वेद के हो ? धेरैलाई थाहा नभएका वेदका आधारभूत कुराहरु

वेद विश्वका सबै धर्म ग्रन्थहरूको पिता हो । वेदबाट नै साभार गरेर अन्य धर्मशास्त्रका पुस्तकहरू निर्माण गरिएका हुन् । वेद हिन्दूहरूको सबैभन्दा ठूलो ग्रन्थ हो । वेद शब्द संस्कृत भाषाको “विद्” धातु बाट बनेको हो जसको अर्थ हो: जान्नु, ज्ञान इत्यादि । वेद हिन्दू धर्मको प्राचीन पवित्र ग्रन्थहरूको नाम हो । वेद नै हिन्दू धर्मको सर्वोच्च र सर्वोपरि धर्मग्रन्थ हो ।

‘वेद’ संसारकै सबैभन्दा प्राचीन ग्रन्थ हो, जसको सङ्ख्या चारवटा छ । यी चार वेदहरूमा जीवनको मूल रहस्य लुकेको छ । यो मूलतः विचारहरूको ग्रन्थ हो, त्यसैले नै यसलाई संस्कृति कै प्रारम्भिक ग्रन्थ मानिने गरिन्छ । अर्को अर्थमा भन्नुपर्दा, वेद ज्ञानको भण्डार हो । विज्ञान होस् वा खगोलशास्त्र, यज्ञ विधि होस् वा देवताहरूको स्तुती, यी यावत कुराहरू चार वेदमा समावेश गरिएको छ- ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद।

वेदको अर्थ

‘वेद’ शब्द संस्कृत भाषाबाट साभार गरिएको हो, जसको अर्थ हुन्छ ‘ज्ञान’ वा ‘जान्नु’ । हिन्दु धर्मको वेदलाई विश्वकै सबैभन्दा पुरानो ग्रन्थको रूपमा मान्यता मिलिसकेको छ। वेदलाई ‘श्रुती’ पनि भनिएको पाइन्छ, श्रुती यानिकी सुनेर लेखिएको । हिन्दु धर्म मान्यताका अनुसार, प्राचीन ऋषि मुनिहरूले गहन ध्यान र तपस्या गरी स्वयं ब्रह्माबाट सुनेर यी चार वेद लेखेका थिए।

वेदमा उल्लेखित मन्त्रहरूका अनगिन्ती प्रयोगविधि र शुत्रहरू छन् । खगोल, विज्ञान, आयुर्वेद लगायतका हरेक क्षेत्रको लागि वेदमा विभिन्न किसिमका मन्त्रहरू समावेश गरिएका छन् । विज्ञान तथा प्रविधिको क्षेत्रमा अग्रज अमेरिकी कम्पनी ‘नासा’ले पनि वेदमा लुकेको ज्ञानलाई प्रमाणित गरिसकेका छन् । हिन्दु धर्ममा १०८ उपनीषदहरूको रचना करीब ४ हजार वर्ष अगाडि गरिएको मानिन्छ । यसै तथ्यलाई आधार मान्ने हो भने वेदको रचना करीब ५ हजार वर्ष अगाडि गरिएको सिद्ध हुन्छ । जीवनका लागि अत्यावश्यक शुत्रहरू तथा ज्ञान-विज्ञानका शुत्रहरूका आधारमा चार प्रकारका वेद भेट्न सकिन्छ ।

वेदका प्रकारहरु

ऋग्वेद

सबैभन्दा पहिलो वेद नै ऋग्वेद हो । यसमा पृथ्वीको भौगोलिक स्थिति र सोहि अनुसार देवताहरूलाई आह्वान गर्ने मन्त्रहरू समावेश गरिएका छन् । ऋग्वेदमा १० मण्डल, १०२८ सूक्त र ११ हजार मन्त्र छन् । यी मन्त्रहरूमा देवताको स्तुति गरिएको छ । यी मन्त्रले देवताहरूलाई यज्ञमा आह्वान गर्दछन् । यसका पाँच शाखा छन् : शाकल्य, वास्कल, आश्वलायन, शांखायन र मण्डूकायन । ऋग्वेदम मृत्युञ्जय मन्त्र र विश्वविख्यात गायत्री मन्त्र पनि यहीँ छ । ऋग्वेदमा अनेक प्रकारका लोकोपयोगी सूक्त, तत्वज्ञान सूक्त, संस्कार सूक्त विद्यमान छन् । रोगनिवारक सूक्त, श्रीसूक्त वा लक्ष्मीसूक्त (खिलसूक्त), नासदीय सूक्त तथा हिरण्यगर्भ सूक्त, विवाह सूक्त आदिको वर्णन छ जसमा ज्ञान र विज्ञानको चरमोत्कर्ष देख्न पाइन्छ ।

यजुर्वेद

यज्ञ प्रक्रिया र यज्ञ मन्त्रहरूको भण्डार हो यजुर्वेद । शुक्ल र कृष्ण पक्षमा विभाजित यजुर्वेदका ४० अध्यायमा १९७५ मन्त्रहरू समावेश गरिएका छन् । यसमा यज्ञको असल प्रक्रियाका लागि गद्य मन्त्र समावेश गरिएको छ । विशेषगरी क्षेत्रीहरूका लागि यो वेद महत्वपूर्ण छ । यो वेदमा अधिकांशतः यज्ञ र हवनको नियम र विधान छन् । त्यसैले यो कर्मकाण्ड प्रधान ग्रन्थ हो । यसमा अग्निहोत्र, अश्वमेध, वाजपेय, राजसूय, अग्निचयन लगायतका यज्ञको विस्तृत विवरण दिइएको छ । विश्वविख्यात गायत्री मन्त्र र महामृत्युञ्जय मन्त्र यसमा पनि पाइन्छन् । यसमा दिव्य वैद्यशास्त्र र कृषिविज्ञानका विषय पनि समाविष्ट छन् ।

सामवेद

ऋग्वेदका मन्त्रहरूलाई सामवेदमा सङ्गीतमय रूप प्रदान गरिएको छ । यसमा मूलतः सङ्गीत विद्याको उपासना गरिएको छ । सामवेदमा गाउन मिल्ने छन्दहरू छन् । यिनको गान यज्ञको समयमा हुन्छ । यस वेदमा १८२४ मन्त्र छन् र ७५ मन्त्रबाहेक अन्य सबै ऋग्वेदबाट नै लिइएका हुन् । श्रीमद्भगवद्गीतामा भगवान् श्रीकृष्णले ‘वेदानां सामवेदोsस्मि’ भनेर यसको महत्वलाई उजागर गर्नुभएको छ । सामवेद ज्ञानयोग, कर्मयोग र भक्तियोगको त्रिवेणी हो । यो वेदलाई संगीतशास्त्रको मूल मानिन्छ । यसमा सविता, अग्नि र इन्द्र देवतालाई प्रधानता दिइएको छ । यसमा यज्ञमा गाउनका लागि संगीतमय मन्त्र राखिएका छन् । मुख्यतः गन्धर्वहरूले यसको गान गर्छन् । यसमा मुख्य तीन शाखा र ७५ ऋचा छन् र संगीतशास्त्रलाई प्रधान बनाइएको छ ।

अथर्ववेद

आँखाले देख्न सकिने सांसारिक तत्वहरूबाहेक रहस्यमय विद्याहरूको मन्त्र अथर्ववेदमा समावेश गरिएका छन् । जस्तै; जादू, चमत्कार, आयुर्वेद, आत्मा, आदि । चार वेदमध्ये सबैभन्दा ठूलो अथर्ववेद नै हो, जसमा २० अध्याय र ५६८७ मन्त्रहरू छन् । यसमा देवताहरूको स्तुतिका साथसाथै जादूसँग सम्बन्धित मन्त्र र तन्त्र, राक्षस, पिशाच जस्ता भयानक शक्तिका बारेमा वर्णन गरिएको छ । यसका अलावा यसमा चिकित्सा, विज्ञान र दर्शन सम्बन्धी मन्त्रहरू पनि पाइन्छन् । भूगोल, खगोल, वनस्पति विद्या, असंख्य जडीबुटी, आयुर्वेद, प्रजनन विज्ञान अर्थशास्त्र, राजनीति, राष्ट्रियता लगायतका धेरै विषय यसमा अटाएका छन् । मुख्यतया व्यापारीहरूका लागि यो वेदको महत्व छ ।

यो पनि पढ्नुहोस् 

के हो वेद ?

वेदहरूको महत्व

को थिए महर्षि वेदव्यास ?

के लेखिएकाे छ अथर्व वेद र ऋग्वेदमा बर्मुडा ट्रायंगलका बारेमा

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

जवाफ लेख्नुहोस्