Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

मुख बाङ्गिने रोगको प्राकृतिक उपचार

Dr. Hemraj Koirala
डा. हेमराज कोइराला

अनुहारको एकापट्टिको भाग बाङ्गिने रोगलाई अनुहारको पक्षघात भनिन्छ । यो रोग अनुहारलाई स्नायूँ आपुर्ति गर्ने नशा फेसियल नर्भले स्नायु आपूर्ति सुचारु गर्न नसक्दा देखापर्ने गर्दछ । यो समस्याले प्रायः अनुहारको एकापट्टिको भागलाई मात्र प्रभावित गर्ने गरेता पनि प्रभावित भएकाहरुमध्ये एक प्रतिशतमा अनुहारको दुवैतिर पनि समस्या देखिने गरेको छ। एक लाख जनामध्ये २५ जनामा लाग्ने तथ्य रहेको यो रोग प्रायः गर्मी याममा भन्दा जाडोयाममा ज्यादा देखिने गरेको छ । पूर्व सूचना र संकेत बिनै अचानक लाग्ने र तत्काल उपचार नगरे व्यक्तित्व र सौन्दर्यतामा समेत दिर्घकालिन असर पार्ने यो रोगले ज्यानै लिई हाल्ने वा थला नै पारि हल्ने भने होइन । फेसियल नर्भले विशेषतः अनुहारको माँसपेशी, आँखाको ढकनी, र्याल ग्रन्थी, अश्रु ग्रन्थी र जिब्रोको दुई तिहाइ र अग्र भागलाई स्नायु आपूर्ति गर्दछ ।

मुख बाङ्गिने रोगको लक्षणहरु

१. प्रभावित भाग बाँङ्गिने र झुल्लिने ।

२. खाना चपाउन, झोल पिउन गार्हो हुन्छ । प्रभावित भागमा खाना गाला भित्र अड्किने वा मुखको छेउबाट चुहिने हुन्छ।

३. हाँस्न बोल्न गार्हो हुन्छ ।

४. अचानक अनुहारको माँसपेशीहरुमा कमजोरी आउँछ । आँखा बन्द गर्न गार्हो हुन्छ ।

५. अनुहारबाट व्यक्तिले आफ्नो भाव व्यक्त गर्न सक्दैन ।

६. कानको पछाडि पट्टि र चिउँडोमा पीडा, टाउको दुख्ने, मधुरो आवाज पनि चर्को सुनिने, स्वाद थाहा पाउन गा¥हो हुने, थुक्न गा¥हो हुने, मुख सुक्ने आदि लक्षणहरू देखा पर्दछ।

मुख बाङ्गिने रोगको मुख्य कारणहरु

फेसियल नर्भलाई क्षति पुगेर अनुहारको पक्षघात हुनुमा धेरै कारक तत्व हुन्छन् । अनुहारको पक्षघात धेरै जसो भाइरसको सङ्क्रमणले हुने गर्छ । यो भाइरसहरुमा अनुहार तथा गुप्ताङ्गमा जनै खटिरो गराउने हर्पिस सिम्प्लेस भाइरस, ठेउला गराउने हर्पिस जोस्टर भाइरस, भेरिसेल्ला जोस्टर, इन्फ्लुन्जा वा फ्लुको भाइरस, एब्सटीनबार भाइरस, साइटो-मेगालो भाइरस, फोक्सो तथा श्वासनलीमा सङ्क्रमण गर्ने एडिन भाइरस, दादुरा, रुघाखोकी गराउने भाइरसहरु पर्छन् । यसका अलावा लाइभ रोग, कमजोर प्रतिरक्षा प्रणाली, उच्च रक्तचाप, मानसिक तनाव, मनोवेग, चोटपटक, उपपचायी असन्तुलन, मधुमेह, गर्भावस्था, मस्तिष्कघात, ट्युमर र कानको सङ्क्रमण ले पनि यो रोग लाग्न सक्छ । यसका अतिरिक्त टयुमर र सिस्टहरुले अनुहारमा स्नायू आपूर्ति गर्ने नर्भलाई थिच्दा वा सुन्निएको नर्भ साँघुरो फेसियल क्यानलमा च्यापिदा स्यानु सञ्चरण सुचारु नहुँदा पनि अनुहारको पक्षघात हुन्छ ।

मुख बाङ्गिने रोगको जोखिम

यो रोग चार हजारमध्ये एक जनामा देखिने गरेको छ । यो रोगले जुनसुकै उमेरका मानिसलाई समात्न सक्छ । तैपनि रोगको चपेटामा परेकाहरू मध्ये मधुमेहको रोगी, गर्भवती तथा सुत्केरी महिला, नाक, कान र घाँटीको सङ्क्रमणमा परेकाहरु, उच्च रक्तचापका रोगीहरु, चिसो मौसमको सामना गर्न नसक्नेहरु, भर्खरै रुघा—मर्की र श्वास प्रश्वासको संक्रमण खपेकाहरू तथा कमजोर प्रतिरक्षा प्रणाली भएकाहरुमा यो रोगको जोखिम उच्च हुन्छ।

मुख बाङ्गिने रोगको निदान

लाक्षणिक निदान

मुख बाङ्गिएर अप्रभावित भाग पट्टि बटारीनु, प्रभावित भएको भागमा कमजोरी, टाउको दुख्नु तथा र्याल थुक र आँसुको श्राव, खाना खान र झोल वस्तु पिउन गार्हो हुनु, स्वाद लिन समस्या, अनुहारको भाव र भाषा व्यक्त गर्न कठिनाई प्रभावित भागपट्टिको कानको श्रवणशक्तिमा परिवर्तन, नाक, कान र घाँटीको सङ्क्रमणको।

मुख बाङ्गिने रोगको खोज तलास

विशेष रोगावस्थाहरु जस्तै एचआईभी सङ्क्रमण, ब्याक्टेरियाको सङ्क्रमण, लाइम रोग अन्य तन्तुसँग सम्बन्धित ट्युमर, कान पाक्ने समस्या, अनुहारमा चोटपटक, रगतको क्यान्सर, गुलेन बेरे सिन्डोम मुवियस सिन्डोम, मकरसन रोसेन्थल सिन्डोम, सारकोडोसिस, मस्तिष्कघात, मायोस्थेनिया ग्रेभिस र पक्षघात जस्ता कारणले अनुहारको पक्षघात भएको भए विशेष खोज विधि अपनाउनुपर्ने हुन्छ । यो रोग लागेको थाहा पाउने बित्तिकै जति सक्दो चाँडो चिकित्सक सँग सम्पर्क गर्नुपर्छ । रोगको उपचार प्रारम्भिक चरणमै हुनसके यसबाट हुने जटिलतालाई कम गर्न सकिन्छ । तर रोगको उपचारमा ढिलाई भएमा स्नायु संरचनामा व्यवधान आएर सधैँका लागि पक्षघात हुने खतरा रहन्छ ।

मुख बाङ्गिने रोगको जटिलता

यो रोगको बेलैमा उपचार हुन नसके अनुहारका मांसपेशी पूर्णरुपले निर्वल भई निष्क्रिय हुन पुग्छन् । स्वाद लिन गाहे हुने, आँखाको सङ्मण भइरहने जस्ता समस्या हुन्छ । रोग निको भए पनि स्यानकीनोसिस भन्ने समस्या देखापर्न सक्छ ।

मुख बाङ्गिने रोगको उपचार

अनुहारको पक्षघात कुनै विशेष कारणले भएको रहेछ भने कारण पत्ता लगाएर यथाविधि उपचार गर्नुपर्ने हुन्छ । रोगको कारण पत्ता नलागेको खण्डमा औषधोपचारको साथमा विशेष प्राकृतिक उपचार, केही सावधानी तथा होमकेयरको प्रबन्ध गरे रोगबाट चाँडै मुक्ति पाउन सकिन्छ ।

मुख बाङ्गिने रोगको प्राकृतिक उपचार

प्राकृतिक उपचारले यस रोगका रोगीको पुनस्र्थापनामा महत्वपूर्ण भूमिका खेल्छ । विशेषतः अकुपञ्चर, फिजियोथेरापी, टाउको तथा अनुहारको मालिस, जडीबुटीहरुको लेप, तातोले सेक्ने, मुखका मांसपेशीको कसरतले रोग निको पार्न विशेष भमिका खेल्छ।

(क) फिजियोथेरापी

विशेषतः पक्षघात भएका मांसपेशीलाई फेरडिक वा गेल्भनिक करेन्ट दिएर उत्तेजित गर्ने, अल्ट्रासाउण्ड गर्ने, अनुहारका मांशपेशीलाई कसरतले गराउने गरिन्छ। फिजियोथेरापीले पक्षघात भएको मांशपेशिलाई सुक्न दिदैन ।

(ख) व्यायाम

१. आँखा खोल्ने र बन्द गर्ने अभ्यास ।

२. आँखीभौँलाई तलमाथि गर्ने अभ्यास ।

३. मुस्कुराउे तथा हाँस्ने अभ्यास ।

४. मुखमा हावा भरेर मुख फुलाउने अभ्यास ।

५. सिट्टी बजाउने र बेलुन फुलाउे अभ्यास ।

६. ओठ लेप्रेयाउने र टोक्ने अभ्यास ।

७. आँखा तलमाथि र दाँयाबाँया गर्ने तथा घुमाउने अभ्यास ।

८. स्ट्रोले पानी पिउने र पिएको पानी ननिलिकन फोहोरा बनाएर फुक्ने अभ्यास ।

९. मुख बनाउने र दाह किट्ने अभ्यास ।

१०. दाँत देखाउने र ओठ गोलो बनाउने अभ्यास ।

११. नाक खुम्च्याउने र पोरा फुलाउने अभ्यास ।

१२. कुल्ला गर्ने अभ्यास ।

१३. च्यापुलाई दाँयाबाँया हल्लाउने अभ्यास ।

१४. चुइगम चपाउे अभ्यास ।

१५. निधारका मांसपेशीलाई खुम्च्याउने र छोड्ने अभ्यास ।

१६. बलेको मैनबत्तिलाई निभाउने अभ्यास ।

नोटः अनुहारको कसरत गर्दा ऐनाको साहयता लिएमा कसरत प्रभावकारी हुन्छ ।

मुख बाङ्गिने रोगको सावधानी र निगरानीहरू

१. रोगको लक्षण देखिने बित्तिकै जति सक्दो चाँडो चिकित्सकको सल्लाह अनुरूप उपचार सुरू गर्नुपर्छ । लक्षण देखिएको तीन–चार घण्टाभित्रै उपचार थाल्न पाइयो भने संभावित जटिलतालाई न्यूनिकरण गरी पुनस्र्थापनालाई प्रभावकारी बनाउन सकिन्छ।

२. जोखिममा परेकाहरुले उच्च रक्तचाप, उच्चरक्त कोलेस्टेरोल, ब्याक्टेरिया तथा भाइरसको सङ्क्रमण, कान पाक्ने रोग, रगतको क्यान्सर, नसा खुम्चिने रोग, पेरोटिड ग्रन्थीको टयुमर, नाक, कान र घाँटीको सङ्क्रमणले ग्रस्त भएकाहरुले विशेष सावधानी अपनाउनु पर्छ ।

३. यो रोग जाडो मौसममा ज्यादा घट्ने भएकाले जाडोबाट बचौँ । विशेषतः कनपट्टिको र टाउकोलाई चिसोबाट जोगाउँ । चिसो मौशममा बादरे टोपी लगाउने गरौ ।

४. रोग लागेर आँखा बन्द गर्न कठिनाई हुने भएकाले आँखाको नानीलाई बचाउन चश्मा लगाउनुपर्छ ।

५. आँखालाई सुख्खा हुन नदिन कृत्रिम आँसु हाल्ने गरौ।

६. रोग लागेकाहरुले पर्याप्त आराम गर्ने, राम्रोसँग निदाउने र पोषिलो खानेकुरा खाने गरौ ।

७. सुतेको बेला आँखालाई ढाकेर सुत्ने गरौँ ।

८. भावनालाई वसिभूत गरौँ, मनोबललाई उच्च राखौँ र सकारात्मक सोचाई राखेर अघि बढौ ।

*डा. हेमराज कोइराला योगी चितवनको भरतपुर-१, वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडीकल डाईरेक्टर हुन् ।

यो पनि पढ्नुहोस्

मुटु रोग र यसको उपचार

नसा च्यापिने समस्या र यसको उपचार

टाउको दुख्ने समस्या र यसको उपचार

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

%d bloggers like this: