Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नेपालको विकास गर्न विज्ञान तथा प्रविधिलाई उद्योगसँग जोड्नुपर्छ – पूर्वमन्त्री शाह

गणेश शाह पूर्व विज्ञान, प्रविधि तथा वातावरण मन्त्री तथा राजनीतिज्ञ हुनुहुन्छ । मन्त्री भएको बेला विज्ञान तथा प्रविधि क्षेत्रमा केहि उल्लेखनीय काम गरेकोले गर्दा आज पनि नेपालमा विज्ञान तथा प्रविधि कुरा गर्दा उहाँको नाम अग्रस्थानमा आउछ । २०२७ सालदेखि नेपालको कम्युनिष्ट राजनीतिमा सक्रिय शाह हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य हुनुहुन्छ । उहाँले रसियाको जनमैत्री विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङमा स्नातकोतर गर्नु भएको हो । विज्ञान तथा प्रविधिले गर्ने योगदान भनेको समाज र मानवताका लागि गर्ने हो भन्ने बताउदै आउनु भएका शाह उच्च सपना देखेर विज्ञान तथा प्रविधिको विकास गरेमा देश बन्न धेरै समय नलाग्ने बताउनुहुन्छ । नेपालको विकास गर्न विज्ञान तथा प्रविधिलाई उद्योगसँग जोड्नुपर्ने बताउदै आउनु भएको छ । नेपालमा विज्ञान तथा प्रविधि विकास, बर्तमान अवस्था र भविष्य भन्ने गहन विषयमा केन्द्रित रहेर पूर्वमन्त्री शाहसँग साइन्स इन्फोटेकका प्रधान-सम्पादक गोपाल भण्डारीले गरेको कुराकानी।

१. सर त विज्ञान तथा प्रविधि क्षेत्रको नेपालमा सवभन्दा अनुभवी पुर्वमन्त्री तथा बिज्ञ पनि हुनुहुन्छ । अहिले नेपालमा विज्ञान तथा प्रविधि अवस्थालाई कसरी चित्रण गर्नुहुन्छ ?

अहिलेको विज्ञान र प्रविधिको अवस्थामा नेपाललाई केसँग तुलना भन्ने सोच छ । अहिले एउटा विश्व परिवेशमा जुन विज्ञान र प्रविधिको विकास भएर मानवको जीवनमा समृद्धि ल्याउनको लागि जुन किसिमले योगदान गरेको छ । जुन प्रकारको डिजिटल टेक्नोलोजीको विकास भएको छ, त्यो सबै सन्दर्भमा भन्ने हो भने नेपाल धेरै पछाडी रहेको छ । तर नेपालको आफ्नै परिवेशमा भन्नुहुन्छ भने यो अन्तिम वर्षमा नेपालमा विज्ञान तथा प्रविधि क्षेत्रमा पनि सफलता देखिएको छ । विशेषगरी म मन्त्री हुँदा नै विज्ञान र प्रविधि क्षेत्रमा सरकारले केहि बजेट बढाएको थियो । तर अहिलेसम्म नेपालमा विज्ञान तथा प्रविधि क्षेत्रमा बजेट बढ्न सकेको छैन । त्यसैले सबैभन्दा दुर्भाग्य के छ भने हामी समृद्धि र सुखी नेपालीको कुरा गर्छौं तर हामी विज्ञान र प्रविधिको क्षेत्रमा लगानी, सम्मान र यस क्षेत्रको प्रवर्द्धन नगरेसम्म यो नारा केवल कोरा कल्पना मात्र हुन् जान्छ । विज्ञान तथा प्रविधि क्षेत्रको विकासले केवल देश समृद्ध मात्र नभई यसले सामाजिक रुपान्तरणको पनि काम गर्छ । हाम्रो समाजमा ब्याप्त सामाजिक अन्धविश्वास, रुढीवादी जस्ता कुराहरुलाई हटाउन जरुरी छ । नेपालमा अझै विज्ञान र प्रविधिको क्षेत्रमा धेरै चुनौतीहरु सामना गर्नुपर्छ । पहिलो भनेको लगानी हो । दोस्रो वैज्ञानिक समाजलाई राष्ट्रिय उत्पादनको रुपमा कसरी जोड्ने । तेस्रो भनेको हामी कहाँ आविष्कार गर्नुपर्छ । आफ्नै प्रविधि विकास गर्नेतिर लाग्नुपर्छ । खास आविष्कारलाई हामीले सामाजिक, आर्थिक रुपान्तरणको लागि राज्यले समृद्धिको लागि आविष्कारको लागि एउटा नारा लिएर अगाडी बढ्नुपर्छ ।

२. नेपालले आउँदो वैशाखमा आफ्नै भू-उपग्रह प्रक्षेपण गर्ने भन्ने समाचार आएको छ । नेपालमा विज्ञान र प्रविधिको क्षेत्रमा केहि न केहि त विकास भई रहेको देखिन्छ । यसमा तपाईको विचार के छ ?

अहिले चीनले समेत चन्द्रमामा भू-उपग्रह पठायो । अमेरिकाको त झनै कुरै नगरौं त्यसैले त्यो जुन स्पेस टेक्नोलोजीको उपयोग हाम्रो जनजीवनसँग जोडिएकोले यसको विकासको लागि अभियान चलाउनुपर्छ । त्यो अन्तर्गत नै हामीले पटकपटक नास्ट जस्ता विभिन्न संस्थाहरुलाई अन्तरिक्षमा न्यानो सेटलाईज पठाउने शिक्षाको लागि कृषिको लागि त्यसैले अहिले हाम्रो जुन सानो भू-उपग्रह प्रक्षेपण हुँदैछ जुन स्वागतयोग्य कदम हो । तर हामीले त्यसको उपयोग गर्नको लागि संरचनाहरु बनाउनुपर्ने हुन्छ ।

३. पारमाणविक बन्ने क्रममा संसदमा पारमाणविक विधेयक प्रस्तुत भएको छ । कानुन बनेपछि अव नेपालले परमाणु प्रविधि भित्र्याउन र प्रयोग गर्न सहज हुने भनेपनि नेपाललाई इरान बनाईदैछ भन्ने विश्लेषण शुरु भएको छ । यसमा तपाईको धारणा के छ ?

अब यो के छ भने एउटा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी भन्ने संस्था छ । त्यो म मन्त्री हुँदा सदस्यता लिएको हो । त्यसैले जसरी मैले स्पेसको कुरा गरे । अब परमाणुको बारेमा के छ भने तपाईले त्यसलाई पिस प्रोसेसमा मानव जीवनमा शान्ति, समृद्धिको लागि उपयोग गर्नुभयो भने फलदायी हुन्छ । त्यसलाई गलत प्रयोग गर्नुभयो भने नकारात्मक असर पार्छ । त्यसैले अहिले विश्व विज्ञान दिन हरेक १० नोभेम्वरमा मनाइन्छ । त्यो बेलादेखि नै हामी के भन्छौं भने World Science Day for Peace and Development को लागि उपयोग हुनुपर्छ । मलाई लाग्छ यसले नेपालमा परमाणुको प्रयोग जुन शक्तिको लागि मात्र नभएर अब यसले मानव जीवनको हरेकजसो स्वास्थ्यको लागि एक्सरे गर्न, कृषि क्षेत्रमा धेरै उपयोग छ । जुन यसलाई हाम्रो मानव जीवनको समृद्धिको लागि छ । त्यसलाई अगाडी बढाउनको लागि एउटा प्रयास गर्नुपर्छ । यस विषयमा के भन्छु भने यसवाट आतिनुपर्ने छैन । तर के छ भने नेपालले यसलाई आणविक भट्टी बनाउनेतिर होइन । नेपालले हाम्रो जनजीवन, स्वास्थ्य, कृषि जस्ता अन्य क्षेत्रमा यसको उपयोग पढाउनुपर्छ ।

४. तपाईले अबको २० वर्षपछि पनि उपयोगी हुने खालका विज्ञान नीति बनाउनुपर्नेमा जोड दिदैं खोज र अनुसन्धानका लागि राज्यले एउटा कोष खडा गर्नुपर्ने बताउनुभएको छ । विज्ञान नीति बनाउन शुरु गरेको धेरै बर्ष भएपनि अझसम्म बन्न सकेको छैन । बनाउने क्रममा भएको उक्त नीति सहि दिशामा गई रहेको छ जस्तो लाग्छ तपाईलाई ?

यो विज्ञान नीति समय अनुसार परिमार्जन गर्नुपर्दछ । हामी जसरी Artificial Intelligence लाई हामी अहिले नयाँ-नयाँ प्रविधिको कुरा आइरहेको छ । त्यसैले गर्दा अहिले विज्ञान तथा प्रविधिको नीति बनाउँदा दुई तिनवटा कुराहरुलाई ध्यान राख्नुपर्छ । पहिलो भनेको हामीले हाम्रो मुलुकलाई समृद्धिको कुन वाटो लाने हो । हाम्रो विकासको मोडेल के हो । अब विज्ञानमा आधारित समाज बनाउने हो भने विज्ञान र प्रविधिमा वढी लगानी गर्नपर्छ । त्यसपछि हाम्रा विज्ञान तथा प्रविधिका हाम्रो प्राथमिकताका क्षेत्रहरु निर्धारण गरेर यी क्षेत्रमा लगानी बढाउनुपर्छ । त्यसैले राज्यले आफ्नो आर्थिक विकाससँग जोडेर विज्ञान र प्रविधिको नीति बनाउनुपर्छ । त्यही अनुसार यस क्षेत्रमा लगानी विस्तार गर्दै जानुपर्छ ।

५. तपाईले भनेको देशको माटोलाई सुहाउँदो २० वर्षपछि पनि उपयोगी हुने विज्ञान तथा प्रविधिको क्षेत्रमा कस्ता खालका खोज र अनुसन्धान हुनु जरुरी छ ?

पहिला त हामीले यसको धरातल भन्छौं । विज्ञान शिक्षामा लगानी गर्नुपर्यो । किन भने विज्ञान शिक्षाले नै वैज्ञानिक सोचको विकास गर्छ । हाम्रो रुढीवादी अन्धविश्वासलाई तोड्छ । त्यसैले अहिले जुन देशमा प्रत्यक जनसंख्या कति समृद्धि छ भन्ने मापन छ । हाम्रो समृद्धि, सुखको लागि के छ भने हाम्रो देशमा कति वैज्ञानिक उत्पादन गर्नुहुन्छ । त्यसको लागि तलदेखि माथिसम्मको विज्ञान शिक्षालाई प्राथमिकतामा राख्नुपर्छ । दोस्रो के छ भने हामीले युवा पुस्ताहरुलाई युवा अनुसन्धान कर्ताहरुलाई प्रोत्साहित गरेर हाम्रो मुलुकको प्राथमिकताका आधारमा युवा पुस्ताहरुलाई वढी भन्दा वढी लगानी गर्नुपर्छ । तेस्रो के छ भने हामीले विज्ञान प्रविधिलाई औंधोगीकरणसँग जोड्नुपर्छ । त्यसैले गर्दा हामीसँग थोररै विज्ञान समाज, उद्योक, कलकारखानासँग जोड्नुपर्छ । त्यसैले त्यो नीतिले आगामी दिनहरुमा औंधोगीक विकास नीतिसँग पनि जोडिएको हुनुपर्यो ।

६. नेपालमा अझसम्म पनि विज्ञान तथा प्रविधिसग सम्वन्धित तत्कालिन विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले बैज्ञानिकको यथार्थ परिभाषा गर्न सकेका छैनन । बिश्वब्यापी रुपमा स्थापित बैज्ञानिकको सर्वमान्य परिभाषा अनुसार नेपालमा बैज्ञानिकलाई परिभाषित गर्न नसक्नु कारण के हो ?

यसको प्रमुख कारण के हो भने राज्यले वैज्ञानिक समुदाय चिन्न सकेको छैन । हाम्रो वैज्ञानिकहरुलाई पनि एउटा पहिचान राज्यले दिनुपर्छ । विस्तृत रुपले वैज्ञानिक, प्रविधिकहरुलाई परिभाषित गरेर नयाँ-नयाँ हामीलाई आवश्यक पर्ने वैज्ञानिक केन्द्रहरु खोल्नेतिर पनि हामी अघि वढ्नुपर्छ ।

७. सरकारले बिज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा मन्त्रालयमा गाँभेको छ । यसले गर्दा विज्ञान तथा प्रविधि छाँयामा पर्यो । धेरै बिज्ञहरुले नेपालमा बिज्ञान तथा प्रविधिको विकास गर्न शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयवाट छुट्याई स्वतन्त्र रुपमा विज्ञान तथा प्रविधि मन्त्रालय बनाएमा मात्र बिज्ञान तथा प्रविधिको विकास हुन सक्छ भन्ने धारणा रहेको छ । यसमा तपाईको के छ विचार ?

अब अहिले के छ भने राज्यको पुनःसंरचना भएको छ । त्यसैले गर्दा धेरै अधिकारहरु प्रदेशलाई पनि दिएको छ । शिक्षा स्थानीय तहलाई दिएको छ । विश्वविद्यालय खोल्नालई प्रदेश सरकारलाई पनि दिएको छ । त्यसैले गर्दा मलाई लाग्छ । विज्ञान मन्त्रालयमा जोडिएर राख्नु वा छुट्याएर राख्नुमा त्यति फरक देखिदैन । फरक कहाँ पर्छ भने तपाईले त्यो क्षेत्रमा कतिको ध्यान दिएको छ । कतिको लगानी गर्नुहुन्छ । प्रोत्साहन गर्नुहुन्छ । त्यसैले गर्दा मलाई विश्वपरिवेशको हिसाबमा र नेपालमा पनि जुन युवापुस्ता छ जुन मुलुकको समृद्धिसँग जोडिएको छ । जसले विज्ञान र प्रविधि विना मुलुकको विकास हुँदैन । त्यो दवावले गर्दा कहिलेकाही के हुन्छ भने गर्नको लागि विज्ञान क्षेत्रको पढाई, लगानी वढ्दाखेरी यसले जुन मन्त्रालयमा भएपनि यसले आगामी दिनहरुमा विस्तार पाउँदै जान्छ ।

८. विज्ञान तथा प्रविधि क्षेत्रका धेरै विज्ञहरूले पनि नास्टलाई दिईने बजेट पर्याप्त मात्रामा छुट्टयाउन सकिएको छैन भन्ने गुनासो पनि छ ?

अब नास्टलाई दिईने बजेट त धेरै अपर्याप्त छ । विज्ञानको विकासको लागि विभिन्न विज्ञान पार्कहरु बनाउन जरुरी छ । सिंगापुर गयो भने त्यहाँ भएका विभिन्न पार्कहरु छन् । त्यसैले गर्दा हामीले सातैवटा प्रदेशमा विज्ञान पार्क बनाउने, प्रदेशको विशेषतालाई हेरेर नास्टको शाखा खोल्नुपर्ने आवश्यकताहरु छन् । आवश्यक अनुसारको विभिन्न खालका शाखाहरु खोल्नुपर्छ । विज्ञान विकास गर्नको लागि सपना देख्नुपर्छ । यसमा हामीले विशेष कोषहरु स्थापना गर्नुपर्छ ।

९. विज्ञहरू बिगतदेखि नै नास्ट र विज्ञान तथा प्रविधि मन्त्रालयबीच आपसी शीतयुद्ध रहेको छ भन्छन नि ?

हाम्रो वैज्ञानिकहरुमा पनि के छ भने आफु मात्र अगाडी वढ्ने सोच छ । उसले आफुलाई समाजसँग जोड्न सकेको छैन । जबसम्म कुनै पनि व्यक्तिले आफ्नो ज्ञान आफ्नो लागि मात्र प्रयोग गर्यो भने मान्यता कम हुन्छ । जब समाजको लागि पनि सहयोग गर्छ भने उसको मानसम्मान दिनप्रतिदिन वढ्दै जान्छ । त्यसैले विज्ञहरुले नि:स्वार्थ समाजको लागि काम गरियो भने राम्रो हुन्छ । शीतयुद्धको लागि गरियो भने राम्रो हुँदैन । त्यसको लागि राज्यले पनि वैज्ञानिकहरुलाई राजनीतिकको दृष्टिकोणले हेर्नु भएन वैज्ञानिकहरुले पनि म यो पार्टी त्यो पार्टी नभनीकन काम गर्दै समाजको लागि काम गरियो भने राम्रो हुन्छ ।

१०. नास्टमा भिसीको नियुक्ति हुन् नसक्नुको कारण के होला ?

नास्टमा भिसीको नियुक्ति नहुनु दुर्भाग्यको कुरा पनि हो । दुई तिहाइको सरकारले पहिलाको कार्यकाल सकिनुभन्दा अगाडि नै नियुक्त गरी परिचालन गर्नुपर्ने हो । अहिले भईरहेको केहि राजनीतिक दलका नेताहरुले काम गरिरहेको होला । तर मलाई लाग्छ, अब केहि दिनमै केन्द्र सरकारले सबै ठाउँहरुमा परिचालन गर्छ ।

११. विज्ञान तथा प्रविधि क्षेत्रका अनुसन्धानकर्ता र ग्रामीण भेगका युवा प्रतिभाहरुका लागि के कस्ता योजनाहरु ल्याउनुपर्छ ?

यसको लागि कुनै ग्रामीण भेगमा त्यस्ता खालका प्रतिभाहरु देखा परियो भने त्यसलाई चाडै नै सम्पर्क गरेर सरकारले सम्मान गर्नुपर्छ । सरकारले कुनै खालका त्यस्ता प्रतिभालाई सम्मान गर्न छोड्नुहुदैन । प्रतिभाहरुलाई हामीले प्रोत्साहन गर्ने नीति नियम ल्याउनुपर्छ । प्रतिभा भनेको देशको ठुलो गहना हो । प्रतिभा अन्य देशमा गयो भने ठुलो क्षति हुन्छ । नेपालले यस्तो दुर्दशा मूल कारण के हो भने यो अन्तिम १५ वर्षमा नेपालका धेरै प्रतिभा अन्य देशमा गए । त्यसपछि नास्टले प्रतिभालाई फर्काउने अभियान शुरु गरेपनि तर त्यो अभियानलाई अगाडी वढाउन सकिएन । त्यसैले यी दुईवटा कामलाई समानान्तर रुपमा गर्नुपर्छ । एउटा वाहिर गएका प्रतिभाहरुलाई फर्काएर राष्ट्रलाई समृद्धिमा सहयोग गर्ने वातावरण मिलाउनुपर्छ । अनि यहि भएका प्रतिभालाई पनि सम्मान गर्नुपर्छ ।

१२. हाम्रा धेरै युवा बैज्ञानिकहरु विदेश पलायान भई राखेका छन् । नास्टले बिदेशमा कार्यरत वा विदेशवाट स्वदेश फर्केको १ बर्ष अवधि ननाघेका बैज्ञानिकहरुको लागि “फर्क है फर्क बैज्ञानिक, तिमीलाई डाक्छ नेपाल” ल्याएको कार्यक्रम असफल भयो । अव यी बैज्ञानिकहरुलाई घर फर्काएर के साच्चै बैज्ञानिक अनुसन्धानमा सरकारले लगाउन सक्छ ?

हामीले त्यो पुरा गृहकार्य नगरीकन बनाएकोले कार्यक्रम असफल भयो । उनीहरुलाई फर्काएर यहाँ उनीहरुको लागि सबै वातावरण मिलाउनुपर्छ । अनि उनीहरुलाई फर्काउनुपर्छ । त्यसपछि उनीहरु कुन क्षेत्रमा काम गर्ने भन्ने सबै परिचालन गरेर विशेष खालको नीति नियम बनाउनुपर्छ । काम गर्ने उपयुक्त वातावरण बनाउनुपर्छ ।

१३. भारत र चिनजस्ता ठुला उदियमान शक्तिले दुर्त गतिमा हासिल गरेको अन्तरिक्ष बिज्ञान र आणविक शक्तिको विकासको क्षेत्रमा ठुलो सफलता हासिल गरेतापनि हामी धेरै पछि छौ। अव नेपालले कस्तो रणनीति अपनाएर अघि बढ्नुपर्छ ?

विज्ञान कुटनीति भनेको Science for Diplomacy and Diplomacy in Science हो । यसको लागि हामीले छिमेकी देशहरु र अन्य देशहरुसंग राम्रो सम्वन्ध राखेर कसो गर्दा विज्ञान र प्रविधिको क्षेत्रमा नेपाललाई फाइदा हुनसक्छ त्यो विषयमा अध्ययन अनुसन्धान गरेर अघि बढ्नुपर्छ । यी सबैको बारेमा विज्ञान कुटनीतिको लागि राज्यले विस्तृत रुपमा छलफल गरेर अन्य देशहरुसँग गरेर कार्ययोजना बनाएर अगाडी वढाउनुपर्छ ।

१४. शहरी लगायत दुर्गम र ग्रामीण क्षेत्रमा लुकेर रहेका बिज्ञान क्षेत्रका सिर्जनसिल प्रतिभाहरुले हेलिकप्टर, गाडी, ड्रोन र मिसाईल बनाएका छन्। तर बिगतका मन्त्रालय, नास्ट र अन्य सरोकारवाला निकायले केहि सहयोग नगरेकोले विदेश पलायन हुने धारणा राखेका थिए। उनीहरुले गरेको बैज्ञानिक अध्ययन अनुसन्धान र आविष्कारलाई सहयोग गरी प्रोत्साहन गर्न के कस्ता सरकारले के गर्नुपर्छ ?

शहरी लगायत दुर्गम र ग्रामीण क्षेत्रमा लुकेर रहेका बिज्ञान क्षेत्रका सिर्जनसिल प्रतिभाहरुले हेलिकप्टर, गाडी, ड्रोन र मिसाईल बनाएका छन्। तिनीहरुलाई सरकारले तुरुन्त बोलाएर सहयोग गरी उनीहरुले गरेको बैज्ञानिक अध्ययन अनुसन्धान र आविष्कारलाई सहयोग गरी थप अध्ययन अनुसन्धान गरी नेपाल मै बस्ने वातावारंको सिर्जना गर्नुपर्छ।

१५. विज्ञान र प्रविधि सम्वन्धित जनचेतनामुलक कार्यक्रमहरु एफएम, रेडियो र टेलिभिजनहरुमा प्रभावकारी ढंगले हुन सकेका छैनन् । नेपालमा विज्ञान र प्रविधिको जनचेतना वृद्धि गर्न के के गर्नुपर्छ ?

यसको लागि हरेक पत्रिकाले विज्ञान र प्रविधिको क्षेत्रमा विशेष ठाउँ दिनुपर्छ । खास गरेर राज्यद्वारा संचालित मिडियाहरुले यसको विकास गर्नको लागि प्रोत्साहन गरेर अगाडी बढाउनुपर्छ । विज्ञानको अन्तर्राष्ट्रिय रुपमा र यहि भएका युवा पुस्ताहरुलाई गएर सोध्यो भने कहाँवाट गरेको भन्दा मैले यस्तो टिभी हेरेर गरेको भन्छन् । त्यसैले हामीले पनि प्रोत्साहन गर्नपर्छ । त्यसमा सरकारले पनि विज्ञान क्षेत्रमा लेख्ने विज्ञहरुलाई पुरस्कृत गर्नुपर्छ ।

१६. नेपालमा आम जनमानसमा धेरै बिज्ञान जिज्ञाषहरुको बैज्ञानिक कारण थाहा हुन सकेको छैन । यो क्षेत्रको प्रवर्द्धनको लागि सरकारले के-कस्ता योजनाहरु ल्याउनुपर्छ ?

यसमा पहिला त सरकारले गर्नुपर्छ । अब प्रविधिको जजसले वढी प्रयोग गरेको छ । सरकारले पनि विज्ञानहरुको कार्यक्रमहरु गर्नुपर्छ । नयाँ पुस्ताहरुलाई विज्ञानको प्रवर्धनको लागि सरकार पनि अघि वढ्नुपर्छ । अन्य व्यापारीहरुले पनि यस विषयको लागि लगानी गर्नुपर्छ ।

१७. धेरै पत्रकारहरुले विज्ञान बुझिरहेको हुदैन विज्ञानको डिस्नेरीहरु पनि छैन यस विषयमा सरकारले सरकारले पनि पहल गर्नुपर्ने होइन ?

यो विज्ञानपार्क भित्रकै हो । त्यसैले गर्दा यस विषयमा नास्टले गरेनी हुन्छ । सरकारले गर्दा पनि हुन्छ । यो सबै आवश्यक छ ।

१७. आगामी भविष्यमा विज्ञान तथा प्रविधिको विकास गर्न सरकारले के-कस्ता नयाँ योजनाहरु ल्याउनुपर्छ ?

पहिला यसमा राष्ट्रको प्राथमिकतामा के के छ । जस्तै कृषि, उद्योगहरुको कुरा गर्छौं । यस्तामा आधारित विज्ञानहरुको परिचालन गर्नुपर्छ । कस्तो खालको विज्ञान आवश्यक छ । त्यसको लागि नीति नियम बनाउनुपर्छ । अनि लगानी पनि गर्नुपर्छ । विना लगानी विज्ञानको विकास हुँदैन ।

१८. अन्त्यमा, के भन्न चाहनुहुन्छ ?

अहिले भएका विभिन्न पत्रिकाहरुमा विशेष खालको ठाउँ दिनुपर्छ । तपाईहरुले यो विज्ञानका समाचारहरु पढेर शेयर गर्ने गरौ । पाठकहरुको पनि भेला गरेर यस विषयमा चासो वढाउनुपर्छ ।

यो पनि पढ्नुहोस्

विज्ञान तथा प्रविधिको विकास गर्न अनुसन्धान र विकासको बजेट बढाईने – मन्त्री सिंह

नेपालमा बिज्ञान तथा प्रबिधि विश्वविधालय स्थापना गर्नैपर्छ – सचीव शर्मा

भविष्यमा देशका ७ वटै प्रदेशमा नास्टको शाखा खोल्ने योजना – उपकुलपति पोखरेल

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

%d bloggers like this: