विज्ञान तथा प्रविधिको महत्व नेपालमा अझसम्म कुनै पनि सरकारले बुझ्न सकेनन् – प्रा. डा. खनाल

२०११ सालमा काठमाडौंको पकनाजोलमा जन्मिएका प्रा. डा. उदयराज खनाल ३५ बर्ष त्रिभुवन विश्वविद्यालय केन्द्रिय भौतिकशास्त्र विभागमा प्राध्यापन पेशामा आवद्ध हुनुभयो । उदयराज खनाल नेपालका सुप्रसिद्ध विद्वान्, समालोचक, कूटनीतिज्ञ र प्रखर बुद्धिजीवी पिता सरदार यदुनाथ खनालका पुत्र हुनुहुन्छ । यदुनाथ खनालको कूटनीतिक क्षमतालाई बीपी कोइराला, राजा महेन्द्र र राजा वीरेन्द्रले मात्र होइन, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालासम्मले प्रयोग गरे । नेपालमा एकपटक गृहसचिव, दुईपटक परराष्ट्रसचिव र नेपालका लागि अत्यन्त महत्त्वपूर्ण देशहरू भारत, चीन र अमेरिकामा राजदूत हुने एक मात्र व्यक्ति यदुनाथ खनाल नै हुनुहुन्थ्यो । उदयराज खनालले अमेरिकाको फ्लोरिडा एटलान्टिक युनिभर्सिटीवाट भौतिकशास्त्रमा बिएस्सी, भारतको दिल्ली युनिभर्सिटीबाट भौतिकशास्त्रमा स्नातकोत्तर र भौतिकशास्त्र अन्तर्गत हकिंग रेडिएसनमा विद्यावारिधि गर्नु भएको हो । उहाँका ४ वटा रिसर्च पेपरहरु भौतिकशास्त्रको प्रसिद्ध वैज्ञानिक जर्नल फिजिकल रिभ्युमा प्रकाशित छन् । त्यस्तै २ वटा इन्टरनेशनल जोर्नल अफ मोडर्न फिजिक्समा, १५ वटा साइनटिफिक वोर्ल्ड जस्ता प्रसिद्ध वैज्ञानिक जर्नलहरुमा रिसर्च पेपरहरु प्रकाशित छन् ।

“कुनै सुचालक माध्यममा भएका कणहरूको ग्रुप गति प्रकाशको गति भन्दा पनि बढी हुन्छ” भन्ने नतिजाको सैद्धान्तिक पुष्टिसहित उल्लेख गरिएको एउटा रिसर्च पेपर सन् १९९८ मा इन्टरनेशनल जोर्नल अफ मोडर्न फिजिक्समा प्रकाशित भयो । यस तथ्यले सिंगो भौतिकशास्त्रको जगतमै ठूलो हलचल ल्याएको थियो किनकि कुनै पनि बस्तुको गति प्रकाशको गति भन्दा पनि बढी हुन सक्दैन । यदि यो नतिजा प्रयोगात्मक रूपमै पुष्टि भएको भए महान वैज्ञानिक अल्वर्ट आइन्टाइनको सापेक्षतावादको सिद्धान्त नै गलत सावित हुन्थ्यो । अल्वर्ट आइन्टाइनले प्रतिपादन गरेको सापेक्षतावादको सिद्धान्त भौतिकशास्त्रको एउटा स्थापित सिद्धान्त हो । उक्त अनुसन्धान पत्रको सैद्धान्तिक नतिजा आजसम्म पनि अध्ययन अनुसन्धानकै क्रममा छ । हाम्रा लागि खुसीको कुरा के छ भने भौतिकशास्त्रको जगतमा तहल्का मच्चाउन सफल यस अनुसन्धान पत्रको नतिजा प्रस्तुत गर्ने वैज्ञानिक उहाँ नै हुनुहुन्छ ।

आजभोलि नेपालमा भौतिकशास्त्रको नाम लिने बित्तिकै प्रा. डा. उदयराज खनालको नाम अग्रपंक्तिमा आउने गर्छ । नेपालमा भौतिकशास्त्रको प्रयाय नै बनेका कम बोल्न रूचाउने खनाल विषयवस्तु सम्बन्धी गहिरो ज्ञानको कारण राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा नेपालको उपल्लो दर्जाको बैज्ञानिक तथा प्राध्यापकको रुपमा पनि चिनिनुहुन्छ । नेपालमा भौतिकशास्त्रको प्रशस्त सम्भावनाहरू देख्ने प्राध्यापक खनालले भौतिकशास्त्रको व्यवहारीक प्रयोगमा भने प्रशस्तै चुनौती समेत देख्नुहुन्छ । यदि नेपालको विकास गर्ने हो भने सर्वप्रथम विज्ञानकै विकासमा जोड दिनुपर्ने उहाँको मान्यता छ । प्रसिद्ध नोवेल पुरस्कार विजेता भौतिकशास्त्री अब्दुस सलामलाई उद्धृत गर्दै खनाल भन्नुहुन्छ, “भौतिकशास्त्र धनको विज्ञान हो । यदि गरिव मुलुकले भौतिकशास्त्रमा लगानी गरे भने गरिबी निवारणमा धेरै वर्ष कुर्नुपर्दैन ।” तर नेपालमा विज्ञान तथा प्रविधिको महत्व अझसम्म कुनै पनि सरकारले बुझ्न नसकेको धारणा राख्ने प्राध्यापक खनालसँग नेपालमा विज्ञान तथा प्रविधि बर्तमान अवस्था र भविष्य भन्ने गहन विषयमा केन्द्रित रहेर साइन्स इन्फोटेकका प्रधान-सम्पादक गोपाल भण्डारीले गरेको कुराकानी ।

१. सर त राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा नेपालको उपल्लो दर्जाको बैज्ञानिक तथा प्राध्यापकको रुपमा पनि चिनिनुहुन्छ । अहिले नेपालमा विज्ञान तथा प्रविधि अवस्थालाई कसरी चित्रण गर्नुहुन्छ ?

मैले आफुले गर्न सक्ने काम गर्न खोजेको मात्र हो । हामीकहाँ विज्ञानका मुद्दामा कसैले विश्वास गर्दैन । बिगतमा विज्ञान मन्त्रालयमा कसैलाई आकर्षण थिएन । नेतृत्वमा विज्ञानबारे बेखबर मान्छे जान्छ । सही मान्छेले अवसर पाउँदैन । विज्ञानका सभा र सम्मेलन हाम्रा मान्छेहरूलाई विदेश भ्रमणको अर्थमा मात्र सीमित छन् । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानको गठनसगै, छलफलका लागि वितरित पुस्तिकामा पनि नेपाल सानो बजार भएको हुनाले विकसित विज्ञान (एडभान्स्ड साइन्स) का अभ्यासलाई प्राथमिकता दिन उपयुक्त नहुने र संसारमा भए गरेका अभ्यास ल्याए पुग्ने विचार प्रकट गरिएको थियो । यस्ता मानसिकता नै विज्ञानको विकासमा तगारो बनेको छ ।

हाम्रो सबैभन्दा दु:ख लागेको कुरा शुरुदेखि नै के हो भने हाम्रो समाजमै र नेताहरुले विज्ञानको महत्व नै बुझेनन् । त्यसैले गर्दा वैज्ञानिकहरु नै गलत वाटोमा हिड्यो कि भनेर लेखे किनभने विज्ञान बुझाउन नसक्नु वैज्ञानिहरुले नै त्यसको दोष लिन सक्नुपर्छ त्यसमा पनि धेरै विरोध भयो । अब पनि हाम्रो विकास उच्चस्तरीय विज्ञान तथा प्रविधिबाट मात्र सम्भव छ । विज्ञान बिनाको विकास दिगो हुन सक्दैन । हाम्रो देशका नेताहरुले नै विज्ञानको महत्व नबुझेको जस्तो लाग्छ । विज्ञान तथा प्रविधिको महत्व नेपालमा अझसम्म कुनै पनि सरकारले बुझ्न सकेनन् ।

२. नेपालका कुनै पनि बैज्ञानिक तथा प्राध्यापकले अझसम्म नोवेल पुरस्कार पाउन नसक्नुको कारण के हो ?

यो समाज र राष्ट्रको विज्ञानप्रतिको दुर्भाग्य जस्तो लाग्छ । धेरै केहि सुविधा नहुँदा नै भारतमा सिभी रामनले नोवेल पुरस्कार पाए । यो पाउनको लागि ठुल-ठुला प्रयोगशाला चाहिन्छ त्यस्तै उपकरण चाहिन्छ जस्तो लाग्दैन । लगनशीलता हुनुपर्छ । राष्ट्रमा के गर्न सकिन्छ त्यसलाई कसरी अलिकति सजिलो बनाउन सकिन्छ । कोहि मिहिनेत गरेर काम गर्न आउछु भन्नेहरुलाई बाधाहरुलाई सहज रुपमा काम गर्ने ठाउँ बनाउनुपर्छ । नोवेल पुरस्कार कै लागि यति पैसा दिन्छु नोबेल पुरस्कार पाउछ भन्ने केहि छ जस्तो लाग्दैन ।

३. नेपालका अन्तराष्ट्रिय स्तरका बैज्ञानिक प्रयोगशाला बन्न नसक्नुको कारण के होला जस्तो लाग्छ तपाईलाई ?

प्रयोगशाला भनेर कुरा नबुझी रहेको छ जस्तो लाग्छ । अमेरिकामा पनि राष्ट्रिय प्रयोगशालाहरु छन् तर त्यो के गरिरहेको छ भने ४/५ वटा विश्वविद्यालयहरुलाई तिमीहरुको जिम्मा भनेर समुहहरुलाई दिएको छ । यो विश्वविद्यालयवाट छुट्टै प्रयोगशाला बनाउने भन्ने एक किसिमले पुरानो सोभियत यूनियनको परिपाटी जस्तो भयो र त्यसैमा भारत पनि लाग्यो । लाग्नलाई भारतका वैज्ञानिहरुसंग अन्तरक्रिया गरे उनीहरुको कुरा बुझ्दाखेरी उनीहरुको विश्वविद्यालयवाट छुट्याएर छुट्टै प्रयोगशालाहरु बनाउँदाखेरि झन त्यहाँका वैज्ञानिकहरु आइसोलेसनमा गए जस्तो अनुभव भयो । अब राष्ट्रिय प्रयोगशालामा काम गर्नेलाई पैसा धेरै दिन्छ त्यसैले त्यतैतिर लाग्छन् र त्यसैले सम्बन्ध नै कुहिन थालेपछि त्यति उत्पादक भएको देखिदैन । यस सन्दर्भमा पहिला मेगनाथ शाहले भनेकै थिए यो प्रयोगशाला बनाउन थालेपछि हामीले यो विज्ञानलाई एउटा ताजमहल जस्तो बिल्डिङभित्र लगाएर गाड्दिन लागेको हौ भनेका थिए ।

४. नेपालले आउँदो वैशाखमा आफ्नै भू-उपग्रह प्रक्षेपण गर्ने भन्ने समाचार आएको छ । यस विषयमा तपाईको धरान के छ ?

अब यो कति बुझेर नबुझेर भनेको हो । प्रक्षेपण गरेर हामीले निकै नै ठुलो काम गर्न लागे जस्तो लाग्दैन तर यो सकारात्मक पहल चाही हो । प्रक्षेपण हुने खालको हामीसँग न कुनै रकेट छ न कुनै अनुभव छ । विज्ञानको क्षेत्रमा सबै आँफु सक्षम भएर अनुभव बटुल्दै जानुपर्छ ।

५. पारमाणविक ऐन बन्ने क्रममा संसदमा पारमाणविक विधेयक प्रस्तुत भएको छ । कानुन बनेपछि अव नेपालले परमाणु प्रविधि भित्र्याउन र प्रयोग गर्न सहज हुने भनेपनि नेपाललाई इरान बनाईदैछ भन्ने विश्लेषण शुरु भएको छ । यसमा तपाईको धारणा के छ ?

संसारभरी पारमाणविक कुरामा धेरै राजनीतिक नै हुने गर्छ । विश्वभरी यसको अनुसन्धान गर्न थालियो भने यो बम नै बनाउन लागेछ भनेर हेर्ने देखिन्छ । हामी यो न्युक्लियर साइन्समा सक्षम हुनुपर्छ, त्यसमा मेरो केहि भन्नु छैन । यसलाई औंषधी विज्ञानमा पनि धेरै उपयोग गर्न सकिन्छ । उर्जाकै लागि हामीलाई आणविक भट्टी उपयुक्त होकी होइन त्यो दीर्घकालीन रुपमा सोचेर गर्नुपर्छ । हाम्रो यत्रो जलस्रोत भएको त प्रयोग गर्न सकेका छैनौं । त्यसमा पनि जनशक्ति नै नभएको न्युक्लियर साइन्टिष्ट, न्युक्लियर केमिष्ट कति छन् भन्ने कुरामा अनुसन्धान गर्न जरुरी छ । केहि नभएपनि आणविक भट्टी चलाउन सकिन्छ की सकिदैन त्यो थाहा छैन । न्युक्लियर रेडिएसन कहाँ कुन कुन ठाउँहरु छन् पत्ता लगाएर सरकारले ती क्षेत्रहरुलाई घेरा लगाएर सुरक्षित राख्ने लाग्ने व्यवस्था गर्नुपर्छ । पहिला आफुले गर्न सकिने काम र गर्नुपर्ने कामहरु गर्दै गएर त्यसपछि ठुल-ठुला कामहरु गर्दै जाने विचार गरेर जानुपर्छ ।

६. नेपालमा आणविक भट्टी बनाएर यसको उर्जावाट बिजुली निकाल्नुपर्छ भन्ने आवाज सुनिन थालेको छ । यसको लागि चाहिने दक्ष जनशक्ति तयार पर्न के गर्नुपर्छ ?

यसको लागि धेरै अनुभव चाहिन्छ । एकैचोटी गरेर हुने कुरा पनि होइन । यो आणाविक विज्ञानको बारेमा अन्य विकसित देशहरुले अरुलाई सिकाउनै चाहादैनन । त्यसैले आफैले अनुभव बटुल्दै जानुपर्छ । सकिन्छ कसरी शुरुवात गर्ने कहाँवाट गर्ने त्यो विचार गरेर गर्नुपर्छ ।

७. नेपालमा विज्ञान नीति बनाउन शुरु गरेको धेरै बर्ष भएपनि अझसम्म बन्ने क्रममा नै छ । नेपालमा कस्तो खालको विज्ञान नीति बन्नुपर्छ जस्तो लाग्छ तपाईलाई ?

विज्ञानको विकासले पुरा समाज र देशलाई नै एक किसिमले स्वावलम्वी बनाउने काम गर्छ । आफ्नो वरिपरिको रिसोर्चहरु सबैको उपयोग गरेर समाजमा भएका दु:ख, कष्ट निराकरण गर्नेतिर उपयोग गर्न सकिन्छ । देशको आवश्यकतालाई ध्यानमा राखेर प्राथमिकता निर्धारण गरी माटोमा सुहाउँदो २० वर्षपछि पनि उपयोगी हुने खालको विज्ञान नीति बन्नुपर्छ ।

८. तपाईले भनेको देशको माटोलाई सुहाउँदो २० वर्षपछि पनि उपयोगी हुने विज्ञान तथा प्रविधिको क्षेत्रमा कस्ता खालका खोज र अनुसन्धान हुनु जरुरी छ ?

माटो सुहाउँदो त होइन । जे फिजिक्स पढिरहेका छौं त्यहि नै हुन्छ । एउटा फिजिक्स पढेर उसलाई आफुले जानेको कामवाट काम दिने व्यवस्था हुनुपर्छ । अनि त्यसको उपयोगिता हाम्रोमा जे उपयुक्त छ त्यसमै प्रयोग हुनुपर्छ । हामी पनि जुम्लाको कालिमार्सी धानको आनुवंशिक अध्ययन गरेर उच्च उत्पादन गर्न मिल्ने बीउहरू निकाल्न सक्छौं । संसारमा त्यति धेरै उचाइमा धान फल्नु अचम्मैको कुरा हो ।  त्यो जुम्लाको जस्तो धान संसारमै उम्रदैन त्यो अनुसन्धान गरेर के हर्मोनवाट उत्पति हुन्छ त्यो अनुसन्धान गर्नुपर्ने ठाउँमा यहाँ त्यसको सट्टा कतैवाट ल्याएर धेरै उत्पादन हुने बिउ ल्याएर प्रतिस्थापन गर्दियो त्यसैले गर्दा यहाँ हामीले पहिला खाएको चालमहरु हराइसक्यो। यस्तो महत्वपुर्ण धानहरु अनुसन्धान गर्न सकिन्छ नी । हाम्रो वैज्ञानिकहरु पनि राम्रो छन् । एउटा के कम्जोर देखिरहेको छु भने विदेशमा गएर धेरै राम्रो काम गर्न सकिन्छ भने किन देशमा गर्न सकिदैन त्यो एउटा कलेक्सन गर्नपर्छ । त्यसैले गर्दा मैले माटो सुहाउँदो भनेको हो हाम्रै भएका कुराहरुको अनुसन्धान तथा विकास गरौं ।

९. नेपालमा भौतिकशास्त्रको अवस्था कस्तो रहेको छ ?

नोबेल पुरस्कार बिजेता पाकिस्तानी नागरिक अब्दुस सलाम ‘विज्ञानको उपयोग गरेर नै गरिबीको उन्मूलन हुन्छ’ भन्दथे । भौतिकशास्त्रलाई उनले ‘धनको विज्ञान’ रूपमा व्याख्या गरेका थिए । यदि गरिव मुलुकले भौतिकशास्त्रमा लगानी गरे भने गरिबी निवारणमा धेरै वर्ष कुर्नुपर्दैन। सामन्त युगमा धनको लुटले सामन्तको जन्म गराउँदथ्यो तर उपनिबेशकालमा गरिब देशहरूबाट सुन र हिरा लुटेर धनी भइन्छ भन्ने मान्यता स्थापित भयो । अहिलेको वैज्ञानिक युगमा भने ज्ञान र विज्ञानको प्रयोगले धनको उत्पादन गर्न सकिने धारणा विकास भयो र सलामले विस्तार गरेको त्यो मान्यता अहिले प्रमाणित भइसकेको छ ।

भौतिकशास्त्री अब्दुस सलाम सन् १९८९ मा नेपाल आउँदा नेपाललाई भौतिकशास्त्रको अन्तर्राष्ट्रिय केन्द्र बनाउने प्रस्ताव गरेका थिए । तर हाम्रा वैज्ञानिक नेतृत्वले उनको यस प्रस्तावलाई स्विकार नगरेको कारण नेपालमा भौतिकशास्त्र पछाडि परेको छ । अब्दुस सलामको यस प्रस्तावलाई स्किारेको भए नेपालका वैज्ञानिक विदेश पलायन त रोकिन्थ्यो-रोकिन्थ्यो, विदेश गइसकेका नेपाली वैज्ञानिकहरूलाई आफ्नै देशमा फर्काउन सकिन्थ्यो । भौतिक विज्ञानको वातावरणको क्षेत्रमा, जलस्रोत र कृषिमा समेत सफल प्रयोग गरेर अघि बढ्नुपर्नेमा नेपालको राजनीति नेतृत्वले विज्ञान तथा प्रविधिको महत्व नबुझेकोमा म निकै चिन्तत छु ।

नेपालमा भौतिकशास्त्रको प्रशस्त सम्भावनाहरू छन् तर भौतिकशास्त्रको व्यवहारीक प्रयोगमा भने प्रशस्तै चुनौती समेत रहेका छन् । नेपालमा भौतिकशास्त्रको जुन रुपमा अध्ययन अनुसन्धान गर्ने वातावरण हुनुपर्थ्यो त्यो अनुसारको प्रयोगशालाहरु, उपकरणहरु छैनन् । भौतिकशास्त्र संसारमै विद्यार्थीहरू गाह्रो लागेर कक्षा कोठाबाट भाग्ने पढाइ हो । अध्ययन गर्न जत्तिको गार्हो छ, त्यति नै नेपालमा यस विषयमा थप अध्ययन अनुसन्धान गर्न सक्ने कुनै सुबिधा छैन । तर यो ग्लोबल विषय भएकोले विदेशमा पीएचडी गर्ने मौका धेरैले पाउँछन् । विदेशमा गएर नयाँ प्रविधिमा समाहित हुँदै आफ्नो क्षमता बढाएर राम्रो काम पाइरहेका छन् । विदेश नजानेलाई यहाँ नेपालमा कक्षा ११-१२ मा पढाउनुको बिकल्प छैन किनकी उनीहरुलाई अध्ययन, अनुसन्धान गर्ने प्रयोगशालाहरु, उपकरणहरु छैनन् । मुलुकले उनीहरूको प्रतिभाको उपयोग गर्न सकेको छैन ।

१०. नेपालमा अझसम्म विज्ञान तथा प्रविधिको विकास गर्न सक्रिय मन्त्रालय र अन्य सरकारी संस्थाले सक्षम नेतृत्व पाउन सकेको छ वा छैन ?

मैले भन्दा मान्छेहरू रिसाउने गर्छन्, फेरि पनि रिसाउलान् । तर कटुसत्य के हो भने अन्य सबै क्षेत्रमा जस्तै नेपालमा अझसम्म विज्ञान तथा प्रविधिको विकास गर्न सक्रिय सरकारी संस्थाले सक्षम नेतृत्व पाउन सकेको छैन । राजनीति छिरेको छ । सलामले भनेको सम्झन्छु : ‘विज्ञान प्रविधि क्षेत्रको नेतृत्व क्रियाशील वैज्ञानिक (वर्किङ साइन्टिस्ट) ले नै गर्नुपर्छ ।’ हात मैलो होला भन्ने मानिस वैज्ञानिक हुन सक्दैन । उसले त सधैं प्रयोगशालामा चलिरहनुपर्छ । नेतृत्व गर्नेले त्यसैगरी अरूलाई पनि गराउन सक्नुपर्छ । टेबल कुरेर, फाइलमा घोरिएर हुन्न । नेतृत्वको कुरा गर्दा महान् भारतीय वैज्ञानिक मेघनाथ शाहको कुरा आउँछ । दिल्ली विश्वविद्यालयमा म आफ्नो पीएचडीको शोध प्रतिरक्षा गर्न जाँदा त्यहाँका प्राध्यापकहरूले भनेका थिए, ‘हामीकहाँ पनि शाहकै कारणले मात्र विज्ञान यो अवस्थामा छ ।’ शाह त्यस्ता वैज्ञानिक हुन् जो बंगालबाट चुनाव लडेर सभासद बने, अनि संसद्मा पुगेर देशका लागि आवश्यक विज्ञान प्रविधिसम्बन्धी नीति पास गराए ।

११. नेपालमा अझसम्म सरकारले बैज्ञानिकलाई परिभाषित गर्न सकेका छैनन । बिश्वब्यापी रुपमा स्थापित बैज्ञानिकको सर्वमान्य परिभाषा अनुसार नेपालमा बैज्ञानिक भनेको को हो ?

वैज्ञानिक भनेको एउटा सोचाई र संस्कार हो । सोचले विभिन्न समस्याहरु समाधान गर्ने बाटो खोल्दिने गर्छ । भएका जतिलाई विज्ञान मान्ने हो भने अहिलेसम्म सबै विकसित भएका पढेर, जानेर, बुझेर तिनीहरुलाई प्रयोग गर्न सक्नुपर्छ । वैज्ञानिक भनेको सोच हो । मुख्य कुरा के हो भने केहि काम गरेर सिक्ने उपाय हो । विज्ञान भनेको केहि काम गर्यो त्यसले राम्रो नतिजा दियो भने त्यसलाई नै राम्रो गर्दै जाने हो । त्यो तरिकाले काम गर्दैन भने केहि कुरा त परिवर्तन गर्नुपर्छ यसरी हुँदैन रहेछ । यहाँ औंजार परिवर्तन गर्नुपर्दो रहेछ भनेर खोज्दै जाने प्रक्रिया नै विज्ञान हो जस्तो लाग्छ । त्यसैले यो सामाजिक रुपमै हो पढेर जानेर मात्र हुदैन । विज्ञानले निरन्तर र व्यापक अन्तक्रिर्या र अभ्यास खोज्छ ।

१२. नेपालमा कक्षा ११-१२ मा विज्ञान विषय अध्ययनरत विद्यार्थीहरू कस्तो पाउनु भएको छ ?

नेपालमा म कक्षा ११-१२ मा अपूर्व प्रतिभा भएका विद्यार्थीहरू भेट्छु । उनीहरूले मौका पाउने हो भने भविष्य उज्ज्वल छ । तर तिनीहरू पनि एउटा अवस्थामा गएर निराश हुन्छन् । म वैज्ञानिक प्रयोगका नाममा जिज्ञासा राख्नेहरूलाई प्रोत्साहित गर्छु तर उनीहरूलाई पढाइ नछोड्न मेरो अनुरोध हुने गर्छ । त्यस्ता प्रतिभाहरू ‘गाइडेड’ हुनुपर्छ ।

१३. सरकारले नेपालमा बिज्ञान तथा प्रविधि मन्त्रालयलाई शिक्षा मन्त्रालयमा गाभेर शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालय बनेको छ । धेरै विज्ञले त यसलाई छुट्याई स्वतन्त्र रुपमा विज्ञान तथा प्रविधि मन्त्रालय बनाएमा मात्र बिज्ञान तथा प्रविधिको विकास हुन सक्छ भन्ने धारणा रहेको छ । यसमा तपाईको के छ विचार ?

यसमा मलाई केहि फरक पर्दैन जस्तो लाग्छ तर बिज्ञान तथा प्रविधिलाई प्राथमिकतामा राख्नुपर्यो । जापानको शिक्षा, मानव अनुसन्धान र विज्ञान तथा प्रविधि भनेर एउटा मन्त्रालय छ । धेरै मन्त्रालय भएर मन्त्रालयमा पठाएको मन्त्री बसेन रे सचिवहरु त्यस्तै रिटायर हुने बेलामा ६/८ महिना सिध्याउनको लागि त्यहाँ पठाउने चलन भएको थियो । मुख्य भनेको काम हो कुरा मात्र होइन ।

१४. भारत र चिनजस्ता ठुला उदियमान शक्तिले दुर्त गतिमा हासिल गरेको अन्तरिक्ष बिज्ञान र आणविक शक्तिको विकासको क्षेत्रमा ठुलो सफलता हासिल गरेतापनि हामी धेरै पछि छौ। अव नेपालले कस्तो रणनीति अपनाएर अघि बढ्नुपर्छ ?

सक्षम हुनुपर्छ र आफ्नो स्रोतहरु प्रयोग गर्नपर्छ । अन्तरिक्षको पनि त्यहि किसिमको हो । अब हामी कहाँ घट्ना भयो भने उतावाट सूचना आउछ । अस्ति भूकम्प आयो, विदेशीले तिमिहरुकोमा भूकम्प आयो है भनेर समाचारमा आएको थियो । जति हामी पछि पर्दै गयो उति नै हामी पछि परिन्छ । मुख्य कुरा भनेको प्राथमिकता नै हो । के-के गर्दै जाने हो त्यो संकलन गर्दै जानुपर्छ । पहिलो चरणमा यस्तो गर्ने अनि त्यसपछि अर्को चरणमा लाने भन्ने योजना बनाएर गर्नुपर्छ । मुख्य कुरा भनेको विज्ञान तथा प्रविधि नगरिकन त्यसमा सक्षम नभईकन विकासको सम्भावना छैन । सिंगापुर हेर्नुहुन्छ भने उनीहरु एक पुस्तामा विकास भएको देश हो । ली क्वान इयूले पुरै देशको विकास गरिदिए । जुन देशले विज्ञान तथा प्रविधिको विकास गरेपछि मात्र विकास हुन्छ भनेर लागे उनीहरु मात्र सक्षम र विकसित देश भए ।

पाकिस्तानको भौतिकशास्त्रमा नोवेल पुरस्कार बिजेता बैज्ञानिक अब्दुस सलामले के भन्नुहुन्थ्यो भने Scientific thought and its creation is the common and shared heritage of mankind. The creation of Physics is the shared heritage of all mankind. East and West, North and South have equally participated in it. अर्थात वैज्ञानिक विचार र यसको सिर्जना सवै मानव जातिको साझा र साझा सम्पदा हो । भौतिक विज्ञानको सिर्जना सबै मानिस जातिको साझा सम्पदा हो। पूर्व र पश्चिम, उत्तर र दक्षिणमा समान रूपमा यसमा सहभागिता भएको छ । बिज्ञान र भौतिक विज्ञानको विकास नभईकन देश विकास हुँदैन भन्ने उहाँको भनाई थियो ।

१५. विज्ञान तथा प्रविधि सम्वन्धित जनचेतनामुलक कार्यक्रमहरु एफएम, रेडियो र टेलिभिजनहरुमा प्रभावकारी ढंगले हुन सकेका छैनन् । नेपालमा विज्ञान र प्रविधिको जनचेतना वृद्धि गर्न के के गर्नुपर्छ ?

विज्ञान तथा प्रविधि सम्वन्धित जनचेतनामुलक कार्यक्रमहरु एफएम, रेडियो र टेलिभिजनहरुमा प्रभावकारी ढंगले हुन सकेको कुरा सत्य हो । नेपालमा विज्ञान तथा प्रविधिको जनचेतना वृद्धि यस्ता जनचेतनामुलक कार्यक्रमहरु देशभर व्यापक रुपमा हुनैपर्छ । एफएम, रेडियो र टेलिभिजनहरुमा पनि विज्ञान तथा प्रविधि सम्वन्धित छलफल, अन्तर्क्रिया र बहस जस्ता कार्यक्रमहरु गर्नुपर्छ । मुख्य कुरा एक्सपोजर हो । हाम्रो टेलिभिजनहरुमा खाली चाहिने नचाहिने राजनीतिक नेताहरुसँग मात्र छलफल, अन्तर्क्रिया र बहसहरु हुने गरेका छन् । अव मिडियाहरुमा पनि देशमा विज्ञान तथा प्रविधिको विकास गरेमा मात्र देशको विकास हुने रहेछ भन्ने चेतना आउनु जरुरी छ । अव मिडियाहरुमा पनि बैज्ञानिकहरु, प्रोफेसरहरुलाई ल्याएर विज्ञान तथा प्रविधिको विकास गर्न चर्का छलफल, अन्तर्क्रिया र बहस गरी विज्ञान तथा प्रविधिको महत्व समाजमा सुसूचित गरेर आफ्नो देशप्रतिको सामाजिक उत्तरदायित्व बहन गर्न सक्नुपर्छ ।

१६. नेपालमा आम जनमानसमा धेरै बिज्ञान जिज्ञाषहरुको बैज्ञानिक कारण थाहा हुन सकेको छैन । यो क्षेत्रको प्रवर्द्धनको लागि सरकारले के-कस्ता योजनाहरु ल्याउनुपर्छ ?

यो पनि हाम्रो समाजमा सानादेखि नै अस्तव्यस्त छ । अब गाउँघरमा कति अन्धविश्वासका कारणले कतिलाई वोक्सीको आरोप लगाएर हत्या र यातना दिएका घटनाहरु दिनदिनै सुनिरहेका हुन्छौं । भारतमा के छ भने वैज्ञानिकहरुको एउटा समूह नै छ । उनीहरुले सामहिक रुपमा गाउँगाउँमा गएर जादुगरहरुले गरेका नराम्रो कामहरु खोज्दै हिडेर कतै देखियो भने उनीहरुले जनचेतना कार्यक्रमहरु गरिरहेका छन् । अव समाजमा भएका अन्धविश्वास हटाउन तिनीहरुको कारण खोजी पुस्तक प्रकाशन गरी त्यसको प्रचार-प्रसार एफएम, रेडियो र टेलिभिजनहरुमा हुन् जरुरी छ ।

१७. आगामी भविष्यमा विज्ञान तथा प्रविधिको विकास गर्न सरकारले के-कस्ता नयाँ योजनाहरु ल्याउनुपर्छ ?

विज्ञान तथा प्रविधिको विकास गर्न सरकारले नयाँ-नयाँ योजनाहरु ल्याउन सकेको छैन । विज्ञान तथा प्रविधिको विकास गर्न बैज्ञानिकहरु, प्रोफेसरहरु र प्राज्ञहरुसंग छलफल, अन्तर्क्रिया र बहस गरेर नयाँ योजनाहरु ल्याउनुपर्छ । हामी आफैले दृढ संकल्प गरेर विज्ञान तथा प्रविधिको विकास गर्न देशको माटोलाई सुहाउँदो २० वर्षपछि पनि उपयोगी हुने विज्ञान तथा प्रविधिको क्षेत्रमा नयाँ योजनाहरु ल्याउनुपर्छ ।

१८. अन्त्यमा, के भन्न चाहनुहुन्छ ?

हामीले विज्ञान नै बुझ्न नसकेका हौं । विज्ञान भनेको ‘ट्रायल एन्ड इरर’कै प्रक्रिया हो । गल्तीबाट सिक्नु विज्ञान हो, त्यस्तै गल्ती बारम्बार गर्नु अविज्ञान हो । हामी वैज्ञानिक शिक्षा, भूमिसुधार, के के भन्छौं । तर यसले, विज्ञान नै नगरी कसरी वैज्ञानिक हुन्छ, मलाई अचम्म लाग्छ । मेरो भनाइ त्यहि हो सोच बनाउनु होस् काम गर्दाखेरी गल्ति हुन्छ । गल्तिवाट सिक्नुपर्छ । त्यहि पंचायतकालदेखि त्यहि प्राविधिकको अवस्था त्यहि छ । यसरी गर्दा भएन अब नँया ढंगले गर्नुपर्छ भन्ने त हुनुपर्छ नि । पहिलाकै कुरा उठाएर पहिला जे गर्दा असफल भयो त्यहि गर्छु भनेर लाग्ने हो भने केहि होला जस्तो त लाग्दैन । त्यसैले गर्दा गल्तिवाट सिक्नुस फेरी अर्को पटक त्यो गल्ति नदोहोरियोस । विज्ञान तथा प्रविधिको विकास गर्न सवै हातेमालो गरेर अघि बढौ ।

यो पनि पढ्नुहोस्

युवा बैज्ञानिकहरुका लागि Innovation For Prosperity कार्यक्रम ल्याईनेछ – उपकुलपति डा. श्रेष्ठ

नेपालको विकास गर्न विज्ञान तथा प्रविधिलाई उद्योगसँग जोड्नुपर्छ – पूर्वमन्त्री शाह

विज्ञान तथा प्रविधिको विकास गर्न अनुसन्धान र विकासको बजेट बढाईने – मन्त्री सिंह

नेपालमा बिज्ञान तथा प्रबिधि विश्वविधालय स्थापना गर्नैपर्छ – सचीव शर्मा

भविष्यमा देशका ७ वटै प्रदेशमा नास्टको शाखा खोल्ने योजना – उपकुलपति पोखरेल

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

One thought on “विज्ञान तथा प्रविधिको महत्व नेपालमा अझसम्म कुनै पनि सरकारले बुझ्न सकेनन् – प्रा. डा. खनाल

जवाफ लेख्नुहोस्

error: Content is protected !!