विज्ञान, प्रविधि तथा नव-प्रवर्तन नीति, २०७५ विज्ञान तथा प्रविधिको विकासमा कोसेढुङ्गा हुने – सचीव वि.सी.

सुर्खेत जिल्लाको हाल वीरेन्द्रनगर नगरपालिकामा जन्मनुभएका कृष्णराज वि.सी. नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा विज्ञान तथा प्रविधि सचिवको रुपमा कार्यरत हुनुहुन्छ । उहाँले त्रिचन्द्र कलेज घण्टाघरवाट बिएस्सी तथा नेदरल्याण्डको इन्टरनेशनल इन्सिच्युट फर जिओ इन्फर्मेसन साइन्स एण्ड अर्थ ओब्जरभेसन (आईटीसी) वाट भूमि प्रशासन (ल्याण्ड एडमिनिट्रेशन) मा स्नातकोत्तर गर्नु भएको हो ।

२०४५ सालमा नापी अधिकृतको रुपमा नापी विभागवाट सरकारी सेवा शुरु गर्नुभएका वि.सी. २ पटकसम्म नापी विभागको महानिर्देशक हुनुभयो । भूमिसुधार तथा व्यवस्था मन्त्रालयको निमित्त सचीव हुदै पहिलोपटक प्रधानमन्त्री कार्यालयको सचीव हुनुभयो । त्यसपछि खानेपानी तथा सरसफाई मन्त्रालयको सचीव भईसकेपछि शान्ति तथा पुनः निर्माण मन्त्रालयको सचीव पनि हुनुभयो । फेरि खानेपानी तथा सरसफाई मन्त्रालयको सचीव हुँदै हाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा विज्ञान तथा प्रविधि सचिव हुनुहुन्छ । अत्यन्तै मृदभाषी, शालीन स्वभावका धनी सचीव वि.सी. बौद्धिक व्यक्तित्व पनि हुनुहुन्छ ।

उहाँ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा विज्ञान तथा प्रविधि सचिवको रुपमा कार्यरत भएकै बेलामा ‘पारमाणविक विधेयक, २०७५’ बनेर संसदमा प्रस्तुत भएको छ । नेपालले आफ्नै पहिलो सानो भू-उपग्रह नेपाली-स्याट-१ वैशाख ४ गते प्रक्षेपण गर्दैछ । साथै राष्ट्रिय विज्ञान, प्रविधि तथा नव-प्रवर्तन नीति, २०७५ को मस्यौदा तयार परेर मन्त्रीपरिषदमा लाने प्रक्रियामा छ । विज्ञान तथा प्रविधिको विकासको लागि कोसेढुङ्गा सावित हुने महत्वपूर्ण कार्यहरु गर्ने यस्तो सैभाग्य पाउनु भएका सचीव वि.सी.सगँ बिज्ञान तथा प्रबिधिको विकासको लागि मन्त्रालयका भावी योजनाहरु र राष्ट्रिय विज्ञान प्रविधि तथा नव-प्रवर्तन नीति, २०७५ विषयमा केन्द्रित रहेर साइन्स इन्फोटेकका प्रधान-सम्पादक गोपाल भण्डारीले गरेको कुराकानी ।

१. सचीवज्यूले त अन्य केहि मन्त्रालयमा समेत सचिवको रुपमा काम गर्नु भएको छ । यहाँको पालामा नै ‘पारमाणविक विधेयक, २०७५’ बनेर संसदमा प्रस्तुत भएको छ । नेपालले आफ्नै पहिलो सानो भू-उपग्रह नेपाली-स्याट-१ वैशाख ४ गते प्रक्षेपण गर्दैछ । साथै राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति, २०७५ बन्न लाग्दैछ । यस्तो सैभाग्य पाउनुमा यहाँको धारणा के छ ?

यो हामी सबै नेपालीको लागि गौरवको कुरा हो । पारमाणविक विधेयक, २०७५’ बनेर संसदमा प्रस्तुत भएको छ । नेपालले आफ्नै पहिलो सानो भू-उपग्रह नेपाली-स्याट-१ वैशाख ४ गते प्रक्षेपण गर्दैछ । साथै राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति, २०७५ बन्न लाग्दैछ । विशेषत अन्तरिक्ष विज्ञानमा पनि नेपालको अनुसन्धानमुलक काम गर्नका लागि यसले महत्वपुर्ण योगदान पुग्नेछ भन्ने आशा लिएको छु । त्यसका लागि नाष्ट, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, अर्थ मन्त्रालयको समन्वयमा राष्ट्रिय योजना आयोगले दिएको साथ र सहयोग पनि यसमा जोडिने अवस्था रहन्छ । पहिलो कुरा त विभिन्न विज्ञान, प्रविधि र आविष्कार गर्नका लागि समय सापेक्ष नीतिगत व्यवस्था आवश्यक पर्छ । जसले गर्दा युवा वैज्ञानिकलाई अनुसन्धानमुलक काम गर्ने वातावरण त्यसले सिर्जना गर्छ र त्यो सिर्जनात्मक वातावरणमा अनुसन्धानमुलक काम हुन्छ जसले प्रविधिको प्रस्फोटन गर्ने वातावरण मिलाउछ ।

२. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा विज्ञान तथा प्रविधि सचिवको रुपमा काम गर्दा के-कस्ता अवसरहरु र चुनौतीहरु छन् ?

एउटा राम्रो पक्ष भनेको म पनि विज्ञान कै विद्यार्थी भएको हुनाले यो क्षेत्रमा आउँदा कुनै नौंलो अनुभूति भएको छैन । यसले मलाई काम गर्न झन् मद्दत पुर्याएको ठान्दछु । विशेषगरी यसको राम्रो पक्ष भनेको अहिले विज्ञान तथा प्रविधिको उपयोग विना देशको समग्र विकासको कल्पना गर्न हामीले सक्ने अवस्था रहदैन । त्यसैले गर्दा हामी सबैको सकारात्मक सोचले विज्ञान तथा प्रविधिको उपयोग गरी समग्र देशको विकास गर्ने गराउने वातावरण निर्माण गर्ने हो । त्यो वातावरण निर्माण गर्नको लागि यसले महत्वपुर्ण खुड्किलो प्रदान गरेको छ र त्यो काममा हामी अगाडी बढिरहेका छौं । त्यसका कानुनी, संस्थागत र संरचनाको सुधारात्मक कामहरु गर्नको लागि अहिले असाध्यै राम्रो वातावरण रहेको छ ।

अब चुनौतीहरुको हकमा हेर्दाखेरी संसारका जुनसुकै कुनामा पनि चुनौतीहरु रहेका हुन्छन् । ती चुनौतीहरुलाई सकारात्मक रुपमा सामना गर्ने गरी रणनीतिहरु तयार पार्दै त्यसलाई समाधान गर्दै लिएर जानुपर्छ भन्ने मलाई लाग्छ । दोस्रो कुरा, यो विज्ञान तथा प्रविधिको चुनौती सधै दीर्घकालीन रहेको हुन्छ । यसले आजको भोलि चाही कुनै परिणाम दिदैंन, परिणाम देखाउन समय लाग्छ । हाम्रो लागि अनुसन्धानात्मक कामवाट प्राप्त भएको गतिलो प्रविधिको विकासलाई उद्योगसगँ जोडेर उद्यमशिलता विकास गर्नको लागि सहकार्यको आवश्यकता छ ।  त्यो उद्यमशिलतालाई उद्योगसँग जोड्न सकियो भने नेपालको लागि उपयोगी प्रविधिको विकास र त्यसको आम जनसमुदायसम्म लाभ पुग्ने गरी बाटो तय गर्नुपर्छ । त्यसका लागि राज्यले केहि कुराहरुमा ध्यान पुर्याउन जरुरी छ, त्यो चुनौती हामी सबैको साझा चुनौती हो ।

३. विज्ञान तथा प्रविधिको विकास गर्न अव कसरी अगाडि बढ्ने सोचमा हुनुहुन्छ ? आगामी वर्षको बजेटमा विज्ञान तथा प्रविधिको विकास गर्न के-कस्ता नयाँ योजनाहरु समावेश गर्दै हुनुहुन्छ ?

एउटा त नीतिगत कानुनी र संस्थागत सुधारको कुरा हो । अर्को हामीले यो वैज्ञानिक अनुसन्धान केन्द्र, औद्योगिक व्यवसाय, विश्वविद्यालयहरुसँग सहकार्य गरेर उद्यमशिलताको विकास गर्ने गरी संयुक्त रुपमा कार्यक्रमहरु तर्जुमा गर्दै हामी अगाडी बढ्छौं । अर्को, विद्यार्थीहरुलाई विद्यालय स्तरका, विश्वविद्यालय स्तरका विभिन्न विज्ञान तथा प्रविधि लगायत विषयका प्रतिभा प्रस्फोटनको लागि सिर्जनात्मक वैज्ञानिक प्रतियोगिताहरु, विज्ञान सम्बन्धि प्रदर्शनी जस्ता कार्यक्रमहरु अगाडी हुन्छन् । देशभित्र र बाहिर रहेका वैज्ञानिकहरुलाई देश भित्रै वैज्ञानिक अनुसन्धानात्मक काम गरिकन त्यस्ता प्रोत्साहनमुलक कामहरु हामी प्रस्ताव गरि अगाडी बढ्नेछौं । साथसाथै हामी राष्ट्रिय स्तरमा विज्ञान तथा प्रविधि प्रतिष्ठानको संस्थागत संरचना गर्ने पनि कार्यक्रम अगाडी बढ्छ । प्रदेशस्तरमा पनि यस विषयमा अनुसन्धान गर्नको लागि अनुसन्धानमुलक सस्थांहरु सुविधा सम्पन्न प्रयोगशालाहरु स्थापना गर्नेतिर हामी अगाडी बढ्नेछौं ।

४. विज्ञान तथा प्रविधि क्षेत्रमा धेरै विज्ञहरुले बजेट पर्याप्त मात्रामा छुट्टाउन सकिएको छैन भन्ने गुनासो पनि छ । आगामी वर्षमा मन्त्रालय र नास्टको बजेट बढाउनेतर्फ कसरी पहल गर्नुहुन्छ ?

यो विषयमा समन्वय भई नै रहेको छ । त्यसैले नेपालमा विज्ञान तथा प्रविधिमा निरन्तर, दिगो र बढ्दो लगानी हुन जरुरी छ ।  त्यो लगानी भएन भने यो क्षेत्रमा आकर्षण ल्याउन सकिदैन । त्यो लगानी सुनिश्चित गर्नका लागि अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोगसँग समन्वय गरेका छौं । विज्ञान तथा प्रविधिको उपयोग विना देशको समग्र विकासमा टेवा पुर्याउन सक्दैन । समृद्ध नेपाल र सुखी नेपाली भन्ने सरकारले अघि सारेको नारालाई साकार पार्न सक्दैन ।  त्यसकारण विज्ञान तथा प्रविधिको उपयोग गर्न जरुरी छ । यो क्षेत्रको विकास गर्नका लागि सबै सम्बन्धित निकायहरुले पनि लगानीमा जोड दिन जरुरी छ । त्यो लगानीमा जोड दियो भने मात्र हामीले विज्ञान तथा प्रविधिको विकासले गर्दा देशको विकासमा ठुलो योगदान हुनेछ ।

५. विज्ञान तथा प्रविधि क्षेत्रमा अनुसन्धानकर्ता र ग्रामीण भेगका युवा प्रतिभाहरुका लागि के-कस्ता योजनाहरु ल्याउने सोचमा हुनुहुन्छ ?

युवा क्षमतावान प्रतिभाहरु र वैज्ञानिकहरुका लागि हामीले विभिन्न किसिमका कार्यक्रमहरु प्रस्तावित गरेका छौ । विज्ञान सम्बन्धि प्रदर्शनी गरेर उहाँसँग भएका प्रतिभाहरु देखाउन सकियो भने त्यहाँवाट छानिएकाहरुलाई विज्ञान तथा प्रविधि अनुसन्धान कोषको माध्ययमवाट उद्यमशिलता विकास गर्नका लागि हामीले सहयोग गर्न सकिने वातावरण बनाएका छौं । यसरी विज्ञान तथा प्रविधि क्षेत्रमा अनुसन्धानकर्ता र ग्रामीण भेगका युवा प्रतिभाहरुलाई विभिन्न माध्यमवाट सहयोग गरिनेछ ।

६. शहरी लगायत दूरदराज र ग्रामीण क्षेत्रमा लुकेर रहेका विज्ञान क्षेत्रका सिर्जनसिल प्रतिभाहरुले हेलिकप्टर, गाडी, ड्रोण बनाएका छन् । तर विगतमा मन्त्रालय, नास्ट र अन्य सरोकारवाला निकायले केहि सहयोग नगरेकोले विदेश पलायन हुने धारणा राखेका थिए । उनीहरुले गरेका वैज्ञानिक अध्ययन अनुसन्धान र आविष्कारलाई सहयोग गरी प्रोत्साहन गर्न अव के गर्नुहुन्छ ?

उद्यमशिलता विकास गर्नका लागि हामी कोष खडा गर्छौं । त्यो कोषले स्वाभाविक रुपमा त्यस्ता क्षमतावान वैज्ञानिकहरुलाई एउटा उद्यमशिलता विकास गर्ने थलोको रुपमा हुन्छ । त्यसको लागि सहकार्यको जरुरी छ । उद्योग, विश्वविद्यालय र अनुसन्धानमुलक निकायहरुको सहकार्यवाट एउटाले विकास गर्ने, एउटाले सिफारिस गर्ने र अर्कोले उद्योगसँग जोड्न सकियो भने उनीहरुले रुपान्तरणमुखी भूमिका खेल्न सक्छन् र उनीहरुले आफुमा भएका प्रतिभालाई एउटा उद्योगको रुपमा विकास गर्ने ठुलो अवसर हुन्छ । त्यसकारण हामी उद्योग बाणिज्य महासंघहरुसँग सल्लाह भइरहेको छ ।

७. भारत र चीन जस्ता ठूला उदयमान शक्तिले दुर्त गतिमा हासिल गरेको अन्तरिक्ष विज्ञान र आणविक शक्तिको विकासको क्षेत्रमा ठूलो सफलता हासिल गरेतापनि हामी धेरै पछि छौं । अब मन्त्रालयले कस्तो रणनीति अपनाएर अघि बढ्छ ?

अबको एकाइसौं शताब्दी भनेको ज्ञानमा आधारित समाज हो । नेपाली वैज्ञानिकहरुमा पनि ज्ञान तथा विज्ञानको माध्यमवाट वैज्ञानिक समाज निर्माण गर्ने क्षमता छ । त्यो जुनसुकै कुनामा होस्,  ज्ञान तथा विज्ञानलाई हामी आदान-प्रदान गर्न सक्छौं । त्यसवाट एउटा किसिमको प्रविधिको क्षेत्रमा मद्दत पुर्याउन सकिन्छ । इनोभेटिव आइडियालाई एपलाईट साइन्सद्वारा अनुसन्धान तथा विकास गरी उद्योगहरु जोड्ने किसिमको विज्ञान तथा प्रविधिको उपयोग गरियो भने त्यसवाट हामीले ठुलो फड्को मार्न सकिन्छ । भारत र चीन जस्ता ठूला उदयमान शक्तिले दुर्त गतिमा हासिल गरेको अन्तरिक्ष विज्ञान र आणविक शक्तिको विकासको क्षेत्रमा ठूलो सफलता हासिल गरेतापनि त्यो गतिमा गर्न चाहि विविध कारणले अलि गार्हो होला । तर हाम्रा वैज्ञानिकहरु, अनुसन्धानकर्ताहरुमा भएको ज्ञानको आधारवाट इनोभेटिव उद्योगहरु संचालक गर्न सकियो भने निकै राम्रो हुन्छ ।

८. विज्ञान तथा प्रविधि सम्बन्धित जनचेतना जगाउने कार्यक्रमहरु एफएम, रेडियो र टेलिभिजनहरुमा प्रभावकारी हुन सकेका छैनन् । नेपालमा विज्ञान र प्रविधिको जनचेतना वृद्धि गर्न मन्त्रालयका अव नयाँ के कस्ता योजनाहरु ल्याउने सोचमा हुनुहुन्छ ?

नेपालको मिडियामा अध्ययन, अनुसन्धानको खाँचो पनि छ । अनुसन्धानमुलक पत्रकारिता गरी समाजमा चेतना फैलाउन जरुरी छ । सामान्य विषयमा सबैको पहुँच हुन्छ तर विज्ञान तथा प्रविधि बुझ्न सक्ने ज्ञान थोरैमा मात्र हुने भएकोले कमैको मात्र पहुँच हुन्छ । त्यसको लागि विज्ञान तथा प्रविधि पढेर निरन्तर रुपमा विज्ञान तथा प्रविधि पत्रकारितामा गरी तपाईहरुले योगदान गरी रहनु भएको छ । विज्ञान तथा प्रविधिको क्षेत्रको खोजमुलक, अनुसन्धानमुलक पत्रकारितालाई अझ शशक्त बनाउन जरुरी भएकोले मन्त्रालयले पनि यसको प्रवर्द्धन गर्न सहकार्य गर्नेछ । अहिले देशमा राजनीतिक पत्रकारिताको बढ्दो लहर चलेको हुनाले पनि विज्ञान तथा प्रविधि पत्रकारितामा ध्यानाकर्षण कम छ । त्यसैले गर्दा हामीले स्वाभाविक रुपले विज्ञान तथा प्रविधिलाई जनतासम्म पुग्नका लागि विभिन्न तहको प्रचार-प्रसारको खाँचो हुन्छ त्यस्तै गरी यसलाई सहज रुपमा आम जनताहरु समक्ष पुर्याउनको लागि पत्रकारहरुको ठुलो भूमिका रहन्छ । विज्ञान तथा प्रविधिलाई प्रवद्धन गर्नको लागि वातावरण सिर्जना गर्ने मन्त्रालयको एउटा जिम्मेवारी पनि हो । यसलाई समाज समक्ष जोड्नको लागि कार्यक्रमहरु संचालन गर्नेछौं । प्रोत्साहनमुलक कार्यक्रमहरु संचालन गर्नेछौं । जसले गर्दा विज्ञान तथा प्रविधि पत्रकारितामा विशेषगरी यसमा चासो राखें साथीहरुलाई पनि उपयोग गर्ने सोचाई राखेका छौं ।

९. बन्न लागेको राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति, २०७५ को रणनीति ९.१८ मा जनमानसमा वैज्ञानिक चेतना अभिवृद्धि गरी छद्म-विज्ञान (Pseudoscience), अन्धविश्वास र कुरीतिलाई निश्तेज पारिनेछ भनिएको छ । धेरै सामाजिक कुरीतिको उचित वैज्ञानिक समाधान नहुँदा अझ पनि हाम्रो समाज रुढीवादी परम्परामा जकडिएको छ । यो क्षेत्रको प्रवर्द्धनको लागि के योजनाहरु छन् र रणनीतिमा भनिए अनुसार कहिलेसम्म छद्म-विज्ञान, अन्धविश्वास र कुरीतिलाई निश्तेज पारिनेछ ?

यसमा नीतिको कार्यन्वयन महत्वपुर्ण पक्ष हो । हामी नीतिको कार्यान्वयनलाई सफलतापुर्वक चरणमा पुर्याउनको लागि मन्त्रालयले ठोस अभियानमुलक कामहरु गर्नेछ भन्ने यहाँलाई मैले जानकारी गराए । कतिपय कुराहरु कुरीतिहरु, कु-संस्कारहरुलाई हटाउन कार्यक्रम नै संचालन गर्नेछौ । मन्त्रालयले फोकल मिनिस्ट्रीको काम गर्छ, विभिन्न मिनिस्ट्रीहरु जस्तै स्वास्थ्य, खानेपानीहरुसँग पनि सहकार्य गरेर त्यस्ता सरकारवाला निकायहरुसँग समन्वय गरेर कार्यक्रम सम्पादन गर्नेछौ । जस्तै छाउपडी परम्परामा कतिपय कुराहरु स्वास्थ्य, खानेपानीसँग सम्बन्धि पनि रहेको छ । सेनेटरी प्याडको कुरा आउन सक्छ, कतिपय छुवाछुतको कुरा शिक्षासँग जोडिएको महत्वपुर्ण विषय हो जसलाई शिक्षा मन्त्रालयवाट प्रचार-प्रसारको माध्ययमवाट जान सकिन्छ ।  एउटा राम्रो छहारीको रुपमा प्रयोग गर्न सकियो भने विज्ञान तथा प्रविधिले शिक्षाको माध्ययमवाट विभिन्न निकायहरुसँग समन्वय गरेर त्यस्ता विषयहरुमा प्रभावकारी रणनीति र कार्यक्रमहरु तर्जुमा गरेर अगाडी बढ्न सकिने माध्ययमहरु तयार गर्नुपर्छ । यसका लागि हामीले नीति पारित भइसकेपछि सहकार्य गर्दै कार्यक्रमहरु तर्जुमा गर्छौं र कार्यान्वयनमा ल्याउने छौं ।

१०. नेपालले अन्तरिक्ष विज्ञानको क्षेत्रमा एउटा सानो उपलब्धीको रुपमा आफ्नै पहिलो सानो भू-उपग्रह नेपाली-स्याट-१ वैशाख ४ गते प्रक्षेपण गर्दैछ । तर नेपालले आफ्नै ठुलो खालको भू-उपग्रह प्रक्षेपण गर्नुपर्छ भन्ने विज्ञहरुको सुझाव पनि आएको छ । यो विषयमा सरकारले केहि सोच बनाएको छ ?

अन्तरिक्ष विज्ञानको क्षेत्रमा हामी अगाडी बढ्नु आजको आवश्यकता हो । हामीले अन्तरिक्ष विज्ञानको क्षेत्रवाट लिनुपर्ने लाभहरु लिने जनशक्ति विकास गर्ने र त्यसको अध्ययन, अनुसन्धान गर्ने काममा अघि बढ्नुपर्छ । ज्ञानमा आधारित विज्ञान समाज निर्माण गर्ने क्रममा सबै क्षेत्रमा अगाडी बढ्नुपर्छ । विज्ञान तथा प्रविधिको क्षेत्र एकदमै फराकिलो छ र यसको कुनै पनि सीमा नभई ग्लोबल भिलेजको रुपमा लिन्छ । त्यसकारण जहाँ जसरी भएपनि विज्ञान तथा प्रविधिको विकास गर्न अघि बढ्नुको विकल्प छैन । हामीले आफ्नै पहिलो न्यानो सेटलाइट (सानो भू–उपग्रह) नेपाली-स्याट-१ वैशाख ४ गते प्रक्षेपण गर्दैछौ । अर्को योजनाको लागि मौसमको लागि त्यहाँवाट आएको डाटालाई समावेश गर्नेगरी (Ground Station) बन्दैछ । त्यसको माध्ययमवाट हामीले केहि समय त्यसको अनुसन्धान गरी त्यसलाई हामीले प्रयोग गर्न सकिन्छ । त्यहाँवाट आएका डाटाहरुवाट त्यसले अगाडी बढ्ने क्रममा त्यसका कतिपय प्रविधिहरु बुझ्दै गएर अन्तरिक्ष विज्ञानको क्षेत्रमा अगाडी बढ्ने बाटो अझ फराकिलो हुदै जान्छ । उद्देश्य के लिनु उड़ी छुनु चन्द्र एक भने झैँ नेपालले आफ्नै ठुलो खालको भू-उपग्रह प्रक्षेपण गर्ने सरकारले सोच बनाउनैपर्छ । त्यसको लागि हाम्रो संस्थागत क्षमता र जनशक्ति विकास गर्ने दिशामा अगाडी बढ्नुपर्छ ।

११. राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति, २०७५ बन्न लाग्नुमा धेरै राम्रो कदमको रुपमा हेरिएको छ । नयाँ बन्न लागेको राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति, २०७५ मा बिज्ञान परिषद बनाउने भन्ने छ । प्रधानमन्त्री सधै व्यस्त हुने हुनाले यसको अध्यक्ष उहाँलाई बनाउनु हुन्न भन्ने पनि धारणा आएको छ । यो परिषद बनाएर नाष्टलाई भूमिकाबिहिन बनाउन लागिदैछ भन्ने भनाई पनि छ । यी धारणा र भनाईमा यहाँको आधिकारिक विचार के छ ?

विज्ञान तथा प्रविधिको क्षेत्रलाई प्राथमिकताको क्षेत्रमा सरकारले प्राथमिकता दिओस् जसले गर्दा वर्षको २ पटक भएपनि नेपालमा विज्ञान तथा प्रविधिको विकास गर्न गहन विषयमा छलफल होस् र विज्ञान तथा प्रविधिलाई देशको विकासको आधार बनाउने दिशामा अभिप्रेरित गर्नको लागि नयाँ बन्न लागेको राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति, २०७५ मा बिज्ञान परिषद बनाउने र त्यसको अध्यक्ष प्रधानमन्त्री हुने ब्यबस्था गरी ओझेलमा परेको विज्ञान तथा प्रविधिले प्राथमिकता पाउनेछ र देशलाई सुमार्गतिर लानको लागि मद्दत पुग्नेछ । यो परिषद बनाएर नाष्टको भूमिकालाई अझ प्रभावकारी बनाउन सहयोग हुनेछ ।

१२. नयाँ बन्न लागेको नीतिमा विज्ञान तथा प्रविधिलाई प्रवर्द्धन गर्न विज्ञान तथा प्रविधि पत्रकारितालाई प्रोत्साहन र सहयोग गर्ने खालको नीति बन्न जरुरी छ भन्ने सुझावमा यस्तो नीति बनाउन यहाँको भूमिका कस्तो रहन्छ ?

यसमा खोजमुलक पत्रकारिता गर्ने, विज्ञान प्रविधि क्षेत्रमा चासो राख्ने पत्रकारहरु धेरै कमै छन् तथापी जति हुनुहुन्छ । उहाँहरुलाई हामी यो विज्ञान प्रविधिलाई समाजसम्म पुर्याउने माध्ययमको प्रबन्धकको रुपमा हामीले लिन्छौं । उहाँहरुलाई पनि परिचालन गर्ने दिशामा कार्यक्रमहरु ल्याउने र प्रचारप्रसार गर्ने, कुरीति सस्कारहरु हटाउने वाटोमा उहाँहरुको महत्वपुर्ण भूमिका रहन्छ । उहाँहरुलाई प्रोत्साहनमुलक काममा लगाइन्छ त्यसैगरी कार्यक्रमहरु संचालन गर्नेछ ।

१३. नेपालमा बैज्ञानिक कसलाई भन्ने बारेमा अझसम्म विश्वब्यापी धारणा अनुसार बैज्ञानिकको उचित परिभाषा दिन सकिरहेको छैन भन्ने गरिन्छ । अव मन्त्रालयले यस बारेमा गम्भीर भएर यो काम कहिलेदेखि कसरी अघि बढाउछ ?

सामान्यतया बिज्ञान तथा प्रविधिको क्षेत्रमा खोज, आविष्कार, अध्ययन अनुसन्धान गर्ने तथा नयाँ धारणा प्रस्तुत गर्ने ब्यक्तीलाई बैज्ञानिक भनिन्छ । अध्ययन र अनुसन्धान गरी प्रमाणसहित त्यसको रहस्य र सही कारण पत्ता लगाउन सक्षम व्यक्तिलाई मात्र वैज्ञानिक भन्न सकिन्छ । वैज्ञानिक बन्न निरन्तर खोज, अध्ययन-अनुसन्धान गर्नुपर्छ । कुनै मौलिक विषयमा सिद्धान्त प्रतिपादन गरेपछि मात्र वैज्ञानिकको उपाधिद्वारा सम्मान गरिन्छ । वैज्ञानिकले विज्ञानका नयाँ सिद्धान्त प्रतिपादन गर्छ, नयाँ तथ्यको खोज गर्छ त्यसैले ऊ मौलिक हुन्छ । तपाईले उठाउनु भएको यो गम्भीर विषयमा अव मन्त्रालयले काम अघि बढाउनेछ ।

१४. मेडिया (टेलिभिजन, रेडियो, एफएम, दैनिक, साप्तहिक, मासिक र अनलाइन) का संचालकहरु/अध्यक्षहरु र प्रधान-सम्पादकहरु/सम्पादकहरुलाई अलग-अलग निमन्त्रणा गरी मन्त्रालयमा कार्यक्रम गरेर विज्ञान तथा प्रविधिलाई प्रवर्द्धन गर्न हप्तामा न्युनतम एउटा विज्ञान तथा प्रविधि सम्वन्धी रिपोर्ट/समाचार/लेख राख्न आग्रह गर्नको लागि कार्यक्रम गर्नुपर्छ भन्ने सुझावमा यहाँको कार्यान्वयन कहिले हुन्छ ?

यसमा दुईवटा कुरा हुन्छ जस्तो लाग्छ । नेपालमा विज्ञान तथा प्रविधि अहिलेसम्म ओझेलमा परेको विषय हुनाले त्यसमा उहाँहरुको चासो कम भएको होला । विज्ञान तथा प्रविधिको क्षेत्रमा गहन खोज, अनुसन्धान, विकास र आविष्कार भएर राष्ट्रको विकासमा योगदान पुग्न थालेपछी स्वाभाविक रुपमा मिडियाहरुको पनि आकर्षक बढ्छ । तर पनि मेडिया भनेको समाजको चौथो अंग भएकोले गर्दा विज्ञान तथा प्रविधि सम्वन्धी पत्रकारितालाई निरन्तर अघि बढाई रहनु पनि मेडियाको दायित्व हो । मेडिया (टेलिभिजन, रेडियो, एफएम, दैनिक, साप्तहिक, मासिक र अनलाइन) का संचालकहरु/अध्यक्षहरु र प्रधान-सम्पादकहरु/सम्पादकहरुलाई अलग-अलग निमन्त्रणा गरी मन्त्रालयमा कार्यक्रम गरेर विज्ञान तथा प्रविधिलाई प्रवर्द्धन गर्न हप्तामा न्युनतम एउटा विज्ञान तथा प्रविधि सम्वन्धी रिपोर्ट/समाचार/लेख राख्न आग्रह गर्नको लागि मन्त्रालयले कार्यक्रम गर्नुपर्छ भन्ने अमुल्य सुझावमा मन्त्रालयको ध्यानाकर्षण भएको छ ।

१५. टेलिभिजन, रेडियो, एफएममा विज्ञान तथा प्रविधिको विकासको लागि विज्ञान तथा प्रविधि सम्वन्धित प्राज्ञहरु, प्राध्यापकहरु, बरिष्ठ वैज्ञानिकहरु, पत्रकारहरुलाई सहभागी गराई गहन छलफल, बहस गर्ने ब्यबस्था गर्न राष्ट्रिय मेडियाहरुलाई आग्रह गर्नुपर्छ भन्ने सुझावमा यहाँको भूमिका कस्तो रहन्छ ?

टेलिभिजन, रेडियो, एफएममा विज्ञान तथा प्रविधिको विकासको लागि विज्ञान तथा प्रविधि सम्वन्धित प्राज्ञहरु, प्राध्यापकहरु, बरिष्ठ वैज्ञानिकहरु, पत्रकारहरुलाई सहभागी गराई गहन छलफल, बहस गर्ने ब्यबस्था गर्न राष्ट्रिय मेडियाहरुलाई आग्रह गर्नेपर्ने आजको आवश्यकता हो । यो विषयमा पनि मन्त्रालयको ध्यानाकर्षण भएको छ ।

१६. अन्त्यमा, नेपाली जनतालाई के भन्न चाहनुहुन्छ ?

राष्ट्रिय विज्ञान, प्रविधि तथा नव-प्रवर्तन नीति, २०७५ मन्त्रीपरिषद पारित भई सकेर कार्यान्वयन हुन थालेपछि नेपालमा विज्ञान तथा प्रविधिको विकासको लागि कोसेढुङ्गा सावित हुनेछ । यो मुलुकमा अव भविष्यमा जुन किसिमले युवाहरुको परिचालन गरियो भने मात्र देशको रुपान्तरण हुन्छ त्यसकारण हामीले जतिसक्दो युवाहरुलाई नेपालमै रोजगारीको वातावरण सिर्जना गर्नैपर्छ । युवा वैज्ञानिकहरुलाई पनि हामीले जति उपयोग गरौं, त्यति उहाँहरुवाट हामीले फाइदा लिन सक्ने अवस्था रहन्छ । त्यसैले गर्दा सरकारकै प्राथमिकता सकेसम्म युवालाई प्रोत्साहन गर्ने, रोजगारीमुलक कामहरु दिने र सकेसम्म देशभित्रै बस्ने वातावरण सिर्जना गर्ने र उनीहरुको ज्ञान, सीपको परिचालन गरी देशको विकासमा लगाउनुपर्छ । यसमा हामी सबै नेपालीको प्रयासले उहाँहरुलाई देशभित्रै राखेर काम गर्न सक्ने वातावरण निर्माण गर्ने साझा अभियानमा लाग्नुपर्छ ।

यो पनि पढ्नुहोस्

विज्ञान तथा प्रविधिको महत्व नेपालमा अझसम्म कुनै पनि सरकारले बुझ्न सकेनन् – प्रा. डा. खनाल

युवा बैज्ञानिकहरुका लागि Innovation For Prosperity कार्यक्रम ल्याईनेछ – उपकुलपति डा. श्रेष्ठ

नेपालको विकास गर्न विज्ञान तथा प्रविधिलाई उद्योगसँग जोड्नुपर्छ – पूर्वमन्त्री शाह

विज्ञान तथा प्रविधिको विकास गर्न अनुसन्धान र विकासको बजेट बढाईने – मन्त्री सिंह

नेपालमा बिज्ञान तथा प्रबिधि विश्वविधालय स्थापना गर्नैपर्छ – सचीव शर्मा

भविष्यमा देशका ७ वटै प्रदेशमा नास्टको शाखा खोल्ने योजना – उपकुलपति पोखरेल

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

जवाफ लेख्नुहोस्

error: Content is protected !!