Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

ठूला-बडालाई हुने पारकिन्सन रोग के हो ?

Dr. Hemraj Koirala
डा. हेमराज कोइराला

विश्वविख्यात बक्सर मोहमद अली, प्यालेस्टाईन राजनीतिज्ञ यासेर आराफात, जर्मन तानाशाह एडोल्फ हिटलर, चाइनीज शासक मोओत्सेतुङ्ग र पोप जोनपाल द्वितीय जस्ता विश्व विख्यात व्यक्तित्वहरूको सक्रिय जीवनमा पूर्ण विराम लगाउन सफल “पारकिन्सन रोग” (Parkinson’s Disease) स्नायुहरूको क्षयको कारणले हुने रोग हो । बेलायती चिकित्सक जेम्स पारकिन्सन द्वारा सन् १८१७ मा गरिएको खोजलाई सम्मान गर्दै यसरोगलाई “पारकिन्सन रोग्” भनिएको हो । पारकिन्सन रोगद्वारा विश्वभर लगभग ६० लाख मानिसहरु प्रभावित भएकाले रोगलाई विशेष महत्वका साथ सम्बोधन गर्न हरेक बर्ष ११ अप्रिलका दिन विश्व पारकिन्सन रोग दिवश पनि मनाइन्छ । “यूरोपिय पारकिन्सन रोग संगठनको” आब्हानमा यो रोगका बारेमा जनचेतना जगाउन र वृहत जागरुकता निर्माण गर्ने अभिप्रायले प्रत्येक वर्ष जस्तै यो बर्ष पनि ११ अप्रिल २०१३ का दिन यो दिवश मनाइयो ।

मध्य मस्तिस्कमा स्थित वेसल–ग्याङ्लियाको सब्सट्यानसिया नीग्रा भनिने स्नायू केन्द्रका डोपामाईन उत्पादक कोषहरूको मृत्यु पश्चात यो रोगका लक्षणहरु देखापर्ने गर्दछ । केन्द्रीय स्नायु प्रणालीको धेरै कार्यहरूमा प्रत्यक्ष भूमिका खेल्ने डोपामाईन आफैमा स्नायू–रसायन (न्यूरो–ट्रान्समीटर) तथा हरमोन हो । यो रसायनले मांशपेशीहरूको चाल तथा खिचाव नियन्त्रण गर्ने, पोश्चर नियन्त्रण गर्ने, अनुभूति, प्रेरणा, दण्ड, पुरस्कार, मूड, एकाग्रता, लय, ध्यान, स्मृति, सिकाई, निद्रा र बोलि जस्ता मानसिक कार्यहरूलाई सुचारु र सन्तुलित राख्ने कार्य गर्दछ । डोपामाइन उत्पादन गर्ने कोषहरुको मृत्यु पश्चात, यो रसायनको कमिले विभिन्न किसिमका समस्याहरू आउनछन् । अठारौँ शताब्दी मै खोज गरिएको रोग भए पनि आजसम्म नत डोपामाईन उत्पादक कोषहरूको मृत्युको कारण पत्ता लगाउन सकिएको छ न यो रोगको रोगथाम तथा निवारणको भरपर्दो विधि नै । यो रोग अक्सर पचास वर्ष भन्दा माथिका उमेर समूहमा देखा पर्छ । औद्योगिक देशहरूमा हरेक हजार व्यक्तिहरू मध्ये तीन जनामा यो रोग देखा परेको छ भने साठी वर्ष नाघेका मध्ये प्रति हजार १० जना र असी वर्ष नाघेकामा प्रति हजार ४० जना व्यक्तिहरु यो रोग द्वारा पिडित छन् । विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार आज संसारभर लगभग ६० लाख मानिसरु यो रोगद्धारा पिडित छन् ।

रोगका लक्षणहरु

यो रोग लागेका व्यक्तिहरूमा विशेषत हातको कंपन, मांशेपेशीहरूमा कडकता, हिँडाई तथा चाल सन्तुलन नहुने, शरीर कुप्रिने, हिड्न अप्ठ्यारो हुने, अनुहारको मुखाकृती, भाव र मुद्राहरू असामान्य हुने, ¥याल चुहिने, निद्रा नलाग्ने, गन्ध थाहा पाउन गार्हो हुने, उदाशी तथा खिन्नता बढ्ने, दृष्टि विकृत हुने, कुनै कुरामा एकाग्रता लय तथा ध्यान दिन गार्हो हुने, आवाज मसिनो हुनै जाने जस्ता समस्याहरू देखा पर्दछन् । तौल घट्ने, कब्जियत हुने, श्वास बढ्ने, काम शक्तिको क्षय जस्ता लक्षणहरु पनि देखा पर्दछन् । यो रोग लागेको रोगीहरु सिधा उभिन नसक्ने हुन्छन् भने, रोगीका घूडा र कुहिनाहरू पनि मोडिएका हुन्छन् । हातका औलाहरु कपासबाट बत्ति कात्दा औला चलाए जस्तै निरन्तर चलिरहन्छन् । हिड्दा रोगी लामो फड्का लिएर हिड्न सक्दैन । चप्पल जूत्ता घिस्रीन सक्छ । उठ्न बस्न गार्हो हुन्छ । हिड्दा खुट्टाहरु सँगसँगै हात चल्दैनन् भने आँखा झिम्किने क्रमको आवृत्ती कम हुन जान्छ । खाना खान, चपाउन र भोजन निल्नमा समस्या देखा पर्न जान्छ । हिड्न चल्न रोड क्रस गर्नमा पनि मुस्किल हुन जान्छ । यो रोगको निधानका लागि विशेषतः केस हिष्ट्री र शाररीक परिक्षण मै निर्भर हुनुपर्ने हुन्छ । माथि वर्णित लक्षणहरु महसुस भएको खण्डमा जतिसक्दो चाँडो चिकित्सकीय परामर्श लिनुपर्ने हुन्छ ।

जोखिममा को को ?

पारकिन्सन रोगको जोखिममा को को छन् भनेर निर्धारण गर्न सकिएको छैन तथापि रोगद्वारा पिडितमध्ये १०% रोगीको परिवारका सदस्यमा पनि यो रोग पाइएको छ । त्यसैगरी ट्राई–क्लोरो–इथाईलीन (टीसीई) नामक पदार्थको प्रयोग गर्ने व्यक्तिहरूमा पनि यो रोग ज्यादा पाइएको छ । त्यसैगरी यो रोग लागेका मध्ये धेरै व्यक्तिहरूको व्यक्तित्व कडा, उग्र र धेरै सावधानि लिने खालको पाइएकाले यसलाई धेरै सावधानी लिनेको रोग मानिएको छ । बिशेषत रक्षा बिभागमा संलग्न व्यक्तिहरु, ठूला युद्ध लडेका सैनिकहरु, बिषाक्त रसायनसंग काम गर्नेहरु, ज्यादा चिन्ता र तनाबग्रस्त जीवन जिउनेहरु, क्लोस्टेरोलका समस्या भएकाहरु, अनिन्द्राका रोगीहरु, मस्तिष्क संक्रमण तथा मस्तिष्क घातका रोगीहरु, भिटामिन डी र ई को कमी भएकाहरु लामो समयसम्म रासायनिक औषधी खानेहरु यो रोगका जोखिम वर्गमा पर्दछन । कारण थाहा नभएपनि डोपामाईन उत्पादन गर्ने कोषहरुको मृत्यु अक्सिडेटिभ स्ट्रेसका कारणले हुने गर्दछ ।

उपचारहरु

आजका मितिसम्म यो रोगको उपचार पत्ता लागिसकेको छैन । यो रोग लागेकाहरुले विशेषतः व्यक्तिगत हेरचाहमा ध्यान पुर्याउनुपर्ने हुन्छ । खास गरी हिड्दा डुल्दा शररीक सन्तुलन बिग्रन गई लड्ने तथा चोटपटक लाग्नका साथै अन्य दुर्घटना हुन सक्ने खतरा रहन्छ । रोग लागेका व्यक्तिहरुले कहिल्यै पनि हरेस खानुहुँदैन । उच्च मनोवलका साथ रोगको प्रतिकार गर्न सके सहज जीवन जीउन मद्दत मिल्दछ । रोगको निदान चाँडै हुन सके रोगीलाई विभिन्न मेडिकल, सर्जिकल तथा पुर्नस्थापनीय (रिह्याब्लिटेशन) जस्ता उपचार विधिहरुद्वारा केही राहत पुर्याउन सकिन्छ । विशेषतः रोगका लक्षणहरुलाई समन गर्नका लागि लेभोडोपा, कार्विडोपा र अन्य लक्षण सामक औषधीहरु तथा प्यालिडोक्टोमी, थैलामेक्टोनी र डिप–बे्रन–स्टिमुलेसन जस्ता सर्जीकल विधिहरुको प्रयोग प्रचलीत छन । “स्टेम–सेल” सम्बन्धि खोज तथा अनुसन्धानहरु पनि यो रोगका लागी आशाका किरण भएर उदाएका छन् ।

परन्तु यी विधिहरुको प्रयोग गरेकाहरुमा पनि रोग पूर्णरुपमा निको हुन नसकेकाले रोगीलाई पूर्नस्थापनिय तथा प्राकृतिक उपचार विधिहरु विशेष महत्वका साथ दिने गरिएको छ । यो रोग लागेका व्यक्तिहरुले नियमित रुपमा अंग व्यायम रिढ व्यायम सिथिलिकरण व्यायम, प्रातभ्रमण जस्ता व्यायम विधिहरुको प्रयोग नियमित रुपमा गर्नु पर्दछ । मांशपेसीको कडकता कम गर्नका लागि स्ट्रेचिङ्ग, सम्पूर्ण शरीरको मालिस डिलक्स हाइड्रो मालिस, फोहोरा स्नान, स्पाइनल स्प्रे जस्ता विधिहरुसमेत लाभकारी छ । त्यसै गरी सिरोधारा, उष्णपादस्नान, मृतिकास्नान, (मड वाथ) एनिमा, वैट शिट प्याक, जस्ता विधिहरुले पनि ठूलो फाइदा पुर्याउछ । तनाव कम गर्नका लागी योग आसन, योग निद्रा, माइन्ड साउन्ड रेसोनेन्ट टेक्निक (MSRT), प्राणिक इनरजाईजीङ्ग टेक्निक (PET), सेल्फ मेनेजमेन्ट अफ एक्सेसिभ टेन्सन (SMET), जेकब्सन प्रोग्रेसिभ मसल्स् रिल्याक्सेसन टेक्निक (JPMRT) डिप रिल्याक्सेसन् टेक्निक (DRT), क्विक रिल्याक्सेसन टेक्निक (QRT), ईन्स्टेन्ट रिल्याक्सेसन् टेक्निक (IRT) जस्ता बिश्रामका विधिहरु उपयोगी छन् । यो रोगकका रोगीहरुले खानपीनमा पनि विशेष ध्यान दिनु पर्ने हुन्छ । खानामा भिटामिन डी, ई, बी, र सी पाईने तत्वहरुको विशेष समायोजन होस । कागती पानी वा नरिवलको पानीले पनि यो रोगमा फाईदा पुर्याउँछ । यो रोग भएकाहरुले दिमागलाई लठ्याउने खाद्य तथा पेयहरुको सेवन गर्नुहुदैन ।

*डा. हेमराज कोइराला योगी चितवनको भरतपुर-१, वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडीकल डाईरेक्टर हुन् ।

यो पनि पढ्नुहोस्

मुटु रोग र यसको उपचार

ग्याष्ट्रिकको घरेलु उपचार

योगी नरहरिनाथ अस्पताल

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

%d bloggers like this: