विहान उठेर हत्केलाको दर्शन गर्नाले दिन नै शुभ हुन्छ

हत्केला

हाम्रा दैनिक जीवनका पनि संस्कार छन् । दैनिक संस्कार पालना गर्न सक्यो भने जीवन सुखमय हुनसक्छ । दिनचर्याको शुरुवात जहिले पनि विहान उठेपछि हुन्छ । उठ्ने वित्तिकै हामीले जे गर्छौ त्यसको प्रभाव दिनभरी रहन्छ । यहाँ उठ्ने वित्तिकै गर्नु पर्ने दैनिक संस्कारको चर्चा गरिएको छ ।

हत्केलाको दर्शन

विहान उठ्ने वित्तिकै हत्केलाको दर्शन गर्नु उत्तम मानिन्छ । हरेक मानिस दिनभरी शान्त र प्रसन्न रहन चाहन्छ । यसका लागि हामीले उठ्ने वित्तिकै हत्केलाको दर्शन गर्ने गर्‍यो भने दिन शुभ हुने शास्त्रमा उल्लेख छ ।

विहान उठ्ने वित्तिकै पुस्तक हेरे जस्तै गरी हत्केलाको गर्दा दिनभर मन शान्त र प्रसन्न रहने उल्लेख छ ।

कराग्रे वसते लक्ष्मी: करमध्ये सरस्वती।
कर मूले स्थितो ब्रह्मा प्रभाते कर दर्शनम्॥

अर्थात- मेरो हातको अग्र भागगमा लक्ष्मी, मध्य भागमा सरस्वती र मूल भागमा ब्रह्माको निवास छ ।

हातको दर्शन गर्दा आफ्नो भाग्यमा नभएर कर्ममा विश्वास गर्नुपर्छ । यसरी हातको दर्शन गर्दा जीवनमा धन, सुख र ज्ञान प्राप्त हुने शास्त्रको भनाइ छ । हातको दर्शन गर्नुको अर्थ हो मेरा हातबाट कुनै पनि खराव काम नहुन् । सबै कल्याणको काम मात्र होस् ।

हातको दर्शन नै किन

हाम्रो संस्कारले सदैव सत्कर्मको सन्देश दिन्छ । र अधिकाँश कर्म हातबाटै गरिन्छ । धर्म, अर्थ, काम र मोक्ष पाउनु पुरुषार्थ मनिन्छ । यी सबैमा हातको भूमिका प्रधान हुने भएका कारण पनि हातको दर्शन गर्न भनिएको हो ।

यो पनि पढ्नुहोस् 

विहान उठेर यी कामहरु लागु गरेमा तपाईको जीवन सफल हुनेछ

को हुन् नेपालको पहिलो वैज्ञानिक ?

Gehendra Shamsher
Gopal Bhandari
गोपाल भण्डारी

सामान्य ज्ञानका धेरै पुस्तकहरुमा नेपालका पहिलो वैज्ञानिक गेहेन्द्रशमशेर राणा हुन् भनेर लेखिएको पाइन्छ । तर स्वर्गीय वैज्ञानिक दयानन्द बज्राचार्यको ‘चेतनाको यात्रा : जीवनमा विज्ञान’नामक पुस्तकको अनुसार गेहेन्द्रशमशेर वैज्ञानिक नभई प्राविधिक मात्र भएको कुरा उल्लेख छ । वैज्ञानिक र प्राविधिक बीच नङ र मासुको  सम्बन्ध हुन्छ । त्यसैले विज्ञान रूख हो भने प्रविधि त्यसमा फल्ने फल । रूख नभई फल फल्दैन भनेझैं विज्ञान बिना प्रविधि निर्माण हुँदैन र प्राविधिकको साथ नपाई विज्ञानको विकास पनि हुँदैन । गेहेन्द्रशमशेरले पेस्तोल वा तोप सञ्चालन हुने वैज्ञानिक सिद्धान्त पत्ता लगाएका होइनन् । यसैगरी विश्वमा पेस्तोल वा तोप बनाउने पहिलो व्यक्ति पनि उनी होइनन् । अन्य देशमा आविष्कार भइसकेका वा विकसित प्रविधिलाई नेपाल अनुकूल बनाएर उनले पेस्तोल, तोप र अरू हतियार निर्माण गरेका मात्र हुन् । यो कुनै मौलिक खोज वा आविष्कार थिएन ।

आफ्नो समयमा राणाले विभिन्न प्रकारका स्वदेशी पेस्तोल, बन्दुक एवं तोप बनाएका थिए । ती हतियार प्रदर्शनका लागि राष्ट्रिय संग्रहालयमा राखिएका छन् र आज पनि देख्न पाइन्छ । तर वास्तवमा केही घरेलु पेस्तोल र तोप जस्ता हतियार निर्माण गरेकै आधारमा कसैलाई वैज्ञानिक भन्न मिल्दैन । आज पनि गाउँघरमा घरेलु पेस्तोल र बन्दुक निर्माण गर्ने व्यक्ति धेरै छन् तर उनीहरू वैज्ञानिक होइनन् । गेहेन्द्रशमशेर निश्चय पनि एक कुशल प्राविधिक मात्र थिए । औपचारिक रूपमा मौलिक वैज्ञानिक अनुसन्धानमा संलग्न हुने पहिलो पुस्ताका नेपालीहरुमा डा. पराशरनारायण सुवाल, डा. बलराम  जोशी, डा. ध्रुवमानसिंह अमात्य, डा. शंकर प्रसाद प्रधान र डा. दिव्यदेव भट्टलाई मान्न सकिन्छ । त्यसैले गेहेन्द्रशमशेर राणा पहिलो वैज्ञानिक नभई एक प्राविधिक मात्र थिए भनी स्वर्गीय बज्राचार्यले आफ्नो किताबमा स्पष्ट पारेका छन् । पहिलोपल्ट विज्ञान विषयमा विद्यावारिधिको उपाधि प्राप्त गर्ने यी नेपालीहरू नै अन्तर्राष्ट्रिय परिभाषा अनुसार सही अर्थमा नेपालका प्रथम वैज्ञानिक हुन् ।

*गोपाल भण्डारी साईन्स इन्फोटेकका प्रधान-सम्पादक तथा अनुसन्धान तथा विकास प्रतिष्ठान नामक संस्थाका अध्यक्ष हुनहुन्छ ।

के हो बर्मुडा ट्रायगंल ? 

bermuda triangle
Gopal Bhandari
गोपाल भण्डारी

के हो बर्मुडा ट्रायगंल ? आउनुहोस यस बारेमा चचा गरौ । आन्ध्र महासागरको पश्चिमी हिस्सामा अवस्थित एक खतरनाक इलाका  जसमा पानीको चम्किला धार, प्रकाश र फिज देखिन्छ । आन्ध्र महासागरको यही भागलाई बर्मुडा ट्रायगंल भनिन्छ । यस समुन्द्री भागलाई रहस्यमय त्रिकोण, शैतान सागर, आन्ध्र महासागरको नर्क जस्ता नराम्रा नामले यो ठाउँ चिनिएको छ ।

यो फ्लोरिडाको मियामी, बर्मुडा द्वीप र प्योर्टो रिकोको स्यान जुआन बीच रहेको छ ।  यी तीनै स्थानलाई सीधा लाइनबाट आपसमा मिलाउँदा एक ट्राएङ्गल बन्छ। यसै इलाकालाई बर्मुडा ट्रायगंल भनिन्छ । यसको जम्मा क्षेत्रफल करिब ५ लाख स्क्‍वायर किलोमिटर र यसको गहिराई १८०० फिट रहेको मान्यता छ ।

पछिल्ला १०० वर्षमा यसमा ७५ वटा ठूला जहाज र १०० भन्दा बढी साना पानीजहाज पसेर बिलाइसकेका छन् । यसक्रममा १००० भन्दा धेरै मानिसको ज्यान गइसकेको छ ।  यसकाे रहस्य अझै पनि रहस्यकाे गर्भ भित्रै र के भनिन्छ भने बर्मुडा ट्रायंगलमा कयाैँ एयरक्राफ्ट र जहाजहरू अत्यन्त रहस्यमय ढंगले परिस्थितिवश गायब भएका छन् ।

हुनत अमेरिकी नौसेनाले बर्मुडा ट्रायंगल जस्ताे कुनै टापु छैन भनेपनि असाधारण तरिकाबाट यहाँ यसता किसिमका घटनाहरू पटक पटक दाेहाेरिरहेका छन् । यसबाट यसकाे अस्तित्व छैन भन्ने अाधार कमजाेर हुन अाउँछ । त्यसाे त समय-समयमा बर्मुडा ट्रायंगलकाे रहस्याेद्घाटन गरिएका कतिपय दाबीहरू पनि बाहिर नअाएका हाेइनन् ।

तर अझै पनि यसकाे पछाडिकाे वास्तविकता खुल्न अाएकाे छैन अर्थात् याे यही हाे र यसै हाे भन्ने खास अाधार छैन । कतिपयका भनाइमा बर्मुडा ट्रायंगल भित्र एउटा बाहिरबाट नदेखिने  पिरामिड छ, जसले चुम्बकले झैँ  हरेक वस्तुलार्इ अाफूतिर तान्दछ । लगातार जहाजहरू गायब हुन थालेपछि लगभग ५०० वर्षपछि यसलार्इ “डेन्जर रिजन” काे नाम दिइएकाे हाे।

यसका बारेमा के पनि भनिन्छ भने सन् १४९२ मा अमेरिकाकाे यात्राका क्रममा क्रिस्टाेफर कोलम्बसले पनि यस क्षेत्रमा केही चम्केकाे अनुभूति यरेका थिए । जसकाे कारणले काेलम्बसकाे म्याग्नेटिक कम्पास बिग्रेकाे थियाे । यसका अलावा अरू पनि कतिपय यस्ता घटनाहरू भए जसका बारेमा अझैसम्म पनि सारा दुनियाँ अनभिज्ञ छ ।

यस क्रममा त्यस आसपास रहेका सबै बस्तु नष्ट हुन पुग्छन् । वैज्ञानिकका अनुसार बादल बर्मुडा द्वीपको दक्षिणी भागमा पैदा हुने गरेको छ । यो बादलले त्यसपछि करिब २० देखि ५५ माइलको यात्रा तय गर्छ । बर्मुडा ट्रायगंलको रहस्यबारे विश्वमा कयौं तथ्य बाहिर ल्याइएको छ । यस्तै एक सिद्धान्तमा बर्मुडा ट्रायगंलको शक्तिको पछाडि एलियनको हात रहेको दावी गरिएको थियो ।

भर्खरै, कोलोराडो स्टेट यूनिभर्सिटीका मेट्रोलोजिस्ट र्‍यान्डी क्यारभेनीका अनुसार यो बादलले ‘एयर बम’ बनाउने गरेको छ । अर्थात, हावामा बम पड्के जस्तो क्षमता पैदा गर्दछ ।  समाचार अनुसार र्‍यान्डी क्यारभेनी यस सिद्धान्तको विकास गर्नेहरुको वैज्ञानिकको टीमका सदस्य हुन् । बर्मुडा ट्राएङ्गलमा १७० माइल करिब २७३ किलोमिटर) घन्टाको गतिको हावा रहेको हुन्छ ।

यी बादल र हावा आपसमा मिलेर जब जहाज या हवाईजहाजसँग ठोक्किन्छन् तब तिनलाई तानेर समुद्रको पिँधमा पुर्‍याउँछन् । वैज्ञानिकको दावी अनुसार बर्मुडा ट्रायगंलमा जम्मा हुने शक्ति समुद्रको पानीसँग ठोक्किने गरेको छ । जसबाट सुनामी भन्दा शक्तिशाली अग्लो समुद्री लहर उठ्ने गर्छ । यी लहर आपसमा ठोक्किँदा अझ धेरै शक्ति पैदा हुन्छ ।

थप जानकारीको लागि तलको भिडियो हेर्नुहोला । 

नेपालको युरेनियम सम्भावना मात्र कि उत्खनन योग्य पनि ?

युरेनियम

Gopal Bhandari
 गोपाल भण्डारी

प्रायः हरेक बस्तुमा सम्भावना रहेको त हुन्छ तर त्यस बस्तुले मानवीय आवश्यकताको पुरती गर्न सक्ने उपयोगिता बढी महत्वपूर्ण हुन जान्छ । विश्वभर नै आणविक शक्तिलाई सैनिक प्रयोजनको निमित्त मानवविरुद्धमा दुरुप्रयोग गर्नुभन्दा विधुतीय उर्जामा परिणत गर्नुपर्ने जनमत रहेको देखिन्छ । धेरै अध्ययन गर्न बाँकी भए पनि प्रारम्भिक चरणको अध्ययनले औद्योगिक सम्भावना देखिएको छ । युरेनियम क्षेत्र फैलिएको लम्बाइ, चौडाइ र गहिराइ, परिमाण तथा गुणस्तर पत्ता लगाएपछि कमर्सियल भाइब्रेन्टु कस्तो भनेर थाहा हुन्छ । ठूलो क्षेत्र र राम्रो सम्भावना रहेकाले सरकारले यसलाई विशेष कार्यक्रम ल्याएर पनि अध्ययन र उत्खनन गर्नुपर्ने आवश्यकता छ । उपलब्ध प्राकृतिक स्रोत साधनको समुचित उपयोग विना कुनै पनि देशको आर्थिक विकास सम्भव हुँदैन । जनताको जीवनस्तरमा सुधार गर्दै अत्याधिक उपलब्धितर्फ उन्मुख नभएसम्म समृद्धि हासिल हुन सक्दैन । विशेष प्रविधि, विज्ञ र धेरै लगानी आवश्यक हुने भएकाले सरकारले विशेष कार्यक्रम बनाउनुपर्दछ । इन्टरनेशनल एटमिक इनर्जी एजेन्सी (आईएईए) अनुसार सन् १९८६ तिर नै २६ वटा देशहरुले २७४ आणविक रेक्टरहरुबाट २५० मिलियन किलोवाट विधुत उत्पादन गरिसकेका थिए । यतिखेर विश्वका ३५ देशहरुमा आणविक भट्टीहरु रहेका छन् जसबाट विधुतीय उर्जा उत्पादन गरिरहेका छन् । छिमेकी मुलुक चीन, दक्षिण एसियाको भारत र पाकिस्तानले आणविक भट्टीबाट विधुत उत्पादन गर्न थालिसकेका छन । बङ्गलादेशले पनि त्यसतर्फ अग्रसर भैरहेको सन्र्दभमा नेपालले पनि अब आणविक भट्टीद्वारा विधुतीय उर्जा उत्पादन गर्ने योजना बनाउनु पर्दछ । आणविक भट्टी लगायत सबैखाले विज्ञान र प्रविधिलाई मानवमात्रको गाँसबास, सामाजिक हित र प्रगतिको लागि सदुपयोग हुन आवश्यक छ ।

खानी तथा भूगर्भ विभागको प्रारम्भिक तथ्यांकलाई आधार मान्ने हो भने मकवानपुर धियालको तीनभंगालेमा युरेनियमको जति भण्डार भनिएको छ, त्यो आफैँमा खानी उत्खनन गर्न योग्य छ । गत डिसेम्बरमा नेपालबाट आईएईएको कार्यक्रममा सहभागी हुन अस्ट्रियाको भियना गएका नेपाली प्रतिनिधिमण्डलसँग त्यहाँका युरेनियम विज्ञले सामान्यतया २७ टनजति युरेनियम भएमा त्यो आर्थिक रूपमा घाटाको नहुने बताएका थिए, जबकि तीनभंगालेमा ३५ टन युरेनियम भएको विभागको रिपोर्टमा उल्लेख छ । तर विभागले सुदूरपश्चिम क्षेत्रमा भएको अनुसन्धानबारे केही बताएको छैन । सीपीएसको तथ्यांकलाई आधार मान्ने हो भने तीनभंगालेभन्दा बैतडीतिर बढी युरोनियम खानी हुन सक्छ । किनभने, त्यहाँ तीनभंगालेको भन्दा दुईदेखि तीन गुणा बढी विकिरण मापन गरिएको छ । खानी विभागले गामा–रे स्पेक्ट्रोस्कोपी मिटरको सहायताले तीनभंगाले क्षेत्रमा २४ वर्षअघि गरेको परीक्षणमा २७ हजार ४ सय ५ कुल विकिरण काउन्ट प्रतिसकेन्ड (सीपीएस) देखिएको थियो, जबकि औसत जमिनमा एक सयदेखि १ सय ५० सीपीएस मात्र विकिरण प्रभाव देखिन्छ । नेपालमा पेग्माटाइट र ग्रेनाइटजन्य चट्टानमा युरेनियम पाइएको छ । बालुवासँग मिश्रति युरेनियमको मात्रा विश्वमा ५० प्रतिशत बढी पाइएको एक अध्ययनमा देखिएको छ । विशेषज्ञहरुका भनाइमा विकिरण उत्पन्न गर्ने धातु जस्तै युरेनियम, थोरयिम र फस्फोरस हुन सक्ने प्रवल सम्भावना हुन्छ । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा संस्था (आईएईए)को मापन अनुसार जमिनमा सात सय सीपीएसजति युरोनियमको विकिरण भएमा खानी उत्खनन योग्य मानिन्छ ।

नेपाल सरकारको भावी बैज्ञानिक कदम

Gopal Bhandari
गोपाल भण्डारी

हिजो नमस्कार गरेर देवताको रुपमा पुजा गर्ने चन्द्रमामा मानिस पुगिसकेको छ । कतिपय असम्भव कुरालाई बिज्ञानले सम्भव बनाइ दिएको छ । तर त्यसको पछाडि बिकासित देशले चालेको दूरदर्शी बैज्ञानिक कदमको परिणाम हुन । अहिले हामी सवै नयाँ नेपाल निर्माणको कुरा गरिरहेका छौं । हामीले आशा गरे जस्तो समृद्ध नेपालको निर्माण गर्ने हो भने हामीले हाम्रो वैज्ञानिक क्षमतामा द्रुतगतिले विकास गर्नै पर्छ र विज्ञान प्रविधि क्षेत्रलाई राष्ट्रिय प्राथमिकताको सूचीमा पार्नै पर्दछ । वैज्ञानिक क्षमताको विकास गर्न सन् १९६० को दशकदेखि नै नेपाली वैज्ञानिक समुदायले राष्ट्रिय विज्ञान नीति निर्माणको आवश्यकता माथि जोड दिदै आएको थियो । अहिले मुलुक ठूलो राजनीतिक परिवर्तनको संघारमा छ । हाम्रा नेताहरूले नेपाललाई आगामी दशवर्षभित्र सिङ्गापुर वा स्विट्जरल्याण्ड बनाउने कुरा गर्न थालेका छन् । साँच्चै नै नेपाललाई यी मुलुकहरूको स्तरमा पु¥याउने हो भने ती देशहरूमा विगतमा भएका विकास प्रक्रियालाई बुझ्नुपर्दछ र त्यसबाट पाठ पनि सिक्नुपर्दछ । यसका लागि उनीहरूले जस्तै हामीले पनि आफ्नो वैज्ञानिक दक्षतामा वृद्धि गर्नुपर्दछ । नेपालमा विज्ञान तथा प्रविधिको विकास गर्नका लागि वृहत एवं सुसङ्गत राष्ट्रिय रणनीति र रूपरेखा बनाउनु पर्दछ । अन्यथा नेपाललाई सिङ्गापुर वा स्विट्जरल्याण्ड बनाउने नेताहरूको सपना केवल दिवास्वप्न मात्र हुनेछ ।

यदि युरेनियम उत्खनन गरेर निर्यात गर्ने हो भने नेपालमा बिकासको मूल फुट्न सक्छ । नेपालमा प्रशोधनपछि राम्रै मूल्य प्राप्त हुने युरेनियम खानीको सम्भावना देखिएको छ । यसले मुलुकप्रति विश्वकै सुरक्षा चासो बढाउँछ । अरेवियन देशहरु तेल बेचेर शक्ति सम्पन्न बनेका छन् । नेपाल पानीको धनी थियो, त्यसको एकाधिकार गुमाएको अवस्था छ । अब युरेनियमको चर्चा आएको छ । युरेनियम महाभारत श्रृंखलामा पनि प्रशस्तै मात्रामा भएको खुलासा पहिले भएको हो तर नेपालमा सँधै राजनीतिक अस्थिरताका कारणले नेपाल गरीब र कमजोर बन्दै गएको छ । स्मरणीय छ, ३० वर्ष अघि खानी विभागबाट अनुमति लिएर भारतको टाटा कम्पनी समेतले रोल्पा क्षेत्रमा तामाखानीको उत्खनन भएको थियो । तामा प्रशस्त भेटिए पनि निकाल्न मुस्किल परेपछि उक्त कार्य रोकिएको थियो । ती उत्खननकर्ता अहिले पनि कलकत्तामा जिवितै छन् । रिपोर्ट खानी विभागमा रहेको छ । रोल्पा क्षेत्रमा तामाखानीका खाल्टाहरु अझै पनि त्यत्तिकै रहेका छन् । कतै त्यही उत्खननबाट युरेनियम पत्ता लागेको त होइन । विगतमा पनि नेपालमा फलाम, तामा, नुन लगायतका खानीहरू भेटेर हाम्रा पूर्वजहरूले त्यसको प्रयोग नगरेका होइनन् तर खानीको अध्ययन, अन्वेषण गर्न ठूलो लगानी लाग्ने हुनाले खानी विकासतर्फ सरकारले ध्यान दिन सकेको छैन । न त निजी क्षेत्रले नै लगानी गर्न सकेको छ । बेलाबेला पूर्व–पश्चिमतर्फ पेट्रोलियम पदार्थ भेटिएको चर्चा हुन्छ तर त्यो चर्चा यत्तिकै सेलाउने गरेको छ । विदेशीले पनि यसको अध्ययनमा रुचि देखाएको समाचार आउँछ तर पानीको फोका जसरी हराउने गरेको छ । कम्तीमा लोमन्थाङमा भेटिएको युरेनियम खानीको विस्तृत अध्ययन गरी यसको दोहनतर्फ सरकारले ध्यान दिनुपर्ने खाँचो छ । विस्तृत अध्ययनपछि मात्र युरेनियम कति गुणस्तरको छ, कति परिणाममा निकाल्न सकिन्छ भन्ने थाहा हुन्छ ।

राज्यले चाहे जे पनि हुन्छ काम गर्ने इच्छाशक्ति हुनुपर्छ । हामी टाढा जानु पर्दैन, नजिकको देश भुटान हिजोसम्म कहाँ थियो ? उसले छोटो समयमा हाइड्रो पावरको बिकासले कति धेरै परिवर्तन गरिसक्यो । हामी भने अध्यारोमा छामछुम गरेर बसेका छौं । हामीभन्दा पछाडी बिजुली बाल्ने जापान कहाँ पुगिसक्यो ? हामी आधा दिन सधै बिजुलीबिना बस्नु परेको छ । केही दशक अघिसम्म विकासोन्मुख मुलुकको दर्जामा रहेका एसियाका कैयौं मुलुकहरू हाल विकसित मुलुकका सदस्य बनिसकेका छन् । दक्षिण कोरिया, सिङ्गापुर, मलेसिया र ताइवानजस्ता देशहरूले आफूलाई विकासोन्मुख देशको सूचीबाट विकसित देशको खुट्किलोमा पुयाई सकेका छन् भने हाम्रा निकट छिमेकी भारत र चीन अठोटका साथ प्रगतिका पथमा द्रूत गतिले लम्किरहेका छन् । यी दुवै राष्ट्र सन् २०२५ सम्ममा विश्वकै शक्तिशाली आर्थिक केन्द्रका रूपमा स्थापित हुने अनुमान अर्थशास्त्रीहरू गर्दछन् । यी देशहरूले प्राप्त गरेको आर्थिक उन्नतिका कारणहरू मध्ये एक प्रमुख कारण यिनीहरूले समयमा नै राष्ट्र निर्माणका लागि विज्ञान तथा प्रविधिको महत्वलाई स्पष्ट बुझ्नु र आत्मसात् गर्नु हो । विगतका केही दशकमा यी मुलुकहरूले विज्ञान तथा प्रविधिका उच्चस्तरीय संरचनाहरूमा गरेको विकास अनुकरणीय छ । विकसित मुलुकहरूमा वैज्ञानिक क्षमताको विकास एकदिनमा भएको होइन । विज्ञान तथा प्रविधिका विकासका लागि दशकौंसम्म ती मुलुकका राजनीतिक नेतृत्वले लिएको दृढ अठोटका कारण यो सम्भव भएको हो । आधुनिक नेपालको निर्माण भएपछि लगभग दुईसय वर्षसम्म पनि नेपालमा विज्ञान तथा प्रविधिको विकासबाट विश्वमा औद्योगिक क्रान्तिबाट भएको सामाजिक रुपान्तरण नेपालमा नदेखिए पनि वि.सं २००७ को ऐतिहासिक राजनीतिक परिवर्तनपछि आधुनिक विज्ञान तथा प्रविधिको विकासमा पाइला चाल्न शुरुवात ग¥र्यो । विश्वका उदाउँदा छिमेकी देशहरू भारत र चीन दुवै अन्तरिक्ष युगमा प्रवेश गरी सकेकोले गर्दा नेपालमा पनि विज्ञान प्रविधिको विकास गर्न इच्छाशक्ति भएको राजनेता, राजनीतिक प्रतिवद्धता र राष्ट्रिय विज्ञान नीति तत्कालै बनाई पाइला चाली हाल्नु पर्दछ । ग्रहहरूले अरुको प्रकाश लिएर आफु उज्यालो वन्दछन् भने ताराहरूले आफ्नो प्रकाश दिएर अरुलाई उज्यालो पार्दछन् । नेताहरु भनेका ताराहरु जस्ता हुनुपर्छ । विश्वका धनी र गरीव देशहरूबीच रहेको आर्थिक खाडलको मूख्य कारण भनेको असमान् वैज्ञानिक योग्यता भएकोले विकासील देशले आर्थिक विकास गर्न वैज्ञानिक क्षमतालाई अनवरत रूपमा ज्यामितीय बृद्धि गर्दे लैजानु पर्दछ ।

 

नेपालको युरेनियम : विदेशी चासो

Gopal Bhandari
गोपाल भण्डारी

केही वर्षअघि तत्कालीन प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठले एक भारतीय वैज्ञानिकलाई उद्धृत गर्दै माथिल्लो मुस्ताङमा युरेनियमको ठूलो भण्डार रहेको बताएका थिए । श्रेष्ठका अनुसार, ती भारतीय वैज्ञानिकले दशकअघि नै प्रयोगशाला परीक्षण गर्दा त्यो क्षेत्रको चट्टानमा रेडियोधर्मी विकिरण फेला पारेका थिए । रेडियोधर्र्मी विकिरण हुनु भनेको युरेनियम रहेको संकेत हो । उपल्लो मुस्ताङ अर्थात नयाँ मुलुक भनेर चिनिने क्षेत्रको माटो प्रतिकिलो हजार रुपैयाँको भाउले बिक्री हुनसक्ने जानकारी श्रेष्ठले एक वैज्ञानिकको हवाला दिएर खुलासा गरेका थिए । मुस्ताङको माटो किलोको हजार रुपियाँ यस्तो चर्चाले राजधानी र देशभरी आश्चर्य थपिदिएको थियो । उनका अनुसार ती बैज्ञानिकको अनुसन्धानपछि उपल्लो मुस्ताङ क्षेत्रमा युरेनियमको खानी रहेको पत्ता लागेकोले त्यहाँको माटो पनि अमूल्य रहेको उनको दावी छ । ती बैज्ञानिक को हुन? कसले उनलाई युरेनियमको अनुसन्धान गर्ने अनुमति दियो ? जस्ता कुनै पनि रहस्य उनले खुलाएका छैनन् । उनले यति भनेका छन् कि आफू पुनरावेदन अदालत पोखराको मुख्य न्यायाधीश हुँदा संयुक्त राष्ट्रसंघमा जागिरे भएका भारतीय एक वैज्ञानिकले उपल्लो मुस्ताङको लोमाथाङकामा अत्यधिक मात्रामा युरेनियम भएको उहाँलाई बताएका थिए । ती वैज्ञानिकले पाँच किलो माटो लेमाथाङकाबाट कसैले लगेमा झन्डै ७० हजार भारतीय रुपियाँ बराबरको नेपाललाई नोक्सान पर्ने पनि आफूलाई बताएका थिए । यस सम्बन्धमा सरकारका बिभिन्न निकायमा जानकारी गराउँदा कसैले गम्भीर रुपमा लिएनन् । नेपालमा युरेनियमको खोजी गर्ने प्रारम्भिक आधार एउटै थियो– भारत तथा पाकिस्तानको शिवालिक क्षेत्रमा युरेनियम उत्खनन भइरहेको छ भने नेपालमा किन नहुने ? खासमा युरेनियम पाइने चट्टान युरेनिफेस रकको नेपालमा पनि उपलब्धता नै यसको अध्ययनको प्रमुख कडी थियो । त्यसपछिको अध्ययनका क्रममा विभिन्न स्थानमा छिटपुट युरेनियमको सम्भावना भएको निष्कर्ष निकालियो ।

सन् १९८५ मा खानी तथा भूगर्भ विभागले भूगर्भ्विद् रामनगिना यादवको अगुवाइमा पूर्वी, मध्य तथा पश्चिम नेपालको चुरे पर्वत शृंखला तथा तराईका केही फाँटमा युरेनियमको प्रारम्भिक अध्ययन गरियो । सन् १९८७ मा खानी विभागका भूगर्भ्विद् कृष्णप्रसाद काफ्लेको नेतृत्वमा युरेनियमको खोजी पुनः सुरु भयो । काफ्लेको टिमले कमला नदीबाट सुरु गरी बागमती नदीसम्मको भागमा अनुसन्धान गर्यो । सन् १९८८ मा काफ्लेको टोली मकवानपुरस्थित तीनभंगाले तथा चाँदी खोलाका केही भागमा अत्यधिक रेडियोधर्मी विकिरण रेकर्ड गर्न सफल भयो । स्नातकोत्तर तहको शोधपत्रका लागि सन् १९९४ मा विनिल अर्याल, जो अहिले त्रिभुवन विश्वविद्यालयमा भौतिकशास्त्रका प्राध्यापक हुन, उनले तीनभंगाले–कालो खोलाको युरेनियम मिश्रित चट्टानका टुक्राबारे गामा–रे स्पेक्ट्रोस्कोपी प्रविधि अनुरुप विस्तृत अध्ययन गरे । उनले एक लाख कणमा ३ हजार ६ सय ३६ कण युरेनियम भएको चट्टान फेला पारे । यस बाहेक विभिन्न समयमा विभिन्न प्रकारले नेपालमा विदेशीहरुद्वारा युरेनियम अन्वेषण हुँदै आएको छ । स्थानीयका अनुसार मकवानपुरको तीनभंगालमा अमेरिकीदेखि भारतीय मूलका नागरिकहरू पटकपटक आइसकेका र आइरहेका छन । जस्तो कि, सन् १९७५ मा अमेरिकाका कोनाक्का र पोल्यान्डका जोन मेकीको संयुक्त टोलीले लाङटाङ हिमाल आरोहण गरेको थियो । उनीहरु आरोहण सकेर देश फर्केपछि मात्र थाहा भयो कि त्यस आरोहण टोलीले लाङटाङ क्षेत्रकै रेडियोधर्मी विकिरणको अध्ययन गरेको रहेछ । २३–२७ फेबुरअरी १९९६ मा भारतको पन्जाब राज्यको पटियालास्थित पन्जाब विश्वविद्यालयमा रेडियसन फिजिक्सको राष्ट्रिय सम्मेलनमा नेपालको चुरे शृंखलामा युरेनियमको राम्रै सम्भावना रहेको र त्यसको उत्खननबाट हुन सक्ने प्रभाव बारेमा भाभा आणविक केन्द्रका वैज्ञानिकहरुले छलफल गरेका थिए । त्यही वर्ष एक अमेरिकी जर्नलमा नेपालमा युरोनियम भण्डार रहेको अनुसन्धानात्मक लेख प्रकाशित भएपछि खानी विभाग र नेपाली वैज्ञानिकहरु माझ निकै चर्चा भएको थियो । विसं २०५४ मा तत्कालीन विज्ञान तथा प्रविधि मन्त्री मिर्जादिलसाद वेगले भाभा आणविक केन्द्रसँग सम्बद्ध एनएस शर्मालाई अति लुप्त खनिजको अध्ययन गर्न इजाजत दिएका थिए । खासमा शर्मा चाहिँ डडेलधुरामा माउन्टेन बोर्डिङ स्कुलको प्रिन्सिपल भएर चार वर्षसम्म बैतडी,बझाङ क्षेत्रको अध्ययन गरेका थिए । यद्यपी उनले गरेको विस्तृत रिपोर्ट नेपाल सरकार समक्ष पेस गरिएन । मिर्जा ०५५ मा मारिइसके भने शर्मा चाहिँ माओवादी द्वन्द्वका बेलामा भारततिरै फर्किए । सुरक्षा स्रोतहरु वेगको हत्यालाई युरेनियम तस्करीसँग पनि जोडेर हेर्नुपर्ने बताउँछन् ।

अमेरिकाको ऊर्जा मन्त्रालय अन्तर्गत जीटीआरआई परियोजनाले पनि नेपालको युरेनियममा निकै चासो देखाइरहेको देखिन्छ । त्यस्तै दक्षिण कोरियाको कोरियन इन्स्च्युट अफ जिओ–साइन्स एन्ड मिनरल्स रिसोर्सेस नामक संस्थाले युरेनियम लगायत लुप्त ऊर्जाजन्य खानी अन्वेषणका लागि नेपालको खानी विभागसँग सहकार्य गर्ने औपचारकि प्रस्तावसमेत पठाएको छ । खानी विभागका उच्च पदाधिकारी भन्छन, ‘कोरियनको अन्वेषण सहकार्य प्रस्ताव सही हो तर त्यसबारेमा ठोस निर्णय भइसकेको भने छैन’। दुई वर्षयता नेपालको युरेनियम अन्वेषणमा राष्ट्र संघीय निकाय अन्तर्राष्ट्रिय परमाण्ुा ऊर्जा संस्था (आईएईए)ले विशेष चासो देखाइरहेको छ । सन् २००८ मा नेपाल आईएईएको सदस्य भएकाले पनि उसले युरेनियम र रेडियोधर्मी विकिरणसँग सम्बन्धित विभिन्न निकायलाई सहयोग गर्न सन् २०१२–२०१५ सम्म सम्पन्न हुने गरी ६१ लाख अमेरिकी डलर (करीब ६१ करोड रुपियाँ)को परियोजना दिएको छ । आईएईएले खानी विभागलाई झन्डै ७५ हजार युरो पर्ने गामा रेज एनलाइजर र सेन्टिलेसन काउन्टरजस्ता उपकरण दिने भएको छ । यतिसम्म कि गत भदौ–असोजमा आईएईएका तीन जना युरेनियम विज्ञहरु नेपाल आएर खानी विभागका कर्मचारीलाई विशेष तालिम समेत दिएका थिए । त्यही क्रममा जीन रेनी ब्लेज र खानी विभागको टोलीले तीनभंगाले क्षेत्रको निरीक्षण समेत गरेको थियो । विज्ञान तथा प्रविधि मन्त्रालयको उच्च स्रोतका भनाइमा यी भ्रमणको उद्देश्य खासमा नेपालको युरेनियम भण्डारबारे विस्तृत रिपोर्ट लिने नै बुझिन्छ । दातृ निकाय सोझै युरेनियम सम्बन्धी अध्ययन भनेर आउँदैनन, उनीहरु नेपालको खानी अन्वेषणमा दक्ष जनशक्ति उत्पादन तथा प्राविधिक सहयोगका नाममा आउँछन् र आफ्ना विज्ञहरुलाई लिएर फिल्डमा जान्छन् । अनि, त्यहाँबाट ल्याएको नमुना परीक्षण गर्ने भनेर आफ्नै देशमा लैजान्छन् ।

नेपालको युरेनियम : बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिंड

Gopal Bhandari
गोपाल भण्डारी

नेपालको युरेनियम बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिंड भएको छ । नेपाल जलस्रोतमा दोस्रो धनी देश होस् नहोस तर लोडसेडिङमा पहिलो धनी देश भने पक्का हो । जलस्रोतको धनी देश नेपालमा १८ घण्टा लोडसेडिंग हुन्थ्र्याे बिगतमा । तर खोलामा पानी बगी राखेको छ । नेपाल जलस्रोतको समुचित उपयोगले मात्र पनि मुलुक धनी बन्नसक्छ । प्राकृतिक स्रोतमा नेपाल निकै‘ धनी देश भनेर भनिन्छ । महाभारतको चुरे पर्वतमा युरेनियमको खानी, काठमाडौँमा ग्याँसको भण्डार, रोल्पामा सुन पत्ता लाग्यो जस्ता खबर पटक–पटक आइरहन्छन् । तर, नेपालमा के–कति खनिज छ–छैन भनेर वा संभावित खानी, खनिज, इन्धनबारे अनुसन्धान गर्नका लागि नेपाल सरकारले खानी विभागलाई तलब बाहेक वर्षको थोरै बजेट दिन्छ । त्यो रकमले निश्चित क्षेत्रमा ७–८ सय किलोमिटरको नक्शाङ्कन गर्न पनि पर्याप्त हुँदैन । प्राकृतिक स्रोतको उत्खनन, विकास र उपयोग गरेर नेपाली नागरिकको जीवनस्तर उकास्न सकिन्छ कि सकिँदैन भन्ने अहिलेसम्म अज्ञात् छ । वास्तवमा अहिलेसम्म नेपालभरिमा खनिज पदार्थहरु के–के छन् र कति परिमाणमा छन् भन्ने विषयमा पूर्ण रुपले अध्ययन–अनुसन्धानै भएको छैन । नेपालमा के छैन ? उत्तर आउँछ सबथोक छ तर उपयोग हुन सकेको छैन । तेल, ग्यासको खानी, बहूमूल्य पत्थरको भण्डार, जलस्रोत, वनजंगल, जडिबुटी, कृषियोग्य भूमि सब छ तर नेपाल गरीब छ ।

नेपालको पूर्व रामेछापको ठोसेमा फलाम खानी छ । करिब २ सय वर्ष अगाडिदेखि त्यहाँको फलाम प्रयोग गरिँदै आयो । खासगरी राणा शासन कालमा घरेलु हतियार बनाउन ठोसेको फलाम प्रयोग गरियो । जब नेपालको बजार आधुनिक भयो, यहीँको ठोसेमा उत्पादन गरिएकोभन्दा बाहिर (विदेश) को फलाम सस्तो पर्ने भन्दै त्यहाँको फलाम खानी पूर्णतः बन्द गरियो । नेपालका खानीहरुबाट माइनिङ गरेर खनिज पदार्थ निकाल्दा र उद्योग खोल्दा जति पैसा लगानी हुन्छ, त्योभन्दा बाहिरबाट ल्याउँदा सस्तो पर्छ भन्दै हाम्रा उद्योगमन्त्रीहरुले त्यसलाई बन्द गरिदिए । नेपालको फलाम भण्डार सानो छ, त्यसकारण उत्पादन लागत बढी हुन्छ भन्दै विदेशी फलाम नेपालमा ल्याएर हाम्रा नेताहरुले बेचे । तर, यथार्थ के हो भने अहिलेको परिस्थितिमा विदेशबाट ल्याएको फलामभन्दा यहीँ कम लागतमा उत्पादन गरी सस्तोमा प्राप्त गर्न सकिन्छ । नेपाल सरकारले त्यसमा लगानी गर्न किन सकिरहेको छैन । हाम्रा नेताहरु किन राणाहरुभन्दा पनि बढी स्वार्थी भए । नेपालको खानी विभागले हालसालै ठोसेमा एउटा कम्पनीले काम गरिरहेको र एक वर्षभित्र उत्पादन गर्ने प्रक्रियामा रहेको बताएको छ तर, त्यसको प्रगतिबारे आम नेपाली नागरिक अनभिज्ञ छन् । ठोसेकै फलामलाई प्रशोधन गर्न सक्ने हो र नेपालमा खुलिरहेका आइरन र स्टिल कारखानाहरुसँग समन्वय गरी उनीहरुलाई आपूर्ति गर्ने हो भने नेपालको फलाम अहिले बजारमा पाइने भारतीय फलामभन्दा सस्तो हुन्छ । विदेशीले अनुदानमा दिएको चामल खाएर नेपालीले पेट भरिरहेका छन् । भएका सम्पदाको सदुपयोग हुन नसक्दा नेपाल गरीबको गरीब नै रहनुपरेको छ । नेपालसंगै प्रजातान्त्रिक अभियानमा लागेका नेपालले विगतमा सहयोग गर्ने गरेका मुलुकहरू आज विश्वका सम्पन्न राष्ट्र बन्न सफल भए तर नेपालले भएको सम्पदाको समेत उपयोग गर्न नसकी खुम्चिनुपरेको छ ।

जलस्रोतको धनी मुलुक नेपालमा बर्तमानमा इन्धनका लागि जलविद्युत नै पर्याप्त हुने भए पनि युरोनियम उत्खनन् गर्न सके यसबाट खर्बौं डलर आर्जन गर्न सकिन्छ । हुन त नेपाल आफैँमा युरेनियम प्रशोधन गरी आणविक ऊर्जा केन्द्र स्थापना गर्ने हैसियत छैन । त्यसका लागि ठूलो परमिाणमा बजेट आवश्यक पर्छ, जुन राज्यले धान्न सक्दैन,त्यसमाथि अहिलेसम्म पनि नेपाल अन्वेषणको तहमै सीमित छ भनी निराश भई चुप लागेर बस्ने हो भने अझ सयौ बर्ष पर्खनुपर्छ । पहिलो त हामीसँग यत्ति नै मात्रामा युरेनियम छ भन्ने जानकारी छैन, त्यो भए पनि आफ्नै पहलमा खानी उत्खनन गर्न हामी सक्दैनौँ । नदी र खोलानालाको पानी त्यत्तिकै खेर गइरहेको अवस्थामा हाम्रो प्राथमिकता न्युक्लियर प्लान्टतिर पनि लगाउन आवश्यक छ । नेपाल आफैँले युरेनियमको उत्खनन गर्न पनि नसक्ने र यहाँको गोप्य जानकारी बिदेसिने क्रम पनि नरोक्ने हो भने मुलुक कुनै पनि बेला अन्तर्राष्ट्रिय शक्तिहरूको खेल मैदान बन्न सक्छ । युरेनियमबारे सरकारले ठोस नीति नलिएमा मुलुकको सार्वभौमसत्तामाथि खतरा हुने सम्भावना पनि उत्तिकै रहन्छ । नेपालले जलबिद्युत उत्पादन थालेको एक शताब्दी पूरा गरेको छ । नेपालले सन् १९११ मा पाँच सय किलोवाट फर्पिङ आयोजनाबाट जलबिद्युत उत्पादन शुरु गरेको थियो भने छिमेकी मुलुक चीनले सन् १९१२ मा पाँच सय किलोवाट क्षमताको शिलोङ्ग युनान आयोजनाबाट जलबिद्युत उत्पादन थालेको थियो । चीन अहिले संसारकै सबै भन्दा ठूलो १८ हजार दुई सय मेगावाट क्षमताको थ्रि गर्जेज जलबिद्युत परियोजना आफ्नै लगानीमा निर्माण गर्नसक्ने भै सकेको छ ।

नेपालमा खानी क्षेत्रको विकास

Gopal Bhandari
गोपाल भण्डारी

भनिन्छ बिकास नै जीवन हो । बिकासले परिपक्वता र अनुभवको परिणाम स्वरुप आउने प्रगातिशील क्रमिक परिवर्तनलाई बुझाउछ । खानी तथा भूगर्भ विभाग नेपाल सरकारको एक एकाई हो जसले सम्पूर्ण भौगोलिक सर्वेक्षणहरू खानी उत्खनन खोज, व्यवस्थापन तथा यस सम्बन्धि नियम र कानूनको विकास, भू–वैज्ञानिक अन्वेषण र अध्ययन सम्वन्धी सम्पूर्ण कार्यको जिम्मेदारी लिएको संस्था हो । अन्य देशको तुलनामा खानी तथा भूगर्भ विभागको इतिहास निकै छोटो ६०÷६५ वर्ष मात्र भएको छ । हाम्रो छिमेकी देश भारतमा भौगर्भिक अध्ययन, अनुसन्धानको १ सय ५० वर्षभन्दा बढी भइसकेको छ । संयुक्त राज्य अमेरिकामा ३ सय वर्षभन्दा बढी भएको पाइन्छ । ती मुलुकमा अहिले पनि भौगर्भिक अध्ययन, अनुसन्धान जारी राखी नयाँनयाँ कुरा पत्ता लागिरहेका छन् । यो निरन्तर चलिरहने प्रक्रिया हो । खानी विभागले अलि व्यवस्थित रूपमा अध्ययन अनुसन्धान शुरू भएको ३०÷३५ वर्ष मात्र पुगेको छ । विभागले अध्ययन, अनुसन्धान गरी जेजति उपलब्धि प्राप्त गरेको छ, त्यो भौतिक पूर्वाधारको कमी र विभिन्न निकायका ऐननियम बाझेका कारण राष्ट्रले त्यसको पनि पूर्ण सदुपयोग गर्न सकेको छैन । भौगर्भिक अध्ययन अनुसन्धान गर्न सम्बन्धित भूगोलमा पुग्नैपर्छ । अहिलेसम्मको भौगर्भिक अध्ययन, अनुसन्धानले के देखाउँछ भने खनिज पदार्थका हिसाबले प्रत्येक भूभागको आआफ्नै महत्व छ । प्रत्येक भूभागमा महत्वपूर्ण खनिज पदार्थ भेटिएका छन् र भविष्यमा पनि भेटिने सम्भावना छ । खाँचो छ, नयाँ प्रविधि, नयाँ सोच, भौतिक पूर्वाधार र धैर्यको माध्यमबाट पत्ता लागेका खनिज पदार्थको सदुपयोग गर्नुका साथै नयाँनयाँ भण्डार पनि पत्ता लगाउन सकिन्छ ।
जलसम्पदाकै हाराहारीमा देशमा खनिज पदार्थको प्रचुर सम्भावना रहे पनि हालसम्म १२ प्रकारका खनिज पदार्थमात्र उत्खनन भइरहेको पाइएको छ । देशका विभिन्न ९५ स्थानबाट हाल चुनढुङ्गा, कोइला, फलाम, काइनाइट, म्याग्नेसाइट, मार्बल, क्वार्ज, क्वार्जाइट, रेड क्ले, खरी, टुमालिन र जिङ्क उत्खनन भइरहेको छ । विभागमा ८४ वटा खानीजन्य उद्योग दर्ता भए पनि दुई दर्जनमात्र सञ्चालित छन् । दाङ, रोल्पा, सल्यान, प्युठान र पाल्पामा कोइला तथा पर्वतमा फलाम खानी सञ्चालित छन् भने राष्ट्रका अन्य भागमा उपलब्ध तामा, सिसा, अभ्रक, गन्धक, स्लेट, गेरु र ग्रेफाइट उत्खनन हुन सकेको छैन । गरगहनामा प्रयोग हुने बहुमूल्य धातु टुर्मालाइन जाजरकोटमा पाइए पनि उत्खनन गर्न बाँकी नै छ । खानी तथा खनिजजन्य उद्योगहरूको प्रशासनिक, प्राविधिक, आर्थिक लगायत अनुगमनसहित सबै अधिकार प्राप्त खनिज मन्त्रालय नै स्थापना गर्नुपर्ने हुन्छ । खानी तथा खनिज अन्वेषणसम्बन्धी नीति तथा कार्यक्रम, यस क्षेत्रको विकाससम्बन्धी अध्ययन, तालिम, अन्वेषण, सर्वेक्षण तथा प्रविधि विकास एवम् हस्तान्तरणको जिम्मेवारी खानी तथा भूगर्भ विभागको भए पनि बेग्लै ऐन बनाउन नसकिएको स्वीकार गर्नुहुन्छ । राजनीतिक सङ्क्रमणका कारण आवश्यक ऐन नियम बनाउन नसकिएको उल्लेख गर्दै खानी तथा खनिजजन्य उद्योगको प्रवद्र्धनलाई सरकारले उच्च प्राथमिकता दिनुहुन्छ । खानी, पानी, पर्यटन र मानव संशाधनको समूचित विकास एवम् दोहनबाट राष्ट्रलाई समृद्धिको बाटोमा अघि बढाउने सङ्कल्प राजनीतिक नेतृत्वले नगरेसम्म आर्थिक क्रान्ति कोरा कल्पना मात्र हुन्छ ।

पृथ्वीमा ठूलो संकट आउँदै, मानव जीवन सबैभन्दा बढी खतरामा

पृथ्वीमा ठूलो संकट आउँदै, मानव जीवन सबैभन्दा बढी खतरामा ! मानव जीवन मुल्यवान छ, तर पृथ्वीमा ठूलो संकट आउँदैछ; मानव जीवन सबैभन्दा बढी खतरामा छ भन्दा हामी आश्चय चकित हुन सक्छौ । हो अमेरिकाका तीन विश्वविद्यालयले पृथ्वी ‘नयाँ चरणको संकटतर्फ’ प्रवेश गरेको डरलाग्दो अध्ययन प्रतिवेदन सार्वजनिक गरेका छन् । पछिल्ला वर्षहरुमा देखिएका संकट ६ करोड वर्ष अगाडिकोझैं रहेको निष्कर्ष निकाल्दै प्रतिवेदनमा भनिएको छ–‘पहिलो बाटो मानव विनाशको हुनेछ ।’

स्टानफोर्ड विश्वविद्यालयको नेतृत्वमा प्रिन्सटन बर्कले जस्ता ख्यातीप्राप्त विश्वविद्यालयको अनुसन्धान प्रतिवेदनमा मेरुदण्ड हुने जीव लोप हुने दर सामान्य अवस्थाभन्दा ११४ गुणा वृद्दि भइरहेको जनाइएको छ । यस प्रकारको निष्कर्ष गतवर्ष ड्युक युनिभर्सिटीको एउटा सोधका बारेमा साइन्स एडवान्सेज जर्नलमा छापिएको हो । सोधकर्तामध्येका एकजनाले भने,‘हामी लोप हुन लागेका जीवहरुको पंत्तिमा छैठौं स्थानमा प्रवेश गरिसकेका छौं ।’ छैटौं चरणको ठूलो विनाशतर्फ अघि बढेको अनुसन्धानकर्तामध्येका एकले जनाएका छन् । यस्तैखाले डरलाग्दो अवस्था साँढे ६ करोड वर्ष अगाडि देखापरेको र त्यसबेला डायनोसर जस्ता जनावर लोप भएको थियो ।

अनुसन्धानको नेतृत्व गरेका गेरारडो सेबालोस भन्छन्–‘अहिलेकै अव्यवस्थालाई छाडिदिने हो भने हाम्रा थुप्रै प्रजातिलाई पुनर्जीवन पाउन लाखौं वर्ष लाग्नसक्छ  र मानव पनि प्रारम्भिक चरणमा लोप हुनेछ’  । प्रतिवेदनमा सन् १९०० यता मात्र ४०० भन्दा बढी त्यस्ता प्रजातीहरु हराएको दाबी गरिएको छ । वैज्ञानिकहरुको अनुसार यति ठूलो नोक्सान सामान्यतया १०,००० वर्षमा मात्र हुने गरेको छ । स्टेनफर्ड युनिभर्सिटीका प्रोफेसर पल एलिर्चले हामी आफैें आफू बसेको हाँगा काटिरहेको बताए ।

पृथ्वी अत्यधिक तात्दा जीवन भएका सबैखाले प्राणी सखाप भएका थिए । जलवायु परिवर्तन, बढ्दो प्रदुषण, जंगलको विनास र चर्को खडेरी जस्ता कारणले यो संकट निम्तिन थालेको विज्ञान जर्नलमा छापिएको अनुसन्धान रिपोर्टमा उल्लेख छ ।

भिडियो हेर्नको लागि तलको लिक क्लिक गर्नुहोला : 

https://www.youtube.com/watch?v=Jmq-8-aRpXg

Gopal Bhandari

गोपाल भण्डारी

http://gopalbhandari.com.np