसिई पानीलाई दूषित बनाउँछ र सो पानीको प्रयोगले स्वस्थ व्यक्ति पनि संक्रमित भई रोगी बन्छ । काँचो दूध, दूषित दूधबाट बनाइएका परिकारबाट यो रोग तीव्र रूपमा बढी फैलिने गर्छ । मलका रूपमा दिसापिसाबको प्रयोग गरिएका सागसब्जी दूषित हुने गर्छन्, जसलाई राम्ररी नपकाई वा काँचै खाँदा रोग सर्छ । माछा तथा घुँघी पनि यस रोगबाट संक्रमित हुने भएकाले यिनलाई राम्रोसँग नपकाई खाँदा रोग सर्न सक्छ ।

लक्षण तथा चिह्नहरू

टाइफाइडका कीटाणुले आक्रमण गरेपछि सुरुमा अल्छी लाग्ने, ज्वरो आउने, कब्जियत हुने, भोक नलाग्ने, जिउ भारी हुने, टाउकाको अगाडिको भाग बढी दुख्ने, पिठ्यूँ र पेट दुख्ने, घाँटी दुख्ने, जिब्रो सुख्खा देखिने र सेतो हुँदै जाने, हल्का खोकी लाग्ने, खान मन नलाग्ने, जाडो भएजस्तो हुने हुन्छ । कहिलेकाहीं बान्ता, हरियो रङको पखाला (काँचो केराउको झोल जस्तो) वा कब्जियत हुने, पेट फुल्ने, आँखा खोल्न नसकी सुतिरहने, नाथ्री फुटेर रक्तश्राव हुने ज्वरो क्रमिक रूपले बढ्दै १०४ डिग्रीभन्दा बढीसम्म आउने एवं ज्वरो माथि चढिसकेपछि आपैंm झरेर सामान्य अवस्थामा नआउने हुन्छ । ज्वरो सिँढी उक्ले झैं क्रमशः बढ्दै जान्छ । कमजोरी, वजन घट्ने र जलविनियोजन पनि हुन्छ । दसौं दिनतिर रोगीको शरीरमा गुलाबी रङका बिमिरा, डावर देखिन थाल्छन् । ती विमिराहरू बिस्तारै पटकपटक गरी गुजुमुज्ज परेर निस्कन्छन् । सो विमिरा छालामाथि उठेको देखिए पनि दबाउँदा हराएर जान्छ र पेटमाथि मुख्य रूपले देखिन्छ । विमिरा देखिएको चार दिनपछि हराएर जान्छ । शरीर थर्थरी काँप्ने, बिरामीको सुर हराउने सम्भावना पनि हुन्छ । फियो र कलेजो सुन्निन्छ । कतिलाई तेस्रो सातापछि रोग आफै ठीक भएर जान सक्छ भने कतिलाई आन्द्रामा प्वाल पर्ने र बिरामी बेहोस भई ज्यानै समेत जाने हुन सक्छ ।

व्यवस्थापन

टाइफाइडमा आन्द्रामा प्वाल पर्न सक्ने हुनाले ठोस खानेकुराले आन्द्रामा दबाब दिई थप क्षति नपु¥याओस् भनी झोल र नरम खानेकुरा खानुपर्छ । टाइफाइडका बिरामीले रोग नउल्टियोस् भन्नका लागि औषधिको पूरा मात्रा सेवन गर्नुपर्छ र ज्वरो पूर्ण रूपले निको नभएसम्म ओछ्यानमै आराम गर्नुपर्छ ।

कसरी बच्ने

बिरामीको मलमूत्रबाट रोग सर्न सक्ने हुनाले उचित तरिकाबाट उचित स्थानमा विसर्जन गरिदिनुपर्छ । बिरामीको हेरचाह गर्ने व्यक्तिले बिरामीसँग सम्पर्कमा आएलगत्तै राम्रोसँग हात धुनुपर्छ । ज्वरो निको भइसकेका व्यक्तिले पनि व्यक्तिगत सरसफाइमा रहने, खानेकुराको संसर्ग र ओसारपसार हुने ठाउँमा काम नगर्ने र दिसापिसाब परीक्षण गराई रोगको वाहक भए नभएको कुरामा ढुक्क भएपछि मात्र पारिवारिक संसर्ग तथा सार्वजनिक जीवन सुरु गर्नु उत्तम हुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

%d bloggers like this: