राष्ट्रगुरु योगी नरहरिनाथ : व्यक्ति र व्यक्तित्व

नेपालको विकट मानिने कर्णाली अञ्चल जुम्ला जिल्ला कालीकोट भन्ने गाउँमा माता गौरी र पिता ललितका माइला सुपुत्र योगी नरहरिनाथको वि.स. १९७१ साल फागुन १७ गतेका दिन जन्म भएको हो । उहाँको शिक्षादीक्षा पनि आफ्नै माता पिताबाट नै भएको देखिन्छ । त्यसपछि १९७६ बैशाख पूर्णिमाका दिन जुम्ला छिनासिम श्री भैरवनाथ मन्दिर, श्री चन्दननाथ मन्दिर, चन्दननाथ भाषा पाठशालामा योगी छिप्रानाथजीका सान्निध्यमा रहेर उहाँको अध्ययन कार्य शुभारम्भ भएको देखिन्छ । त्यसपछि क्रमशः गोर्खा, काठमाडौं, काशी, हरिद्वार, कुरुक्षेत्र, पञ्जाव, रावल पिण्डी जस्ता विद्यालयका गुरुकुलहरुमा योगीजीले संस्कृत साहित्यको अध्ययन गर्नुभयो । आफ्नो अध्ययन पश्चात भारतको स्वतन्त्रता संग्रामको सत्याग्रह जस्ता आन्दोलनमा सहभागी बन्नुभयो । एवम् भारतको गौ हत्या निषेध आन्दोलन जस्तामा पनि सहभागी हुनुभयो । जसकारण लाहोर, मूलतान, सिन्धु, पञ्जाव, कलकत्ता, दिल्ली र रावलपिण्डी आदि अनेकौं कारागारमा शारीरिक र मानसिक यातना भोगेर बसेका योगीजीपछि स्वदेश फर्कनुभयो ।

योगीजीका गुरु सिद्धाञ्चल मृगस्थली गोरखनाथ मन्दिरका महन्त योगी श्री छिप्रानाथ हुनुहुन्थ्यो । उहाँको सान्निध्यमा रहेर योगीजीले आफ्नै मातृभूमि नेपालको सेवा गर्दै इतिहासका पाना कोर्न थाल्नुभयो । योगीजी सानै उमेरदेखि नै उकाली, ओराली, भीर पहाड, छाँगा, छहरा, वन, जंगल, ओडार, गुफा, जंगली हिंस्रक जन्तुहरुसँग सामना गर्दै एक्लै यस्ता ठाउँहरुको यात्रा गर्नुहुन्थ्यो । २००९ सालदेखि शिखरिणी यात्रा उहाँले आरम्भ गर्नुभयो र इतिहासका सामग्रीले देशको ढिकुटी भराउने कार्य समेत गर्नुभयो ।

‘सर्वे भवन्तु सुखिन’ भन्ने मानव धर्मको आदर्श र परम्पराको सम्मान गर्ने संस्कृति, सभ्यता र राष्ट्रियताका निम्ति जीवन भेटी चढाउने गोरखनाथ परम्पराका आदर्श पुरुष इतिहास पुरातत्व, योग, आयुर्वेदका ज्ञाता विद्वान, ब्रहम्चारी र महामानव आदि हुन् योगी नरहरिनाथ । किनभने ‘वीर भोग्या बसुन्धरा’ भनेझैं वीरले शुन्य हुँदैन बसुन्धरा अनि शास्त्र अनर्थ र निरर्थक हुँदैन । योगीजी नेपाल राष्ट्रको मात्र नभएर समस्त भूमण्डलका हुन् ‘विद्वान सर्वत्र पुज्यते’ । कवि, विद्वान, साहित्यकार, पुरातत्व अन्वेषक, अष्टाङ्ग योग, बनौषधका ज्ञाता, संस्कृत भाषाका विद्वान, भारत बर्षीय योग प्रचारिणी महासभाका प्रवर्तक भाषाविद्, इतिहासकार र प्राज्ञ व्यक्तित्व हुनुहुन्थ्यो योगी नरहरिनाथ । त्यतिमात्र कहाँ हो र उहाँ सदा विद्यार्थी, सदा पदयात्री र सदा तत्व चिन्तकका रुपमा प्रतिस्थापित व्यक्तित्व हुनुहुन्थ्यो ।

योगीजीमा विद्वता, कर्मठता र त्यागको त्रिवेणी भएकाले उहाँमा नेपाली माटोको गन्ध छ । हिमाली हावाको स्वच्छ शान्तिमय सुषुप्त चेतनालाई झकझकाई उठाई दिने मधुरस्पर्श छ । त्यसैले उहाँका बहुचर्चित र बहुपक्षीय आयामलाई भावी पुस्ताका निमित्त जोगाई राख्नु हामी नेपालीको कर्तव्य हो । उहाँ बृद्ध अवस्थामा पुग्दापनि त्यत्तिकै कर्मठ र परिश्रमी हुनुहुन्थ्यो । उहाँ जस्तोसुकै जटिल र गहिरो विषयलाई पनि सहज र सरल रुपमा प्रस्तुत गर्न सक्ने क्षमतावान व्यक्तित्वका साथै जीवन्त विचारक र साधक हुनुहुन्थ्यो । उहाँमा हिन्दु धर्मका लागि भएको त्याग, तपस्या, संस्कृत विद्या प्रतिको अगाध श्रद्धा र प्रकाण्ड पण्डित्याईलाई हामी विर्सन सक्तैनौं । उहाँ नेपाली भाषा–साहित्य तथा इतिहासका शिक्षक, विद्यार्थी, अनुसन्धानकर्ता, कर्मठ र परिश्रमी व्यक्तित्व हुनुहुन्थ्यो र हामीले योगीजीबाट यी उक्त विषयवस्तुहरु सिक्नु र त्यसलाई व्यवहारमा उतार्नु हाम्रो परम कर्तव्य हुन आउँछ ।

आजीवन देश र जनताको सेवामा समर्पित भएका व्यक्तित्व हुन् योगीजी । नाथ र नेतिका संगम योगीजी गोरखा योग सम्प्रदायका एक भेषधारी परिव्राजक हुनुहुन्थ्यो । श्रुति, स्मृति, इतिहास, राजनीति, समाज सुधार र धर्म प्रचारक उहाँको परिचय हो । अनि देश प्रेम र राष्ट्रप्रतिको निष्ठा उहाँको विशेषता हो । मानौं सासै नफेरिकन जस्तो घण्टौं बोली रहन सक्ने बक्तृत्वकलाको शक्तिले उहाँको अभिव्यक्ति शिल्प माझिएको छ । योगीजीले नेपालीहरु असभ्य जंगली जाति हुन् भनी ठान्नेहरुलाई जवाफ दिएको मात्र छैन । विदेशीहरुका नियम कानुनहरुको नक्कल गरेर आफ्नो भाषा संस्कृति विगारेर हिजो पनि कतै यो राष्ट्र कसैको अधिनमा त थिएन भन्ने भ्रमको झार उमार्नेहरुलाई पनि जवाफ दिने कार्य गर्नु भएको छ । उहाँका बारेमा दरबारका इशारामा काम गर्नेहरुले जे जति भ्रम फैलाएपनि योगी यस देशको सच्चा देशभक्त राष्ट्रवादी व्यक्तित्व मानिनुहुन्छ ।

आज देशमा स-साना राष्ट्रियताका प्रश्न छन् । राष्ट्रिय वा भाषिक सांस्कृतिक समानताको लडाइँ होस् वा पूर्ण स्वाधीन प्रजातान्त्रिक नेपालको निर्माणको प्रश्न होस् योगीले हाम्रा सामु पस्केको सभ्यता, संस्कृति र इतिहासकै जगमा मात्र खडा हुन सक्तछ नत्र‘‘‘ । त्यति मात्र होइन योगीले बैदिक साम्यवादको बैदिक व्याख्या प्रस्तुत गरेर दर्शन र विचारमा हामी पूर्वीय जगतका मानव समुदायको अगुवाइ र साम्यवाद हाम्रो आफ्नै दर्शन रहेछ भनेर व्याख्या गर्नुभएको छ । हरेक दर्शन र विचारलाई यान्त्रिक रुपमा नक्कल गर्नुभन्दा मौलिक रुपमा ग्रहण गर्नु पर्छ भन्ने योगीजीको अतुलनीय योगदान हो । उहाँ दार्शनिक मात्र नभई एक द्रष्टा पनि हुनुहुन्थ्यो । असमानता, अन्याय, अतिक्रमणका विरोधी हुन योगीजी । उहाँ राष्ट्रिय स्वाधीनता, समानता र मौलिक जातीय संस्कृति निर्माणको संघर्षमा कहिल्यै नथाक्ने धार्मिक योद्धा हुनुहुन्थ्यो । त्यति मात्र कहाँ हो र उहाँ त राष्ट्र, जाति, समानता, पीडित, जनसमुदाय र उपेक्षित क्षेत्रका बारेमा वकालत गर्ने व्यक्ति पनि हुनुहुन्थ्यो । हामीले बुझ्न नसक्नु हाम्रो आफ्नै कमजोरी हो ।

योगीजीले आफूलाई आजीवन विद्यार्थी, पदयात्री, स्वयम्सेवक र वन मान्छे भनेपनि उहाँले गर्दा नै उहाँको आफ्ना नेतृत्वमा दाङमा महेन्द्र संस्कृत विश्वविद्यालयको स्थापना भयो जसलाई आजभोलि नेपाल संस्कृत विश्वविद्यालय भन्ने गरिन्छ । उहाँले नै २०३३ साल जेष्ठ ३१, ३२ र असार १ गते गरी जम्मा त्रिदिवसीय बृहत आध्यात्मिक परिषद्मार्फत विशाल सम्मेलन सम्पन्न भयो । यसपछि २०३३ सालमै फागुन महिनाको महाशिवरात्री पर्वको अवसर पारी विराटनगरमा पञ्चदिवसीय विश्व हिन्दु सम्मेलन उहाँकै नेतृत्वमा सम्पन्न गर्ने निर्णय भयो । यसै सिलसिलामा २०३३ साउन मसान्तदेखि पुस मसान्तसम्म काठमाडौंका कारागारमा उहाँलाई वन्दी बनाइयो । उहाँमाथि त्यसबेला देशघातक, पातकी, भारतमुखी, नेपालको प्रगति विरोधी, गोर्खा काण्डका नाइके आदि आदि आरोप थोपरिएका थिए । त्यसबेला अरु व्यक्तिले योगीजीको नामसम्म लिँदा त्यसबेला अपराध लाग्ने स्थिति थियो र नाम लिनेहरुलाई पनि शारीरिक, मानसिक ताड्नसहित आर्थिक जरिवाना लिन समेत तत्कालीक शासकहरु पछि परेनन् । त्यस अवस्थामा धार्मिक र सामाजिक बाटाहरुमा अवरोधका तगाराहरु लगाउने काम समेत भए । तर वास्तवमा उहाँ देशघाती नभएर नेपाली भाषा, साहित्य, संस्कृति र इतिहासका लागि पुरातत्वान्वेषक एवम् आयुर्वेद विज्ञ जिउँदा प्रतिभा हुनुहुन्थ्यो ।

विश्व भ्रातृत्व, हिमवत्खण्डको सभ्यता, संस्कृति र परम्परालाई अजय र दीर्घजीवी राख्न सतत प्रयत्नशील एउटा जिउँदा तर महान महामानवको व्यक्तित्वको जीवन हो योगीको जीवन । शिखरिणी यात्रा योगीको नेपाली माटो, हावा-पानी, वन-जंगल, भीर–पहरा, खोला–नाला, लेक–वेशी र हिमालय पद यात्राको ऐतिहासिक ग्रन्थ हो भन्ने मलाई लाग्छ । उहाँ नाथ सम्प्रदायका विशिष्ट ज्ञाता, हिन्दु संस्कृतिका प्रवक्ता, ऐतिहासिक खोजका अग्रज विद्वान, वक्ता, लेखक, कवि, त्यागी, तपस्वी, महर्र्षि, राजर्षि, ब्रह्मर्षि, दैवीगुणले सम्पन्न श्री गोरखनाथजीका अंशावतार समेत मानिनुहुन्छ । उहाँ राष्ट्रिय विभूति एवम् धर्म रक्षक साथै सनातन वैदिक हिन्दू धर्मका संरक्षक व्यक्तित्व पनि हुनुहुन्थ्यो ।

उहाँ कसैको कृपारुपी आशाको पाशोमा नवाँधिएर स्वतन्त्र रुपमा आफ्नै परिश्रमले खोजपूर्ण एवम् सप्रमाण यथार्थ इतिहास प्रस्तुत गर्ने व्यक्ति हुनुहुन्थ्यो । उहाँलाई विश्वका विद्वानहरुले जिउँदो इतिहासकार मानेका छन् । किनभने– बाल्मीकि, व्यास, बशिष्ठ, विश्वामित्र, नेमुनि, भरत, पुलस्त्य, गोरखनाथ, मत्स्येन्द्रनाथ आदि व्यक्तिहरु राजनीतिमा लागेका थिएनन् र रु तर आधुनिक राजनीतिक कार्यकर्ताहरु झैं पद र पैसाको निम्ति होइन देश र जनताको कल्याणार्थ राजनीतिमा लागेका थिए त्यस्तै प्रकारका व्यक्ति योगी पनि हुनुहुन्थ्यो । सबैको आ–आफ्नो प्रकारको हेर्ने दृष्टिकोण हुन्छ । जस्तैः योगीजीलाई एउटा इतिहासकारले इतिहासकारको रुपमा देख्दछ । एउटा राजनीतिज्ञले उहाँलाई राजनीतिज्ञको रुपमा हेर्दछ । एउटा वैद्यले वैद्यका रुपमा हेर्दछ । एउटा योगमा जिज्ञासा राख्नेले उहाँलाई योगीका रुपमा हेर्दछ । एउटा भिखारीले गेरु बस्त्र लगाएर हिड्नेलाई यो म जस्तै रहेछ भन्ने ठान्न सक्ला । जुन मान्छेसँग जुन गुण छ त्यही रुपमा हेर्न सक्तछ । योगीलाई हरेक व्यक्तिले सुक्ष्म दृष्टिबाट हेर्ने हो भने वा दिव्य दृष्टिबाट हेर्ने भने उहाँमा कर्मयोग, भक्ति योग र ज्ञान योगको अवस्थामा हेर्नसक्छ र लोक संग्रहको लागि निष्काम कर्मयोगको मार्ग दर्शनको लागि भक्ति र ज्ञान योगको रुपमा पाउन सक्तछन् ।

हरेक व्यक्तिले स्थूल आँखा र स्थूल विचारले हेर्नुभन्दा पनि आन्तरिक दृष्टिबाट अथवा सुक्ष्म दृष्टिबाट हेर्न सक्यो भने मात्र योगी को हुन भनेर चिन्न सकिन्छ । हामीले हेर्नुपर्दा उहाँलाई दिव्य दृष्टिबाट हेरौं । जसले प्रतिकुलतालाई धैर्यपूर्वक स्वागत गर्दछ । जो ठूलो भन्दा ठूलो विपत्तिको सम्भावना हुँदा पनि आफ्नो कर्तव्यबाट च्यूत हुँदैन ऊ नै जनसाधारणको पथ प्रदर्शन र समाजको भूषण मानिन्छ । हामी अबुझ छौं, नामका लोभी छौं, अर्काको आह्रिस गर्छौ । मैले पढें, विद्वान भएँ । यस कनफट्टालाई ठूलो हुन किन दिनु रु भन्ने हाम्रा क्षुद्र भावनालाई त्यागेर यथार्थपट्टि हामी जानुपर्छ । संस्कृतका ज्ञाता, भाषाका उत्थानकर्ता महान योगीलाई हामी स्वार्थी भएर चिन्दैनौं भने त्यो हाम्रो ठूलो भूल हुनेछ । समाज सेविका मदर टेरेसालाई संसारले चिन्यो तर हामी मात्र हाम्रा राष्ट्रिय विभूति राष्ट्र गुरु योगीजीलाई चिन्न सक्तैनौं । यही हाम्रो ठूलो भूल हो ।

योगीले नेपाली जाति, धर्म, राष्ट्रियता र इतिहासको विषद अध्ययन र अन्वेषण गरी हामीलाई समृद्ध बनाइ दिनु भएको छ । विश्व शान्तिका लागि उहाँले चलाएको कोटीहोमको लहरले सबै देश विदेशलाई प्रभावित पारेको छ । बृहद् आध्यात्मिक परिषद् धार्मिक संस्थाको स्थापना गरी त्यसै संस्थाको माध्यमबाट धार्मिक एकतालाई स्थापित गराउन उहाँ सफल हुनुभएको छ । योगीजीको सफलता केवल धार्मिक कारणबाट मात्र होइन आर्थिक, राजनीतिक, ऐतिहासिक, समाजिक सबै खाले गतिविधिका कारणबाट भएको हो ।

उहाँको मूल सन्देश नै वैदिक सनातन हिन्दु धर्मका आधारमा राज्यसत्ता र समाज व्यवस्था सञ्चालन होस् भन्ने रहेको छ । उहाँ भन्नुहुन्छ– नदी बगिरहेछ, हाम्रो श्वास–प्रश्वास चलिरहेछ मुटुको ढुकढुकी चलिरहेछ, नाडीहरु आफ्नो गतिमा चलिरहन्छन् र पाचन क्रिया सतत निरन्तर चलिरहन्छ भने हामी पनि निरन्तर क्रियाशील हुनुपर्छ । हाम्रा शरीरका प्रत्येक अवयवले आफ्नो क्रियाशीलतालाई एक दिन मात्र त्यागे भने हाम्रो अस्तित्व समाप्त हुन्छ । त्यसरी नै हामीले जीवनमा क्रियाशीलतालाई त्याग्यौं भने, अल्छी भयौं भने हाम्रो जीवनको पनि अस्तित्व समाप्त हुन्छ । अथवा सम्मानपूर्वक जिउन गाह्रो हुन्छ । यस्तो आध्यात्मिक, नैतिक र दार्शनिक विचारधारालाई मनन गर्न सके हामी हाम्रो जीवनमा लक्ष्यमा पुग्न सक्छौं ।

योगीजी नेपाली समाजसँग नैतिक, धार्मिक, उन्नत, आदर्श समाज र अझ बैदिक साम्यवादको कुरा गर्नुहुन्छ । आजको राजनीतिज्ञको स्तर निकै तल्लोस्तरको भएको हुँदा विद्वान र दार्शनिक योगीजीको कुरा बुझ्न नसकेर उहाँलाई राजनीतिमा अवमूल्यन गर्न खोजिएको हो जस्तो मलाई लाग्छ । तर उहाँको सोचाई निकै उच्चस्तरको छ । आदर्श समाजको सृजना गर्न आदर्श नागरिक बनाउनुपर्छ । जसको लागि राजनीति पनि आदर्श नै हुनुपर्दछ । निम्न स्तरको राजनीतिकबाट आदर्श समाजको परिकल्पना हुन सक्दैन । आजका स्वार्थी राजनीतिज्ञलाई योगीजीको निस्वार्थ र कर्तव्य परायणतामा जोड दिने राजनीति आदर्श पच्न सक्दैन । यस अर्थमा योगीजी राजनीतिज्ञका प्रकाण्ड विद्वान मानिनुहुन्छ । योगीजी एउटा सिंगो इतिहास मात्र नभएर पुरातत्व, धर्म, संस्कृति, नैतिकता र ज्ञानको भण्डार मानिनुहुन्छ ।

यो भौतिक संसारमा योगी हुन धेरै गुणहरु चाहिन्छन् । यदि यस्तो गुण र कटिबद्धता छैन भने अहिलेको यो भौतिक र शारीरिक आनन्दपट्टि ढल्केको संसारमा कुनै मान्छे पनि त्यसपट्टि लाग्न सक्तैनथ्यो र चाहँदैनथ्यो भइ गए पनि परिणाम ज्यादै न्यून रहन्थ्यो । यी सबैलाई त्यागेर उहाँपूर्ण योगी हुनुभयो । यो नै उहाँको सबैभन्दा ठूलो गुण हो । उहाँको अर्को गुण छ त्यो हो अनुसन्धान । अनुसन्धान भन्ने विषय यस्तो हो जसले जुन काममा हात हालेर पसेपछि त्यसले धेरै कुराको त्याग गर्नुपर्छ । अहिलेको संसारमा जति पनि ठुलाठुला वैज्ञानिकहरु देखा परेका छन्, उनीहरुको जीवनीको पन्ना पल्टाएर हेर्यौ भने उनीहरुको त्याग र तपस्या धेरै ठूलो हुन्छ । त्यसैले योगीजीको जीवन पनि सधैं अमर बनिरहोस्, फुलिरहोस् र फैलिरहोस् । यही शुभकामना ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

जवाफ लेख्नुहोस्

error: Content is protected !!