Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

शाकाहार : जीवनको आधार (वैज्ञानिक तथ्य र प्रमाणहरू माथिको पुनरावलोकन)

परिचय

‘शाक’ अर्थात वनस्पतिजन्य खाद्य पदार्थहरुको सेवनलाई मात्र आधार बनाएर गरिने भोजन पद्दतिको अभ्यासलाई शाब्दिक रुपमा शाकाहार भनिन्छ । शब्द कल्पद्रुम नामक संस्कृत कोषले ‘पत्रं, पुष्पं, फलं, नालं, कन्दं संस्वेदजं तथा’ भनि पत्रं (पात), पुष्पं (फूल ), फलं (फल), नालं (डाँठ), कन्दं (जरा) र संस्वेदजं (चोप) आदि ६ प्रकारका वनस्पति जन्य उत्पादनलाई शाक मानेको छ । विश्वका विभिन्न सभ्यतामा पृथक पृथक ढंगले शाकाहारको अभ्यास गर्ने गरिन्छ । धर्म, संस्कृति, आध्यात्मिकता र दया माया करुणा जस्ता मानवीय मूल्यसँग गाँसिएको शाकाहारलाई मांशाहारको विपरितार्थ शब्दको रुपमा बुझिएपनि यसको वैश्वीक अभ्यास हेर्दा शाकाहार भनेको मांशाहार नगर्नु मात्र नदर्शीन आउँछ ।

पूर्वीय दर्शनमा आधारित शाकाहारको अभ्यासले जीव हत्या गरेर प्राप्त खाद्ययलाई शाकाहार मान्दैन भने जीव हत्या नगरी प्रपत हुने दुध तथा दुग्धजन्य पदार्थलाई र हत्या गरेर प्राप्त हुने महलाई पनि शाकाहार नै मान्दछन् । चलन चल्तीको भाषामा यस्ता शाकाहारीलाई ल्याक्टो-भेजीटेरीएन भनिन्छ । ल्याक्टो-भेजीटेरीएनहरु माछा, मासु, अण्डा खाँदैनन् तर दुध तथा दुग्धजन्य पदार्थहरु खाने गर्दछन् । त्यसै गरी माछा, मासु, दुग्ध परिकार नखाने तर अण्डा खानेलाई ओभो–भेजीटेरीएन भनिन्छ । त्यसै गरी माछा, मासु नखाने तर दुग्धजन्य पदार्थ, मह र अण्डा खानेलाई ल्याक्टो-आभो-भेजीटेरीएन भनिएको छ । जन्तुबाट प्राप्त कुनै पनि पदार्थको सेवन धारण तथा प्रयोग नगर्ने शाकाहारीलाई भीगन वा शुद्ध शाकाहारी भन्ने गरीन्छ । कतिपय भीगनहरु केवल नपाकाएको वनस्पति उत्पादन मात्र खाने गर्दछन् भने कतिपय शुद्ध फल मात्र सेवन गर्नेहरु हुन्छन् । काँचो फलपूmल तथा सागपात मात्र खाने भीगनलाई ‘र भीगन’ भनिन्छ भने फलपूmल मात्र खानेलाई ‘फुटेटेरीएन’ भनिने गरिन्छ ।

सन् २००५ देखि सन् २०१५को दशकमा गरिएको विभिन्न शोध अनुसन्धानले दर्शाएको अनुरुप अष्ट्रेलियामा ५%, अष्ट्रियामा ९%, ब्राजीलमा ५%, क्यानडामा ४% चाइनामा ५%, डेनमार्कमा ४%, फिनल्याण्डमा २–३%, फ्रान्समा २%, जर्मनीमा ९%, भारतमा ३१%, इजराइलमा ५%, इटलीमा १०%, जापानमा ४–७%, नेदरल्याण्डमा ४–५%, न्युजिल्याण्डमा १–२%, पोल्याण्डमा ३.२%, पोर्चुगलमा ०.३%, रसीयामा ३–४%, स्पेनमा ४%, स्वीडेनमा १०%, स्वीजरल्याण्डमा ५%, ताइवानमा १३%, वेलायतमा ७–११% र अमेरीकामा ५% जनता शाकाहारको अभ्यास गदछन् । यो संख्या ल्याक्टो भेजीटेरीयनहरुको हो जसमा ओभो भेजीटेरीएनलाई संलग्न गरिएको छैन । संख्यात्मक रुपमा समाजको सानो हिस्सा लगभग ७% जनसंख्या मात्र शाकाहारको अभ्यास गरिरहेको भएता पनि आज स्वास्थ्य सचेतना मानवता, एवम् आध्यात्मिकता कारणले शाकाहारीका संख्या दिनानुदिन बढ्दै छ । शाकाहारका विषयमा भइरहेका विभिन्न खोज अनुसन्धानले आज यसलाई जीव जीवन र जगत रक्षाको महत्वपूर्ण कडीको रुपमा स्थापित गरिसकेको छ । यस परिप्रेक्षमा हामीले तिनै तथ्य र बैज्ञानिक प्रमाणहरुलाई संगालेर यसमाथी पुनरावलोकन गरेका हौं ।

मांशाहार र वातावरण

सन् २००७ मा विश्व खाद्य तथा कृषि संगठनले आधुनिक मांश केन्द्रीत पशुपालन व्यवसायलाई पृथ्वीको पर्यावरण प्रणालीको मुख्य विनाशकको रुपमा मानेको छ । यी मांश केन्द्रीत पशुशालाहरु ग्लोवल वार्मिड्ड गराउने ग्रीन हाउस ग्यासको प्रमुख उत्पादक भने पृथ्वीको जैविक विविधता समाप्त गराउने पनि प्रमुख कारण हुन् । त्यसै गरी गरीव तथा विकाशशील देशमा यिनै पशुशालाहरु पानी पदुषणको अग्र कारकमा पर्दछन् मांश तथा दुग्ध उत्पादनका लागि पालिएका पशुहरु चराउन हिउँले नढाकिए मध्येको २६% जमिन प्रयोग भइरहेको र यि पशुधन पाल्नका लागि कुल कृषियोग्य भूमिको ३३% पशुआहार उत्पादनमा खर्च भईरहेको तथ्य छ ।यसरी पालिएका पशुहरुलाई स्वतन्त्र रुपमा चराउँदा पशुपालन प्रेरित विन विनाश भइरहेको जसको कारणले महत्वपूर्ण वनस्पति तथा जन्तुहरु लोपोन्मुख भइरहेका छन् । यसै गरी स्वतन्त्र चरनहरुमा धेरै पशु चराउँदा कहिले काँही माटोको गुणवत्ता कम हुने र भूक्षय हुने खतरा पनि बन्दछ भने जैविक विविधता नष्ट हुने खतरा पनि उत्तिकै रहन्छ ।

मांशाहार र मौषम परिवर्तन

पछिल्लो सय वर्ष देखि पृथ्वीको निकटस्थ सतहको औषत तापक्रममा भइरहेको वृद्धिको कारण दिनानुदिन मौषम परिवर्तन भइरहेको छ । यसरी पृथ्वीको तापक्रम बढ्नुलाई ग्लोवल वार्मिड्ड भनिन्छ । ग्लोवल वार्मिड्ड गराउन धेरै कारणहरु जिम्मेवार छन् जसमध्येको प्रमुख कारण मानवीय जीवन शैलीका कारणले उत्सर्जित हरित गृह ग्यासहरु हुने । यी ग्यासहरुमा पानीको वाफ (H2O), कार्वनडाएअक्साइड (CO2), मिथेन (CH4), नाइट्रस अक्साइड (NO2) र ओजन(O3) आदि पर्दछन् । विशिष्ट उष्मा धारीता भएका यी ग्रीनहाउस ग्यासहरुको उत्सर्जनमा मासु तथा दुधका लागि पालिएका पशु पंक्षीहरुले प्रत्यक्ष एवम् पारोक्ष रुपमा सहयोग पु~याईरहेका हुन्छन् ।

मांश तथा दुधका लागि गरिने व्यवसायिक पशुपालनका कारणले प्रत्यक्ष एवम् परोक्ष रुपमा हरित गृह ग्यासको उत्सर्जन गर्दछ । संसार भर प्रत्येक वर्ष ७.१ अरव टन कार्वन डाई अक्साईड बराबरको हरित गृह ग्यासको उत्पादन जनावरहरुबाट हुने गर्दछ । यो आंकड़ा मानव जनित हरित गृह ग्यास उत्पादनको १४.५% हो । जनावरहरुले मुख्य रुपमा उत्सर्जन गर्ने मिथेन र नाइट्रेस अक्साइड ग्यास कार्वन डाई अक्साइड भन्दा क्रमश २३ र २९६ गुणा बढी ग्लोवल वार्मिड्ड गर्न सक्ने क्षमताका छन् । मिथेन ग्यास जनावरले दाना पचाउने र गोवरको व्यवस्थापनका क्रममा निश्किन्छ र संसारभर प्रत्येक वर्ष जनावरहरुबाट उत्सजीत हुने मिथेन (CH4) ग्यासको मात्रा लगभग २.२ अरव टन कार्वन डाई अक्साईड बराबर हुन आउँछ ।

एउटा वयस्क गोरुले प्रतिवर्ष ७५ किलोग्राम मिथेन ग्यास उत्पादन गर्दछ जुन १.५ टन कार्वन डाई अक्साईड बराबर हो । यो मिथेन उत्सर्जन पाँच जना बस्न सक्ने सानो कार ५८.३२ घण्टा सम्म लगातार दौडाए बराबर हो । त्यसैगरी नाइट्रस अक्साईड ग्यासको प्रत्यक्ष उत्पादन गोवर व्यवस्थापन सँगै सम्बद्ध छ भने अप्रत्यक्ष रुपमा जनावरलाई खुवाउन रोपिएको खाद्यको प्रयोगले र दानादार विरुवाहरुको उत्पादनसँग सम्बद्ध छ । यसरी प्रत्येक वर्ष जनावरहरुबाट उत्सर्जीत हुने नाइट्रस अक्साइड ग्यासको मात्रा पनि २.२ अरव टन कार्वन डाई अक्साईड बराबर हुन आउँछ । त्यसैगरी मासु र दुग्धजन्य पदार्थको उत्पादन भण्डारण र ढुवानीमा खर्च हुने इन्धनको दहनबाट २.७ अरव टन कार्वन डाई अक्साईड ग्यासको उत्पादन हुने गर्दछ ।

शाकाहारी भएरै हामीले पृथ्वीले भोगीरहेको तीन मुख्य समस्याहरु १) मौसम परिवर्तन, २) पानी तान्ने वन विनाश, ३) प्रदुषणहरु माथि विजय पाउन सक्छौं किनकी मांशजन्य उद्योगमा पालिएका पशुधनहरुले उत्सर्जन गर्ने हरित गृह ग्यास संसार भरीकै यातायातका सामग्रीहरुले उत्सर्जन गर्ने भन्दा बढी छ र शाकाहारी भएर इलेक्ट्रिक कार चलाउनु भन्दा ५०% ज्यादा कार्वन उत्सर्जन बचाउने छन् ।

मांशाहार र भोकमरी समस्या

संसारभरका सात सय ३० करोड मानिसहरु मध्ये केवल ५०–६० करोड मात्र शाकाहारी छन् । चार्टवीन नामक वेवसाइटले दर्शाए अनुरुप सन् २००९ सम्मको तथ्याङ्कलाई हेर्दा संसारभर मासुको प्रति व्यक्ति खपत ४१.९० किलोग्राम प्रतिवर्ष रहेको छ जसमा नेपालीको औषत खपत ९.९ किलोग्राम प्रतिवर्ष छ भने सवैभन्दा धेरै १२०.२ के.जी प्रतिवर्ष र खपत संयुक्त राज्य अमेरीकामा र सवैभन्दा कम खपत ४.४ के.जी प्रति व्यक्ति प्रतिवर्ष भारतमा छ । तर यो तथ्याङ्क विस्तारै बढीरहेको छ जसमा १२६ कि.ग्रा. प्रति व्यक्ति प्रति वर्ष पु~याएर सन् २०११ मा न्यूजिल्याण्ड यस अग्रपंक्तिमा थियो । त्यसैगरी संसारभर प्रति वर्ष औषतन् ७२,७०,५२,०१२।०० (बहत्तर करोड, सत्तरीलाख, बाउन्न हजार बाह्र) टन मासु उत्पादन हुने गरेको छ । मासु उत्पादन गर्नेमा चाइना सवैभन्दा अग्रपंक्तिमा छ । जसले ८,०९,७०,६२७।०० (आठ करोड, नौ लाख सत्तरी हजार छ सय सत्ताईस टन मासु प्रतिवर्ष उत्पादन गर्दछ भने सवै भन्दा कम ६ टन मासु उत्पादन गर्ने देश ‘सेन्ट पियारे मीक्यूलोन’ हो जवकी हाम्रो देश नेपालले प्रति वर्ष ३,२८,६२५।०० (तीन लाख २८ हजार छ सय पच्चिस) टन मासु उत्पादन गर्दछ । यो परिमाण सन् २०५० सम्म डबल हुने अनुमान लगाईएको छ ।

यसरी संसारको मांशाहार प्रति बढ्दो मोहलाई दृष्टिगत गर्दा आउँदो समयमा सस्तो खानुकुराको जमाना सकिएझैं लाग्दछ । किनकी मांशाहार महँगो खानेकुरा हो । संयुक्त राष्ट्रसँगैले सार्वजनिक गरेको तथ्याड्ड अनुरूप प्रतिदिन २१००० व्यक्तिहरु भोकमरी र भोकसँग सम्बन्धित कारणहरुले मर्दछन् र यसै अनुपातमा यो संख्या प्रतिवर्ष ७६ लाख पैसठ्ठी हजारको हुन पुग्छ । यसै गरी संसार भर भोकसँग जुझिरहेका र दुई छाक राम्ररी खान नपाउनेहरुको संख्या लगभग ८७ करोड (८७० मिलियन) रहेको र यो विषम परिस्थितीकोे कारण मांशाहारसँग सम्बन्धित छ । किनकी व्यवसायिक मासु उत्पादनमा ठूलो परिमाणमा पशुलाई अन्न खुवाएर माशु प्राप्त गर्ने गरिन्छ । ‘सोया प्रोटीन एण्ड फर्मेन्टेड मीट प्रोडक्ट’ नामक पुस्तकमा भनिए मुताविक एक के.जी गाईको मासु उत्पादन गर्नलाई ७ किलो अन्न, १ किलो सुगुरको मासु उत्पादन गर्न ४ किलो अन्न, १ के.जी कुखुराको मासु उत्पादन गर्न २.२ के.जी अन्न र १ के.जी माछा उत्पादन गर्नलाई १.२ किलोग्राम अन्न खुवाउनु पर्दछ ।

विकसित देशमा ७०% अनाज केवल पशु पंक्षी जनावरलाई खुवाएर मासु उत्पादन गर्नको लागि खर्च हुने गर्दछ भने विकास सिल देशमा यो आँकडा ४०%को छ । यस्तो परीप्रेक्षमा संसारमा प्रतिवर्ष उत्पादीत ७२ करोड ७० लाख ५२ हजार १२ टन मासु उत्पादन गर्न कति अन्न लाग्छ र त्यो अन्नको १०% हिस्सा मात्र भोकमरी ग्रसीतजनहरु सम्म पु~याउन सके आजको भोकमरीको समस्या तत्काल हल हुन सक्छ । ३२ करोड जनसंख्या भएको संयुक्त राज्य अमेरिकाले मात्र शाकाहारी भईदिएर जनावरलाई खुवाउने खाना मान्छेलाई खुवाउने हो भने ८० करोड (८०० मिलियन) अन्य व्यक्तिहरुलाई खुवाउन सक्छ ।

मांशाहार र प्रदुषण

एउटा ठूलो मंश केन्द्रित पशुधन (गाई, भैंसी, बाख्रा कुखुरा, सुगुर) शालाले उत्पादन गर्नै फोहोर एउटा सानो सहरबाट उत्पादीत हुने फोहोर भन्दा ज्यादा हुन्छ । संयुक्त राज्य अमेरिमा पशुशालाबाट मात्र १३३ मिलियन टन सुख्य फोहोर प्रतिवर्ष उत्पादित हुने गरेको छ । जुन अमेरिकाको जनसंख्याले उत्पादन गर्ने फोहोर भन्दा १३ गुणा ज्यादा हो । पशुशाला (जसलाई कन्सन्ट्रेटेड एनिमल फिडिड्ड अपरेशन पनि भनिन्छ) बाट उत्पादित पशुजन्य फोहोरमा पशुलाई खुवाउन प्रयोग भएका खाद्यान्नको मात्र किटाणु, विषालु लेउ, झ्याउ , ढुषी, परजीवी, पशु औषधिको मात्रा, भारी धातुहरु (जस्ता, तामा आदि) जनावारको हरमोन, एन्टीवायोटिक्स, किटनाशक विषादी आदि पाइन्छ । यो फोहोरालाई उर्भरकको रुपमा खेतमा विसर्जन गरेपनि यसले पानी, माटो, हावा आदिलाई प्रदुषित गर्दछ । जसमध्ये नाइट्रेट प्रदुषण मुख्य छ । यसरी पानी प्रदुषण गर्नुमा जनावरको मल मात्र जिम्मेवार नभएर जनावरलाई खुवाउन अन्दधुन्द प्रयोग भएको आधुनिक खादमल पनि झन धेरै जिम्मेवार छ । मांश केन्द्रीत पशुशालाबाट उत्पादित फोहोरमा मान्छेको दिशा भन्दा १० देखि १०० गुणा ज्यादा सान्द्र किटाणुहरु हुन्छन् र ४० भन्दा धेरै रोगहरु पशुकै मलको कारणले लाग्न सक्छ ।

मांशाहार र इन्धन बचत

बैश्विक इन्धन खपतको ठूलो हिस्सा मांशाहारसँग जोडिएको छ । व्यवसायिक कृषि फर्ममा पशुधनहरुलाई खुवाउन उत्पादन गरिने घाँस एवम् दानमा धेरै उर्जा खर्च गरिन्छ । त्यसपछि जनावरहरु पाल्ने फर्म हाउसमा हुन्छ । त्यसपछि जनावर काटिने कत्लखाना र मासु प्रशोधन गरिने मोसिन र फ्याक्ट्री चलाउन इन्धन खपत हुने गर्दछ । मासु प्रशोधित भइसकेपछि यसलाई एक ठाउँबाट अर्काे ठाउँमा लैजान ठूलो मात्रामा इन्धन खपत हुने गर्दछ । अन्तत्वगत्वा मासु किनेर ल्याइसकेपछि मासु नसडोस् भनेर हरेक घरमा यसलाई फ्रिजिड्ड र कुकिड्ड गर्नमा इन्धन खपत हुने गर्दछ ।

एक अध्ययनले दर्शाए अनुरुप एउटा चार सदस्यीय अमेरीकी परिवारले ४८० के.जी. मासुको उत्पादनमा औषत ९८४ लिटर (२६० गेलेन) पेट्रोल लाग्ने अनुमानित तथ्याङ्क छ । कर्नेल युनिभर्सिटीका डेविड पिमेन्टल भन्नुहुन्छ ‘मांशजन्य पदार्थबाट १ क्यालोरी प्रोटिन प्राप्त गर्न २८ क्यालोरी पेट्रोलियम उर्जा खर्च गर्नुपर्दछ भने अनाजबाट सोही क्यालोरी बराबरको प्रोटिन प्राप्त गर्न केवल ३.३ क्यालोरी पेट्रोलियम उर्जा खर्च हुन्छ । एक पाउण्ड मांश जन्य प्रोटिन उत्पादन गर्न वनस्पति जन्य प्रोटिन उत्पादन गर्नु भन्दा १२ गुणा ज्यादा जमिन, १३ गुणा ज्यादा इन्धन र १५ गुणा ज्यादा पानीको आवश्यकता पर्दछ ।

मांशाहार र जैविक विविधता

मांशाहारी जनसंख्याको वृद्धिले गर्दा महत्वपूर्ण जंगली जनावरहरुका मासु खान चोरी शिकारी दिनानुदिन बढ्दै छ । यसले हाम्रो जंगली जनावर र त्यस ठाउँको जैविक विविधता पनि सिद्याउँदैछ ।

मांशाहार र गरीवी निवारण

संसारभर प्रतिवर्ष ७२७०५२०१२ टन मासु उत्पादन हुन्छ । यसै सिलसिलामा खरवौं खरवको साधन श्रोत खर्चिएको छ । यति मासुको दाम यदी ५०० रुपैयाँ किलोले मात्र हिसाव गर्ने हो भने पनि त्यो ३,६३,५२,६०,६६,००,००० (३६,३५,२६ अरव) हुन आउँछ । र यसको आधालाई मात्र लागत मान्दा पनि १८,१७,६३ अरव रुपैयाँ बच्दछ ।

मांशाहार र स्वास्थ्य

संसारभर प्रत्येक वर्ष १ करोड पचहत्तर लाख मान्छे तथा मुटु तथा रक्तनलीको रोगले गर्दा मारिने गर्दछन् । जुन बैश्वीक मृत्युको ३१% हो ।यसरी संसारभरी प्रतिवर्ष धेरै मान्छे मार्ने रोगको मुख्य कारण मांशाहार पर्दछ । मांशाहार उव्म् सिचुरेटेड चिल्लोको प्रयोग एक्लै मुटुरोगको ४०% रिस्क हो । डा.डिन अनिस (जो अमेरिकाका मुटुरोग विशेषज्ञ हुन्)ले मुटुरोगबाट बच्न र लागेको मुटुरोगलाई विना औषधी र अपरेशन उल्ट्याउन पूर्ण शाकाहार अपनाउनुपर्ने तथ्य पत्ता लगाएका हुन् ।

हार्वार्ड स्कूल अफ पब्लिक हेल्थले सन् २०१२ मा गरेको अनुसन्धानमा जनाए अनुसार रातो मासुको उपभोग नगर्ने जनसमुदाय भन्दा उपयोग गर्ने सामान्य जनसमुदायको मृत्युदर ७–१९% ले बढेर गएको तथ्य पत्ता लगाए र मृत्युको कारकक रोगमा मांशाहारले उत्पान्न क्यान्सर र मुटुरोग थिए । त्यसैगरी हार्वाड स्कूल अफ पब्लिक हेल्थमै गरिएको अर्काे अनुसन्धानले प्रशोधित वा अप्रशोधित मासु खानेहरुलाई टाइप २ मधुमेह हुने तथ्य पत्ता लगाएका छन् । यसै अनुसन्धानमा एकटाइमको मासु हटाएर गेडागुडी र फलफूल खुवाउँदा मात्रै पनि यो रोग लाग्ने खतरा १७–३५% ले कमी भएको पाइयो । चाल लाख मान्छेहरु माथि २०१३मा गरिएको अध्ययनले प्रशोधित मासु खानेहरुमा मुटुरोग र क्यान्सर लागेर चाँडै मृत्यु हुने खतरा भएको पाइयो । त्यसैगरी २००७ मा अमेरिकी मेरिल्याण्डमा नेशनल इन्स्टीट्युट अफ हेल्थले अमन्दाक्रसको अगुवाईमा गरेको अनुसन्धानले रातो र प्रशोधित दुवै खाले मासुको सेवनको ठूलो आन्द्रा, फोक्सो, अन्ननलि र कलेजोको क्यान्सर संग घनिष्ठ सम्बन्ध भएको पाइयो ।

फुड पोइजनिड्ड

अमेरिकी मासुपसलहरुमा गरिएको माइक्रोबायोलोजिकल अध्ययनले ४७% पसलहरुमा व्याक्टेरियल कन्टामिनेशन भएको पाइएको छ । जसमध्ये आधा भन्दा धेरै प्रजातिका व्याक्टेरियाहरु एन्टीवायोटिकले पनि मार्न नसकिने खालको रहेका छन् । माछा मासुको सेवन गर्नेहरुलाई स्वाइन फ्लू , वर्ड फ्लू , रेविज जस्ता सयौं जुनोसिस (जनावरबाट मान्छेमा सर्ने) रोगहरुको उच्च जोखिम पाइएको छ । यसैगरी मांशाहार गर्नेहरुलाई कोलेस्टेरोल बढ्ने, रक्तचाप बढ्ने, निन्द्र नलाग्ने, मुड अफ हुने, चिटचिडाहट बढ्ने, ग्यास्ट्राइटिस, कब्जीयत, रक्त क्यान्सर जस्ता अनेकौं रोग लाग्ने उच्च सम्भावना हुन्छ ।

उपसंहार

संसारमा मांशाहारीको ठूलो संख्या छ र यो संख्या अझै बढ्दो क्रममा छ । मांशाहारीको बढ्दो संख्याले जीव जीवन र जगतलाई नै संकटमा धकेलिरहेको छ । यस परिप्रेक्षमा यदि भोलीको खतरालाई नजरअन्दाज गरेर आजैदेखि शाकाहारी हुने हो भने यो सृष्टि बचाउनको लागि ठूलो योगदान हुनेछ ।

*डा. हेमराज कोइराला योगी चितवनको भरतपुर-१, वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडीकल डाईरेक्टर हुन् ।

यो पनि पढ्नुहोस् 

क्यान्सर लाग्न नै नदिने फलफुल र तरकारीहरु

विषाक्त फलफूल र तरकारीलाई विषरहित बनाउने तरिका

कागती पानी पिउनुका फाइदाहारू

योगी नरहरिनाथ अस्पताल

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

%d bloggers like this: