युवा बैज्ञानिकहरुका लागि Innovation For Prosperity कार्यक्रम ल्याईनेछ – उपकुलपति डा. श्रेष्ठ

विगतमा नाष्टका प्राज्ञ समेत रहनु भएका ४७ वर्षीय डा. सुनिलबाबु श्रेष्ठ नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)को उपकुलपति हुनुहुन्छ । २ पटक राष्ट्रिय योजना आयोगका सदस्य हुनु भएका श्रेष्ठले जापानको ओसाका सङ्ग्यो विश्वविद्यालयवाट वातावरणीय विकास इन्जिनियरिंगमा विद्यावारिधी गर्नु भएको हो । २० बर्ष भन्दा बढी निजी, सरकारी र गैरसरकारी सँस्थाहरु काम गर्नु भएका अनुभवी श्रेष्ठले युएनडीपी, बिश्व बैंक, एसियाली विकास बैंक र जिआईजेड लगायतका बिभिन्न अन्तर्राष्ट्रिय दातृ निकायमा विज्ञको रुपमा काम गरी सक्नु भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुसंग आवद्ध श्रेष्ठ बिभिन्न पुरस्कार तथा सम्मानद्वारा पुरस्कृत तथा सम्मानित पनि हुनुहुन्छ ।

देशका यूवा बैज्ञानिकहरु तथा सिंगो देशले उहाँवाट नेपालमा विज्ञान तथा प्रविधिको विकास हुनेमा ठुलो अपेक्षा राखेको छ । उहाँका अनुसन्धान पत्र र लेखहरु बिभिन्न जर्नलहरु तथा पत्रपत्रिकाहरुमा प्रकाशित छन् । नेपालमा स्मार्ट सिटीको परिकल्पनाकार समेत रहेका शहरी बिकासका विज्ञ श्रेष्ठले राष्ट्रिय योजना आयोगको सदस्य हुँदा धेरै राष्ट्रिय नीतिहरु समेत तयार पार्नु भएको छ । नाष्ट जस्तो नेपालको बैज्ञानिक संस्थाको उपकुलपति जस्तो गरिमामय पदमा नियुक्त हुनु भएका यूवा तथा जोसिलो स्वभावका श्रेष्ठसँग नेपालमा विज्ञान तथा प्रविधि बर्तमान अवस्था र भविष्य भन्ने गहन विषयमा केन्द्रित रहेर साइन्स इन्फोटेकका प्रधान-सम्पादक गोपाल भण्डारीले गरेको कुराकानी ।

१. सर त २० बर्ष भन्दा बढी निजी, सरकारी, गैरसरकारी सँस्थाहरु तथा युएनडीपी, बिश्व बैंक, एसियाली विकास बैंक र जिआईजेड लगायतका बिभिन्न अन्तर्राष्ट्रिय दातृ निकायमा विज्ञको रुपमा साथै राष्ट्रिय योजना आयोगमा सदस्य र नास्टको प्राज्ञ पनि भएर काम काम गरी सकेको प्राज्ञिक व्यक्तित्व पनि हुनुहुन्छ । नेपालमा विज्ञान तथा प्रविधिको वर्तमान अवस्था र विकासलाई कसरी चित्रण गर्नुहुन्छ ?

तपाईले एकदम गम्भीर समसामयिक प्रश्न उठाउनु भएको छ । मुलुक अहिले एकदमै लो इनोभेसन ट्रापमा फसेको छौ । न त हामीले देखिने गरी विज्ञान तथा प्रविधिमा खोज, अनुसन्धान र आविष्कार गर्न सकिरहेका छौं नत हामीले यसको लागि चाहिने प्रयाप्त लगानी बढाउन सकिरहेका छौं । ०.३५% GPD मा योगदान गरिरहेका छौं तर अरु मुलुकहरुले जस्तै चीन, भारत, जापानको कुरा गर्दाखेरी हामी भन्दा उनीहरुले तुलनात्मक रुपमा धेरै लगानी गरिरहेका छन् । इनोभेसनको हिसावले हेर्ने हो भने Global Innovation Index (GII) मा चीन १७ औं स्थानमा, भारत ५७ स्थानमा, श्रीलंका ८८ औं स्थानमा छ भने नेपाल १०८ स्थानमा रहेको अवस्था छ ।

विज्ञान तथा प्रविधिको खोज, अध्ययन, अनुसन्धान तथा लेख रचनाको लागि कुनै तथ्यांक खोज्नुभयो भने कुनै संस्थावाट पनि पाउन सक्नुहुन्न । अब यो अवस्थावाट नास्ट जस्तो ऐनद्वारा विज्ञान तथा प्रविधिको स्थापित सस्थांवाट पनि आफ्नो विविध कारणले ३६ वर्षको दौरानमा आफ्नो तर्फवाट केहि अनुसन्धान गर्ने, प्रमोसन गर्ने तथा पुरस्कार वितरण गर्ने कामहरु भइरहेको भएपनि उल्लेखनीय कामहरु हुन नसकेको अवस्था छ । अब सरकारले समृद्ध नेपाल र सुखी नेपालीको नारा लिएर अघि बढीरहेको अवस्थामा विज्ञान तथा प्रविधिको अधिकतम विकास गरेमा मात्र यो सम्भव हुने देखिन्छ । अव हामीले समाजको लागि विज्ञान i.e Science For Society जस्ता समाजको आवश्यकता परिपूर्ति हुने खालका विज्ञान तथा प्रविधिका कार्यक्रम संचालन गर्नुपर्छ ।

जनतामा पनि विज्ञान तथा प्रविधिको चेतना अभिवृद्धि हुने खालका नँया कार्यक्रमहरु लिएर गाउँ-गाउँ, टोल-टोल पुग्नु जरुरी छ । विज्ञान तथा प्रविधिको माध्यमबाट समाजलाई रुपान्तरण गर्नुपर्छ भने विज्ञान तथा प्रविधिको विकास गर्दा जनताको आवश्यकता परिपूर्ति गरी समृद्धि हासिल गर्ने खालको हुनुपर्छ । यसको लागि हामीले के सोच बनाइरहेका छौं भने नवप्रवर्द्धन समृद्धिको लागि हुनुपर्छ i.e Innovation For Prosperity कार्यक्रम संचालन गर्ने सोचिरहेका छौं । विज्ञान तथा प्रविधिको तथ्यांकको लागि Science & Technology Data Centre र पनि विज्ञान तथा प्रविधिको ज्ञानको लागि Science & Technology Knowledge Hub स्थापना गर्ने सोचमा छौ ।

२. सरले केहि साहित्यिक कृतिहरू समेत प्रकाशन गर्नु भएको छ भन्ने सुनेको थिए । यस बारेमा केहि बताई दिनहोस् न ।

यसमा मेरो पहिलो भावनाका तस्वीरहरु कविता संग्रह रत्न पुस्तक भण्डारवाट प्रकाशित भएको हो । यो कस्तो छ भने म एउटा इन्भारमेन्टल डेभलोप्मेन्ट इन्जीनियरींगको विद्यार्थी भएको हिसावले मेरो जीवनमा घटेका वरिपरिका वातावरणलाई सुधार गर्ने, हाम्रो जीवनलाई कसरी सकारात्मक सोचका साथ अघि बढ्न सकिन्छ भन्ने एउटा नँया तरिकाले प्रस्तुतीकरण गरिएको छ । जस्तै कुनै एउटा फोटो खिच्ने त्यो फोटोले के बोल्छ त्यसलाई पनि शब्दको मार्फत जाने भनेर राखेको छ । त्यस्तै हाम्रै जनजीवनमा भएका कुराहरुलाई कसरी अगाडी बढ्ने, हाम्रो वातावरणलाई कसरी सुधार गर्ने, सहरी विकासलाई कसरी उन्नत किसिमले गर्न सकिन्छ र विज्ञान तथा प्रविधिलाई कसरी अगाडी बढाउने भन्ने विषयमा केन्द्रित रहेर बनाएको छु ।

दोस्रो कृति भने मैले पिएचडी जापानवाट गरेको हुनाले जापानको संस्कृति, समृद्धि र विकास, जापानमा भएको विज्ञान तथा प्रविधिको विकासवाट नेपालले के के सिक्न सकिन्छ र नेपालमा तिनीहरुलाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने बारेमा सम्झना बगौचा भन्ने पुस्तक लेखेको हो । अनि मेरो इच्छा पनि छ की मलाई के लाग्छ भने यो बिज्ञान भन्ने कुरा बैज्ञानिक समुदायमा मात्र सीमित नराखी यो त जनजनमा पुग्नुपर्यो । त्यसैले कला, संस्कृति, पेन्टिंग, फोटोग्राफी, साहित्य, पत्रकारितालाई पनि विज्ञानसंग जोड्नुपर्छ भन्ने मेरो धारणा रहेको छ ।

३. नेपाल बिज्ञान तथा प्रबिधि प्रज्ञा प्रतिष्ठान (नास्ट)मा उपकुलपतिको रूपमा काम गर्दा के-कस्ता अवसरहरु र चुनौतीहरु छन् ?

उपकुलपतिको पद र प्राज्ञमा अलिकति फरक नै छ । प्राज्ञ एउटा प्राज्ञिक हिसावले विचार पुर्याई रहेको हुन्छ भने उपकुलपति भनेको ब्यबस्थापनसँग सम्वन्धित ब्यबस्थापकीय जिम्मेवारी जोडिएको हुन्छ । उपकुलपतिको सोच र योजनालाई सिधै कार्यान्वयन गर्ने जिम्मेवारी हुन्छ । अब हाम्रो नास्टको अवस्था के पाएको छु भने केहि गरुम भन्ने भावना भएतापनि एउटा डिरेक्सन नपाएको अवस्था हो । म आईसकेपछी अव नास्टको अहिलेसम्मको स्टाटस के हो भन्ने हेर्ने र त्यसपछि स्टाटिज प्लान बनाएर अबको ४/५ वर्षमा कसरी नास्टको विकास गर्ने भन्ने बारेमा म लागिरहेको छु । त्यसकारण यसमा भएका अवसरहरु र चुनौंतीहरुलाई चिर्दै अवसरलाई अझै थप्दै विज्ञान तथा प्रविधिको माध्यमवाट देशको विकास गर्ने लिएको लक्ष्यमा नास्टले गर्नुपर्ने भूमिका हामीले गहन रुपमा निभाउने छौं । यसको लागि देश तथा विदेशमा विज्ञान तथा प्रविधिको क्षेत्रमा सक्रिय सम्पूर्ण व्यक्तिहरु, बैज्ञानिकहरु तथा संघसंस्थाहरुको सल्लाह, सुझाव तथा सहयोगले नास्टलाई अगाडी बढाउँ भन्ने योजना बनाएका छौं । यसले एउटा राम्रो परिणाम ल्याउछ भन्ने विश्वस्त छु ।

४. तपाई नेपालमा स्मार्ट सिटीको एक जना परिकल्पनाकार समेत हुनुहुन्छ । राष्ट्रिय योजना आयोगको सदस्य हुँदा बिज्ञान तथा प्रबिधि क्षेत्रमा केहि राष्ट्रिय नीतिहरु बनाउने काम पनि गर्नुभयो । तर अहिले यी सवै नीतिहरु कार्यन्वयन गर्ने ठाउँ नास्टको उपकुलपति हुनु भएको छ । नेपालमा बिज्ञान तथा प्रबिधिको क्रान्तिकारी विकासको लागि कार्यन्वयन गर्ने तपाईका के कस्ता नयाँ सोचहरु र योजनाहरु छन् ?

स्मार्ट सिटीको एउटा अवधारणा पत्र नै म राष्ट्रिय योजना आयोगमा हुँदा नै मैले तयार पारेको थिए । यो स्मार्ट सिटी शहरीकरणमा दुर्त गतिमा बढिरहेको छ । मैले आफ्नो कार्यकालमा नास्ट सस्थांलाई नै एउटा स्मार्ट नास्ट बनाउने सोचमा छौ । अव प्रश्न उठन् सक्छ यो स्मार्ट नास्ट भनेको के हो ? यस अनुसार नास्टलाई चारवटा कम्पोनेन्टमा राख्न सकिन्छ । पहिलो कुरा त हामी नास्टभित्र बसेका कर्मचारीहरु, पदाधिकारीहरु, प्राज्ञहरु सबै स्मार्ट हुनुपर्छ । त्यो स्मार्ट के हो भने पहिला व्यक्ति स्वस्थ्य हुनुपर्यो । नँया सकारात्मक सोच, उर्जा बोक्न सक्नुपर्छ, सक्षम मानिस हुनुपर्छ र त्यो दिएका जिम्मेवारीहरु बोध गरेर कार्यन्वयन गर्ने खालको स्मार्ट मान्छेहरुको समूह बनाउने प्रयास गर्नेछु । यसको लागि मैले सकारात्मक सोच पनि होस् भनेर स्वस्थको लागि एउटा मेडिकल कक्ष स्थापना गरी कम्तीमा हप्ता वा १५ दिनमा एकपटक डाक्टरहरु आएर नास्टमा कार्यरत सवैको स्वास्थ्य परिक्षण गर्ने ब्यबस्था गर्ने योजना बनाएको छु ।

अर्को शान्त कक्षमा नँया सकारात्मक सोचहरु कलेक्टिभ हिसावले अघि बढौ भनेर प्रवचनहरु गर्ने कार्यक्रम शुरु हुन् लागेको छ । जसमा ध्यान गर्ने, योगा गरेर सकारात्मक सोचका साथ पिसफुल माइन्ड बनाएर अघि बढ्ने भन्ने सोच राखेका छौ । अर्को नास्टको स्मार्ट इन्फ्रास्टकचर र सर्भिसेज । हाम्रो इन्फ्रास्टकचर के छ त भन्ने हिसावमा एउटा इन्भेन्ट्री तयार पार्न लगाई रहेको छु । यो हाम्रो नास्ट परिशरको मास्टर प्लानिंग तयार पार्ने जसअनुसार नास्टको प्रशासकीय भवन, विज्ञान संकायको भवन, प्रविधि संकायको भवन कहाँ राख्ने र पछि बनाउने भन्ने सोच भएको साइन्स पार्कको योजना अनुसार बाहिरवाट आगन्तुक गेटवाट प्रवेश गर्ने बितिकै बिज्ञान तथा प्रबिधिको अनुभूति हुने खालको बनाउने भन्ने सोचमा छौ ।

नास्टमा भएको खानेपानी परिक्षण प्रयोगशालामा कोहि पानी परिक्षण गर्न आएमा सहुलियत दरमा सर्भिस डेलिभरी गरिदिने र अन्य सेवाको लागि इन्फ्रास्टकचर बनाउने भन्ने सोचमा छौ । अनुसन्धानकर्ताहरुलाई तालिम कसरी दिने, खोज तथा अनुसन्धान गरी पत्ता लागेको आविष्कारलाई कसरी पेटेन्ट दिने भन्ने बारेमा पनि सोची रहेका छौ । अर्को नास्टको बारेमा आधिकारिक धारणा मेडिया मार्फत सार्वजनिक गर्न समितिले निर्णय गरेर नास्टको बारेमा बोल्ने प्रवक्ता नियुक्त पनि गर्ने योजनामा छौ । अर्को नास्टलाई सरकारको मात्र सहयोगको भरमा नपरी यसलाई आफै कसरी सस्टेनेवल बनाउन विश्वविद्यालयहरु, प्राज्ञिक संस्थाहरु, उद्योगहरु, अन्य संस्थाहरु तथा बैंकहरुसंग नयाँ-नयाँ खोज, अध्ययन तथा अनुसन्धान गर्न सहकार्य गरी उधमशीलता विकास गर्ने र पत्रकारहरुसंग पनि नास्टमा भएका गतिविधिहरु र पगतिहरुलाई आम जनतासंग पुर्याउन सहकार्य गर्ने खालको मोडेलमा जाने की भन्ने सोचमा पनि छौ । अर्को यहाँ नास्टमा काम गर्ने सवैलाई उत्साहित बनाउने वातावरण सिर्जना गर्ने सोचमा पनि छौ । यी सवै कुराहरु स्मार्ट नास्ट अन्तर्गत पर्दछन ।

५. विज्ञान तथा प्रविधि क्षेत्रका धेरै विज्ञहरूले पनि नास्टलाई दिईने बजेट पर्याप्त मात्रामा छुट्टयाउन सकिएको छैन भन्ने गुनासो पनि छ ? आगामी बर्षमा नास्टले बजेट बढाउने बारेमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालयसंग केहि पहल गर्छ ?

मैले पहिलो दिने भनि सकेको छु की हामीले अलिकति रिजल्ट ओरेन्टेट रिसर्चमा फोकस भएर समाजका देखिने आउटपुट दिन सक्नुपर्यो केहि कुरा दिनुपर्छ । रिसर्चको आउटपुट कमसेकम ५०% निस्किनुपर्छ त्यो हिसाबले अनुसन्धानलाई हामीले निश्चित क्षेत्रमा निर्धारण गर्ने त्यसवाट आउटपुट निस्कने हिसाबले काम गरौं भन्ने मेरो निर्देशन पनि भइसकेको छ । अव हामी राष्ट्रिय प्राथमिकताका क्षेत्रहरु निश्चित गरेर त्यो अनुसार अनुसन्धान अघि बढाउछौ । समृद्ध नेपाल र सुखी नेपाली भन्ने नेपाल सरकारको घोषित नारालाई सार्थक बनाउन विज्ञान तथा प्रविधिको बजेट बढाउनैपर्छ । नेपालमा अझसम्म विज्ञान तथा प्रविधि क्षेत्रका नास्टलाई दिईने बजेट पर्याप्त मात्रामा छुट्टयाउन सकिएको छैन । आगामी बर्षमा नास्टको बजेट बढाउने बारेमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालयसंग जोडदार पहल गर्नेछौ । हामीले Innovation For Prosperity कार्यक्रम संचालन गर्नेछौ । हामी सम्पूर्ण सातै प्रदेशका युवा वैज्ञानिकहरुलाई आव्हान गरी समूह बनाएर उहाँहरुलाई मिल्ने प्रस्ताव पेश गर्न सक्ने वातावरण बनाउछौ । १/२ वर्ष भित्रमै इनोभेसनलाई आउट पुटमा ल्याउने सक्ने अवस्थामा पुर्याउने पहल हाम्रो हुनेछ ।

६. आगामी बर्षको लागि विज्ञान तथा प्रविधिको विकास गर्न नास्टले के-कस्ता नयाँ योजनाहरु ल्याउछ ?

मुलुकको आवश्यकता अनुसार प्राथामिकताका क्षेत्रमा निर्धारण गरिनेछ । जस्तै पानीको क्षेत्रमा पानीको कसरी प्रयोग गर्ने र कसरी शुद्ध बनाउने भन्ने विषयमा हुन्छ । अर्को कृषिमा विभिन्न खालका वनस्पतिदेखि लिएर खानाहरु, जडीबुटीसँग जोडिन्छ । यसलाई जनतामा कसरी प्रयोग गर्ने विधिहरु र फाइदाहरु केके छन् भन्ने कुरा सिफारिस पनि गर्छ नास्टले । शक्तिको प्रयोगका कुराहरुमा फोकस गर्नेछौं । त्यस्तै नास्टले आउदो वैशाखमा न्यानो सेटलाइटका प्रक्षेपण गर्ने कुराले जनतामा उत्साह बढेको छ । विशेषगरी हामी विज्ञान र प्रविधिको क्षेत्रमा सरकारलाई आवश्यक परेको विज्ञान तथा प्रविधि सम्वन्धी नीति तथा कार्यक्रम बनाउन थिंक ट्यांकको रुपमा सहयोग पनि नास्टले गर्नेछौं ।

७. आगामी बर्षको बजेटमा विज्ञान तथा प्रविधि क्षेत्रका अनुसन्धानकर्ता र ग्रामीण भेगका युवा प्रतिभाहरुका लागि के कस्ता योजनाहरु ल्याउने सोचमा हुनुहुन्छ ?

अब मुलुक समृद्धितर्फ अघि बढिरहेको अवस्थामा Innovation For Prosperity कार्यक्रम अनुसन्धानकर्ता र ग्रामीण भेगका युवा प्रतिभाहरुका लागि पनि हुनेछ । युवा वैज्ञानिकहरुले आफ्नो इनोभेसन देखाएर प्याटेन्ट राइड दर्ता गर्ने र त्यसलाई उद्यमशीलतासँग जोडेर उत्पादनमा जान सक्ने वातावरण बनाउछौ ।

८. हाम्रा धेरै युवा बैज्ञानिकहरु विदेश पलायान भई राखेका छन् । तर नास्टले बिदेशमा कार्यरत वा विदेशवाट स्वदेश फर्केको १ बर्ष अवधि ननाघेका बैज्ञानिकहरुको लागि “फर्क है फर्क बैज्ञानिक, तिमीलाई डाक्छ नेपाल” संचालनमा ल्याएको कार्यक्रम असफल भयो भन्छन् । अव यो कार्यक्रमलाई सफल बनाउन नास्टले नयाँ कस्तो रणनीति बनाउछ ?

मैले अहिले पाएको तथ्यांक अनुसार थोरै २/३ जना वैज्ञानिकहरु मात्र विदेशवाट फर्केर काम गरेका रहेछन । यहाँ त्यति राम्रो आउटपुट नदेखेर पछि उहाँहरु फर्किनु भएको कुरा सुनिन्छ । एकपटकको नेपाली सधैको नेपाली भएकोले गर्दा विज्ञान तथा प्रविधिको क्षेत्रका धेरै साथीहरु बाहिर बस्नु भएको छ । एनआरएन साथीहरु नेपालमा काम गर्न धेरै इच्छुक हुनुहुन्छ । उहाँहरु त्यहाँ बसिरहनु भएको छ तर मन त नेपालतिर नै हुन्छ । नेपालको उन्नति प्रगतिको लागि उहाँहरुले नेपाल फर्केर वा उतै बसेर पनि केहि गर्न सक्नुहुन्छ । त्यसैले यसलाई पुन: मूल्याकंन गरेर अझै विदेशका साथीहरुसँग सहयोग लिने विभिन्न कार्यक्रमहरु ल्याउने सोचमा छौ ।

९. शहरी लगायत दुर्गम र ग्रामीण क्षेत्रमा लुकेर रहेका बिज्ञान क्षेत्रका सिर्जनसिल प्रतिभाहरुले हेलिकप्टर, गाडी, ड्रोन र मिसाईल बनाएका छन् । तर बिगतका मन्त्रालय, नास्ट र अन्य सरोकारवाला निकायले केहि सहयोग नगरेकोले विदेश पलायन हुने धारणा राखेका थिए । उनीहरुले गरेको बैज्ञानिक अध्ययन, अनुसन्धान र आविष्कारलाई सहयोग गरी प्रोत्साहन गर्न के कस्ता योजनाहरु ल्याउनुहुन्छ ?

शहरी लगायत दुर्गम र ग्रामीण क्षेत्रमा लुकेर रहेका बिज्ञान क्षेत्रका सिर्जनसिल प्रतिभाहरुले हेलिकप्टर, गाडी, ड्रोन र मिसाईल बनाएका छन् । तर बिगतका मन्त्रालय, नास्ट र अन्य सरोकारवाला निकायले आवश्यकता अनुसार सहयोग गर्न नसकेर विदेश पलायन हुने गरेका थिए । तर अव Innovation For Prosperity कार्यक्रम अन्तर्गत यी सवैले सम्बोधन र समावेश गरिन्छ । उनीहरुले गरेको बैज्ञानिक अध्ययन, अनुसन्धान र आविष्कारलाई सहयोग गरी प्रोत्साहन पनि गरिन्छ ।

१०. विज्ञान तथा प्रविधि सम्वन्धित जनचेतनामुलक कार्यक्रमहरु एफएम, रेडियो र टेलिभिजनहरुमा प्रभावकारी ढंगले हुन सकेका छैनन् । नेपालमा विज्ञान र प्रविधिको जनचेतना वृद्धि गर्न नास्टका भावी के-कस्ता योजनाहरु हुनेछन् ?

विज्ञान र प्रविधि सम्वन्धित जनचेतनामुलक कार्यक्रमहरु एफएम, रेडियो र टेलिभिजनहरुमा प्रभावकारी ढंगले हुन नसकेको कुरा सत्य हो । नेपालमा विज्ञान तथा प्रविधि विषयमा अन्तर्क्रिया, संवाद, छलफल एकदम कम हुने गरेको छ । अव वैज्ञानिकहरु, पत्रकारहरुसंग नास्टले एकदमै दुर्त गतिमा यस्ता कार्यक्रमहरु गर्नेछ । यस विषयमा नास्टले विज्ञान पत्रकारहरुलाई सहयोग मिल्ने खालको कार्यक्रमहरु ल्याउनेछौं । हामीले चाडै प्रवक्ता नियुक्ति गरेर संचार माध्ययमहरुको सल्लाह सुझाव लिएर उहाँमार्फत नास्टका गतिविधिहरु र प्रगतिहरु आम जनता समक्ष पुर्याउन सहयोग हुनेछ ।

११. हाम्रो समाजका रुढिवादी परम्परालाई हटाई नेपालमा बैज्ञानिक सोचको पुनजागरण ल्याउन नास्टले के कस्ता बैज्ञानिक जनचेतनामुलक कार्यक्रमहरु ल्याउनेछ ?

हाम्रो समाजका रुढिवादी परम्पराहरु ब्याप्त छन् । तिनीहरुलाई हटाई नेपालमा बैज्ञानिक सोचको पुनजागरण ल्याउन नास्टले धेरै बैज्ञानिक जनचेतनामुलक कार्यक्रमहरु ल्याउनेछ । हाम्रा परम्परागत संस्कृतिसँग जोडिएका कुराहरुलाई खोतलेर तिनीहरुको बैज्ञानिक ब्याख्या गर्नु जरुरी छ । एउटा डिजीटल आरकाइभ बनाउने पुराना लोप हुँदै गएका प्रविधिहरुलाई जोगाई तिनीहरुलाई कसरी हाम्रो नँया प्रविधिसँग जोड्न सकिन्छ भन्ने बारेमा पनि अनुसन्धान हुनेछ ।

१२. धेरै पत्रकारहरुले विज्ञान बुझिरहेको हुदैन विज्ञानको डिस्नेरीहरु पनि छैन यस विषयमा नास्टले पनि पहल गर्नुपर्ने होइन ?

यस विषयमा हामीले शुरुवात गर्ने तयारीमा छौं । कृषि शब्दकोषमा तयार गरीरहेका छौं । विभिन्न विज्ञानका विधाको डिस्नेरीहरु तयार पारेमा अझ विज्ञान बुझ्न र बुझाउन कोसेढुङ्गा सावित हुनेछ ।

१३. धेरै विज्ञान जिज्ञासाहरुको उचित वैज्ञानिक समाधान नहुँदा अझ पनि हाम्रो समाज रुढीवादी परम्परामा जकडिएको छ । यो क्षेत्रको प्रवर्द्धनको लागि के योजनाहरु छन् ?

धेरै विज्ञान जिज्ञासाहरुको उचित वैज्ञानिक समाधान नहुँदा अझ पनि हाम्रो समाज रुढीवादी परम्परामा जकडिएको कुरा साँचो हो । समाजमा भएका अन्धविश्वास कुराहरुलाई छनोट गरी वैज्ञानिक अनुसन्धान गरेर त्यसको वैज्ञानिक कारणहरु खोजी समाधान गर्नुपर्छ । यो चाहि वैज्ञानिक हो र यो चाही रुढीवादी हो भनेर भन्न सक्ने हुनुपर्छ । यस विषयको प्रवर्द्धनको लागि केहि योजनाहरु ल्याउनेछौ ।

१४. अन्त्यमा, के भन्न चाहनुहुन्छ ?

नास्ट जस्तो मर्यादित बैज्ञानिक संस्थाको उपकुलपतिको पदमा आएको छु । मैले गर्नु धेरै छ । अब मेरो स्टाटेजी पेपर बनाएर योजनाहरु अगाडी बढाईनेछ । कार्ययोजनाहरु पनि आइसकेका छन् । त्यसको लागि हाम्रो नास्टका सबै प्राज्ञज्यूहरु, हाम्रो कर्मचारीहरु सबै मिलेर गर्ने हो । यसरी नै अन्य तपाईहरु जस्तो पत्रकारहरुको पनि साथ पाएमा निश्चिय नै यो नास्टले विज्ञान तथा प्रविधिको क्षेत्रवाट मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्ने सोचमा छु । यहाँहरुवाट पनि अमुल्य सुझावको र सहयोगको पनि अपेक्षा गर्दछु । यो नास्टलाई मेरो कार्यकालमा Global Innovation Index मा १०८ वाट २ अंकमा श्रीलंकाको हाराहारीमा झार्ने योजनामा छौं ।

यो पनि पढ्नुहोस्

नेपालको विकास गर्न विज्ञान तथा प्रविधिलाई उद्योगसँग जोड्नुपर्छ – पूर्वमन्त्री शाह

विज्ञान तथा प्रविधिको विकास गर्न अनुसन्धान र विकासको बजेट बढाईने – मन्त्री सिंह

नेपालमा बिज्ञान तथा प्रबिधि विश्वविधालय स्थापना गर्नैपर्छ – सचीव शर्मा

भविष्यमा देशका ७ वटै प्रदेशमा नास्टको शाखा खोल्ने योजना – उपकुलपति पोखरेल

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

2 thoughts on “युवा बैज्ञानिकहरुका लागि Innovation For Prosperity कार्यक्रम ल्याईनेछ – उपकुलपति डा. श्रेष्ठ

जवाफ लेख्नुहोस्

error: Content is protected !!