विज्ञानसम्पादकीय

को हुन् नेपालको पहिलो वैज्ञानिक ?

Gopal Bhandari
गोपाल भण्डारी

सामान्य ज्ञानका धेरै पुस्तकहरुमा नेपालका पहिलो वैज्ञानिक गेहेन्द्रशमशेर राणा हुन् भनेर लेखिएको पाइन्छ । तर स्वर्गीय वैज्ञानिक दयानन्द बज्राचार्यको ‘चेतनाको यात्रा : जीवनमा विज्ञान’नामक पुस्तकको अनुसार गेहेन्द्रशमशेर वैज्ञानिक नभई प्राविधिक मात्र भएको कुरा उल्लेख छ । वैज्ञानिक र प्राविधिक बीच नङ र मासुको  सम्बन्ध हुन्छ । त्यसैले विज्ञान रूख हो भने प्रविधि त्यसमा फल्ने फल । रूख नभई फल फल्दैन भनेझैं विज्ञान बिना प्रविधि निर्माण हुँदैन र प्राविधिकको साथ नपाई विज्ञानको विकास पनि हुँदैन । गेहेन्द्रशमशेरले पेस्तोल वा तोप सञ्चालन हुने वैज्ञानिक सिद्धान्त पत्ता लगाएका होइनन् । यसैगरी विश्वमा पेस्तोल वा तोप बनाउने पहिलो व्यक्ति पनि उनी होइनन् । अन्य देशमा आविष्कार भइसकेका वा विकसित प्रविधिलाई नेपाल अनुकूल बनाएर उनले पेस्तोल, तोप र अरू हतियार निर्माण गरेका मात्र हुन् । यो कुनै मौलिक खोज वा आविष्कार थिएन ।

आफ्नो समयमा राणाले विभिन्न प्रकारका स्वदेशी पेस्तोल, बन्दुक एवं तोप बनाएका थिए । ती हतियार प्रदर्शनका लागि राष्ट्रिय संग्रहालयमा राखिएका छन् र आज पनि देख्न पाइन्छ । तर वास्तवमा केही घरेलु पेस्तोल र तोप जस्ता हतियार निर्माण गरेकै आधारमा कसैलाई वैज्ञानिक भन्न मिल्दैन । आज पनि गाउँघरमा घरेलु पेस्तोल र बन्दुक निर्माण गर्ने व्यक्ति धेरै छन् तर उनीहरू वैज्ञानिक होइनन् । गेहेन्द्रशमशेर निश्चय पनि एक कुशल प्राविधिक मात्र थिए । औपचारिक रूपमा मौलिक वैज्ञानिक अनुसन्धानमा संलग्न हुने पहिलो पुस्ताका नेपालीहरुमा डा. पराशरनारायण सुवाल, डा. बलराम  जोशी, डा. ध्रुवमानसिंह अमात्य, डा. शंकर प्रसाद प्रधान र डा. दिव्यदेव भट्टलाई मान्न सकिन्छ । त्यसैले गेहेन्द्रशमशेर राणा पहिलो वैज्ञानिक नभई एक प्राविधिक मात्र थिए भनी स्वर्गीय बज्राचार्यले आफ्नो किताबमा स्पष्ट पारेका छन् । पहिलोपल्ट विज्ञान विषयमा विद्यावारिधिको उपाधि प्राप्त गर्ने यी नेपालीहरू नै अन्तर्राष्ट्रिय परिभाषा अनुसार सही अर्थमा नेपालका प्रथम वैज्ञानिक हुन् ।

*गोपाल भण्डारी साईन्स इन्फोटेकका प्रधान-सम्पादक तथा अनुसन्धान तथा विकास प्रतिष्ठान नामक संस्थाका अध्यक्ष हुनहुन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!