Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

यसरी गर्नुहोस् मुटुको हेरचाह

मुटु तथा रक्तनलीको रोग लागेर बार्षिक एक करोड सतहत्तर लाख मान्छे मारिन्छन। यो कहालीलाग्दो मृत्युको तथ्यांक यहि रुपले बढ्दैगए केहि दशक भित्र डबल हुनसक्ने अनुमान विश्व स्वास्थ्य संगठनले लागाएको छ। वास्तवमा मुटुरोग जीवन शैली संग सम्बन्धित रोग हो। खराब र रोगकारक जीवनशैली लाई त्यागेर स्वस्थ जीवनशैलीको अबलम्बन ले यो रोगबाट मुक्ति दिलाउछ। यसर्थ आउनुस हामी पनि सिकौ स्वास्थ्य जीवनशैलीद्वारा मुटुको हेरचाह गर्ने तरिका निम्न अनुसार छन् ।

भोजन व्यावस्थापन

मुटुरोग तथा हृदयघातवाट वच्नका लागि भोजन व्यवस्थापनको ठूलो महत्व छ । भोजनको मात्रा भोज्य पदार्थहरुको छनौट व्यक्तिको प्रकृति, विकृति (रोग), बल, वय (उमेर), सत्व (मानसिकता) आदिको आधरमा हुन अति आवश्यक छ । कार्वोहाइडेड, प्रोटिन, भिटामिन, लिपिड, पानी,रेशा, एण्टि अक्सिडेण्ट र खनिज तथा लवणहरुको उचित मात्राले यूक्त क्षेत्रिय र मौसमी खाद्यन्नहरु मुटुरोगका लागि राम्रो मानिन्छ । चमल, गहु, मकै, आलु पिडालु सुठूनी, चिनी, आटा आदिवाट कार्वोहाइडेड प्राप्त हुन्छ । घिउ, तेल र तेलिय खाद्यवाट लिपिड प्राप्त हुन्छ । माछामासु र गेडागुडी प्रोटिनको श्रोत हुन भने फलफूल, मौसमी तरकारी, हरिया सागसव्जी, कलेजो, अण्डा र रातो मासु भिटामिनको श्रोत हुन् ।

१. घिउ, तेल, नौनी, छाली, वटर र वोसो जस्ता जंगम श्रोतवाट पाइने चिल्लो पदार्थहरुको सेवन गर्नु हुदैन । खाना पकाउन अत्यान्त कम वनस्पती तेलहरुको उपयोग गर्नुपर्छ। शुद्धतोरी वा सूर्यमुखीको तेल अन्य भन्दा उत्तम छन् ।

२. मुटुरोगीले पूर्ण शाकाहारी हुन जरुरी छ । माछामासुमा पाइने वोसोले कोलेस्टेरोल वढाउन मद्दत गर्छ । माछामासु छाड्न नसक्नेले खसी, राँगा, वंगुर जस्ता ठूला जनावारका मासु छाडेर माछा वा लोकल कुखुराको मासु तेल नहाली उसिनेर १५ दिनमा एकपल्ट, थोरै मात्रामा खान सक्छन् ।

३. नदेखिने चिल्लो पदार्थका श्रोतहरु, बदाम, काजु, मुङ्फली, नरिवल जस्ता तौलिय फलहरु खानु हुदैन ।

४. तौल ज्यादा भएकाहरुले कम क्यालोरी भएका खानाहरु खानु पर्दछ । चाउचाउ, बिस्कुट, नुडल्स्, कार्बाेनिकपेय र अल्कोहलिकपेय जस्ता खालीक्यालोरी दिने पदाथ मुटुको लागी राम्रो होइन ।

५. पेटभरी ठुसी-ठुसी खाने बानी त्यागेर पेटको आधाभाग ठोस र चौथाइ भाग तरल पदार्थले भर्नु पर्छ भने चौथाइ भाग वायु संचरणकालागी खाली छोडिदिनु पर्छ । ठोस भोजन दिनको दुइ पटक मात्र होस् । रात्रीकालिन भोजनमा अन्नको मात्रा जति सक्दो कम होस् । अन्नको सट्टा दाल, तरकारिकोसुप, उसिनेको सागसब्जी र तरकारी जस्ता चाडै पच्ने खाना खाने गरौ ।

७. खानामा नुनको मात्रा दुई-तीन ग्राम मात्र होस् । अजिनामोटो, सोडियोवाइकार्वोनाइड र सोडियमवेन्जोएट जस्ता वेकिङ पाउडरको प्रयोग मुटु मैत्री होइन । अचार, आलुचिप्स, कुरकुरे, पाँउ जस्ता अतिरित्त लवण राखिएका खाद्यय पदार्थले मुटु रोगको जोखिम बढाउँछ ।

८. खानमा रेसा र चोकर युक्त खाद्यानहरुको समायोजन हुन जरुरी छ । सलाद, हरीया सागसब्जि, चोकरयूक्तपीठो, रातोचामल, सग्लै अन्नहरुमा रेसाको मात्रा ज्यादा हुन्छ । हरीया कलिला मौसमि साग, अंकुरीत गेडागुडि वा जमरामा एण्टिअक्सिडेन्ट को मात्रा ज्यादा हुन्छ । एन्टिअक्सिडेन्टले थुनिएका नसा खोल्न र घात पछिको घाउ निको पार्न मुख्य भुमिका खेल्छ ।

व्यायाम ब्यस्थापन

१. मुटुरोगीले ब्यायाम गर्न भनेर कहिले पनि कठिन ब्यायाम वा श्रम गर्नु हुदैन । अंग ब्यायाम, रिढ ब्यायाम, सिथिलिकरण ब्यायाम, प्रातः ग्रमण जस्ता हल्का ब्यायाम नियमित गर्नुपर्छ ।

२. दक्ष योग गुरुबाट मुटुरोगीले गर्ने योग सिकेर नियमित योग आसन र प्रणायाम गर्नाले हृदयघातको जोखिम कम गर्नुका साथै मुटुरोग उल्ट्याउन पनि मद्दत गर्छ ।

३. ब्यायामलाई दिनचर्याको मुख्य अंग बनाउनुपर्छ । ब्यायाम गर्ने भनेर एकै दिन धेरै गर्ने, कहिले गर्ने कहिले नगर्ने वा मुढे बल लगाएर ब्यायाम गर्नुहुन्न ।

बिश्राम व्यबस्थापन

१. मुटु रोगीका लागी बिश्राम, भोजन र व्यायाम भन्दा पनि महत्त्वपुर्ण छ । राति चाढै खाना खाने र खाएको तीन घण्टा (पेट खाली भएपछि) मात्र सुत्ने गर्नु पर्छ । निद्रा नआउनेहरुले चिकित्सकको सल्लाह अनुसार औषधि खाएर भएपनि सुत्ने प्रयास गरौं । दिउसोसुत्ने, विहान अबेरसम्म सुत्ने, राति चाढै नसुत्ने, र खानाखानेबित्तिकै सुत्ने बानी मुटुका लागी खतरनाक मानिन्छ ।

२. शारिरिक तथा मानसिक रुपले विश्राम लिनका लागी योग आसन, योग निद्रा, माइन्ड साउन्ड रेसोनेन्ट टेक्निक (MSRT), प्राणिक इनरजाईजीङ्ग टेक्निक (PET), सेल्फ मेनेजमेन्ट अफ एक्सेसिभ टेन्सन (SMET), जेकब्सन प्रोग्रेसिभ मसल्स् रिल्याक्सेसन टेक्निक (JPMRT) डिप रिल्याक्सेसन् टेक्निक (DRT), क्विक रिल्याक्सेसन टेक्निक (QRT), ईन्स्टेन्ट रिल्याक्सेसन् टेक्निक (IRT) जस्ता बिश्रामका विधिहरु सिकेर अभ्यास गर्ने गरौं ।

३. सम्पूर्ण शरिरको मालिस, तैल अभ्यङ्ग, वाष्पस्नान, सउना स्नान, फोहोरा स्नान, पौडिनु, तैरीनु जस्ता उपचार पद्धतिले बिश्रामलाई बढाउँछ ।

विचार व्यावस्थापन

वैचारिक स्तरमा आएको हरेक परिवर्तन हृदयमा प्रतिविम्वित हुन्छ । हजुर हास्दा हृदय हास्छ, हजुर रुदा हृदय रुन्छ । क्रुद्ध र भावुकहुदा हृदयपनि विचलित हुन्छ । रुग्न मानसिकता भएकाहरुको हृदय पनि चाढै रोगी हुन्छ भने स्वस्थ्य विचारको अभ्यासले हृदयलाई पनि स्वस्थ्य राख्न सहयोग गर्छ ।

१. हृदयरोगवाट बच्न अव्यवहारिक र पुरानहुने महत्वकांक्षावाट वच्नुपर्छ । आफ्नो मनको भावनाहरु सम्वधोन गर्न, अरुको भावनाहरुको सम्मान गर्न, समाज र परिवारको मान्यताहरुस“ग समन्जस्य गर्न सिक्नुपर्छ । धेरै सम्पति र नाम कमाउने वा उन्नती गर्ने चाहनामा आफुलाइ तिरोहित गर्नुहुदैन ।

२. सकारात्मक चिन्तन हृदयको लागि ठूलो ओखती हो । राम्रा र नराम्रा पक्ष हरेक घटनाहरुको दुई अभिन्न पाटा हुन । हरेक घटना वा व्यक्तिको राम्रो पक्षलाई केलाउने वानी मुटुको लागि राम्रो हो ।

३. विहान वेलुकी कम्तिमा २० मिनेट निर्विचार हुने कोसिस गरौं । निर्विचार साधानाले हृदयलाई शान्ति दिन्छ । । योग निद्रा, जप, प्रार्थाना, वा एकान्तबास जस्ता साधना नियम पुर्वक दक्ष गुरुबाट सिकेर निरन्तर गर्ने गरौं यसले तनाब कम गर्न सहयोग गर्छ ।

४ . तनाब व्यवस्थापनको नाममा चुरोट, सुर्ति, जाड रक्सि, वा अन्य नसालु पदार्थको सेवन गरेर आफुलाई भुलाउन नखोजौ ।

ब्यबहार ब्यबस्थापन

हृदय हरेक ब्यबहार, घटनाक्रम र दिनचार्यको साक्षी हो । तपाँईको मनको कुरो मस्तिस्कले ढाट्ला तर हृदयले दुधको दुध पानीको पानी बताई दिन्छ भने अनियमित दिनचार्यको भार पनि हृदयले प्रस्ट पारि दिन्छ । यसर्थ हाम्रो दिनचार्य र आनिबानी हृदय मैत्रि हुन जरुरी छ ।

१. बिहान ब्रम्ह मुहर्तमा (घाम झुल्किनुभन्दा ९६ मी. अगाडि देखि घाम झुल्किदा सम्मको समय) उठिसक्ने, उठ्ने बित्तिने दुई गिलास मनतातो पानी पिउने, तत् पश्चात मलमुत्र विशर्जन गरी सुचीनिची भई दाँत माझि व्यायामको लागी तयार हुनुपर्छ ।

२. ब्यायाम पश्चात हल्का खाजा खाएर दैनिक गर्नुपर्ने कामहरुलाई व्यबस्थित गर्न कार्यतालिका बनाउन जरुरी छ । यसो गर्दा कार्य ब्यबस्थापन सुचारुभई अतिरिक्त तनाबबाट बच्न सकिन्छ ।

३. बेलुका साढे छ देखि सात बजे भित्र खाना खाई सक्ने । त्यसको तीन घण्टा पछि मात्र सुत्न जाने गर्नुपर्छ ।

४. नाम र दामको पछाडि मरीहत्ते गर्नेबानी मुटुकालागी राम्रो होइन । ईमान, जमान नैतिकता र धर्मलाई आत्मसाथ गर्दै जति जे हुन्छ त्येसैमा सन्तोष गरौं ।

५. आफ्नो ब्यक्तिवलाई लचकदार र सर्वप्रिय बनाउँ । अहंकार, घमन्ड र मपाईत्वलाई प्रशय नदिउँ । सानालाई माया र ठुलालाई आदार गरौं । दुःखीहरुसँग करुणा, आनन्दितहरुसँग मित्रता, सज्जनहरुसँग मुदित राखौं भने दुर्जनहरुको वास्तै नगरौं ।

६. आफ्ना गल्ति तथा भुलहरुलाई फेरी नगर्ने संकल्पका साथ भुलौ । विगतमा भएका कुराहरुलाई लिएर तनावग्रस्त हुने नगरौं । ईखलिने, बैरत्वराख्ने, मनमा लागेका कुरा नभन्ने र भावानाको दमन गर्ने ब्याक्त्ति हृदय रोगको सिकार हुन सक्छ ।

*डा. हेमराज कोइराला योगी चितवनको भरतपुर-१, वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडीकल डाईरेक्टर हुन् ।

यो पनि पढ्नुहोस्

मुटु रोग र यसको उपचार

मुटु रोग र यसको उपचारमुटु रोग र यसको उपचार

व्यायाम र बिश्राम ब्यस्थापनद्वारा मुटु रोगको उपचार

हृदयघातवाट बच्न के के खानेकुराहरु खानुहुन्छ र खानुहुदैन ?

योगी नरहरिनाथ अस्पताल

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

%d bloggers like this: