प्लाष्टिक पर्यावरण र जनस्वास्थ्य

प्लाष्टिकको आविष्कार अठारौं शताब्दीको उत्तरार्धमा वेलायती बैज्ञानिक अलेक्जेण्डर पार्केशले गरेका हुन । उनैको नाममा त्यस बेला प्लाष्टिकलाई पार्केजाइन भनिन्थ्यो । पार्केशले यसको आविष्कार नाइट्रोसेलुलोजद्वारा गरेका थिए । प्रारम्भिक प्लाष्टिक अत्याधिक कठोर थियो । यसलाई तेल र कपुर मिलाएर मुलायम वनाइयो । प्लाष्टिक शव्दको उत्पत्ति ग्रिक भाषाको प्लाष्टिककोज शव्दद्वारा भएको हो, जसको अर्थ वनाउन या तयार गर्न भन्ने लाग्न जान्छ । प्लाष्टिक वनाउने व्यापारिक विधिका जन्मदाता भने“लियो ह्यान्ड्रिकस आर्थर बेकलैण्ड”हुन । उनले प्लाष्टिकको निर्माण सन् १९१० मा फिनोल र फर्मल्डीहाइडको रसायनिक क्रिया गराएर वनाएका थिए । यसपछि प्लाष्टिक निर्माणका नयाँ-नयाँ तरिकाहरू आउन थाले । इथाइलिनको बहुलिकरण गरेर पोलीइथाइलिनको निर्माण पनि हुन थाल्यो । आज यस्ता पदार्थहरूवाट प्लाष्टिक तयार गरिन्छ, जसको गूणवत्ता र उपयोग बहुमूखी छ ।

प्लाष्टिक एउटा यस्तो पदार्थ हो जो हाम्रो दिनचर्यमा पूर्ण रुपेण घुलमील भइसकेको छ । यो यस्तो पदार्थ हो जसको उपयोगिताको वर्णन जति गरेपनि कमै हुन्छ । पोलेथिन व्यागदेखि लिएर खेलौना, भांडाकुडा, पाइप, फर्निचर, वट्टा आदि अनेक उपयोगी वस्तुहरूको निर्माण प्लाष्टिकद्वारा हुने गर्दछ । त्यसैले त प्लाष्टिक र शिशालाई आधुनिक रसायनको महत्वपूर्ण खोजको उपनाम दिइएको हो । यी दुई तत्वहरूलाई मात्र हाम्रो जीवनबाट हटाइदिने हो भने जीवन नै सांघुरो हुन जानेछ ।

यसरी एकातिर प्लाष्टिक हाम्रो जीवनको अभिन्न अंग वनी सकेको छ, भने अर्कोतिर चाढो नगल्ने, नसढ्ने गुणको कारण पर्यावरण र जनस्वास्थ्यका लागि भयंकर खतरा सावित हुंदै गइरहेको छ । मौसम,पानी,किरा, फटयांग्रा लगायत जीवाणु, विषाणु, लेउ,झ्याउ र ढुसी पनि यसलाई गलाउन असक्षम सावित भइसकेका छन् । अम्ल, क्षार, लवण लगायत अन्य रसायनहरूसंग क्रिया गराउदा पनि प्लाष्टिकलाई गलाउन नसकिने हुंदा प्लाष्टिकको फोहोर हाम्रो वातावरणमा दिन प्रतिदिन वढिरहेको छ । समून्द्रको तट होस् या हिमालय, मरुभूमिहोस या घना जंगल, तालतलैया हुन् या नदि–नाला लापर्वाहीपूर्वक फ्याकिएका प्लाष्टिकको फोहोरले सुन्दर मनोहर दृश्य भएका यी प्राकृतिक संरचनालाई दिन प्रतिदिन कुरुप वनाउदै गइरहेको छ ।

हामीले प्रयोग गर्ने प्याष्टिकजन्य ९५ प्रतिशत वस्तुहरूको उत्पादनमा ईष्टर थ्यालेट भन्ने तत्व हालिएको हुन्छ । यो तत्व प्लाष्टिकजन्य वस्तुहरूलाई मुलायम, टिकाउ, दरिलो र वहुउपयोगि बनाउन प्रयोग गरिन्छ । तर प्लाष्टिक र ईष्टर थ्यालेटको बीच कुनै पनि रासायनिक बन्धन नहुने हुंदा प्लाष्टिक पुरानो हुंदै गए पछि ईष्टर थ्यालेटका धुलोहरू वातावरणमा फैलिने र श्वासनली, मुख, छाला हुंदै शरीरभित्र प्रवेश गरी मिथोक्सि–एसीडिक–एसीड भन्ने अत्यन्त हानिकारक बिष बनाउदछ । यो वीषको अत्यन्त सूक्ष्म मात्रा पनि शरिरका विभिन्न अंगहरूका क्रियाशिल कोषहरूलाई मार्न सक्षम छन् । विशेषगरी अण्डकोष, डिम्बशाय, थाईमस ग्रन्थी, गर्भमा हुर्कदै गरेको बच्चा र अन्य छिट्टै विकसित हुने कोषहरूलाई मिथोक्सि–एसीडिक–एसीडले चाढै मार्ने गर्दछ । यी कोषहरूको मृत्यु पश्चात व्यक्तिमा नपुंषकता, बाझोपन, हरमोनहरूको गडवडी र गर्भ मै बच्चा मर्ने अथवा विकृत बच्चाहरू जन्मने जस्ता समस्याहरू आउदछन । ईष्टर–थ्यालेट र यसका स्वास्थ्यमा पर्ने प्रतिकुल असरहरूमा हजारौ अनुसन्धानहरू भैरहेका छन् र यो तत्वलाई विभिन्न रोगहरूको कारकतत्वको रुपमा बुझिदै गईएको छ ।

आज फेरी उही प्रश्न उठ्दछ कि यो समस्यावाट मुक्ति कसरी पाउन सकिन्छ ? अवैज्ञानिक तरिकाले गरिएको प्लाष्टिक विसंर्जनले पर्यावरण प्रदुषित गर्नका साथै जनस्वस्थ्यमा ठूलो क्षति पुर्याईरहेको छ । प्रायजसो हामी नगल्ने प्लाष्टिकबाट वच्नका लागि यसलाई जलाइदिन्छौ तर यसको जलनवाट वातावरणमा कार्वनडाइअक्साइड, कार्वन मनोअक्साइड र अन्य विषालु ग्यांसहरूको मात्रा वढ्न जाने हुदा जनस्वस्थ्यका लागि झन ठूलो समस्या सिर्जना गर्दछ । अर्कोतर्फ यसको जलनवाट उत्पन्न विशिष्ट उश्माधारीतावाला ग्यासको उत्पादनले पर्यावरण तातिदै जाने र “ग्लोबल वार्मिन” जस्तो भयावही समस्या उत्पन्न हुन गई जनस्वास्थ्य अझ विकाराल बन्न पुगेको छ । प्लास्टिक बिसर्जनको अर्को तरीका स्वरुप यसलाई हामी खाल्डो खनेर गाडिदिने गर्दछोै तर यसो गर्दा प्लास्टिक हाम्रो आखाको सामुन्नेबाट केहिछिनको लागि त हट्दछ तर सहि स्थान र सहि तरीकाले नगाडेमा यसले ल्याउने जैव उत्पादकत्व सम्बन्धि समस्याहरू झन बिकाराल छन् । माटाको पत्रभन्दा मुनि प्लास्टिकले आफ्नै पत्र बनाउदा यसलाई छेडेर पानीको आदान-प्रदान हुन सक्दैन फलस्वरुप त्यो ठाउमा विजको अंकुरण हुन नसकि जैब-उत्पादकत्व घट्दछ । अंकुरण भईहाले पनि जमिनमुनिको प्लास्टिक पत्रलाई छेडेर बिरुवाका जरा गहिराईसम्म पुग्न सक्दैनन् ।

यस्ता विभिन्न गुण र वैगुनले भरिएको प्लाष्टिकका राम्रा भन्दा नराम्रा पक्षहरू ज्यादा छन् । विशेषतः पर्यावरणीय समस्याका साथसाथै अदृश्य रुपमा जनस्वास्थ्यमा देखा परि रहेका भयावही रोगहरूका कारण पनि प्लाष्टिकलाई नै मान्न थालिएको छ । यस समस्याबाट मुक्ति पाउन विश्वका धेरै देशहरूले प्लाष्टिक र प्लाष्टिकजन्य पदार्थहरूलाई कढाईका साथ प्रतिवन्ध लगाउदै गएका छन् । हाम्रो देशमा पनि पोलिथिनको उपयोग र विक्री वितरणलाई निरुत्साही गर्न विभिन्न कानुनहरूको व्यवस्था छ । फोहरमैला व्यवस्थापन ऐन २०६८ अुनसार पोलिथनजन्य वस्तुहरूको उपयोग तथा विक्री वितरण गर्नेलाई रु १५ हजार देखि १ लाखसम्म जरिवाना हुने व्यवस्था भएपनि हाल सम्म कसैमाथी पनि कारवाही भने हुन सकेको छैन ।

नीति-नियममा पनि प्लाष्टिकजन्य पदार्थ भन्दा पोलीथिन प्रयोगलाई मात्र निरुत्साही गर्ने खालको कानुन छन तर प्लाष्टिक भनेको पोलोथिन मात्र हैन, पोलोथिनलाई मात्र निरुत्साही गरेर यस समस्याको समाधान हुदैन । वास्तवमा प्लाष्टिक तथा प्लाष्टिकयुक्त वस्तुहरू वातावरण र जनस्वास्थ्यका लागि अत्यन्त हानीकारक तत्व भएतापनि यसको उपयोग र विक्री वितरण यथावत नै चलि रहेको छ । प्लाष्टिकबाट बनेका वस्तुहरूका तत्कालिन फाइदा देखेर यसका जनस्वास्थ्यमा र वातावरणमा पर्ने दिर्घकालिन असरहरूलाई आंखा चिम्लि दिने हो भने एकदिन जीव, जीवन र जगतले अपुरणिय क्षति व्यहोर्नु पर्नेछ र यो दुर्घटनाबाट वच्ने एउटै उपाय भनेको यसको उत्पादनमा नै प्रतिवन्ध लगाउनु हो ।

*डा. हेमराज कोइराला योगी चितवनको भरतपुर-१, वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडीकल डाईरेक्टर हुन् ।

यो पनि पढ्नुहोस् 

विकट क्षेत्र प्राङ्गारिक कृषि गाउँ बन्दै

झापाको सुरुङ्गामा प्लाष्टिकबाटै पेट्रोलियम पदार्थ

योगी नरहरिनाथ अस्पताल

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

%d bloggers like this: