Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

मधुमेह र यसको दीर्घकालीन उपचार

Dr. Hemraj Koirala
डा. हेमराज कोइराला

मधुमेह, डाइविटिज, चिनी रोग, सुगर जस्ता अनेकौं नामले परिचित यो रोगको मुख्य लक्षण भन्नुनै रगतमा ग्लुकोजको मात्रा बढ्नु हो । आठ दश घण्टाको उपवास पश्चात् लिइएको रगतमा यदि ग्लुकोजको मात्रा १२६ मि.ग्रा. प्रति डेसी लिटर (१०० मि.ली. रगतमा १२६ मि.ग्रा) भन्दा ज्यादा पाइएमा त्यस्ता व्यक्तिलाई मधुमेह रोग लागेको मानिन्छ । सामान्यतया: एउटा स्वस्थ व्यक्तिको रगतमा ८० देखी ११० मि.ग्रा. प्रति डेसीलिटर ग्लुकोज पाइन्छ । यदि ग्ललुकोजको मात्रा यो रेन्ज भन्दा ज्यादा भएमा हाईपर ग्लाइसिमिया भनिन्छ भने कम भएमा हाईपो ग्लाइसिमिया भनिन्छ । चिकित्सकिय परिभाषामा ती सम्पूर्ण रोगको अवस्थाहरुलाई मधुमेहको नामले सम्बोधन गरिन्छ जसले हाईपर ग्लाइसिमियाको साझा लक्षणलाई व्यक्त गर्दछन् ।

ग्लूकोज, रक्त ग्लूकोज र मधुमेह

ग्लूकोज हाम्रो शरीरको इन्धन हो । जसरी गाडीको ईन्जन चलाऊन पेट्रोलको आवश्यकता पर्दछ त्यसैगरी यो शरीर रुपी यो इन्जिन चलाउन पनि ग्लुकोजको आवश्यकता पर्दछ । हामीलाई कार्वोहाइड्रेट वर्गका, (गुलिया प्रकृतिका खाद्यान्न तथा फलफूलहरु) जस्तै चामल, गहुँ, मकै, कोदो फापर जस्ता अन्न, मुङ्ग मस्याङ्ग, मुसुरो, मास, रहडी, गहत, जस्ता दलहन,भट्टमास, केराउ, राजमा, बोडी, सिमी जस्ता गेडागुडी, आलु, पिँडालु, सुठुनी, तरुल, सिमल-तरुल जस्ता कन्दमुल चिनि, आटा, मैदाजस्ता खाद्य पदार्थहरु पाचन पश्चात ग्लूकोज बन्दछ र अवशोषित भई रगतमा पूग्दछ । थोरै मात्रामा ग्लूकोज शरीरभित्रै पनि उत्पादन हुन्छ । यदि भोजनमा ग्लूकोजजन्य खाद्यहरुको मात्रा कम छभने शरीरभित्र ग्लुकोज उत्पादन हुने क्रम बढ्छ । यसरी भोजनबाट प्राप्त र शरीरभित्रै उत्पादित ग्लुकोजले रक्त ग्लुकोजको मात्रा निर्धारीत गर्दछ । क्रियात्मक रुपमा स्वस्थ व्यक्तिको शरीरमा ८०–११० मि.ग्रा.प्रति डेसी लिटर (१०० मिली) ग्लूकोज पाइन्छ ।

यदि रक्त ग्लुकोज ले यी मान बिन्दुहरु नाघेर बढी भएमा हाइपर ग्लाइसिमिया र कम भएमा हाइपो ग्लासिमिया भएको भनिन्छ । मधुमेह हाइपर ग्लाइसिमियासँग सम्बन्धित रोग हो । चिकित्सकीय भाषामा ती सबै रोगावस्थाहरुलाई मधुमेहको साझा लक्षण लाई अभिव्यक्त गर्दछन् ।

कति भए मधुमेह हुन्छ ?

आठ दश घण्टाको उपवाश पश्चात लिइएको रगतमा यदि ग्लुकोजको मात्रा १२६ मि.ग्रा.डेली (१००मिली ग्राम) भन्दा ज्यादा भएमा वा ग्लुकोज जन्य खाद्यपदार्थहरु खाएको २ घण्टा पश्चात लिएको रगतमा ग्लूकोजको मात्रा २०० मि.ग्रा. डेली भन्दा ज्यादा पाइएमा त्यस्ता व्यक्ति लाई मधुमेह भएको मानिन्छ । यदि फास्टिङ्ग ब्लड ग्लुकोज ११०–१२६ मि.ग्रा. डे.ली.र पोष्ट प्रोन्डल ब्लड ग्लुकोजको १४०–१९९ सम्म भए मधुमेहको शुरुवाती लक्षण अथवा मधुमेहको जोखिम भएको मानिन्छ ।

मधुमेह जाँच विधि

मधुमेहलाई सुषुप्त हत्यारा (साइलेन्स किलर) को नामले पनि सम्बोधन गरिन्छ । साइलेन्ट भएको हुनाले यो रोग भूषको आगो जस्तो भित्रभित्रै सल्किएर एकैचोटी वृहत रूपधारण गरिसकेपछि मात्र देखापर्दछ । यसो हँदा रोग झ्याङ्गी सकेर रोगले निम्त्याएका जटिलता देखापरि सकेको हुन्छ । फलतः रोगको निधान बेलैमा हुन नसक्दा रोगीको स्वास्थ्य जीर्ण भैसकेको हुन्छ । यो रोगको जोखिममा परेकाहरुहरु वा पारीवारिक ईतिहास भएकाहरुले नियमित रुपमा रगत तथा पिसाब परिक्षण गराई रोग लागे नलागेको निक्र्योल गर्नुपर्ने हुन्छ । मधुमेह भए नभएको थाहा पाउन आठ दश घण्टाको उपवास पश्चात रगत तथा पिसाब र खाना खाएपछिको रगत जाँच लाई मुख्य आधार बनाइन्छ । यसका अलावा ग्लाइकोसिलेटेड हेमोग्लोबिन – (HBA1C) टेष्ट पनि गरिन्छ ।

फास्टिङ्ग (खालीपेटको) तथा पोष्ट प्राण्डल (खाना पछिको) ब्लड ग्लुकोज जाँच ग्लुकोज यो परिक्षणबाट रोगीको रक्त पत्ता लगाई उसलाई मधुमेह भए नभएको निक्र्योल गरिन्छ । रक्त परिक्षण भन्दा पहिलो दिन रोगीलाई कार्वोहाइड्रेट (भात, रोटी) खानेकुरा खान जोड गरिन्छ । भिटामिन सी, एस्प्रीन दुखाई कम गर्ने औषधी, गर्भनिरोधक चक्कि नाईसिन ट्याब्लेट जस्ता औषधी खाएर ग्लुकोज परिक्षण गर्दा सहि परिक्षण हुन नसक्ने हुँदा यस्ता दवाई खाएर रक्त परिक्षण गर्न हुँदैन । फास्टिङ्ग, रक्त ग्लुकोज परिक्षण गराईसकेपछि भरपेट खाना वा ७५ ग्राम ग्लुकोज खाएर त्यसको २ घण्टापछि पुनः रगत निकालिन्छ तर खाना वा ग्लुकोज खाएर रगत ननिकाल्दा सम्म कुनै पनि शारिरीक व्यायाम, मानसिक तनाव हिड्ने चल्ने जस्ता क्रियाकलाप गर्नुहुँदैन ।

ग्लाइकोसिलेटेड हेमोग्लोबिन परिक्षण (HbA1C Test)

फास्टिङ्ग तथा पोस्टपाण्डल ब्लड ग्लुकोज चेक गर्दा मानसिक तनाव, इमरजेन्सी तथा अन्य विशेष रोगावस्थाहरुमा ग्लुकोजको लेवल धेरै आउन सक्छ । यस्तो अवस्थामा रोगीलाई मधुमेह भएको वा नभएको भन्न सकिन्न र दुविधा उत्पन्न हुन सक्छ । यस्ता दुविधा हटाउने, रोगीलाई मधुमेह हुनसक्ने सम्भाव्यता आकलन गर्ने र गर्भाधान गर्न गइरहेकी महिलालाइ मधुमेह हुनसक्ने नसक्ने निक्र्योल गर्न ग्लाइकोसिलेटेड हेमोग्लोबिनको परिक्षण गरिन्छ । यो परिक्षण गर्दा रगतमा पछिल्लो तीन महिनाको औशत ब्लड ग्लुकोज लेवल थाहा पाइन्छ । साथै मधुमेहका औषधी खाइरहेका विरामीहरुमा औषधीको असर पनि थाहा पाउन सकिन्छ । यदि कसैको रगतमा ४.५ देखी ६ प्रतिशत भएमा मधुमेह नभएको मानिन्छ । ५.७ देखी ६.४ प्रतिशत भएकाहरुलाई प्री डाएवेटीक मानिन्छ भने ६.५ भन्दा माथिकाहरुलाई मधुमेह भएको मानिन्छ।

मधुमेहको निगरानी

मधुमेहका रोगीहरुले मधुमेह नियन्त्रण राख्न नियमित मधुमेहको परिक्षणहरु गरीरहनुपर्ने हुन्छ । मधुमेह निगरानी परिक्षणमा क्रमशः निम्न टेष्टहरु पर्दछन् ।

१. फास्टिङ्ग तथा पोस्ट प्रान्डल ब्लड ग्लुकोज लेवल परिक्षण

२. ग्लाइकोसिलटेड हेमोग्लोविन परिक्षण

३. लिपिड प्रोफाइल

४. पिसाब माइक्रो आल्बुमिन्यूरिया र अन्य

५. बल्ड यूरिया नाइट्रेड,

६. क्रियाटिनन

७. मुटु परिक्षण (इको,टीएमटी, इसिजी, )

८. आँखा परिक्षण

९. मृगौला परिक्षण (किटोन बडी, ब्लडयुरियानाइट्रेट,क्रियटीन, माइक्रो आल्वुमेन्यरोया )

१०. खुट्टा परिक्षण

सेल्फ मोनिटरीङ्ग (आफ्नै निगरानी)

मधुमेहका रोेगीले आफ्नो ब्लड ग्लुकोज आफैंपनि चेक गर्न सक्छन् । यसका लागि ग्लुकोमीटर भन्ने सुगर चेक गर्ने यन्त्रको आवश्यकता पर्दछ । ग्लुकोमीटर गोजीमा बोकेर हिंड्न सकिने यन्त्र हो । यसले केसिका (धमनीमा) भएको ब्लड ग्लुकोज मापन गर्दछ । फलतः शिराबाट टेष्ट भन्दा १०-१५ प्रतिशत बडी रिडिङ दिन्छ । यस विधिद्वारा ग्लुकोज जाँच्न रगतको सानो थोपा काफी छ । यसरी घरमा आफैंले ग्लुकोज मोनिटर गर्ने गर्दा औषधीको प्रभाव खानेकुराको रक्त ग्लुकोजमा असर, हाइपो ग्लाइसियमीया कोमा जस्तो इमरजेन्सीको आँकलन गर्न सकिने हुँदा सबै मधुमेहका रोगीले ब्लड ग्लुकोजको सेल्फ मोनिटरीङका कला सिक्न जरुरी छ ।

मधुमेहको हानी नोक्सानीहरू

मधुमेह भएकाहरुलाई विशेषत: मिर्गौला फेलियर, हार्ट एट्याक (हृदयघात), स्ट्रोकप्यारालाइसिस, घाउ निको नहुन, गुप्ताङ्गको इन्फेक्सन, दृष्टिनाश, छालाका रोगहरु, खुट्टामा घाउ हुने, दाँतको समस्या, पुरुषमा नपुंसकता, महिलामा बाँझोपना, काधको जोर्नी जामहुने, नशा नाडीहरुको क्षय भई संवेदनशिलतामा कमी, मानसिक तथा भावनात्मक विकलता, अनिद्रा, यौन क्षमताको ह्रास, अपच, अजीर्ण र कब्जीयत जस्ता रोगहरूले सताई रहन्छ ।

लक्षणहरु

मधुमेह एउटा सुसुप्त रोग भएकोले प्रारम्भिक चरणमा खासै लक्षणहरु देखिदैनन् । रोग बढ्दै गएपछि धेरै भोक लाग्ने, धेरै तिर्खा लागे, घेरै पिसाव लागे, धेरै थकाई लाग्ने, मानसिक जडता, पेटको गोलाई बड्ने, डर लाग्ने, बिना कुनै कारण हल्का रिस उठ्ने, नैराश्यताको अनुभव भइ राख्ने, कमजोरी महसुस हुने, खुट्टाहरु लुलो हने, योनी चाक र औलाको काप र स्तनमुनी चिलाउने, छालामा दाद वा घाउ–खटिरा आउने, तौल घट्ने, दृष्टि धुम्मिने, स्वासमा एसिटोनको गन्ध आउने, दम बढ्ने, वाक वाकी लाग्ने, बमन हुने, पेट दुख्ने, प्रतिरक्षा कमजोर हुने, घाउ–चोट चाडै निको नहुने, पिसापमा कमिला लाग्ने, गुप्तांङ्ग चिलाउने, तौल घट्दै जाने, छालाको रंग , कान्ति , मोटाइ र सुन्दरता परिवर्तन हुने जस्ता लक्षणहरु देखा पर्दर्छन् ।

मधुमेहका प्रकार

मधुमेहलाई १. टायप वान (१), २. टायप टू (२), ३.गर्भावस्थामा हुने मधुमेह र ४. अन्य रोगका कारणले हुने मधुमेह गरी चार प्रकारमा विभक्त गरिएको छ । टायप १ मधुमेहलाई इन्सिुलिन आश्रित मधुमेह, बाल्यवस्थामा हुने मधुमेह वा जुवेनाइल मधुमेह पनि भनिन्छ । त्यसैगरी टायप २ मधुमेहलाइ इन्सुलिन अनाश्रीत मधुमेह पौडावस्थामा शुरु हुने मोटोपनासँग सम्वन्धित जस्ता नामले सम्बोधन गरिन्छ । त्यसैगरी गर्भावस्थाको कारणले हुने मधुमेह तश्रो प्रकारको मधुमेह हो भने, ग्लुकोज पचयमा गडबडी, कुपोषणले हुने मधुमेह र विशेष रोगावास्था जस्तैः प्याङ्क्रियाजको संक्रमण, सिस्टिक फाईब्रोसिस, हेमाक्रोमाटोसिस, कुसि सिन्ड्रोम, पोली सिस्टिक ओभरी सिन्ड्रोम र प्याङ्क्रियाजको क्यान्सरमा देखिने चौथो प्रकारको मधुमेह हो ।

टाईप वान डाइविटिज

मधुमेहका कुल रोगीहरु मध्ये १५ प्रतिशतमा टाइप वान डाइविटिज पाइन्छ । प्याङक्रियाजले इन्सिुलिन उत्पादन गर्न नसकेर ब्लड ग्लुकोज बढ्ने हुनाले यसलाई इन्सुलिन आश्रित मधुमेह पनि भनिन्छ । आइलेट अफ लैङ्गरहेन्सका इन्सुलिन उत्पादन गर्ने बिटा सेलहरु मर्नाले हुने यो रोग आत्माघाती प्रतिरक्षा प्रणाली, प्याङक्रियाजको संक्रमण वा अज्ञात कारणले हुने गर्दछ । शुरु हुँदा एक्कासी शुरु हुने, विशेषतः बाल्यवस्थामा देखा पर्ने, रोगीको तौल घट्दै जाने, सामान्यतया: अटो एन्टिबडी भेट्टाइने किटोन बडी बढेर रगत अम्लियपन बढ्ने र जुम्लियाहरुमा एउटालाई भए अर्कोलाई पनि हुन सक्ने र इन्सिुलिनको उत्पादन हुँदैन हुने वा एकदम कम हुने जस्ता लक्षण यो रोगका विशेषता हुन् । छिनछिनमा पिसाब लाग्ने अचानक तौल घट्ने मुख सुक्ने, छाला सुख्खा हुने थकाइ लाग्ने, दम लामो तथा छिट्छिटो चल्ने जस्ता लक्षणहरु देखा पर्दछन् ।

टायप टु डाइविटिज

मधुमेहद्वारा प्रभावित मध्ये लगभग ८५ प्रतिशतमा टायप टु डाइविटीज पाइन्छ । टायप टु डायविटिजमा पनि प्याङ्क्रियाजले वा त विकृत इन्सिुलिन बनाउने वा राम्रो इन्सिुलिन बनाए पनि कोषहरुले इन्सुलिन चिन्न सक्ने क्षमता गुमाउने हुँदा मधुमेह देखा पर्दछ । यसका अलावा प्याङ्क्रियाजद्वारा उत्पादित इन्सिुलिन ठीक समयमा नछोड्नाले पनि यो रोग हुनसक्छ । इुिन्सलिन हुँदाहुँदै पनि पधुमेह हुने हुनाले यसलाई इन्सिुलिन अनाश्रित मधुमेह भनिन्छ । अधिकांश यो मधुमेह वंशानुगतका कारणले हुने गर्दछ । यसका अलावा अस्वस्थकर जीवनशैली जस्तै : खानपानमा गुलियो पदार्थहरुको मात्रा धेरै भएमा, निष्किृय जीवन शैलीमा बाच्नेहरु, शरीरको तौल बढ्न गएकाहरुमा (विशेषतः भुडी लागेकाहरु), खाने शैली गडबढ भएकाहरुमा यो रोग ज्यादा देखिन्छ । सुरुहुँदा विस्तारै शुरु हुने, पौढ मान्छेहरुमा ज्यादा पाइने शारीरिक तौल बढ्ने, अटो एण्टीबडीहरु नपाइने र यदाकदा मात्रा किटो एसिडोसिस हुने यसका विशेषता हुन् ।

उपचार

मधुमेह एउटा जटिल र दिर्घकालिन रोगावश्था भएकाले अवस्था हेरी औषधि र जीवनशैली परिवर्तनद्वारा उपचार गर्नुुपर्ने हुुन्छ । औषधोपचारमा एलोपेथी, आर्युवेद, होमियोपेथी, युुनानी र सिद्घ जस्ता चिकित्सा पद्घतिका उपचारहरुको आफ्नै महत्व छ भने औषधिविहिन, योग, प्राकृतिक चिकित्सा, स्वास्थ वृतको अभ्यास र पथ-पहरेज जस्ता जीवनशैली परिवर्तनका उपचारले पनि मधुुमेह नियन्त्रणमा अत्यन्त ठूूलो टेवा पुुयाउदछ । अझ नयाँ रिसर्चहरूले जनाए अनुरूप जीवनशैली परिवर्तन एक्लै मधुमेहका कुुनै पनि नयाँ पुुराना दवाईहरू भन्दा ज्यादा शक्तिशाली छन् । जीवनशैली परिवर्तन भनेको भोजन, व्यायम, विश्राम, विचार र व्यवहारको स्वास्थ्यमैत्री हुने गरी ठीक समायोजन गर्नु हो । खाने औषधि र जीवनशैली परिवर्तनले पनि रोग नियन्त्रण नभए ईन्सुुलिनको सुुई पनि लिनुुपर्ने हुुन्छ । यसका अलावा यो रोगले निम्त्याउने द्वितीयक रोगावश्थाहरु जस्तै खुुट्टाको अल्सर, दृष्ट्टिनाश, मृगौलाको रोग, नशा–नाडीको क्षय, घाउ निको नहुने गुप्ताङ्गको इन्फेक्सन, छालाका रोगहरु, दाँतको समस्या, नपुंसकता तथा बाँझोपना, काधको जोर्नी जामहुने, अपच, अनिन्द्रा र कब्जियत जस्ता समस्याको विशेष हेरचाह गर्नुुपर्ने हुन्छ ।

कसले लिने ईन्सुलीन ?

१. मधुमेहले पिडित गर्भवति स्त्री

२. यदि खाने औषधीले मधुमेह कन्ट्रोल नभएमा

३. मुटुका रोग भएका , हृदयघात भएका, प्यारालाइसिस भएका मधुमेहले आँखा , मिर्गौला,नशा,खुट्टा जस्ता सम्वेदनशिल अंगलाई हानी पु¥याइ सकेको अवश्थामा

४. टायप वान डाइविटिज र कुपोषण को कारणले हुने मधुमेहमा

५. एडभान्स (झ्याङ्गिसकेको) मधुमेहमा

कसरी लिने इन्सुलिन

१. डाक्टरले बताए अनुुुसारको मात्रा लिनुपर्छ ।

२. इन्सुलिन लिन सुई हान्ने वा इन्सुलिन पेनको उपयोग गर्न सकिन्छ । तर पेन सुईभन्दा सजिलो हुन्छ ।

३. तोकिएको मात्रा निर्धारण गरेर खाना खानु भन्दा १०-१५ मिनेट पहिले लिनुपर्दछ ।

४. एक टाएमको इन्सुलिन लिन बिर्सिएमा भुलेर पनि अर्को पटक डवल डोज लिनु हुदैन ।

५. दुई इन्सुलिनको बीच १०-१२ घण्टाको ग्याप हुन जरुरी छ ।

६. इन्सुलिन लाई चिसो तथा सुुख्खा ठाउँमा राख्ने गरौं।

मधुमेह रोगमा के खाने ?

फलफूूल

अमला, भुई अमला, कागती, सुन्तला, मेवा काक्रो, खरबुजा, नास्पाती, बेल, बेलाती, जमुना, फडिर, मौसम, खान सकिन्छ । फल खादां खानासंग नखाएको राम्रो हो् । १५० ग्राम फलफूूल दिनमा तीनदेखि पाँच चोटी खाने बानी बसालौर खानामा पनि भेज-सलाद लिने गरौ । मधुमेहको रोगीलाई भोक ज्यादा लागि रहने हुदां भोक लागेको बेलामा यी फलहरु लिनुपर्छ ।

सागपात

लुडेको साग, लट्टेको साग, बेथेको साग, तोरीको साग, पालुंगोको साग, मेथीको साग, रायोको साग, तितेकरेला, चुच्चे करेला, फर्सिको मुन्टा, कलिलो फर्सि, झिंगनी, रामतोरीया, घिरौला, लौका, भेडे खुर्सानी, सलगम, मुला, हरियो सिमी, बोडी, लसुन, तथा प्याजको पत्ता कडी पत्ता आदि।

अन्न दाल गेडागुडी

रातो चामल, बोक्रासंग पकाएको दाल, गहुंको खस्रो पिठो, दलिया, मकैको च्याख्ला, आटो, फापर, कोदो, सामा कागुनी, वा जौको भात, वा ढिडो । भुटेको मकै, भटमास, चना, अंकुरित गेडागुडी, ओटमिल, कर्नफेल्क्स, ब्राउन ब्रेड ।

जुस

करेला,अमला, पालुंगो, लौका, सलगम, कोभी, बन्दाकोभी, एलियोभेरा (घीउकुमारी) गहँुंको जमराको जुस ।

खानैपर्ने जडिबुुटीहरू

हिमाली सातपाते – बतासे (प्यानक्स जिनसिङ्ग), हर्माल जडी (गलेगा अफिसिनालिस), तीते करेला (मेमोरडीका क्यारेन्सीया), मेथी (ट्रीगोनेल फेनम ग्रेकम), गुुडमार (जिम्नेमा सुुवेष्टा), लसुन (एलिएम सटाइवम), प्याज (एलिएम सेपा), विजयसाल (टेरोकार्पस मार्सुुपियम), घ्युु कुुमारी (एलीयो भेरा), बिलबेरी (वक्सिनिअम मार्टिलस)

खानैपर्ने सूूक्ष्म पोषकतत्वहरू

क्रोमियम, म्याग्नेसियम, जिङ्क (जस्ता), क्यालसियम, पोटासियम, भेनाडाईल सल्फेट, एल– कार्निटीन्, एल– आर्जिनिन्, टउरीन, भिटामिन ई, भिटामिन सी, भिटामिन बी–६ (पेरिडोक्सीन), बायोटीन, ग्लुुटाथायोन, ओमेगा –३, कोईन्जाइम क्यु—१०, लिपोईक एसिड ।

मोटामोटी आहार क्रम

बिहान उठ्ने बित्तिकै (५:३० बजेः) – २ गिलास मनतातो पानी ।

बिहान (६:०० बजे) – ३०० जडिबुटि चिया ।

बिहान (७ :०० बजे) – ३० मी.ली. करेलाको जुुस, मेथी भिजाएको पानी वा मेथी पाउडर ।

बिहान (८:३० बजे) – २ वटा कोदो÷फापर÷ गहुको रोटी वा १५० मी.ली. दलिया, ५० ग्राम अंकुुरित अन्न, १५० मी.ली. छाली काढेको दूूध ।

बिहान (११:०० बजे) – २वटा आटाका पतला रोटी, एक कचौरा मकै वा रातो चामलको भात, १०० ग्राम हरियो सब्जी, एक कचौरा पातलो दाल, १०० मी.ली.छाली निकालेको एकराते दही वा ३०० मि.ली. मोही , ३०० ग्राम सलाद ।

दिउसो २ः०० बजे : – ३०० जडिबुटि चिया ।

दिउसो ४ः०० बजे : – ५० ग्राम उमारेको गेडागुुडी र दुई चिरा कक्रो वा

साझ (७ः०० बजे) : – २ वटा आटाको रोटी, ३०० मी.ली. भेज सुुप (गुुलिया सब्जि छाडेर), ३०० ग्राम सब्जी

राती (१०ः०० बजे) : – २५० मी.ली. दुुध ।

परहेज गर्नुपर्ने

१. मधुर (गुलियो) – नखानुस

२. अम्ल (अमिलो) – कम खानुस

३. लक्षण (नुनिलो) – कम खानुस

४.कटू (पीरो) – खानुस

५. तित्त (तीतो – खुब खानुुुस

६. कषाय (टर्रो) – खुब खानुस

७. गुलिया चिज : मिठाई चकलेट , चिनी, मिस्री, सख्खर हालेको खाद्यान्नहरु, आइसक्रिम

८. तेलमा तारेका परिकारहरु : सेल,अर्सा, अनर्सा, पत्रे, कुराउनी, गुदपाक, कसार, पुरी, जुलेबी,स्वारी, बर्फी र अन्य मिठाई आदि

९. मीठो गुलियो फलफूल : केरा, स्याउ, आँप, चुकन्दर, अंगुर, लिची, सरिफा, गाजर, किम्बु, नरिवल, कटहर, भुइंकटहर

१०. कन्दमूल : आलु, पिडालु, सुठुनी, अखी, ओल, तरुल, सिमल–तरुल, गाजर, चुकन्दर आदी

११. नून धेरै हालेको चिनी, धेरै हालेको , मैदाका परिकार

१२. घ्यू वनस्पति घ्यूमा बनेका परिकारहरु

१३. इनर्जी, कार्वोहाइड्रेट र स्विटण्ड ड्रिङ्क

१४. बिस्कुट, चाउचाउ, पाउरोटी र चाइनिज फुड जस्ता परिकार जंक फुड

१५. चिया, कफी, मिल्कसेक, माछा, माुसु, बोसो आदि

विशेष निर्देशन

घ्यू तेलको मात्रालाई अत्यन्त कम गरौं तौल ज्यादा भएका र मधुमेह सँगै कोलस्ट्रोलका समस्या भएकाले तेल रहित (जीरो आयल) कुकिङ्गको विधि सिकेर तेल घ्यू छोडी दिऔं । खानै पर्नेहरुले सूर्यमुखी, आलस, तोरी, भटमास वा जैतुनको तेल खाने गरौं । घ्यू, माछामासु र बोसो नखाऔं । तर निकालेको दूध दही पनिर हल्का खान सकिन्छ । चिनी नहालेको दूध चिया दिनमा २ कप सम्म लिन सकिन्छ । ग्रिन टी, जडीबुटी हालेको मोही, मह र कागती पनि लिन सकिन्छ ।

सकभर माछामासु नखाएकै राम्रो हो । बोसो भएको मासु खान हुँदैन। माछा लोकल कुखुरा लौकट वा हाँसको मासु अण्डाको सेतो भाग (उसिनेको) खान सकिन्छ । माछामासु खानेले खसी बोका ,भेडा , च्याङ्ग्रा, रागा , भैंसी र बंगुर जस्ता जनावरको मासु खानुहुँदैन । मधुुमेहका रोगीलाई चिनी रहित गुुलिया पदार्थको सेवन गर्न सल्लाहा दिईन्छ तर यसका धेरै साईड ईफेक्टहरू छन् । खाना लिदा विशेषतः लो ग्लाइसेमिक इटिङ्गका सिद्धान्तहरु पालन गर्नुुपर्छः त्यसका लागी निम्न कुुराहरूमा ध्यान दिन आवश्यक छ ।

१. चिनी हालेको खानेकुराहरूको परहेज गर्ने गरौं।

२. पानी धेरै भएका फाइबर रेसा र चोकरदार खानेकुरा गर्ने खाऔ ।

३. अन्न दाल गेडागुडीलाई सकभर सग्लै पकाएर खाने गरे धेरै प्रोसेस गरेको खाद्यान्न

४. स्टार्च धेरै भएका खानेकुराहरुको उपयोग सावधानी पूर्वक गरौं ।

५. ढिलो पच्ने खानेकुराहरु जस्तै उमारेका गेडागेडी, सागपात, क्वाटी खाने बानी बसालौं ।

६. सेचुरेटेड फ्याट को उपयोग कम गरेर पोली अनसेचुरेटेड फ्याट जस्तै जैतुनको तेल बदाम भटमास सुर्यमुखीको तेल खाऔं ।

७. एकैचोटी धेरै खाना नखाऔं थोरै थोरै गरेर धेरै पटक खाऔं।

८. गुलिया फलफूल नखाऔं ।

मधुमेहमा व्यायम

मधुमेहका रोगीले कमसेकम दिनको ४० मिनटको व्यायम अत्यन्त जरुरी छ । मर्नीङ्ग वाक, ट्रेड मिलिङ्ग ,साइक्लिङ्ग जस्ता हल्का व्यायम तर पसिना फुट्ने व्यायम गर्नुपर्छ । अंग व्यायम, रिढ व्यायम , सिथिलीकरण व्यायम लाईपनि व्यायममा समावेश गर्नुहोस् । दिनमा एकचोटी शरीरका सबै जोर्नीहरू चलाउनुु होस । मधुमेहका रोगीले विशेषतः पेट र छातीका कोमल अंगहरूलाई असर पर्ने व्यायाम गर्नैपर्छ ।

योगासनहरु

सूूर्य नमस्कार, अर्ध कटिचक्रासन, परिवृत त्रीकोनासन, वक्रासन, अर्ध मत्यस्येन्द्र आसन, उष्टा«सन, भूज¨आसन, धनुरासन, सर्वङ्गासन, हलासन, कर्ण पिडासन, मत्यस्यासन, मान्डुकासन, गोरक्षासन शशांकासन ।

प्रणायामहरू

वाम नासिका श्वासन, अनुलोम विलोम, भस्त्रिका, कपालभाती र भ्रमरी प्रणायामले विशेष लाभ पुर्याउछ ।

मधुुमेहमा बिश्राम

१. मधुुमेहका लागी बिश्राम अत्यन्त महत्त्वपूूर्ण आयाम हो । राति चाढै खाना खाने र खाएको तीन घण्टा (पेट खाली भएपछि) मात्र सुत्ने गर्नु पर्छ । निद्रा नआउनेहरुले चिकित्सकको सल्लाह अनुसार औषधि खाएर भएपनि सुत्ने प्रयास गर्नुुपर्छ । दिउसो सुत्ने, विहान अबेरसम्म सुत्ने, राति चाढै नसुत्ने र खाना खानेबित्तिकै सुत्ने बानी मधुुमेह लागि खतरनाक मानिन्छ ।

२. शारिरिक तथा मानसिक रुपले विश्राम लिनका लागी योग आसन, योग निद्रा, माइन्ड साउन्ड रेसोनेन्ट टेक्निक, प्राणिक इनरजाईजीङ्ग टेक्निक, सेल्फ मेनेजमेन्ट अफ एक्सेसिभ टेन्सन, जेकब्सन प्रोग्रेसिभ मसल्स् रिल्याक्सेसन टेक्निक, डिप रिल्याक्सेसन् टेक्निक, क्विक रिल्याक्सेसन टेक्निक, ईन्स्टेन्ट रिल्याक्सेसन् टेक्निक, जस्ता बिश्रामका विधिहरु सिकेर अभ्यास गर्ने गरौं ।

३. सम्पूर्ण शरिरको मालिस, तैल अभ्यङ्ग, वाष्पस्नान, सउना स्नान, फोहोरा स्नान, पौडिनु, तैरीनु जस्ता उपचार पद्धतिले बिश्रामलाई बढाउँछ ।

सावधानी तथा बच्ने उपायहरूः

१. मधुुमेह अनुुवंशिक रोग पनि हो । तसर्थ पारिवारिक ईतिहास भएकाहरूले विशेष सावधानि अपनाउनुुपर्छ ।

२. तौललाई आफ्नो कद अनुुरूप नियन्त्रणमा राखौ । विशेषतः भुुडीलाई बढ्न नदिऔ ।

३. तनावबाट बचौ । मधुुमेह हुुन ४० प्रतिशत तनावकै हात छ ।

४. श्रम र व्यायमवाट पन्छिने अल्छि वानी त्यागौ । निष्क्रिय जीवनमा बाच्नेलाई मधुुमेहले चाडै पिरोल्छ ।

५. रोग लागेकाहरूले खुुट्टा, आँखा, मुटुु, मृगौला, छालाको विशेष ध्यान दिऔ ।

६. मधुुमेहमा घाऊ निको हुुन मुुस्किल हुुने हुुुदा चोट पटकबाट बचौ ।

*डा. हेमराज कोइराला योगी चितवनको भरतपुर-१, वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडीकल डाईरेक्टर हुन् ।

यो पनि पढ्नुहोस् 

मधुमेह र यसका लक्षणहरु

यसरी गर्नुहोस आफै ब्लड सुगरको निगरानी

मधुमेह रोगीले खान हुने र खान नहुने खानेकुराहरु

योगी नरहरिनाथ अस्पताल

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

One thought on “मधुमेह र यसको दीर्घकालीन उपचार

%d bloggers like this: