Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

वास्तुशास्त्र अनुसार घर बनाउँदा ध्यान दिनुपर्ने अत्यावश्यक कुराहरु

वास्तुशास्त्रमा भौतिक विकास निर्माणका बारेमा चर्चा गरिएको छ । स्थापत्य वेदमा यस सम्वन्धी धेरै कुराहरुको वर्णन गरिएको पाइन्छ । स्थापत्य वेद भनेको आजको वास्तुशास्त्र हो । यसमा नगर तथा भवन निर्माणका नियम, विधि र प्रक्रियाहरुको व्याख्या छ । आज स्थापत्य शास्त्र एक कला र विज्ञानको रुपमा विकसित भइसकेको छ । इञ्जिनीयरिंग र आकीटेक्ट लगायतका क्षेत्रमा यस उपवेदको विकास भइरहेको भन्न सकिन्छ । उद्योग, नहर, कुवा, इनार, मन्दिर, घर, अफिस, बजार आदिको निर्माण कसरी गर्नुपर्छ भन्ने कुराको वर्णन वास्तुशास्त्रमा गरिएको हुन्छ ।

वास्तुशास्त्रमा यस संसारमा भएका ५ तत्वहरु पृथ्वी, जल, तेज, वायु र आकाशको आधारमा निर्माणको कुरालाई बताइएको हुन्छ । सूर्यबाट प्राप्त हुने तेजको स्थानमा शनिबाट प्राप्तहुने भौतिक पदार्थहरु राख्दा वा निर्माण गर्दा विभिन्न प्रकारको समस्या त हुन्छ नै । यही ग्रहहरुबाट प्राप्त हुने ५ तत्वको तालमेल मिलाउन नसक्दा नै मानिसमा हैरानी र समस्याहरु हुने गरेको हो नत्र भने करोडौँ र अर्बौँ खर्च गरेर बनाएको भवनमा बस्दा पनि मानिसमा किन शान्तिको आभास हुन नसकेको त ?

तसर्थ वास्तु विज्ञलाई देखाएर वास्तु शास्त्र अनुसार नै कुनै पनि निर्माण गर्नु राम्रो हुने गर्दछ हाम्रा पूर्वजहरुले यसलाई निकै महत्व दिएर निर्माणको काम गर्ने गर्दथे । प्राचिन कालमा नेपाल, भारत, भुटान, बर्मा, जापान, हङ्कङ, कम्बोडिया आदि देशमा वास्तु शास्त्रअनुसार नै निर्माणका कार्यहरु हुने गरेको अनुसन्धानबाट पुष्टि हुन्छ तर अहिले भने यी देश हरुमा पनि वास्तुको विषयमा हेलचक्र्याईँ गरेको देखिन्छ । चीनमा पनि वास्तुशास्त्रको प्रयोग फेङसुईको नामले रहेको पाइन्छ । यसकारण चीन मा पनि वास्तुशास्त्रको निकै प्रभाव रहेको थियो भन्ने पुष्टि हुन्छ ।

नेपालमा पनि केही वर्ष पहिले बनेका मठ, मन्दिर, दरबार, किल्ला, चैत्य, घ्याङ, पोखरी, विहार, गुम्बाहरु वास्तु सिद्धान्तमा आधारित छन् । अहिले पनि हिन्दुस्तानका दक्षिणी भेगका मानिसले अधिकतम वास्तुशास्त्रको आधारमा बनाएको भवन तथा व्यावसायिक प्रतिष्ठानबाट अपेक्षा गरे भन्दा बढी लाभ र सफलता प्राप्त गरेको देखिन्छ । प्राचिन ऋषि महर्षीहरुको अनुसन्धानबाट नै वास्तु सिद्धान्त प्रतिपादन भएको हुनाले यसमा निकै वैज्ञानिक पक्षहरु रहेको भेटिन्छ । उर्जाको परिवर्तन र त्यस उर्जाले मानव जीवनमा पार्ने प्रभावको बारेमा ध्यान दिएर सकारात्मक प्रभावको अपेक्षा नै वास्तुशास्त्रको प्रमुख सिद्धान्त हो ।

चिसो ठाउँ र तातो ठाउँमा निर्माण प्रक्रियाका बारेमा केही फरक विधिहरु छन् । माटोको परीक्षण पनि वास्तु अनुसार गरिने भएकाले कस्तो माटोमा कुन कार्यको लागि निर्माण राम्रो हुन्छ भन्ने बारेमा पनि खुलाइएको पाइन्छ । वास्तुशास्त्र अनुसार सामान्य घर बनाउँदा घरको पूर्व वा उत्तरतिर बाटो भएको राम्रो मानिन्छ । पूजा कोठालाई घरको पूर्व र उत्तर तिरको कुनामा राख्नु राम्रो मानिन्छ । भान्साघर अर्थात किचेन वास्तु अनुसार पूर्व र दक्षिण दिशाको बिच भाग आग्नेय कोणमा राम्रो मानिन्छ । सुत्ने कोठाका लागि दक्षिण र पश्चिम दिशाको बिच भाग नैऋत्य कोणलाई राम्रो मानिन्छ, त्यसैगरी भण्डार कोठाको लागि पश्चिम र उत्तर दिशाको विच भाग वायव्य कोणलाई राम्रो मानिन्छ भने शौचालयको लागि दक्षिण पश्चिम दिशा नै राम्रो मानिन्छ ।

यो पनि पढ्नुहोस्

वास्तुशास्त्र अनुसार घरको के के कुन दिशामा हुनुपर्छ ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

%d bloggers like this: