Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

स्वस्थ तथा निरोगी हुन यसरी पालना गरौ प्राकृतिकको नियम

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

यस्ता छन् स्वस्थ तथा निरोगी हुन पालना गर्नुपर्ने प्राकृतिकको नियमहरु, जानी राखौ ! मानिसको जीवनशैलीमा आएको व्यापक परिवर्तनका कारण विभिन्न रोगको उत्पत्ति भएको पाइन्छ । आजकल मानिसमा आहार-विहार सम्वन्धी ज्ञानको कमीका कारण धेरै रोगहरु मानिसले खान नपाएर भन्दा खान नजानेर वा धेरै खाएर बढेको पाइन्छ । परम्परागत घरेलु उपचार विधिको आधारभूत आचरण एवं कुराहरुलाई पालना गरेमा मानिसलाई सकभर रोग लाग्दैन, यदि रोग लागि हालेमा पनि न्यूनतम खर्चमा उपचार सम्भव छ भन्ने विश्वास समाजमा कायम छ ।

रोग लाग्न नदिन दैनिक रुपमा पालना गर्नुपर्ने नियम, जिवनशैली, आहारविहार, आचरण आदिवारे यसका आफ्नै मूल्य मान्यता, बिश्वास हुनुका साथै रोग निदान गर्ने आफ्नै परम्परागत तरिकाहरु छन् जुन आधुनिक अवधारणासंग मेल नखान सक्दछ । औषधीको प्रयोगको साथ साथै आहारविहार, नियममा समेत ध्यान दिनु पर्दछ । विरामीलाई औषधि खुवाएर सञ्चो गराउने मात्र यस उपचार विधिको उद्वेश्य होइन । यसको खास उद्वेश्य मानिसलाई रोग लाग्नै नदिने हो ।

परम्परागत घरेलु उपचार विधिको तरिका र प्रक्रिया

हाम्रो समाजमा प्रचलित तथा लोकप्रिय उपचार पद्धतिमा आयुर्वेदिक, प्राकृतिक, एलोपेथिक, होमियोपेथिक, यूनानी, सुजोक, चुम्वकीय चिकित्सा, एक्यूप्रेसर, रेकी आदि उपचार विधि पर्दछन् । यहाँ एलोपेथिक चिकित्सा विधि प्रयोगमा आउनुपूर्व परम्परागत घरेलु उपचार विधिमा आधारित भएर बिरामीको उपचार गरिन्थ्यो । त्यस समयमा अहिले जसरी अधिक रोगी र रोगहरु थिएनन् । गाउँघरमा सर्वसूलभ रुपमा प्राप्त हुने जडिवुटि तथा अन्य वस्तुहरुको प्रयोगले रोगको कारण पत्ता लगाई उपचार गर्ने भएकोले रोगीहरुको संख्या पनि कम हुन्थ्यो ।

यसरी रोगको कारण (जड) को उपचार गरिने भएकोले निश्चित समयसम्म औषधि सेवन गरेपछि विरामीहरु पूर्णरुपमा निको हुन्थे । उनीहरुले खाना खाए जस्तै सधै भरी ‌औषधि खाइरहनु पर्दैनथ्यो । अहिले समाजमा आधुनिक जीवनशैली, शहरी रहनसहन जस्ता विभिन्न कारणहरुले गर्दा पारिवारिक संरचना, आहार विहार, जीवनशैली, सोच, मूल्य-मान्यता आदिमा व्यापक परिवर्तन आएको छ ।

आधुनिक शिक्षा-दीक्षा प्राप्त गरेका आजका नयाँ पुस्तामा पश्चिमी तथा युरोपेली जीवनशैली, शिक्षा-दीक्षा, आहार विहार, मूल्य मान्यतामा झुकाव वढ्दैछ । समाजमा के खाने, के नखाने, कसरी खाने, कुन समयमा खाने, कुन कुन चिज सँगसँगै खाने, कुन कुन चिज सँगसँगै नखाने जस्ता अति सामान्य कुराको ज्ञानको कमीका कारण रोग र रोगीहरुको संख्या व्यापक मात्रामा वढ्दै गइरहेको छ ।

बिहान उठ्ने समय

१. स्वस्थ तथा निरोगी हुन चाहने व्यक्ति सदैब विहान ब्रम्ह मूहूर्तमा (३-५) बजे भित्र उठ्ने गर्नु पर्दछ । रातभरी रुख बिरुवाले प्रशस्त मात्रामा अक्सिजन प्रवाह गर्ने हुँदा विहानको हावामा अक्सिजन प्रचुर मात्रामा पाईन्छ । त्यसैले विहान ब्रम्ह मूहूर्तमा उठ्नु साह्रै राम्रो मानिन्छ ।

उषापान

२. बिहान उठ्ने वित्तिकै हातमुख नधोएर राति तामा, माटो अथवा काठको भाँडामा राखेको बासी पानी खाने गर्नुपर्दछ । यसलाई उषापान भन्दछन ।

शौचालय

३. बिहान दिसा-पिसाव जाने । प्रायः सबैजसो रोगको उत्पत्तिको कारण समयमा शौचालय नहुनु वा भएपनि पूर्ण रुपमा नहुनु हो । त्यसैले हामीले शौचालय निश्चित समयमा जाने प्रयास गर्नु पर्दछ ।

व्यायाम

४. स्वस्थ व्यक्तिले दैनिक व्यायाम गर्नु पर्दछ । व्यायाम भन्नाले शारीरिक व्यायमका साथै योगलाई समेत जनाउँदछ । दैनिक व्यायाम गर्नाले शरीरको पाचन क्षमतामा वृद्धि हुन्छ, अनावश्यक मोटोपना तथा बोसो वढ्न पाउँदैन, काम गर्ने क्षमता वढ्दछ, शरीर बलियो तथा फूर्तिलो हुन्छ । व्यायाम सदैव आफ्नो शारीरिक क्षमता अनुसार गर्नु पर्दछ । शरीरमा हल्का पसिना आउँदासम्म व्यायाम गर्नु पर्दछ ।

स्नान

५. नियमित नुहाउनाले जठराग्नी प्रदीप्त हुन्छ, शरीरका रौका प्वालहरु खुल्दछन, शरीर शुद्धिहुनुका साथै मानिसलाई रोग लाग्दैन । दैनिक नुहाउँदा साधारणतया चिसो पानीले नुहाउने गर्नुपर्दछ । रोगी अशक्त तथा बृद्ध व्यक्तिले भोजन गरेर घाम लागेपछि मात्र नुहाउनु पर्दछ ।

बिहानको खाना

६. बिहानको खानाको समय निश्चित गरी सकभर सधैभरी एकै समयमा खाने । त्यसैले खानाको सुरुमा अम्लिय पदार्थ र पानी कहिल्यै नपिउने ।

खाना खाने समय

७. बिहानको खाना सुर्योदयको समयवाट अढाइ घण्टा भित्र खाइ सक्नु पर्दछ । यथासम्भव चाँडो खानु पर्दछ, ९ बजे भन्दा ढिला गर्नु हुँदैन ।

कस्तो खाद्यपदार्थ खाने

८. खानाको सम्वन्धमा सवै विज्ञहरुको धारणा एकै प्रकारको पाइन्छ । उनीहरुका अनुसार आफू वसेको स्थान, वातावरण वरपर पाइने बिषादि प्रयोग नगरेको तथा अत्यधिक बिकासेमल नराखेको मौसमी खानयोग्य वस्तु, फलफुल, तरकारी खाने ।

खाना खाने तरिका

९. आफूलाई पस्केको खाना न तातो न चिसो हातले छुँदा नपोल्ने भएमा खान शुरु गर्नु पर्दछ । खाना पस्कँदा खाना पकाउने भाँडामा खाना पकाउने क्रममा जम्मा भएको पसिनालाई बाहिर फाल्नु पर्दछ । पसिना मिसिएको खाना विषादी हुन्छ भनेको छ ।

खाना खाइसकेपछि

१०. खाना खाइसकेपछि मुखमा पानी राखी कुल्ला गर्दै पानी निल्ने । यो ३ पटक गर्ने । यसरी पानी कुल्ला गर्दै निलेमा दाँतमा समस्या आउँदैन ।

खाना र पानी

११. खानाको शुरु र अन्तमा पानी नखाने । कम्तिमा पनि पानी खाएको ४५ मिनेटको पछि खाना खाने । दैनिक खानेपानीको परिणाम हिसाव गर्दा दुध, दाल, तरकारी, फलफुल, जुस, तरकारी आदीमा रहेको पानीलाई समेत जोड्नु पर्दछ ।

खाना खाएपछि

१२. खाना खाएको ५ घण्टासम्म केहि खान हुँदैन । पेटलाई केहि समय आराम गर्न दिनु पर्दछ । यो समयमा मनतातो पानी, महि, फलफुलको जुस खान हुन्छ ।

नोट : उपरोक्त नियम पालना गर्न सक्छौ भने कुनै पनि रोग नलाग्न सक्छ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

स्वस्थ शरीरका लक्षणहरु

स्वस्थ्य जीवनशैलीका सूत्रहरू

स्वस्थकर जीवनको लागि यस्ता छन् हाँस्नुका फाइदाहरु

महिलाहरुले स्वस्थ रहन अपनाउनुपर्ने १० सुझावहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

%d bloggers like this: