Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

हामी किन निदाउँछौं ?

हामी किन निदाउँछौं ? परम्परागत मान्यता के छ भने निद्राले हाम्रो दिमागको साथसाथै दिनभरिको व्यस्तताको कारणले थाकेको हाम्रो शरीरलाई आराम गर्ने अवसर प्रदान गर्छ । तर सत्य त के हो भने, निद्राको कारणले बच्ने शक्ति करिब ५० क्यालोरी मात्र हुन्छ जुन शक्ति हामी एउटा टोस्ट खाएर प्राप्त गर्न सक्छौं । यति मात्र होइन, आर.इ.एम. चरणमा हाम्रो मस्तिष्क हामी जागिरहँदाभन्दा पनि बढी क्रियाशील हुनसक्छ भन्ने तथ्य माथि नै प्रस्तुत गरिसकिएको छ । यदि निद्रा आराम लिनको लागि होइन भने केको लागि आवश्यक छ त ? हामी किन सुत्छौं त ? हामी किन निदाउँछौं त ?

यी प्रश्नहरू जति सरल छन, यसको उत्तर खोज्न त्यति नै कठिन छ । विश्वका कुनै पनि वैज्ञानिक निद्राको खास प्रयोजनको बारेमा निष्कर्षमा पुग्न सफल भएका छैनन् । केही वैज्ञानिकहरूले निद्रालाई विकासवादको सिद्धान्तसँग जोडेर व्याख्या गरेका छन । उनीहरूका अनुसार निद्रा प्राणी विकास हुने क्रममा विकास भएको एक अत्यवश्यक क्रियाकलाप हो । प्राणीहरू विकास हुने क्रममा उनीहरूको आँखाले देख्ने क्षमताको पनि क्रमश: विकास हुँदै गयो, जसको कारणले गर्दा उनीहरू विभिन्न नयाँ क्रियाकलापहरूमा व्यस्त हुन थाले ।

यो नयाँ परिमार्जित जीवनमा उनीहरूले देखेको र भोगेका विभन्न कुराहरू जस्तै शिकारी, सुरक्षित ठाउँहरू, खानेकुरा पाइने स्थानहरू आदिलाई स्मरण गर्ने नयाँ चुनौती उनीहरूमा थपियो । यस्ता कुराहरू स्मरण गर्नुपर्ने चुनौतीका कारण मस्तिष्कका विभिन्न भागहरूमा अत्याधिक दबाब पर्न गयो । एकातिर आँखाको विकासका कारण देखेका नयाँ-नयाँ सुचनाहरू स्मरण गर्नुपर्ने र अर्कोतिर पुराना सूचनाहरूलाई पनि सुरक्षित राख्नुपर्ने दबाब खप्न मस्तिष्कलाई गाह्रो भयो । त्यसैले मस्तिष्कले आफ्नो काम बाहिरी वातावरणको अवरोधबिना नै सम्पन्न गर्न सकोस भन्ने उद्देश्यले प्राणीहरूमा निद्राको विकास भएको हुन सक्ने केही वैज्ञानिकहरूको तर्क छ ।

अरू वैज्ञानिकहरू केमा विश्वास गर्छन भने निद्राले हामीले दिनमा प्राप्त गर्ने सुचनाहरूलाई स्मरण गर्न मद्दत गर्ने मात्र नभएर ती सूचनाहरूलाई अन्तर्क्रियात्मक प्रक्रियाद्धारा नयाँ सुचनाहरूमा परिमार्जित गरेर भविष्यमा पनि तयार रहनको लागि मस्तिष्कमा विभिन्न क्रियाकलापहरू गर्न मद्दत गर्छ । यो सिद्धान्त प्रमाणित गर्नको लागि जर्मनीको ल्युवेक विश्वविद्यालयका जान बोर्न (Jan Born) र उनका सहयात्रीहरूले एउटा रमाइलो अनुसन्धान गरे । उनिहरूले १०६ जना व्याक्तिका विभिन्न अङ्कहरूलाई एक कठिन गणितिय सूत्रको प्रयोग गरेर अरू अङ्कहरूमा परिणत गर्न लगाए ।

रोचक त के छ भने सो हिसाब सम्पन्न गर्ने एक सजिलो तरिका थियो जुन कुरा ती व्यक्तिहरूलाई थाहा दिइएको थिएन । परीक्षणको पहिलो दिन २३ प्रतिशतले त्यो तरिका जाने । राम्रो निद्रापछि भोलिपल्ट उनीहरूलाई त्यही हिसाब गर्न दिँदा, ५९ प्रतिशतले सो तरिका पहिचान गरे । यो अनुसन्धानले के पुष्टि गर्छ भने निदाउँदाको समयमा हाम्रो मस्तिष्कले सूचनाहरूलाई स्मरण गर्ने मात्र नभएर ती सूचनाहरूलाई अन्तक्रियात्मक प्रक्रियाद्धारा नयाँ सूचनाहरूमा परिमार्जित पनि गर्छ ।

निन्द्राकै अर्को एक सिदान्त अनुसार दिनभरको व्यस्तताका कारण खिइएको हाम्रो शरीरलाई पुनः ताजा बनाउनको लागि हामीलाई निन्द्राको आवश्यकता पर्छ । निन्द्राले हाम्रो शरीरलाई पुनः मर्मत र शुद्ध बनाउनको लागि ठूलो भूमिका खेल्दछ । विगतका केही वर्षहरुमा यो सिद्धान्तले सफलता पाइरहेको छ । मानिस र अरु विभिन्न जीवहरुमा गरिएका थुप्रै अनुसन्धानहरुले यो सिद्धान्तलाई ठूलो बल दिइरहेका छन । केही अनुसन्धानहरुले के देखाएका छन् भने यदि कुनै मुसालाई निद्राबाट वञ्चित गराइयो भने त्यसले रोगसँग लड्ने क्षमता निकै धेरै गुमाउँन पुग्छ र केही हप्तामै त्यसको मृत्यु हुन्छ ।

अरु थुप्रै अनुसन्धानहरुले के पुस्टी गरेका छन् भने विभिन्न आरोग्यवर्धक कार्यहरु जस्तै मांसपेशीहरुको विकास, प्रोटिन निर्माण कार्य, ग्रोथ हर्मोन (Growth hormone) हरुको उत्पादन, कोषिकाहरुको र्ममत आदि अधिकांश निद्राकै अवस्थामा हुन्छन् । निद्राले शरीरको मात्र नभएर मस्तिष्कको पनि शुद्धिकरण गर्छ । उदाहरणको लागि, हामी जागिरहेको बेलामा मस्तिष्कका न्यूरोनहरुले एडिनोसिन नामक पदार्थको उत्पादन गर्छ । एडिनोसिन सबै कोषहरुमा पाइने यस्तो पदार्थ हो, जसले कोषहरुमा थुप्रै रासायनिक प्रतिक्रियाहरु सम्पन्न गर्नको लागि शक्ति प्रदान गर्दछ ।

मस्तिष्कमा एडिनोसिन थुप्रिनाको कारणले हामीलाइ थकाइ लागेको अनुभव हुने वैज्ञानिकहरु बताउँछन् । त्यसैले मस्तिष्कमा अत्याधिक मात्रामा एडिनोसिन थुप्रियो भने हामीलाई निद्रा लाग्छ । यसरी थुप्रिएको एडिनडोसिनलाई निद्राको समयमा हाम्रो शरीरले नष्ट गर्छ र उठ्दा हामी आफैलाई ताजा अनुभव हुन्छ । चिया र कफिमा पाइने क्याफिन नामको पदार्थले एडिनोसिनको उत्पादनलाई रोक लगाउने हुँदा चिया वा कफी खाँदा निद्रा कम लाग्ने र हामीलाई स्फूर्तिको अनुभव हुन्छ । अन्त्यमा, मानिसको आयु छोटो छ, तर हामी हाम्रो जीवनको एक तिहाइ समय सुत्नमै खर्च गर्छौ । निद्राको प्रयोजन र उद्देश्य जे भए पनि, हामी यो कुरामा विश्वस्त छौं कि निद्रा हाम्रो लागि अत्यावश्यक ­छ । त्यसैले निद्राको आवश्यकताको बारेमा जान्नु आवश्यक भइसकेको छ ।

यो पनि पढ्नुहोस् 

घुर्ने समस्याको कारणहरू र यसले निम्त्याउने जोखिमहरू

यसरी गर्नुहोस आफै ब्लड सुगरको निगरानी

मधुमेह रोगीले खान हुने र खान नहुने खानेकुराहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

%d bloggers like this: